CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अरुमा नभए नि अपराधमा त न. १ नि ...

अरुमा नभए नि अपराधमा त न. १ नि ...

न्यायाधीश रणबहादुर बम हत्या 
१८ जेठमा सर्वोच्च अदालतका बहालवाला न्यायाधीश रणबहादुर बमको हत्या भयो। हत्या गर्ने समूहको अहिलेसम्म पहिचान भएको छैन। ललितपुरको शंखमूल पुलनजिक कुम्भेश्वर टाउन प्लानिङको घुम्तीमा हतियारधारी समूहको गोलीको निसाना बनेका थिए, बम। बिहान बंगलामुखी मन्दिर दर्शन गरेर कार्यालय फर्केका न्यायाधीश बम र उनका अंगरक्षक (पिएसो) प्रहरी सहायक निरीक्षक महेश गिरी र
महेशका साथी राम गिरीमाथि शंखमूलस्थित घाट छेउमा गोली प्रहार भएको थियो।

गोली काण्डपछि हालका प्रहरी महानीरिक्षक कुवेरसिंह रानाको नेतृत्वमा अनुसन्धान समिति गठन भएको थियो। उनको सो समितिले पनि कुनै पनि सूचना बाहिर ल्याउन सकेन। प्रहरीको समितिले बम हत्या सम्बन्धी कुनै पनि जानकारी बाहिर नल्याएपछि सरकारले न्यायिक आयोग गठन गरेको थियो। तर, त्यो आयोगले पनि हालसम्म अपराधीको सूचना नपाएको भन्दै प्रहरी सजग हुनुपर्ने उपदेशसहितको प्रतिवेदन बुझायो।

गंगाविशन राठी अपहरण र हत्या
२७ पुसमा विराटनगरका उद्योगी गंगाविशन राठीलाई एक आपराधिक गिरोहले भारतबाटै अहपरण गरी फिरौतीको रकमसमेत लिएर हत्या गर्‍यो। उनी अपहरणमा परेकोे २३ दिनपछि मृत अवस्थामा फेला परेका थिए। उनीसँगै शिव सेना नेपालका अध्यक्ष चन्द्र चुडालको पनि हत्या गरियो। भारतको पश्चिम बंगाल राज्यस्थित दार्जिलिङको टिस्टा खोलामा उनीहरूको शव फेला परेको थियो।
अपहरणमा संलग्नको बयानका आधारमा अनुसन्धान गर्दा राठी र चुडालको शव भेटिएको हो। अपहरित राठीलाई छुटाउन उनको परिवारले ५० लाख रुपियाँ फिरौतीसमेत बुझाइसकेको थियो। अपहरणमा संलग्न भएको अभियोगमा नेपाल र भारतको सुरक्षाकर्मीको संयुक्त अपरेसनमा भारतीय नागरिक सुरेन्द्रकुमार मिश्र र अभिजीत वासु पश्चिम बंगालको बोलपुरबाट पक्राउ परेपछि उनीहरूकै वयानका आधारमा प्रहरीले राठी र चुडालका शव फेला पारेको थियो। व्यापारिक कामको सिलसिलामा काँकडभिट्टाको नाका हुँदै भारतको सिलिगुडी पुगेका उद्योगी राठी पुस २७ गतेबाट बेपत्ता भएका थिए।
उनी हराएको दोस्रो दिनबाटै उनकै मोबाइल प्रयोग गरेर परिवारलाई फिरौती माग्ने फोन आएपछि उनी अपहरणमा परेको खुलेको थियो। उनी अपहरणमा परेको पुष्टि भए लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्कालीन प्रहरी निरीक्षक कृष्ण कोइरालाको नेतृत्वमा प्रहरी टोली भारत पठाएको थियो। सोही टोलीले मिश्र र वासुलाई पक्राउ गरी भारतीय प्रहरीलाई बुझाएको थियो। प्रहरीले फिरौती रकम पनि बरामद गरेको थियो।
उद्योगपति राठीका धौलाछाप तेल उद्योग, चन्द्रशिव राइस मिल, मैदा मिल, जुट उद्योग सञ्चालनमा छन्। उनी मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष पनि थिए। उनको हत्यापछि देशको औद्योगिक वृत्तमा त्रास उत्पन्न भएको थियो।
नक्कली भारतीय नोट कारोबारी पक्राउ
नेपालबाटै भारतीय नक्कली नोटहरू भारतीय शहरमा पुग्छन् भन्ने आरोप फेरि पनि पुष्टि भएको थियो। पछिल्लो पटक २१ फागुनमा दुई पाकिस्तानी र दुई नेपालीलाई पक्राउ परेपछि भारतीय आरोपलाई नेपाली सुरक्षाकर्मीले खण्डन गर्ने आधार थिएन। प्रहरीको प्रतिआतंकवाद सेलले ४८ लाख ५६ हजार भारतीय रुपैयाँका नक्कली नोटसहित पाकिस्तानी इन्टनेसनल एयरलाइन्सबाट काठमाडौँ आएका पाकिस्तानी नागरिक स्याकत अली, रसफाकत अलीको साथबाट नक्कली नोट भेटाएको थियो। पहिलो पटक नेपाल आएका उनीहरूको राहदानी गएको जनुवरीमा मात्र जारी भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूसहित अर्का सहयोगी १९ वर्षीय हुसेन अन्सारीलाई पक्राउ गरेको छ।
नेपालको बाटो हँुदै नक्कली नोट तस्करी गर्ने गिरोहले सुरुमा पाकिस्तानी एयरलाइन्सबाट पाकिस्तानी नागरिक नै प्रयोग गरेर तस्करी गर्थे। प्रहरीले सुरक्षा कडा पारेपछि उनीहरूले बाटो बदलेका थिए। पाकिस्तानबाट दुबई, मलेसिया र थाइल्यान्ड हुँदै नेपाल र यहाँबाट नक्कली नोट भारत पठाउने गरेका थिए। प्रहरीले त्यो सूत्रसमेत पत्ता लगाएपछि उनीहरूले पाकिस्तानी नागरिकको सट्टा शंका नहुने हिसाबले भारतीय नागरिक प्रयोग गर्न थाले। त्यसपछि तराई मूलका नेपाली नागरिक हुँदै पहाडियालाई समेत आर्थिक लालच देखाएर प्रयोग गरेको प्रहरीको भनाइ छ। वीरगन्जमा पक्राउ परेका ३९ वर्षीय अनवर हुसेन भारतीय नक्कली नोट कारोबारका मुख्य नाइके हुन । छ वर्षयता मात्रै प्रहरीले १३ करोड ८७ लाख १६ हजार एक सय भारतीय नक्कली रुपैयाँ बरामद गरेको छ।
सुरुङ खनेर कैदी फरार 
२३ कात्तिकको मध्यरात कारागार प्रशासनको लापारबाहीका कारण झुम्का कारागारबाट कुख्यात अपराधीहरू सुरुङ खनेर फरार भए। सुरक्षा व्यवस्थालाइ ठाडो चुनौती दिँदै पूर्वाञ्चलको सबैभन्दा ठूलो र सुरक्षित मानिएको क्षेत्रीय कारागार झुम्का, सुनसरीबाट भारतीय, बंगलादेशी र नेपालका गरी १२ जना कैदी भागे। उनीहरूको अवस्था अहिलेसम्म पत्ता लागेको छैन। प्रहरीले दुईजनालाई भारतबाट पक्राउ गरेको भनिए पनि उनीहरू नै हुन वा होइनन् भन्ने बारे अहिलेसम्म यकिन भएको छैन।
सुरुङ खनेर भाग्नेहरूमा सप्तरीमा कृषि विकास बैकका प्रबन्धकको हत्या गर्ने र दुई जिल्लाबाट नागरिकता बनाएका मुखिया भनिने धिरेन्द्र यादवसहित चौकीदारको रूपमा जेलमा रहेका बंगलादेशी नागरिक अलि अर्सफ अन्सारी, किर्ते नागरिकताकै आरोपमा जेल परेका हरिश्चन्द्र झा भनिने दिनेश झा रहेका छन्। कर्तव्य ज्यान र चोरीका आरोपी विनायक यादव, कर्तव्य ज्यान र मानव बेचबिखनमा जेल परेका सुवास यादव, सर्पराज आलम र रमेश सदा, हातहतियार र मानव बेचबिखनका कैदी सुवासकुमार यादव, खुनडाँकाअन्तर्गत जेल परेका जाकिर मियाँ र ममताज मियाँ तथा डकैती मुद्दाका कैदी फारुक राय भट्ट सुरुङ खनेर फरार भएका थिए।
कारागारको दक्षिण-पश्चिम क्षेत्रबाट ४० फिट लामो सुरुङ खनेर उनीहरू भागेका थिए। कारगारभित्रबाटै त्यति लामो सुरुङ खनेर भाग्दा समेत त्यहाँको प्रशासनले थाहा नपाउनु उदेकलाग्दो थियो। सुरक्षाकर्मीको चरम लापरबाही भएको भन्दै प्रहरीको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले त्यहाँ कार्यरत सुरक्षाकर्मी प्रहरी निरीक्षकसहित १७ प्रहरीलाई निलम्बन गरेको थियो।
भाडाका हत्यारा लगाएर पतिको हत्या
परपुरुषसँग सम्बन्ध राख्न पल्केकी श्रीमतीले २४ पुसमा 'कन्ट्र्याक्ट किलर' को सहयोगमा श्रीमान्को हत्या गरिन्। आइतवार राति ११ बजेको समयमा पासाङयाङ्जी शेर्पाले आफ्नै श्रीमान् फुदोर्जी शेर्पालाई प्रेमी पासाङ निम्बा शेर्पा र अन्य दुईजना 'कन्ट्रयाक्ट किलर'को सहयोगमा हत्या गरेकी थिइन। 'कन्ट्रयाक्ट किलर'लाई उनले दुई लाख ५० हजार रुपैयाँ दिएर फुदोर्जीको हत्या गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको थियो।
संखुवासभा, मकालु-५ स्थायी घर भई चपली, भद्रकाली-८ स्थित विन्द्रा पुरकोटीको घरमा डेरा गरी बस्दै आएका वर्ष २९ को फुदोर्जी शेर्पालाई उनकै निर्माणाधीन घरनजिकै सामान कुर्न बनाएको टहरोभित्र पेपर कटरले
घाँटी काटी निर्दयी तरिकाले हत्या गरिएको थियो।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी देवेन्द्र सुवेदीका अनुसार याङ्जी र पासाङबीच अनैतिक सम्बन्ध थियो। उनीहरूले करिब एक महिनाअघि आफ्नो प्रेममार्गको तगारो फुदोर्जीलाई हटाउने योजना बुनेका थिए।
साहतुस बरामद
२२ असोजमा प्रहरीले लामो समयपछि अनौठो प्रकृतिको अपराधलाई उजागर गर्‍यो। प्रहरीले लोपोन्मुख दुर्लभ प्रजातिको प्राणी चिरुको रौँ (साहतुस) एक हजार एक सय ५० किलोग्राम बरामद गरेपछि आपराधिक दुनियाँको अर्काे पाटो खुलेको थियो। बरामद गरिएको रौँको मूल्य तीन अर्ब रुपैयाँ बराबर थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो परिमाणको राँैसहित दुईजनालाई पक्राउ गरेको थियो ।
नेपाल तथा तिब्बतको केही सीमित जंगलमा मात्रै पाइने चिरुको रौँ विश्वबजारमा अत्यन्त बहुमूल्य मानिन्छ। प्रहरीले गोरखाको थुमी गाविसस्थित केउरपानीबाट सो रौँ बरामद गरेको थियो। रौँसहित पक्राउ पर्नेहरूमा पूर्णहादुर गुरुङ र शर्मिला बराम छन्। उनीहरूले सो रौँ तिब्बतबाटै ल्याएको प्रहरीले जनाएको छ।
बजारमूल्यको आधारमा वन्यजन्तु तस्करीसम्बन्धी यो अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको बरामद हो। बरामद गरिएको रौँको परिमाण पाउन सात हजार चिरु आवश्यक हुने बताइन्छ। एउटा सल बनाउन कम्तीमा चार वटा चिरुको रौँ चाहिन्छ। त्यसबाट बनेको सललाई भारतमा पाँच हजार डलर र विश्वबजारमा २० हजार डलर पर्छ। नेपालको मुस्ताङमा मात्रै न्यून संख्यामा चिरु पाइन्छन्। चिरु हरिण प्रजातिको जनावर हो।
अपराधमा प्रहरीको संलग्नता
विदेशी मुद्रा तस्करीकै कारण एसएसपीको जागिर गएको छ। गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविराज श्रेष्ठलाई सेवाबाट बर्खास्त गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रा तस्करीको मुख्य मतियार देखिएका एसएसपी श्रेष्ठलाई मन्त्रालयले २२ चैतमा बर्खास्त गरेको हो। त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा हुन्डी र सुन तस्करीमा सक्रिय व्यापारीहरूसँग मिलेर उनले आफ्नो पदीय हैसियत दुरुपयोग गरेको पुष्टि भएको थियो। असोज १९ गते त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको उडानका यात्रु सोनीको साथबाट बरामद एक करोड २४ लाख बराबरको विदेशी मुद्रा एसएसपी श्रेष्ठकै गाडी चालकले पुर्‍याएको खुलेको थियो। सोही कार्यमा सहयोग गर्ने विमानस्थलमा चार वर्षदेखि कार्यरत असई हिराकाजी कुमालको पनि संलग्नता पाइएपछि उनलाई पनि पक्राउ गरिएको थियो।
यसअघि सशस्त्र प्रहरीको परिचयपत्र र हतियार देखाएर व्यापारीसँग रकम असुल्ने वहालवाला चार सशस्त्र प्रहरी पक्राउ परेका थिए। त्यस्तै अपहरण तथा शरीर बन्धक बनाई रकम असुल्ने नेपाल प्रहरीका दुई सई प्रकाश मल्ल र रुद्रनाथ पौडेल पनि पक्राउ परेका छन् भने अर्का एक असई राजु भण्डारी पनि पक्राउ परेका छन्।
पाँच डनको फाइल विभागमा
गणेश लामा, परशुराम बस्नेत, दीपक मनाङे, चक्रे मिलन र अभिषेक गिरीको अकुत सम्पत्ति विवरणसम्बन्धी फाइल अनुसन्धानका लागि नेपाल प्रहरीले ९ चैतमा सम्पत्ति शुद्धीकरण विभाग पठाएको छ । अनुसन्धानबाट यी सबैका नाममा देखिएका करोडौँ सम्पत्तिको स्रोत खुल्न नसकेको विवरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले औपचारिक रूपमा विभागलाई बुझाएको हो। प्रहरीले दुई वर्षअघि सुरु गरेको अनुसन्धान प्रक्रिया करिब पाँच महिनाअघि सकिएको थियो।
-- शुक्रवार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis