वर्षपछि पोखराको नेवारी ब्यान्ड 'लुजा'लाई हातमा लिएर 'रविन एन्ड लुजा' नामक ब्यान्ड निर्माण गर्यो। केही समयपछि नै उक्त ब्यान्डको 'नेपाल' शीर्षकको एल्बम सार्वजनिक भयो। नेपालमा यसअघि नसुनिएको चर्को गिटारको स्वरमा नेपाली रक एन्ड रोल रविन तामाङको स्वरबाट निस्कँदा मानिसहरु छक्क पर्न थाले। हेर्दाहेर्दै त्यो अग्लो कालो मान्छे नेपाली रक संगीतको रोल मोडल मात्र भएन, सहरी युवापुप्ताको आकर्षणको केन्द्र पनि बन्यो।
तिनै रविन नेपाली चलचित्रमा उम्दा खलनायकका रुपमा पनि देखिन थालेका छन्। छड्केमा डनको भूमिका निर्वाह गरेका रविन अहिले करिश्मा मानन्धरसँग चलचित्र 'वान वे' मा विशेष भूमिकामा देखा पर्दैछन्। चलचित्र वान वेको सुटिङ्का बेला अश्विनी कोइरालासँग रविनले पहिलो पटक आफ्ना कथा-ब्यथा सार्वजनिक गरेका छन्।
कालो, अग्लो र डरलाग्दो। तपाईं नेपालीजस्तो पनि देखिनुहुन्न। अचानक नेपालमा झुल्कनुभयो र यतै बस्न थाल्नुभयो, तपाईं को हो ?
म नेपाली कलाकार। म इन्टरट्रेनर। म प्यारो मान्छे। म को हुँ भन्ने कुरामा कुनै शंका छ र ?
नेपालमा अचानक झुल्कनुभयो र यतैको हुनुभयो। धेरैलाई तपाईंका बारेमा थाहा छैन भन्ने लाग्दैन ?
मैले ६ वटा एल्बम निकालेको छु। सयौं स्टेज शो भैसके। मेरो गीत सुन्नु भएको छैन ?
तपाईंले आफ्ना गीतमा नेपालीहरूको वीर गाथा गाउनु भएको छ। राष्ट्रको चिन्ता गर्नुभएको छ। इतिहासका कुरा गर्नुभएको छ। किन होला ?
एउटा नेपालीले नेपालको चिन्ता गर्नैपर्छ। हामी नेपाली पोलिटिकल क्राइसिस र केही क्रान्तिकारी परिस्थितिबाट पार भैरहेका छौं। यस्तो बेलामा हामी सबै नेपाली एक हौं, हाम्रो इतिहास वीरगाथाले भरिएको छ, हामी फुट्नु होइन, जुट्नुपर्छ भन्ने सन्देश दिनु आवश्यक थियो। जुन बेला देशमा गृहयुद्ध चलिरहेको थियो, त्यो बेला युथका लागि घर नै जेलजस्तै भएको थियो। उनीहरूलाई मेरो संगीतले बाहिर ल्याउन मद्दत गर्यो।
युवाहरूलाई प्रेम र विछोडका गीत मन पर्छन्, त्यस्ता गीत किन गाउनु भएन ?
किनभने त्यस्ता गीत अरूले नै गाएका छन्। मलाई प्रेम मनपर्छ, तर त्योभन्दा पनि मलाई हाम्रो इतिहास प्यारो छ। अनि त्यो भन्दा पनि हाम्रो भविष्य सुनौलो हुनुपर्छ भन्ने चाहना छ। मैले त्यही आफ्नै प्रकारका गाएको हुँ।
कतिवटा एल्बम सार्वजनिक गरिसक्नुभयो ?
रविन एन्ड लुजाबाट तीनवटा एल्बम निकालियो, नेपाल, आँगनमा र भूलमा भूल। थप नयाँ टेस्ट दिन मैले नयाँ युवाहरूसँग काम गर्ने योजना बनाएँ र ब्यान्डको नाम फेरें, 'रविन एन्ड न्यू रेभुलेसन'। त्यसबाट पनि तीनवटा एल्बम निकालें, केटाकेटी, १३ हजार र हाम्रो देश।
ब्यान्डको नाम रविन एन्ड न्यू रेभुलोसन राख्नुको कारण ?
नेताहरूले मान्छे मार्ने पुरानो खालको क्रान्ति गरे। मैले सोचें, शान्तिका गीतबाट पनि क्रान्ति गर्न सकिन्छ र मानिस जम्मा गर्न सकिन्छ। मैले केटाकेटी एल्बम निकाले र हजारौं केटाकेटी मेरो गीत सुन्न आए। त्यसले शान्तिपूर्ण क्रान्ति गरेर देखायो। १३ हजार मानिस क्रान्तिमा मारिएको कुरा सुनेपछि मेरो मन रोयो र मैले '१३ हजार' शीर्षकको एल्बम निकालें। त्यसपछि शान्तिपूर्ण आन्दोलन भयो। मेरो मन खुसी भयो र 'हाम्रो देश' एल्बम निकालें।
अहिले नयाँ एल्बम गर्दै हुनुहुन्छ, त्यसमा कस्ता गीत हुनेछन् ?
हामीले क्रान्तिका चाहिने-नचाहिने धेरै कुरा गर्यौं, अब विकासका कुरा गर्नुपर्छ। नयाँ एल्बमले हाम्रो नयाँ सम्भावनाका कुरा गर्नेछ।
फेरि पुरानै कुरा, तपाईंको खास परिचय के हो ?
म इन्टरट्रेनर नै हुँ। गीत र चलचित्रमार्फत म नेपालीहरूलाई खुसी दिन खोजिरहेको छु। अर्को कुरा यो काम गर्दा आफूभित्र रहेको कथार्सिस -मनभित्रका पीडा, आक्रोश, खुशी र शान्ति) बाहिर निकालिरहेको छु।
तपाईंको बुवा बेलायती सेनामा हुनुहुन्थ्यो, अहिले कहाँ हुनुहुन्छ ?
पोखरामा। उहाँ सेवानिवृत्त हुनुभयो।
बाल्यकालको सम्झना छ ?
म सिंगापुर, हङकङ र बेलायतमा हुर्किएँ। उतै पढें। बुबाले सधैं संसारमा जहाँ गए पनि नेपालीपन नछाड्नु भन्नुहुन्थ्यो, तर यो आइडिन्टिटी किन चाहिन्छ भन्ने मलाई थाहा थिएन। म किन जन्मिएँ, म के गर्छु भन्ने पनि थाहा भएन। सन् १९९७ मा नेपाल आएपछि मलाई यो माटोसँग प्रेम भयो। म को हूँ भन्ने थाहा भयो। त्यसपछि मैले पुराना सबै परिचय त्यागिदिएँ। पुराना ठाउँ पनि छाडिदिएँ।
सुनिएअनुसार तपाईं चर्चित इन्जिनियर हुनुहुन्थ्यो रे। कुन कम्पनीमा काम गर्नुहुन्थ्यो ?
एयरक्राप्ट कम्पनीमा काम गर्थे। कुन कम्पनी नसोध्नुहोला। विश्वकै ठूलो जहाज बनाउने कम्पनी थियो त्यो।
राम्रो कमाइ हुन्थ्यो होला...?
ओहो, कुरै नगर्नुस्, नेपाली पैसा बोरामा हाल्न पुग्ने डलर कमाइन्थ्यो । -हाँसो)
तपाईंले त्यो कम्पनी नछाड्नुभएको भए अहिले तपाईंको अवस्था के हुन्थ्यो ?
तालु खुइलेको, ठूलो भुँडी लागेको अवस्थामा बियर पिउँदै टेलिभिजन हेरिरहेको हुन्थें। सम्झनुहोस् त क्या बोरिङ हुन्थ्यो। न म्युजिक छ, न एक्टिङ छ। न फ्यानहरू, जीवनमा एक्साइटमेन्ट भन्ने कुरा नै हुँदैनथ्यो।
अहिले सबैथोक छाडेर केही हजारको आम्दानीमा कसरी चित्त बुझाउनुहुन्छ ?
किनभने म आफ्नो देशमा छु। मेरो आफ्नो परिचय छ। म रविन तामाङ भन्नेबित्तिकै ए, यो त मेरो दाजु-भाइ, साथी छोरा... आफ्नै मान्छे हो भन्ने छ। विदेशमा त्यो कहाँ हुन्छ र ?
एयरक्राफ्ट इन्जिनियरलाई कहिले लाग्यो, म इन्टरट्रेनर मात्र हुन सक्छु ?
म बुवाको रहरले इन्जिनियर भएँ। जब बुवाको रहर पूरा भयो, म इन्टरट्रेनर भएँ। म कलाकार हुँ भन्ने कुरा सानैदेखि थाहा थियो। किनभने म गाउँथे, नाच्थें, रमाइलो गर्थे। इन्जिनियरको जागिर छाडेपछि मैले क्यानाडामा एउटा क्लब खोलेको थिएँ, त्यहाँ हामी अरूलाई रमाइलो गराएर आफ्नो व्यवसाय चलाउँथ्यौं। नाच्नु, गाउनु र अरूलाई रमाइलो गराउनु नै हाम्रो मुख्य काम थियो।
तपाईं जुन बेला नेपाल आउनुभयो, त्यो बेलादेखि नै हत्या हिंसाको विरोध गर्दै आउनुभएको छ, यसको कारण के होला ?
मृत्युको पीडा कस्तो हुन्छ मलाई राम्रोसँग थाहा छ। मैले १२ वर्षमा आमा गुमाएँ। २१ वर्षमा ठूलो दाजु, ३० वर्षमा अर्को दाजु र ३७ वर्षमा दिदी। मानिस मर्दा एउटा मानिस मात्र मर्दैन, उसका पछाडि बाँच्नेहरूले जीवनभरको पीडा झेल्नुपर्छ। आज त्यही पीडा भुलाउन म कलाकार भएको छु।
कलाकारको खास विशेषता के हुँदो रहेछ ?
कलाकारले दिमागले सोच्दैन, उसलाई हृदयले चलाउँछ।
कलाकार मदिरा, लागूऔषधजस्ता पदार्थको फन्दामा किन पर्छ ?
ऊ कतै डुब्न चाहन्छ। केही खोज गरिरहन्छ। साँचो कलाकार समाजको बन्धनमा पनि बाँधिन चाहँदैन, जब परिवार, परिस्थिति वा वातावरणले बाँध्न थाल्छ, उसले यस्ता कुराको सहारा लिन्छ।
पछाडि फर्केर हेर्दा तपाईंले राम्रो आम्दानी गुमाउनुभयो, विदेशको बसाइ र त्यहाँका साथीभाइ गुमाउनुभयो। अहिले के सोच्नुहुन्छ?
म नेपालमा छु। मेरा दुई छोरी र विदेशी श्रीमती छिन्। मेरा लागि नै उनी नेपालमै बसेकी छिन्। छोरीले मेरो पुराना पीडा बिर्साउन मद्दत गर्छिन्।
अरू कलाकारझैं तपाईंका धेरै प्रेमिका पनि भए... कसलाई बढी सम्झनुहुन्छ ?
प्रेम गर्नेहरू सबैलाई सम्झन्छु। पहिलेका प्रेमिकाहरू अहिले साथी भएका छन्।
तपाईंको सबैभन्दा नयाँ कुरा ?
चुरोटबाहेक सबै मादक पदार्थ छाडेको छु। नेपाली चलचित्रमा अभिनय गर्न थालेपछि धेरै खुसी हुन थालेको छु।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !