CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बुद्ध मूर्ति विवादले काठमाडौँ जाम

बुद्ध मूर्ति विवादले काठमाडौँ जाम

budhhaमंगलबार बिहान अफिस टाइममा राजधानीका मुख्य मुख्य सडकमा ठूलै जाम भयो। कतिलाई जामको कारणसमेत थाहा थिएन। खासमा  बौद्ध धर्मावलम्वीहरुले भद्रकाली, माईतिघर, हनुमानथान र पद्यमोदय मोडमा भेला भई बिहान नौदेखि ११ बजेसम्म सिंहदरबार घेर्ने
कार्यक्रम राखेका थिए। पिक आवर भएकोले दुई घण्टामै राजधानी अस्तव्यस्त बन्न पुग्यो। ट्राफिकले जाम घटाउन रिङरोडबाट रत्नपार्क आउने गाडीलाई रिङरोडमै रोकिदियो। आफूलाई नपरेसम्म देशका जुनसुकै भागमा भएका घटनालाई पनि बाल मतलब नगर्ने केही राजधानीवासीहरुलाई दुई महिनाअघिदेखिको यो विवादबारे थाहा हुने कुरै भएन। खासमा यो बुद्ध जयन्तीदेखि चर्केको विवाद हो। सुर्खेतको काँक्रेविहारमा बुद्धको मूर्ति राख्‍न खोज्दा प्रशासनले नदिएर खोसर लगी अपमानजनक रुपमा अलपत्र फ्याँकेको भन्दै चलेको आन्दोलनले अनिश्चितकालीन सुर्खेत बन्द पनि भोगिसकेको थियो। त्यहाँबाट पार नलागेपछि आज यो विवाद राजधानी छिरेर घण्टौँ जाम गरिदिएको हो। खास के कारण हो त यो विवादको ?

अहिलेको विवाद यसरी सुरु भयो-
बुद्ध जयन्तीको दिन काँक्रेविहारमा १७ फिट अग्लो बुद्धको मूर्ति राख्‍ने कार्यक्रम थियो। तर सुर्खेत सिडिओ कार्यालयले हस्तक्षेप गर्‍यो। झडप भयो। मूर्ति राख्‍न खोज्ने १७ जना र चार जना प्रहरी घाइते भए। हस्तक्षेप भए पनि उनीहरुले मूर्ति पिपलचौतारीमा राखेरै छाडे। तर सिडिओको आदेशले त्यो मूर्तिलाई त्यही दिन उखेलियो र जिल्ला प्रहरी कार्यालयमा लगेर राखियो।
भगवान बुद्धले मूर्ति पूजाको विरोध गरेका भए पनि आफ्नो आस्थाको प्रतिकलाई त्यसरी अलपत्र फ्याँकेको देख्दा बौद्धमार्गीहरुको मन कटक्क खायो। र, सुरु भयो आन्दोलन। यो आन्दोलनले अनिश्चितकालीन सुर्खेत बन्दको नाममा केही दिन बन्दसमेत भोगिसक्यो। त्यही चरणवद्ध आन्दोलन अहिले राजधानी पसेको हो।
अझै पुरानो विवाद
खासमा यो धार्मिक विवाद अझै पुरानो हो। अहिले फेरि सतहमा मात्रै आएको हो। यो विवादको बीउ रोपिएको थियो २०५७ सालमा। त्यतिबेला पुरातत्व विभागले काँक्रेविहारको भग्नावशेष उत्खनन् गरेको हो। विक्रम स‍ंवत् अनुसार १२/१३ औँ शताब्दीमा यो बनेको विश्वास गरिन्छ। पुरातत्व विभागको टोलीले यो ठाउँमा उतिबेला शिखर शैलिको मन्दिर थियो भन्ने ठहर गर्‍यो। साथमा त्यहाँ पुरानै ढाँचामा मन्दिर बनाउनु पर्छ भन्ने निर्णय पनि गर्‍यो।
पुरातत्व विभागको निर्णयमा बौद्धमार्गीहरु सहमत भएनन्। उत्खनन् गर्दा त्यहाँ भेटिएका करिब ८० प्रतिशत कुरा बुद्धसँग सम्बन्धित छ भने किन त्यहाँ मन्दिर बनाउने, विहार बनाउनु पर्छ भन्ने उनीहरुको तर्क थियो। बुद्ध नेपालमा जन्मिएको भनेर गर्व गर्ने देश त्यतिबेला हिन्दु राज्य थियो। बौद्धमार्गीहरुको केही लागेन। पुरातत्वले ६५ फिट अग्लो शिखर शैलीको मन्दिरको नक्सा बनाएर बनाउने काम थाल्यो। त्यतिबेलै बौद्ध धर्मालम्बीहरुको संस्था धर्मोदय सभा र बौद्धगुम्बा निर्माण तथा संरक्षण समितिले मन्दिर निर्माणको विरोध गर्दै काममा अवरोध खडा गरेका थिए।
ब्युँतियो विवाद
मन्दिर भने पनि त्यहाँ हिन्दु र बौद्ध दुवै झल्कने मूर्ति राख्ने योजना थियो। त्यसो हुँदा कसैलाई आपत्ति हुने पनि थिएन। हिन्दु र बौद्ध सदियौँदेखि मिलेर बसेका छन् नेपालमा। काठमाडौँमा कतिपय मन्दिरमा बौद्ध र हिन्दू दुवै देवताका मूर्ति छन्। कतिपय देउता त दुवै धर्मका साझा पनि छन्।
तर पाँच करोड लागतको भनिएको यो मन्दिर रकम अभावका कारण अलपत्र पर्‍यो। मन्दिर नबन्ने भएपछि बौद्ध धर्मावलम्बीहरुले आफ्नै खर्चमा बुद्धको मूर्ति राख्‍न खोजे। थाइल्यान्डबाट १७ फिट अग्लो फाइबरको बुद्धमूर्ति ३५ लाख खर्चेर ल्याइयो।
प्रशासनको अलमल
बुद्ध जयन्तिको दिन बल प्रयोग गरेर मूर्ति राख्‍न नदिने प्रशासनले सुरुमा भने मूर्ति राख्‍न अनुमति दिएको थियो। २०६४ फागुन १२ गते जिल्ला प्रशासन कार्यालयले पुरातत्व विभागको समेत परामर्श लिई त्यो ठाउँमा बुद्ध मूर्ति राख्न बौद्धगुम्बा निर्माण तथा संरक्षण समितिलाई अनुमति दिएको थियो। सुरुमा त्यसरी अनुमति दिए पनि पछि भने वन ऐन अनुसार राख्न मिल्दैन भन्न थाल्यो। काँक्रेविहार संरक्षित वन हो। त्यसभित्र कुनै संरचना निर्माण गर्न मन्त्रिपरिषदको निर्णय आवश्यक पर्छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले नागरिकलाई भनेका छन‌्- ‘जिल्ला प्रशासन कार्यालयले पहिले कुन आधारमा अनुमति दिएको थियो थाहा छैन,तर काँक्रेविहारक्षेत्र संरक्षित वन भएकोले मन्त्रिपरिषदको निर्णयबिना त्यहाँ कुनै मूर्ति राख्न वा संरचना निर्माण गर्न पाइँदैन।’यसरी अब सबै कुरा आएर मन्त्रिपरिषद्‌मा जोडिएको छ। मन्त्रिपरिषद्ले निर्णय गर्‍यो भने त्यहाँ मूर्ति राख्‍न पाइन्छ।
सरकार दुई विकल्प
प्रशासनले पहिले किन स्वीकृति दियो ? के आधारमा स्वीकृति दियो, त्यो पत्ता लगाउनु पर्छ। कहिले हुन्छ भन्ने कहिले हुन्न भन्ने कहाँ गर्न पाइन्छ र। विधिको शासनमा व्यक्तिको लहड हावी हुनुहुँदैन।
अब सरकारसँग दुई विकल्प छ- कि त्यो ठाउँमा पुरातत्व विभागले बनाएकै संरचनामा मन्दिर तत्काल बनाउन लगाउनु पर्‍यो। कि भने हाललाई त्यो ठाउँमा बुद्ध मूर्ति राख्‍न दिनुपर्‍यो। पछि मन्दिर बनाउँदा त्यो मूर्तिले समेत शोभा दिने गरी। बुद्ध मूर्ति त्यहाँ राख्दैमा हिन्दुहरुले आपत्ति गर्ने कुरा हुँदैन। कसैले आपत्ति जनाएको पनि सुनिएको छैन। किनभने कतिपय हिन्दुहरु पनि बुद्धलाई पुज्छन्, कतिले त अझ अवतारै पनि भन्छन्। सदियौँदेखि मिलेर बसेका बौद्ध र हिन्दु धर्मावलम्बीबीचको तनावै हैन यो। यो त प्रशासनको अलमल्याइँले सिर्जिएको द्वन्द्व हो। बुद्ध नेपालमा जन्मिएको भनेर गौरव गर्ने, अन्तर्राष्ट्रिय अदालतमा बुद्धको मूर्ति राखियो भनेर नाक फुलाउने नेपालीहरुलाई त्यो ठाउँमा बुद्धको मूर्ति राख्दा आपत्ति हुने कुरै हुँदैन। हिन्दु धर्म लादिएको महसूस बौद्धमार्गीहरुलाई नहोस्।
वास्तविक बौद्धमार्गीहरुलाई त त्यो ठाउँमा मूर्ति राखे पनि नराखे पनि असर पर्दैन। किनभने भगवान बुद्धले यस्ता आडम्बरको विरोधमा आफ्नो सारा जीवन बिताएका हुन्। मूर्ति पुजा हैन, चित्त शुद्ध राख्ने शिक्षा उनले दिएका हुन्। बुद्धलाई ढोगेर, बुद्धलाई पुजेर मुक्ति पाइँदैन भनेर उनले आफ्नो शिक्षामा पटक पटक भनेका छन्।
तर पनि आफ्नो आस्थाको प्रतिकलाई त्यसरी अलपत्र पारेर भूँइमा ढलाएर राख्दा चित्त त दुःखी हाल्छ नि। हिन्दुको पनि कर्तव्य हैन र बौद्धमार्गीको चित्त दुख्न नदिनु !
budhha
बुद्ध जयन्तीको दिन काँक्रेविहारबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा लगिएको बुद्धमूर्ति। फोटो साभारः कलेन्द्र सेजुवाल/नागरिक
[तपाईँको विचारमा यो समस्या कसरी समाधान होला ? सरकारले कस्तो निर्णय गर्नुपर्ला ? आफ्नो विचार तल कमेन्टमा लेख्नुस्]
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis