नयाँदिल्ली रेलवे स्टेसनको पश्चिमतर्फको पहाडगन्ज र त्यहाँका होटलसँग नेपालीको साइनो राम्रै गाँसिएको छ। कारण, यो ठाउँ तेस्रो मुलुक जाने नेपाली युवक-युवतीहरू राख्ने स्थल बनेको छ। दलालहरूले साँघुरा गल्लीभित्र सञ्चालित होटलमा उनीहरूका लागि बास मिलाएका हुन्छन्। नेपालीका ३० होटलमध्ये
अधिकांशमा यसै गरी मान्छे राखिने गरेको भुक्तभोगीहरूको भनाइ छ।नेपाल सरकारले श्रम स्वीकृति लिएर स्वदेशी विमानस्थलबाट मात्रै कामदारलाई जानुपर्ने नियम बनाए पनि यसलाई छलेर जाने क्रम रोकिएको छैन। भारत सरकारले श्रम स्वीकृति नलिई तेस्रो मुलुक जाने नेपाली कामदारलाई यदाकदा मात्र कडाइ गरेको पाइन्छ। त्यसैले पनि भारतको बाटो युवक-युवतीलाई तेस्रो मुलुक लैजाने क्रम पटक्कै रोकिएको छैन।
दिल्ली पहाडगन्जकै अवस्था हेरौँ न ! त्यहाँको एक होटलमा नेपाली युवतीहरू खुबै ओहोरदोहोर गररिहेका थिए। तर, १८ देखि ३५ वर्ष उमेरका उनीहरू कसैसँग बोल्न चाहेनन्। होटलबाट निस्केको आधा घन्टापछि भने उनीहरू हातमा दाल, चामल र तरकारीका पोका बोकेर फटाफट माथि उक्लिए। नेपाली रै'छन् भनेर प्रश्न गर्दा होटल साहूले 'दार्जीलिङका नेपाली हुन्' भन्ने जवाफ फर्काए। बुझ्दै जाँदा थाहा भयो, ती त सबै सिन्धुपाल्चोकका रहेछन्, खाडी, लेबनान, इजरायल, अपि|mकी मुलुक जान भन्दै ल्याइएका।
नेपाल संवाददाता पहाडगन्ज पुग्दा एक होटलमा पाँच नेपाली युवक भेटिए। तीमध्ये पेटी दलाल रहेछन्, मखनबहादुर गुरुङ। मुख्य दलालबाट ठगिएर पीडामा परेका युवकहरूको आक्रोशको तारो उनै बनेका छन्। पैसा दिएका युवकहरूले आफ्नो रकम फिर्ता गर्न दबाब दिएपछि उनी दुई वर्षदेखि घर र्फकन सकेका छैनन्। उनले गाउँबाट उठाएर आठ लाख रुपियाँ छत्र श्रेष्ठ भन्ने दलाललाई दिएका रहेछन्। गोरखा, श्रीनाथकोट-७ का गुरुङ भन्छन्, "ऊ पैसा खाएर नेपाल बसेको छ, म यहीँ
फसेको छु।"
वैदेशिक रोजगारका लागि यस्तो चोर बाटो हिँडाइएका अधिकांश कामदार कुरा खोल्न चाहँदैनन्। समस्या र पीडामा नपरेसम्म अधिकांश कुरा लुकाउँछन् । सुगालाई रटाएझैँ दलालहरूले जेजे घोकाएका हुन्छन्, त्यही सुनाउँछन्।
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलनजिकको महिपालपुरको एक होटलमा पनि नेपाली भेटिए। विदेश जान खोजेका मध्ये एक जना निजी स्कुलका शिक्षक थिए। सुरुमा उनले दिल्ली र दुबई (यूएई) घुम्न हिँडेको बताएका थिए। तर, पर्वतका भविश्वर तिमिल्सिना घुम्न हिँडेका थिएनन्। रोजगारका लागि दुबई जाने प्रयासमा दिल्ली पुगेका थिए। वैदेशिक रोजगारमा श्रम स्वीकृति नलिई जाँदाका समस्या उनलाई थाहा नभएको पनि होइन। कास्की घर बताउने रमेश भुसाल नामक दलालमार्फत दिल्ली हुँदै दुबई जान लागेका उनले रकम दिई नसकेकाले काम नभए घरै
फर्किने सुनाए।
दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार दलालले विदेश पठाउने नाममा युवक-युवतीलाई 'अरूलाई कुरा खोले काम बिगि्रन्छ, ज्यानको खतरा हुन्छ' भन्दै एकोहोरो बनाएका हुन्छन्। समस्या सुल्झनै नसक्ने भएपछि भने मिलाइदिनुपर्यो भन्दै दूतावासमा पुग्छन्। कतिपय भने दलाल-दलालबीच झमेला परेर दूतावास पुग्ने गरेका छन्।
मुम्बईमा पनि उस्तै
मुम्बईको छिमेकी जिल्ला हो, ठाणे। यही ठाणेको मुम्ब्रा बजारभित्र एउटा टोल छ- सञ्जयनगर। सञ्जयनगर प्रवेशद्वार छिरेपछि दुई मिनेटको दूरीमा छ, तिलाकचोक। चोकमा रेलवे प्रहरीको एउटा सानो घर छ र आसपासमा छन्, अरू घर-पसलहरू। तनहुँका सोमप्रसाद लामिछाने यही रेलवेका एक प्रहरीको घरमा तीन महिना बास बसेर साउदी अरब हानिएका थिए, एक दशकअघि।
गत असारमा पाण्डे थरका उनै रेलवे प्रहरीको घरमा पुग्छन्, बन्दीपुर-८, याम्पाफाँटका लामिछाने। यसपटकको उद्देश्य भने फरक हुन्छ, भेटघाट र वैदेशिक रोजगारमा मुम्बई भएर जानेहरूबारेको खोजीनिती। पाँच वर्ष साउदीमा काम गरेर फर्केपछि प्रवासी नेपालीको अधिकारका लागि साथीहरूसँग मिलेर खोलेको संस्थामा आबद्ध छन्, उनी।
१० वर्षअघि उनलाई दलालले वैदेशिक रोजगारका लागि मुम्बईको बाटो साउदी पुर्याउँदा तिनै रेलवे प्रहरीको घर भाडामा लिएर राखेका थिए। तीन महिनासम्म उनी यी प्रहरीको घरमा बस्दा परिवारसँग मित्रता बनेको रहेछ। दलालले पैसा नदिएर खान नपाउँदा यिनै प्रहरीका परिवारले उनलाई खुवाएका रहेछन्।
मुम्बईबाट वैदेशिक रोजगारमा जानेको पीडा १० वर्षपछि पनि उस्तै रहेको अनुभव गरे, उनले यसपटकको भ्रमणमा। पहिलेजस्तो चहलपहल नभए पनि पठाउने क्रम निरन्तर छ। दलालहरूले विभिन्न बहानामा मुम्बईका ठाउँठाउँमा घर भाडामा लिएर खाडी, इराक, अफगानिस्तान, अपि|mकी र युरोपेली मुलुक पठाउने भन्दै युवक-युवती राखेका छन्।
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !