थबाङ, माओवादी सशस्त्र विद्रोहको केन्द्र मध्य थबाङमा रहेको झन्डै सय वर्ष पुरानो घर बेच्दा पूर्वबेलायती सैनिक भरत बुढाको हातमा लाखौँ रुपियाँ पर्न सक्छ। बु्रनाई एयरलाइन्समा कार्यरत बुढा यति बेला घर बेचेर पैसा हात पार्नेभन्दा पनि यससँग जोडिएको इतिहास जोगाउने पक्षमा छन्।
अहिले संविधानसभा निर्वाचनको भण्डाफोर अभियानमा सक्रिय नेकपा-
माओवादी अध्यक्ष मोहन वैद्य 'किरण'ले आश्रय लिएको घर हो यो। भूमिगतकालमा लामो समयसम्म वैद्य लुकेर बसेको घर संरक्षणको अभियानमा साथ दिइरहेका छन् थबाङवासीले।अहिले संविधानसभा निर्वाचनको भण्डाफोर अभियानमा सक्रिय नेकपा-
०३८ सालताका वैद्य आबद्ध रहेको नेपाल कम्युनिस्ट पार्टी (चौम)विरुद्ध तत्कालीन सरकारले चलाएको अपरेसनका बेला उनले यो घरमा सेल्टर लिएका थिए। उति बेला वैद्यलाई लुकाएर जोगाउने सबैलाई सेना र प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, सोही घरमा लुकेर बसेका वैद्य भने पक्राउ परेनन्। स्थानीय बरू आफँै पक्राउ परे तर वैद्य लुकेर बसेको सुइँको दिएनन्।
शिक्षिका एवं घरधनी भरतकी बहिनी राममाया बुढामगर त्यति बेला सानै थिइन्। तैपनि, उनीसँग वैद्य खुसुक्क लुकेको, सेना खोज्दै आएको र गाउँलेलाई नै पक्रेको धमिलो स्मृति ताजै छ। भन्छिन्, "बा-आमाले घरमा नयाँ मान्छे भित्र्याउन थालेको थाहा पाएपछि को रै'छ भनेर खुबै चासो भयो। नयाँ मान्छेको अनुहार खुसुक्क हेर्न खोज्दा त बाआमाले गाली पो गरे।"
त्यति बेला वैद्य पक्राउ पर्लान् भन्ने डरले गाउँलेहरूले घरभरि स-साना बालबालिका राखिदिएका थिए। राममाया भन्छिन्, "त्यही भएर प्रहरी र सेनाले त्यो घरमा खानतलासी नै गरेन।" थबाङका एक पुराना कम्युनिस्ट सदस्य आशमन रोका भत्कनै लागेको घरमा वैद्यलाई लुकाएर राखेको सम्झन्छन्। भन्छन्, "दुई दिनसम्म कारबाहीमा आएको सेना-प्रहरीले उनी यहाँ भएको सुइँकोसम्म पाएन।" ०३२ सालमा कम्युनिस्ट पार्टीको चौथो महाधिवेशनको क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटन गर्न वैद्य पहिलोपटक थबाङ आएका थिए।
चिनियाँ क्रान्तिको चर्चित गाउँ एनानसँग तुलना गरिएको थबाङको उक्त घरसँगै क्रान्तिको कथा बाँच्ने गाउँलेको विश्वास छ। भरत भन्छन्, "त्यति चर्चा पाएको गाउँमा कम्युनिस्ट नेताले लुकेर ज्यान जोगाएको घर किन भत्काउने भन्ने लाग्यो।" गाउँलेले घरको महत्त्व सुनाएपछि उनी पनि संरक्षणमा लागेका छन्। माओवादी विद्रोहका बेला सेनाले गरेको आगजनीमा सिंगै गाउँका २१ घर जल्दा पनि जोगिएकाले गाउँलेहरू यस घरलाई भाग्यमानी ठान्छन्।
रोल्पाबाट १ फागुन ०५२ मा सुरु भएको सशस्त्र विद्रोहअघि र पछि पनि लामो समयसम्म वैद्य थबाङमा बसेका थिए। धनुषा घर भई थबाङ उच्च माविमा कार्यरत शिक्षक रामउदगार यादव १५ वर्षदेखि यही घरमा बसिरहेका छन्। नेकपा-माओवादीका थबाङ गाउँ इन्चार्ज जयप्रकाश रोका इतिहास जोडिएको घरको महत्त्व झनै बढेको बताउँछन्।
'युद्ध पर्यटन'का लागि पनि घर संरक्षणले महत्त्व राख्ने थबाङवासीको बुझाइ छ। सशस्त्र द्वन्द्वका क्रममा थबाङका ३३ जनाले ज्यान गुमाए भने ३४ जना अपांग जीवन बाँच्दै छन्। उनीहरूले विद्रोहका क्रममा निर्माण गरिएका संरचना जनकम्युन, जनवादी विद्यालय, सहकारी उद्योग, स्वास्थ्य एकाइ संरक्षण गर्ने योजना बुनेका छन्। यहाँका पुराना कम्युनिस्ट पूर्णबहादुर रोकामगर भन्छन्, "वैद्यले लिएको राजनीतिक लाइनलाई थबाङले अहिले पनि स्वीकार गरेको छ।"
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !