CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » सावधान, काटिएला नि कपाल! आतंक नै आतंक

सावधान, काटिएला नि कपाल! आतंक नै आतंक

kapal-1आतंक फैलिएको छ, तन्नेरी संसारमा। आत्तिएका छन्, शहरका तन्नेरी। कपाल पालेकै निहुँमा पक्राउ परिने डर फैलिन थालेको छ। बडो जतनसाथ स्याहार गरेको कपाल जुनसुकै बेला काटिन र कानमा लगाएको मुन्द्री खोसिन सक्छ। घुर्मैलो अनुहार लगाएर बस्यो वा कसैलाई एकहोरो हेरिरह्यो भने मात्र
पनि प्रहरीको पक्राउ सूचीमा परिने खतरा छ। मापसेपछि शहरमा प्रहरीले नैतिकताको नाममा चलाएको पछिल्लो अभियानबारे सुकृत नेपाल र अम्मर जीसीको समाचार विवरण :

.....
अभिभावक उत्तिकै आतंकित छन्। कतिबेला बोलाउने हो प्रहरीले कपाल काटिएको छोरो र उसको कानबाट फुकालिएको मुन्द्री बुझ्न? छोराले मुन्द्रा लगाएको र कपाल पालेको मन नपराउने अभिभावक प्रहरीको चुल्ठे-मुन्द्रे पक्राउ अभियानबाट खुशी देखिए पनि छोराको सुरक्षाका लागि उत्तिकै चिन्तित देखिन्छन्। 

गत हप्ता राजधानीमा अन्दाजी १७ /१८ वर्षका किशोरहरूले बाटोमा हिँड्दा ठोक्किएको निहँुमा आयुष श्रेष्ठको छुरा हानेर हत्या गरेपछि प्रहरीले बरालिएर हिँडेका किशोर अनुहारलाई तह लगाउने उपाय कपाल काट्नु र उनीहरूको अभिलेख राख्नु ठान्यो र काठमाडौँ प्रहरीले मातहत निकायलाई चुल्ठे-मुन्दे्र पक्राउ गर्न उर्दी जारी गर्‍यो।

डा. रामचन्द्र पौडेलको कानमा मुन्द्रा झुन्डिएको छ। रामचन्द्रलाई यो मुन्द्री हजुरआमाले लगाइदिनुभएको हो। 'ठूलो भएपछि आफ्नै रहरले मैले कानमा मुन्द्रा लगाएको थिएँ,' उनले भने, 'तर, मेरो सानो रहरले प्रहरी कार्यालयसम्म पुर्‍यायो। न म चोर हुँ, न आपराधिक क्रियाकलापमा संलग्न थिएँ।' उनलाई चोकमा साथीहरूसँग भेटेर गफ गर्न लागेको बेला प्रहरीले एक्कासि समातेको थियो।
‘कस्मेटिक' भनेर टिप्पणी गरिएको प्रहरीको पछिल्लो चुल्ठे-मुन्द्रे अपरेसनका सिकार बनेका नयाँ बानेश्वरका सुसन भुषाल र उनका अन्य दुई साथीहरू आइतवार लोभलाग्दो चुल्ठो खुइल्याउँदै गरेका भेटिए। गौशालास्थित एक होटलमा चिया पिउँदै गफ गरिरहेका बेला पुलिसको भ्यानमा खाँदिइएका उनीहरू प्रहरीको फन्दाबाट छुटेपछि कपाल खौरिन बाध्य भएका हुन्। सुसनले मन अमिलो पार्दै कपाल खुइल्याए। प्रहरीको खोरमा गएर ‘कपाल काट्छु' भन्ने मन्जुरीनामा गरिसकेकाले कपाल काट्न बाध्य भएको बताए।
कोटेश्वर बस्ने राजु चन्द र उनका साथी पूर्णमान शर्मालाई कलेजबाट फर्किंदै गर्दा ‘मुन्द्रे फेला पर्‍यो' भन्दै प्रहरीले शान्तिनगरबाट समात्यो। दुवै कानमा सुनको मुन्द्रा लगाएका राजु र एक कानमा चाँदीको मुन्द्रा पहिरेका पूर्ण गएको बिहीवार साँझ अबेरसम्म पुलिस खोरमै थुनिए। छोरा कलेजबाट फर्कन ढिला गरेपछि चिन्तित बनेका राजुका बुवा पिताम्बर छोरा खोज्दै प्रहरी कार्यालय पुगे। 'अपराध' गरेकामा छोराप्रति आक्रोशित बनेका उनी प्रहरीले तयार पारेको कागज हेरेपछि भने प्रहरीसँग चिढिए। उक्त कागजमा हस्ताक्षर गरेपछि छोरा र उनका साथीलाई छुटाउन सफल पिताम्बरले भने, ‘सानैदेखि यसको ग्रहदशा शान्त गर्न राशि अनुसारको मुन्द्रा बनाएर लगाइदिएका थियौँ। प्रहरीको जगत् हँसाउने अपरेसन हो यो।' अपराधी, गुन्डा, फटाहा, ट्यापेहरूलाई तह लगाउने नाममा सबैलाई त्यही सूचीमा राखेर कारबाही थाल्नु प्रहरीको केटाकेटीपन भएको उनको टिप्पणी छ।
मंगलवार बिहान गौशाला प्रहरी कार्यालयमा भेटिएका अभिभावक गजेन्द्र सिंह आफ्नो छोरा पप्पुलाई लिन आएको बताउँदै थिए। कपाल कटाउने कागज गरेर छुटेका पप्पु प्रहरीको अपरेसनलाई बाल नदिने बताउँछन्। उनले कपाल सुमसुम्याउँदै भने, 'कम्ता स्याहार गरेर यस्तो लोभलाग्दा कपाल बनाएको हुँ र?' उनको कपाल गर्लफ्रेन्डको फर्माइस पनि हो। 'तिमीलाई कपाल पालेको क्या सुहाउँछ यार' भनेदेखि त उनी गर्लफ्रेन्डलाई जस्तै माया गर्न थालेका छन् कपाललाई पनि। सिनामंगलका सुमन पाण्डेको कानमा मुन्द्रा पनि छ। लामो कपाल र मुन्द्रा लगाएकै निहुँमा प्रहरीको फन्दामा परेर छुट्दा पनि उनी प्रहरीले भन्दैमा कपाल नकाट्ने र मुन्द्रा पनि नफुकाल्ने बताउँछन्। ‘प्रहरीले कागज गराएर, फोटो खिचेर पठायो। तर किन डराउने, आफू गलत नभएपछि। के लाउने, के नलाउने भन्ने मेरो अधिकारको कुरा हो,' प्रहरीको व्यवहारले रुष्ट सुमनले भने।
बिनाकसुर प्रहरी खोरमा हुलिनेमा विशाल थापा पनि पर्छन्। साथीहरूबीच कपाल पाल्ने होडै चलेका कारण उनले पनि कपाल पालेका थिए। त्यही कपालले उनलाई मात्रै होइन, अभिभावकलाई पनि दुःख दियो। प्रहरीको हिरासतमा पुगेका उनले आफ्ना मम्मी-ड्याडीका अगाडि मुख देखाउनै असहज महसुस भएको बताए। उनले कपाल पालेको उनकी मम्मीलाई मन परेको थिएन। कपालकै कारण प्रहरी चौकीमा भेट्न आउनुपरेपछि त झन् उनले मम्मीको गाली खाए।
कलंकी चोकमा ट्याक्सी पार्क गरेर बसिरहेका चालक रवि तामाङलाई सादा पोसाकका प्रहरीले चेतावनी दिए, 'कपाल काट्, मुन्द्रा पनि खोल्।' प्रायः लाइसेन्स र बिल बुक चेक गर्ने प्रहरीले एक्कासि कपला काट् भन्दा उनी केही छिन् त रनभुल्लमा परे। आफूजस्तै कपाल पालेका र मुन्द्रा लगाएका मानिस पक्राउ परेको खबर सुनेपछि भने उनी पनि डराए। अहिले उनले कपाल पनि काटेका छन् र मुन्द्रा पनि फुकालेका छन्।
चुल्ठे-मुन्द्रे अपरेसन इतिहास
काठमाडौँ प्रहरी यतिबेला झन्डै ३० वर्ष पछाडि फर्केको छ। २०४० सालतिर तत्कालीन प्रहरी नायव उपरीक्षक (डिएसपी) अच्युतकृष्ण खरेलले हिप्पीहरूको संगतमा रहेका नेपाली युवाको जंकी स्वभावलाई निरुत्साहित गर्न कपाल काट्ने अभियान चलाएका थिए।
लामो कपाल पाल्ने, मुन्द्रा लगाउने, गाँजा तान्ने, सडकचोकमा बसेर केटीलाई कागजको पुतली बनाएर जिस्क्याउनेको बिगबिगी रहेको तत्कालीन समयमा खरेलले सो अभियान चलाएपछि धेरै अभिभावकले प्रहरीलाई धन्यवाद दिएका थिए। तर, अहिले प्रहरीको यो कामलाई धेरैले विरोध गरिरहेका छन्। वैज्ञानिक सुरक्षा प्रणाली अपनाउन नसकेर प्रहरी शंकास्पदका नाममा कपाल पाल्ने, मुन्द्रा लगाउनेमाथि झम्टन लागेको भन्दै असन्तोष पोख्नेहरू धेरै छन्।
'झाँछेका रेस्टुरेन्टमा चुल्ठो बाटेका/मुन्द्रा लगाएर हिप्पी रूप धारण गरेका नेपाली युवा चिलिम तानिरहेका भेटिन्थे, ठूलाबडाका छोराहरूले सेतो/खैरो हेरोइनको नशासमेत लिइसकेको बेला हामीले त्यो अभियान चलाएका थियौँ,' तत्कालीन प्रमुख खरेलले ३० वर्षअघिको समय स्मरण गर्दै भने, 'हिप्पीको रूप धारण गर्न सबैजसो लागुऔषध दुर्व्यसनी, गुन्डागर्दीमा संलग्न पाएपछि तिनका कपाल काट्न थालिएको हो।' तर, त्यतिबेलाको र अहिलको परिस्थिति फरक भएको बताउँछन् उनी, 'अभियान आपराधिक प्रवृत्तिविरुद्ध लक्षित हुनपर्छ।'
चन्दको चाहना
वर्तमान एसएसपी रणबहादुर चन्द किन ३० वर्ष पछाडि फर्किन बाध्य भए? अभियान चलाएको दुई दिनमै झन्डै १५ सयको हाराहारीमा मानिस पक्राउ गरी उनीहरूलाई ट्यापे, जगल्टे, मुन्द्रेको परिभाषा भित्र पारिदिएका छन् उनले। kapal-2
प्रहरीले गरेको कामको विरोध भए पनि यो अभियानलाई निरन्तरता दिने एसएसपी चन्दले बताए। उनले अभियानमा कसले के टिप्पणी गरेको भन्दा पनि प्रहरीको अभियानले शहरमा दिएको रिजल्टका आधारमा अभियानलाई चालु राख्ने बताए। उनले भने, 'काठमाडौँको अपराध नियन्त्रणका लागि सानातिना विरोध सहन्छौँ, तर अभियान जारी रहन्छ।'
यो अभियानमा प्रहरीविरुद्ध अदालतमा मुद्दा परेपछि भने महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी नवराज ढकालले परिसर प्रमुख चन्दलाई बोलाएर 'शंका लागेमात्रै पक्राउ गर्नू, होइन भने अहिलेलाई यस्तो काम स्थगित गर्नू' भन्ने निर्देशनसमेत दिइसकेका छन्।
ललितपुरमा 'असामाजिक तत्व'
काठमाडौँमा मुन्द्रे, जगल्टे अभियान नाम दिएर मुन्द्रा फुकाल्ने र कपाल काटउन लगाउने गरेको भए पनि ललितपुरमा भने कुन्डले, मुन्द्रे र जगल्टे अभियान नभई 'असामाजिक तŒव' विरुद्धको अभियान नाम दिएर पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
अभियानअन्तर्गत ललितपुरका विभिन्न स्थानमा सादा पोसाकमा महिला प्रहरीसमेत खटाइएका छन्। गाडीमा यात्रा गर्ने क्रममा महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई समेत न्यून गर्ने उद्देश्यले यो अभियान थालनी गरिएको परिसर प्रमुख राजेन्द्रमान श्रेष्ठले जानकारी दिए।
ललितपुरमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको भन्दै दैनिक १० देखि १५ जनालाई समातेर कार्यालयमा ल्याउने गरेको उनले स्विकारे। यसरी ल्याउनेमा जगल्टे-मुन्द्रे पनि पर्ने गरेका छन् । विशेष गरी जुवातास खेलाइरहेको अवस्थामा भेटिएका, वेश्यावृत्तिमा सहभागी भएका र चोरी लुटपाटमा संलग्न भएकामध्येका अधिकांशका 'गेटअप' भने मुन्द्रे र जगल्टे नै हुने गरेको उनले बताए।
उनीहरूमध्ये अपराधमा संलग्न भएको प्रमाणित भएमा सार्वजनिक मुद्दा, जुवातासका मुद्दा चलाई केही जरिवाना गरेर छाड्ने गरेको पनि उनले बताए। यसरी यो अभियान सञ्चालन गर्न थालेपछि दिउँसै हुने चोरी, लुटपाटको घटनामा भने उल्लेख्य मात्रामा कमी आएको परिसर प्रमुख श्रेष्ठले दाबी गरे।
कपाल पाल्नु र मुन्द्रा लगाउनु मानिसको मौलिक अधिकार भएकाले कपाल पालेकै वा मुन्द्रा लगाएकै आधारमा मानिसलाई समात्नु लोकतान्त्रिक अभ्यास नभएको पनि उनले बताए। 'कपाल पालेका र मुन्द्रा लगाएका मानिस खराब हुन्छन् भन्ने आमधारणा भए पनि म त्यो मान्दिनँ,' उनले भने, 'तर कपाल पालेका र मुन्द्रा लगाएका मध्ये ७५ प्रतिशत मानिस आपराधिक क्रियाकलापमा संलग्न रहेका विभिन्न अनुसन्धानले देखाएका छन्।'
हिरोइजमको ह्याङओभर 
उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँको सुरक्षा जिम्मेवारी सम्हाल्ने प्रहरी प्रमुखलाई नयाँ काम गरेर देखाउने र 'कस्मेटिक हिरो' बन्ने चाहना तीव्र हुन्छ। पछिल्ला केही वर्षयता महानगरीय प्रहरी परिसर हनुमान ढोकाको प्रमुखका रूपमा जुनसुकै तहका प्रहरी अधिकृत आए पनि उनीहरू आफूलाई विज्ञापन गरिरहेका हुन्छन्। सञ्चारमाध्यममार्फत सानो विषयलाई पनि ठूलै पहाड बनाएर प्रचार गर्न अभ्यस्त छन् उनीहरू।
संविधान सभाको चुनावको समयमा तत्कालीन काठमाडाँै प्रहरी प्रमुख थिए, एसपी सर्वेन्द्र खनाल। उनको समयमा काठमाडौँमा टोले गुन्डागर्दीको बिगबिगी थियो। उनले त्यस्ता गुन्डालाई ठीक पार्न सर्वप्रथम अभियान सुरु गरे। उनी त्यसमा केही हदसम्म सफल पनि भए। ठेक्कापट्टामा हुने दादागिरी र गुन्डागर्दीलाई उनले काठमाडौँबाहिर धकेलिदिए। चुनाव सकिएपछि उनको सरुवा भयो।
त्यसपछि आएका एसपी नवराज सिलवाल काठमाडाँै जिल्लाको शान्ति सुरक्षामा निकै सुधार गरे। ठूला, साना गुन्डागर्दी देखि अपहरणसम्मका धेरै विषयमा उनले सफलता हासिल गरे। उनको पालामा साना हतियार नियन्त्रण गर्ने र काठमाडौं उपत्याकामा भित्रिएका अवैध सवारी साधनलाई भन्सार कार्यालयलाई बुझाइने काम भयो। यो पनि प्रहरीको सफलताको विज्ञापनका रूपमा प्रचार भयो। एसपी सिलवाल त्यतिबेला चर्चाको शिखरमा रहे। बेला-बेला उनले प्रहरीलाई नक्कली गहना लगाउन लगाएर चोर पाकेटमारा पक्राउ गर्ने अर्को कस्मेटिक काम गरे। यसबाट पनि उनी सफल नै भएका थिए।
उनीपछि आएका एसपी गणेश केसीले कस्मेटिक काम गर्न नसके पनि उनले गुन्डालाई प्रहरीको नजिक आउन नदिने प्रयास गरे तर सफल हुन सकेनन्। सञ्चारउद्यमी जमीम शाहको हत्या र काँडाघारीमा काभ्रेली डन गणेश लामा समूहको गुन्डाबाट भएको गोली काण्डपछि उनको पनि सरुवा भयो। त्यसलगत्तै आएका रमेश खरेल भने सञ्चार माध्यममको नजरमा परिरहे। गुन्डा तह लगाउने अभियान होस् या जुवाडेसँग घुस खाएको भन्दै प्रहरी निरीक्षकलाई कार्यालयमै बोलाएर कुटपिट गरेर होस्, उनी चर्चाको केन्द्रमै रहे।
त्यसपछि आउने सबैलाई अर्को रमेश खरेल बन्ने भुत सवार भएको देखिन्छ। एसपी पुष्कर कार्की, केदार रिजाल, राजेन्द्र श्रेष्ठ सबैले रमेश खरेल बन्ने उद्देश्य राखे तर सफल हुन सकेनन्। सबै गुन्डाकै पछि लागे पनि गुन्डाहरू पक्राउ गर्न, मुद्दा चलाउन असफल भए। कस्मेटिक कारबाहीमा रमाउन चाहनेहरू खरेलपछि सबै असफल भएका छन्।
अहिले एसएसपी जयबहादुर चन्द भने कुनै न कुनै रूपमा चर्चामा आइरहे। उनले सुरक्षा योजना ल्याउने, प्रहरीलाई सुत्न नदिने अभियान चलाएर पनि चर्चा कमाएका थिए।
कारण अरू पनि छन्
काठमाडौं परिसरको प्रमुख भएपछि काम देखाउनैपर्ने बाध्यता छ। कारण के हो भने राज्यको प्रमुख निकायहरू यही काठमाडौँमा छन् र उनीहरूको नजर आफूतिर भए भोलिका दिनमा प्रहरी संगठनकै नेतृत्वमा पुग्न सकिने प्रमुखहरूको बुझाइ रहन्छ भने अर्कोतिर अकूत कालो धन थुपारेका प्रमाण फेला पारे पनि कारबाही नभएका डनहरूको बाहुल्य पनि काठमाडौँमै छ। सानालाई पक्राउ गरी ठूलालाई तर्साएपछि उनीहरूबाट च्यानलमार्फत अनधिकृत आर्थिक लाभ पनि हुन्छ।
काठमाडौं आउन पनि ठूलै धनराशि खर्चनुपर्ने जानकारहरूको भनाइलाई आधार मान्ने हो भने कस्मेटिक कारबाही अपानाउनुको पछाडि आर्थिक लाभ लिने र असुलउपर गर्ने उद्देश्य नहोला भन्न सकिन्न। गणेश लामा, परशुराम बस्नेत, दीपक मनाङे, चक्रे मिलन, बलराम सापकोटा, रमेश बाहुन, घैँटे, साजन महर्जन, राजु गोर्खाली जस्ता गिनेचुनेका डनहरूको हालीमुहाली रहेका बेला उनीहरूलाई कुनै कारणवश जेल्न हाल्न सके जनताको नजरमा परिने र त्यसको मूल्यांकन पछिसम्म हुने ठम्याइ पनि प्रहरी प्रमुखहरूमा भएकाले उनीहरू कस्मेटिक कारबाहीमा आकर्षित भएका हुन्।
के भन्छन् विज्ञ?
समाजशास्त्रीहरूले प्रहरीको यो कदमलाई सर्वथा अन्यायपूर्ण भएको बताएका छन्। उनीहरूले अपराधको मापन कपाल वा मुन्द्राले नगर्ने भएकाले यो अभियानलाई प्रहरीको ज्यादतीका रूपमा टिप्पणी गरेका छन्। अपराधशास्त्री माधव आचार्य भन्छन्, 'कसैको कपालको आकार वा मुन्द्राको तौलले अपराध मापन गर्दैन।' प्रहरीले सैद्धान्तिक र कानुनी आधारबिना नै बाटोमा हिँडिरहेका बटुवालाई पक्राउ गरेर अन्याय गरेको उनको टिप्पणी छ। 'प्रहरीको यो कामले मानिसको स्वतन्त्रता हनन भएको छ,' उनले भने।
समाजशास्त्री चैतन्य मिश्र पनि यसको विपक्षमा छन्। शहरी युवाहरूमा कपाल पाल्ने, मुन्द्रा लगाउने परम्पराकै निरन्तरता जस्तो भएको र यसैका आधारमा उनीहरूलाई अपराधी ठान्नु गलत भएको उनको टिप्पणी छ। 'फरक-फरक जीवनयापन गर्ने युवाहरूको शैलीलाई प्रहरीले अस्वीकार गर्नु हुँदैन। प्रहरी भनेको त समाजसँग प्रत्यक्ष सम्पर्कमा हुन्छ। त्यसलाई प्रहरीले कसरी अस्वीकार गर्न पुग्यो, मैले बुझेको छैन,' मिश्रले भने।
मनोविश्लेषक गंगा पाठक पनि यस्तो अभियानको विपक्षमा छिन्। उनका अनुसार समाज विकासको प्रक्रियामा अपराध जन्मन्छ। 'प्रहरीले त्यसलाई नियन्त्रणको वैज्ञानिक विधि अपनाउनुपर्नेमा जगल्टे अभियान सुरु गरेर समाजको मनोविज्ञानमाथि खेल्न खोजेको छ,' उनले भनिन्।
 
'टार्गेट कपाल र मुन्द्रा होइनन्' ssp chand
रणबहादुर चन्द, प्रमुख, काठमाडौँ महानगरीय प्रहरी कार्यालय, हनुमानढोका
चुल्ठेमुन्द्रे पक्राउ गर्ने कस्तो अभियान हो यो?
यो प्रचारमा आएजस्तो चुल्ठेमुन्द्रे पक्राउ अभियान होइन। सुरक्षाको दृष्टिकोणबाट हामीले नियमित गर्दै आएको अभियान हो। तर, चुल्ठेमुन्द्रे पक्राउ अभियानका रूपमा प्रचार भयो। हामीले कसैलाई कपाल किन पालिस्, मुन्द्रा किन लाइस् भनेका छैनौँ।
अनि किन त्यत्रा युवाहरू पक्राउ गरी कपाल काट्ने, मुन्द्रा खोल्न लगाउने गर्नुभएको त? विगत दुईतीन महिनामा भएका आपराधिक घटनाहरूको मूल्यांकन गर्दा १७ देखि २२ वर्षसम्मका युवाहरूको संलग्नता ज्यादा देखियो। चोक, गल्ली, बजार, रेस्टुरेन्ट लगायतका क्षेत्रमा हुलहुज्जत गर्ने, केटी जिस्क्याउने, चरेसगाँजा खाने, स्कुल बंक गर्नेहरू नियन्त्रणमा लिएका थियौँ। ती प्रायः चुल्ठो बाँध्ने, मुन्द्रा लगाउने परे। त्यसमा खराब प्रवृत्ति नभएका मानिसहरू पनि परेका थिए। तर, हामीले कसैलाई दुःख दिने काम गरेनौं। पक्राउ परेकाहरूको अभिभावक बोलाएर सम्झाउँदा अभिभावकको आग्रहमा कपाल काटिदिने र मुन्द्रा खोल्ने काम भएको हो। हाम्रो टार्गेट अपराधी हुन्।
प्रहरीले दुःख दियो भन्ने जनगुनासो छ नि? प्रहरीले दुःख दिएको छैन। सुरक्षाका दृष्टिले विभिन्न ठाउँमा हामीले प्रहरी-पब्लिक साझेदारीमा काम गरेका छौँ। जनताको आग्रहका आधारमा नै हाम्रो अभियानमा त्यस्ता आवारागर्दीमा संलग्न हुनेहरूलाई नियन्त्रणमा लिइएको हो। नयाँ बानेश्वर, पुरानो बानेश्वर, ठमेल, गोंगबु, कोटेश्वर, कालीमाटीलगायत क्षेत्रमा हामीले यस्ता किशोरहरू ज्यादा पायौँ। कलेज बंक गरी कुलतमा लागेका मात्र तीन सयभन्दा बढी विद्यार्थी हाम्रो नियन्त्रणमा आए। तिनको भविष्यको चिन्ता गर्ने कि नगर्ने भनेर अभिभावकलाई बोलाएर परामर्श पनि दियौँ।
पक्राउ परेका युवाहरूलाई के गर्नुभयो?नियन्त्रणमा लिइएका सबैलाई सामाजिक सुरक्षाबारे हामीले परामर्श गरी अभिभावकको जिम्मा लगायौँ। त्यसमध्येका तीन जना ब्राउनसुगरका उपभोग गर्ने अपराधमा थुनामा छन्। गाँजा खाने, चुरोट खाने, रक्सी खाने, झगडा गर्ने, आवारागर्दीमा लाग्नेहरूलाई सम्झाएर उनीहरूको हुलिया प्रहरीकहाँ राखेर पठायौँ। कलेज बंक गर्नेहरूलाई सजग गरायौँ, अस्वाभाविक हुलिया बनाउनेहरूलाई सभ्य भएर हिँड्न अपिल गरेका छौँ।
अपराधै नगरी पुलिस रेकर्ड राख्न मिल्छ?अहिले देखिएका विभिन्न प्रकारका अपराधमा संलग्नता न्यूनीकरणको अचुक उपाय हो यो। प्रहरीकहाँ आफ्नो रेकर्ड भएपछि त्यस्ता किशोरहरू अपराधबाट सजग हुन्छन् अनि प्रहरीलाई खोज्न पनि सहज हुन्छ। समाजको सुरक्षाको दायित्व भएकाले पनि यो कार्य गरिएको हो।
कपाल पाल्ने र मुन्द्रा लगाउनेले प्रहरीसँग डराउँदै हिँड्नुपर्ने हो?दैनिक पेसा गर्ने, जागिरमा जाने, व्यवसायमा लाग्नेका लागि समस्या छैन। हामीले विशेष सुराकी, सामाजिक गुनासो र विशेष सूचनाका आधारमा कारबाही गरेका हौँ। कुन्डल पनि लाउन पाइन्छ, कपाल पनि पाल्न पाइन्छ। हाम्रो टार्गेट कुन्डल र कपाल होइन। ढुक्क भएर हिँड्नुस्। तर, शंकास्पद गतिविधि भएका र आपराधिक क्रियाकलापमा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिन्छ। 
 
 
'किन हाल्यौँ रिट?'bikalpa विकल्प राजभण्डारी, सदस्य, ल स्टुडेन्ट्स सोसाइटी 
- मानिसले मानिसको जस्तो जीवन जिउन स्वविवेकको प्रयोग गरी कानुनसंगत निर्णय गर्नु आधारभूत अधिकार हो। यही अधिकार अंगिकार गर्दै नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ ले प्रत्येक नेपाली नागरिकलाई स्वतन्त्रताको हकको निश्चय गरेको छ। उक्त धाराको उपधारा २ मा 'कानुन बमोजिमबाहेक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण हुनेछैन,' भनेर स्पष्ट लेखिएको छ। यसै सन्दर्भमा प्रहरीको 'कपाल काट्ने र मुन्द्रा फुकाल्ने' अभियान संविधानको धारा १२ (२) विरुद्ध छ। यही कुराको निर्क्याेल गर्न हामी महानगरीय प्रहरी परिसर हुनमान ढोकामा पुगेका थियौँ। कानुनका विद्यार्थी भएकाले पनि हामीलाई कानुनविपरीत काम कसैले गर्न पाइँदैन भन्ने लागेको हो। तर, प्रहरीले हाम्रो निवेदन दर्ता गर्न त मानेन नै, उल्टै 'तिमीलाई कपाल पाल्नुपर्‍यो, मुन्द्रा लाउनुपर्‍यो' भन्दै हप्कायो।
ह्युमन राइट कमिटीको जनरल कमेन्ट ३४ मा पनि विचार र अभिव्यक्तिको हकको विश्लेषणअन्तर्गत भेषलाई पनि एक माध्यमको रूपमा समावेश गरिएको छ। तर, आफ्नो निर्णय योग्य १८ वर्ष नाघिसकेका युवाको आफ्नै वेषभूषाको निर्णय गन नपाउने ठहर गर्दैै प्रहरीले गरेको कारबाहीले नागरिकको वैयक्तिक स्वतन्त्रता हनन भएको छ। नेपालको अन्तरिम संविधान वा कुनै कानुनले कपाल, पहिरन वा हुलिया कस्तो हुनुपर्ने भनेको छैन। कपाल वा दाह्री पाल्दैमा, मुन्द्रा लगाउँदैमा निजले न कुनै अपराधिक कार्य गरेको भन्न मिल्छ, न त निजको आपराधिक मानसिकता नै रहेको ठहर गर्न सकिन्छ।
कानुन पढिरहेका विद्यार्थीहरूको संस्था ल स्टुडेन्ट्स सोसाइटीले संविधानप्रदत्त हक अधिकार हनन भएको कुरालाई आफ्नो सरोकारको विषय बनाउने गरेको छ। त्यसकारण अधिवक्ता सुभाष लामिछाने र मैले यो रिट दायर गरेका हौं। 
 
 
'चुल्ठेमुन्द्रे अभियान'बारे युवा
आशिष कुँवर : पुलिसले टाइम पास गरेको होला नि! अर्थोक कामै के छ र उनीहरूको?
संजिव अधिकारी : यो कुरा मलाई पच्न सकेन। हामीमाथि यस्तो अन्याय गर्ने भए केटीहरूको सेता तिघ्रा पनि छोप्न लगाउनुपर्छ।
सुलभ गौतम : कपाल पाल्नेजति सबै गुन्डा हुने भए राजेश हमाल, कृष्ण पहाडी र रामदेव बाबा ठूला गुन्डा हुन्। शिवरात्री पनि आउँदै छ। पशुपतिभरि लट्टेबाबाहरूको ताँती लाग्छ। तिनीहरू पनि सबै गुन्डा!
नमराज रिमाल : लामो कपाल पाल्ने र मुन्द्रा लगाउनेभन्दा पनि राष्ट्रिय पोशाकमा सजिएर हिँड्ने गुन्डाहरुलाई पहिले समात्नुपर्छ। पुष्कर घिमिरे : यो त गजबको अभियान हो। देशका युवा बेरोजगार छन्, पुलिसको पनि काम छैन। कपाल काट्ने पैसा (५० रुपैयाँ) भए पनि जोगिन्छ। यस्तो काम महिनैपिच्छे होस्।
उमेश अधिकारी : कपाल पाल्ने सबै खराब हुँदैनन्। राजेश हमाल, कृष्ण पहाडी र रामदेव बाबा कपाल पालेरै सभ्य भएका छन्।
विनोद न्यौपाने : काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर भन्या जस्तो। चाहिने काम गर्नु छैन। नचाहिने कुरामा समय खेर फाल्यो, बस्यो।
अमृत भुजेल : कपाल पाल्ने र मुन्द्रा लगाउनेजति फटाहा हुन्छन् भन्नु मूर्खता हो। राम्रो-नराम्रो भन्ने कुराको मापन त मान्छेको विचार र नियतले गर्छ।
समिर पौडेल : सबैभन्दा पहिला राजेश हमालको कपाल काट्नुपर्छ।
अन्जना राई : छोटो कपाल भएका र मुन्द्रा नलगाउनेहरू चोर, फटाहा हुँदैनन् भन्ने के प्रमाण छ?
नरेन्द्र धामी : अर्थोक काम छैन। नानाभाँतीका चटक देखाएर बस्छन् हाम्रा कप्स दाजुहरु पनि।
सोनिया थापा : मानव अधिकारमाथि सोझो प्रहार हो यो।
बि-रोड खतिवडा : मेरो सपना त 'चना-चटपट' नै हुने भयो। कपाल पाल्ने कत्रो रहर थियो।
शेखर थापा : खोइ त नेपाली युवाको मानवअधिकार?
इन्द्र हुमागाई : कपाल पाल्नेलाई समात्नुचाहिँ बेकार हो। मुन्द्रा लगाउने र ट्यापेहरुलाई समात्दा हुन्छ।
हरि क्षत्री : बेइमान नेपाल पुलिस।
नरेश कोइराला : कुकुरको काम पनि छैन, फुर्सद पनि छैन भन्ने उखान नेपाल पुलिसको चर्तिकलासँग ठ्याक्कै मिल्छ।
गणेश खनाल : कस्तो देश हो हाम्रो? मान्छे काट्ने, जिउँदै गाड्ने, भ्रष्टाचार गर्ने, बलत्कार गर्नेलाई चाहिँ कसैले केही गर्न सक्दैन। जाबो कपाल पालेर टप लगाउनेमाथि चाहिँ यत्रो अन्याय!
रोजेकिस हिराज : छोट्याउने मात्रै होइन, सारा नेपालीलाई तालुचिन्डेे पार्नुपर्‍यो।
सुरेन लामा : सबै गुन्डाले कपाल पाल्दैनन्। पाल्नेजति सबै राजेश हमाल पनि हुँदैनन्।
नारायण खनाल : प्रहरीले सस्तो लोकप्रियताका लागि अपनाएको तिकडम हो यो।
विनोद लोहनी : यसपछि दौरा, सुरुवाल र ढाकाटोपीबाहेक अन्य पोशाक लगाउनेलाई अपराधी घोषित गर। त्यसपछि नेपालीबाहेक अरू भाषा बोल्नेलाई पनि अपराधी भन। पञ्चायतकाल ब्युँत्याउने नै भएपछि किन बियाँलो गर्नु?
राजन इसारा : सक्छौ भने वास्तविक अपराधी, बलात्कारी र राजनीतिक दलका भरौटे गुन्डाहरुलाई कारबाही गरेर देखाओ।
निर्देश ताम्राकार : ट्राफिकले मापसे जाँच भन्दै पैसा कमाउँछन्। पुलिस पनि के कम? हजाम भएर गोजी भर्ने आइडिया निकाले।
प्रविन राधे : सबै पुलिस घुस्याहा नभए जस्तै कपाल पाल्नेजति सबै फटाहा हुन्नन्।
(फेसबुकबाट प्राप्त टिप्पणी) 

-- शुक्रबार 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis