CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » प्रियजनको पर्खाइ हराएका आफन्तको अन्त्यहीन खोजी (विशेष रिपोर्ट )

प्रियजनको पर्खाइ हराएका आफन्तको अन्त्यहीन खोजी (विशेष रिपोर्ट )


एक सातामा यतिका धेरै सडक कहिल्यै छिचोलेका थिएनन् धरानका उद्धव दाहालले। घरका सबै काम छाडेर काठमाडौँका गल्ली, चोक र चौबाटो सबैतिर भौँतारिएछन्, हराएका भतिजाको खोजीमा। मध्य भदौमा भतिजाको रंगीन तस्बिरसहित महानगरीय प्रहरी प्रभाग, हनुमानढोकामा निराश मुद्रामा भेटिए, तिनै
दाहाल।

२१ असारदेखि हराइरहेका छन्, उनका भतिजा किशोर दाहाल, २५। भतिजाको खोजीमा के के मात्रै गरेनन् उनले ? काम गर्ने ठाउँ, उनका भाइसाथी र आफन्तजनका दैलो चहार्दा पनि पत्तो लाग्न सकेको छैन। अब उनीसँग प्रहरीले खोजिदेला कि भन्ने एउटै आशा छ। भन्छन्, "कहाँ गयो, किन हरायो, केही थाहा छैन।"

यसरी हराएका प्रियजन खोज्दै भौँतारिने दाहाल एक्ला पात्र होइनन्। जसको परविारको सदस्य हराएको छ, खोजीको अनन्त शृंखला सुरु भएको छ। नेपाल प्रहरीमा मात्रै पछिल्ला सात वर्षमा २४ हजार ६ सय ९४ जना हराएको उजुरी पर्‍यो। तीमध्ये ३ हजार ६ सय २५ जना मात्रै भेटिएको रेकर्ड छ।

गत साउन महिनामा मात्रै महानगरीय प्रहरी प्रभाग हनुमानढोकामा ६३ जना हराएको उजुरी पर्‍यो। उजुरीको संख्या यतिमै सकिँदैन। आर्थिक वर्ष ०६९/७० मा मात्रै बालबालिका खोजतलास समन्वय केन्द्रमा १ हजार ४ सय ५३ जना बालबालिका हराएको उजुरी परेको थियो, तीमध्ये ८ सय २३ जना मात्रै फेला परेछन्। टेलिभिजनबाट मासिक एक सयको हाराहारीमा हराउने व्यक्तिहरूको सूचना प्रसारण गरिने नेपाल टेलिभिजन व्यापार महाशाखाले जनाएको छ।

नेपाल तथा दक्षिण एसियाली अध्ययन केन्द्र (सिनास)का अध्येता रमेश ढुंगेलसँग पनि त्यस्तै कथाको लामो फेहरस्ति छ। सन् १९९२ मा भाइ सुरेश ढुंगेल हराउँदा उनी अध्ययनका सिलसिलामा अमेरिकाको भर्जिनियामा रहेछन्। उतिबेलै समाजशास्त्रमा स्नातकोत्तर गरेका सुरेश मैजुबहाल, काठमाडौँको घरमा एक्लै बस्थे र मध्यबानेश्वरमा रहेको शिवानी गार्मेन्ट्स कम्पनीमा आन्तरकि लेखा परीक्षकको जागिर खान्थे। एक दिन छिमेकीलाई साँझ ढिलो फर्किन्छु भनेर निस्केका उनी त्यसपछि कहिल्यै फर्केनन्।

तत्कालीन आईजीपी कृष्णमोहन श्रेष्ठदेखि नाताले आफन्त पर्ने प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव शारदाप्रसाद कोइरालाले समेत खोजीमा चासो देखाए। परिवारजनले पत्रिकामा सूचना छपाए, ज्योतिषीकहाँ चिना देखाए, मन्दिरमा भाकल गरे। तर, सुरेश भेटिएनन्।

०५८ मा नेपाल फर्केपछि रमेशले फेरि हराएको भाइको खोजी गर्न वडा प्रहरी कार्यालय गौशालामा उजुरी दर्ता गराए। उजुरी दर्ता गराएको १४ वर्ष भइसक्यो । दर्ता नम्बर अहिले पनि रमेशले पर्सको एउटा कुनामा जतन गरेर राखेका छन्। भन्छन्, "पढाइमा तेज थियो, बेला बेला रिसाउँथ्यो पनि। उसलाई त रिसाएको पनि सुहाउँथ्यो।"

रमेशले बैठक कोठाको एउटा कुनामा अहिले पनि भाइको तस्बिर सजाएका छन्। पछिल्ला २१ वर्षदेखि भाइटीकामा दिदीबहिनीले तस्बिरमै टीका लगाइदिन्छन् र भावुक हुँदै आँसु चुहाउँछन्। हरेक दसैँमा भाइको तस्बिरमा टीका लगाएपछि उनको घरमा सन्नाटा छाउँछ। संखुवासभा, चैनपुरमा रहेको उनको पैतृक सम्पत्ति दाजुभाइकै नाममा छ। रमेश थप्छन्, "अझै पनि ऊ सपनामा आउन छुटाउँदैन। परिवारका सबै सदस्यमा एक न एक दिन फर्किन्छ भन्ने विश्वास छ।"

पर्वतका बुद्धिसागर तिवारी र महोत्तरीका शम्भु अधिकारी एकअर्कालाई चिन्दैनन्। नचिनेर के भो र ? उनीहरू वर्ष ०५८ लाई कहिल्यै बिर्सिंदैनन्। यी दुवै अभागी बाबुका छोरा एकै साल हराएका हुन्। कहाँबाट कसरी र किन भन्ने जवाफ उनीहरूसँग अहिलेसम्म छैन।

पछिल्ला १२ वर्षदेखि हराएको छोराको यादसँगै बुढ्यौली काटिरहेका छन्, पर्वत पीपलटारीका बुद्धिसागर तिवारी, ७१। ६ सन्तानमध्येका ठाहिँला छोरा कृष्ण २४ वर्षको उमेरमा हराएका हुन्। उनी दिल्लीमा रहेका दाइ भेट्न जान्छु भनेर हिँडेका रहेछन्। कृष्णले दाइ त भेटेनन्, घरसमेत फर्केनन्। छोरा नर्फकेपछि आफूले गरेका खोजीको कथा सम्भिmन र बताउनसमेत उनलाई मुस्किल पर्छ। भन्छन्, "भनिसाद्धे भए पो !"

साहिँला दाजु विष्णुप्रसादसँग पनि भाइ कृष्णका धेरै स्मृति छन्। त्यसले उनलाई बारम्बार भावुक बनाउँछ। भन्छन्, "भात खाँदा जहिले पनि उसलाई दूध चाहिन्थ्यो। उसैका कारण घरमा कहिल्यै दुहुनो टुटेन।" परिवारका सदस्यहरूले अहिले पनि कृष्णले लेखेको कापी, खर्चको विवरण, शैक्षिक योग्यताका प्रमाणपत्र र धमिलो तस्बिर टाँसिएको २४ वर्ष पुरानो नागरकिताको प्रमाणपत्र जोगाएर राखेका छन्। बुद्धिसागर भन्छन्, "एक दिन त कसो नफर्केला ?"

केही वर्षपहिले मात्रै कृष्णकै सम्झनामा आँसु रित्याएर उनकी आमा बितिन्। श्रीमतीको मृत्युले बुद्धिसागरलाई झनै चोट थप्यो। भन्छन्, "छोराको अनुहार देखेर मर्छु भनेकी थिई तर त्यसको भाग्य रहेनछ, म पनि त्यही आशमा जिउँदो छु।" कृष्णको खोजीमा परिवारले के के मात्रै गरेनन् ? सुरुका केही वर्ष अनेक मठमन्दिर धाए, भाकल गरे। बुद्धिसागर भन्छन्, "ज्योतिषीले त दुई-चार वर्षमै फर्किन्छ भन्थे। अब त ज्योतिषीको पनि भर हरायो। छोरोभन्दा पहिला काल आउला भन्ने डर छ।"

आशा कहिल्यै मर्दो रहेनछ। गाउँतिर यसरी फुत्त हराएर वर्षौंपछि फर्केकाहरू देखेर उनलाई अझै पनि छोरा फर्किन्छ भन्ने आशा पलाउँछ। पाँच छोरालाई पैतृक सम्पत्ति छुट्याइसकेका बुद्धिसागरले कृष्णका लागि पनि अंश राखिदिएका छन्। भन्छन्, "फर्कियो भने त घर गरिखाला नि ?"

बिनाकारण हराउने सदस्यको यादले वर्षौंसम्म पनि पि्रयजनका हरेक चाड खल्लो बनाइदिन्छन्। कतै भेटिइहाल्छ कि, फर्किहाल्छ कि भन्ने विश्वासले सिंगो परिवारलाई भुलाइरहन्छ दुःखमा। यस्तै दुःखको चक्रमा फसेका छन्, महोत्तरीका शम्भु अधिकारी। छोरा सुनील २५ वर्षको उमेरमा काठमाडौँमा बसेर स्नातकोत्तर पढ्दै थिए र कान्तिपुर राष्ट्रिय दैनिकमा पत्रकार थिए। ०५८ फागुनको दोस्रो साता अफिसबाट राजीनामा गरेर निस्केका छोरा हराएको खबर महोत्तरीमा बस्ने बाबुआमाले लामो समयसम्म पाएनन्। शम्भु भन्छन्, "फोनको सुविधा भएको भए थाहा पाउँथे होला।"

कसैले भारतको चम्पारनमा रहेका प्रख्यात ज्योतिषीलाई देखाए सबै कुरा पत्तो लाग्छ भनेर उनलाई सुनाए। उनी छोराको तस्बिर र चिना बोकेर त्यहीँ पुगे। ज्योतिषीले पश्चिम नेपालको धनगढीतिर खोजे छोरा भेटिन्छ भनिदिए, उनी महिना दिनसम्म उतै भौँतारिए।

अर्का ज्योतिषीले उनलाई भारतको दिल्लीतिर छोरा छ भनेर सुनाइदिए। उनी फेर िछोराको तस्बिर बोकेर उतै कुदे। तर, जति कुदे पनि, जति जनालाई छोराको फोटो देखाए पनि उनले केही भेउपत्तो पाएनन्। कसैले केसम्म सुनाएछन् भने लगातार जाँतो घुमाइरह्यो भने छोरो भेटिन्छ रे ! उनले त्यसै गरे। भन्छन्, "छोरो भेटिन्छ भन्ने आशमा जसले जे भने त्यही गर्ने भइँदो रै'छ। विश्वास न हो !"

छोरो हराएपछि अधिकारी परिवारको खोसिएको खुसी फर्केको छैन। दुई छोरी बिहे गरेर घर गइसके। वषौर्ंदेखि अधिकारी दम्पती छोराको आशमा घर रुँगेर बसेको छ। आमा इन्दु हरेक चाडमा छोराको यादमा आँसुको भेल बगाउँछिन्। छोरा खोज्दै ०६१ सालमा नेपालगन्ज पुगेका बेला शम्भुले मानव अधिकार आयोगको क्षेत्रीय कार्यालयमा पनि निवेदन दिएका रहेछन्। भन्छन्, "द्वन्द्वमा बेपत्ता हुनेका लागि खोजिदिने, बोलिदिने सबै छन्, हाम्रा लागि को छ र ?"

सुनील हराए पनि उनको मुस्कुराउन लागेको तस्बिर बाबुआमाले जतनसाथ राखेका छन्। भन्छन्, "छोराले लगाएको लुगा लिएर आउनूस् भनेर ज्योतिषीले कतिपल्ट भनिसके तर उसका अरू कुनै सामान हामीसँग छैनन्। भएको उही याद र प्रेम हो।"

बोलिदिने त टीकापुरकी बालादेवी कोइराला, ७८, को पनि कोही छैन। ०३८ फागुनमा उनका छोरा गोविन्द एकाएक हराए। धुमधामसँग गोविन्दको बिहे गर्ने, बुहारी भित्र्याउने र नाति-नातिना खेलाउने रहर थियो बालादेवीको। बिहेको सामान पनि किनिएको थियो, जन्ती जाने नातेदारहरू पनि थुपि्रएका थिए। घरमा मीठा मीठा पकवानहरू पनि पाकेकै थिए। तर, बिहेकै अघिल्लो दिन सर्लाहीको रानीगन्जबाट सामान किन्न हिँडेका गोविन्द त्यसपछि कहाँ पुगे पत्तो भएन।

बिहेको दिन मध्याह्न ४ बजेसम्म केटी पक्षकाले बेहुला गोविन्दलाई कुरे। दुलाहा लिएर जन्ती नआएपछि केटी पक्षकाले आमालाई नै दुलाहा लुकाएको आरोप लगाए। आरोप खेप्न नसकेर लमी त घरबाटै बाहिर निस्कन सकेनन्।

छोरा किन हरायो ? यस प्रश्नको उत्तर दिन बालादेवीका निम्ति सजिलो छैन। भन्छिन्, "खै किन हरायो ? जिन्दगीमा यही प्रश्नको उत्तर थाहा पाइनँ। केटी पनि उसैले हेरेको हो। परिवारमा दुःख पनि थिएन।" हराएको छोरा वर्षौपछि कुनै न कुनै दिन जोगी भएर आफ्नै घरमा भिक्षा माग्न आउँछन् रे ! त्यही भएर उनी घरमा आउने हरेक जोगीलाई नियालेर हेर्छिन्। भन्छिन्, "त्यसको दाहिने आँखामा कोठी थियो। घरमा आउने प्रत्येक जोगीको म दाहिने आँखा हेर्छु।"

आमाका आँखामा गोविन्दका सम्झनुपर्ने धेरै कुरा छन्। भन्छिन्, "अरू तीन छोरा जस्तो थिएन त्यो, अर्कै थियो तगडा। हरेक श्लोक कण्ठ गर्ने।" गोविन्द हराउँदा भतिजा कुमार जन्मेकै थिएनन्। तर पनि हराएका अंकल देख्ने रहर उनको मनमा पनि अंकुराएको छ। त्यही भएर उनी बारम्बार सामाजिक सञ्जाल फेसबुकमा अंकलको नाम सर्च गर्छन्। भन्छन्, "त्यहाँ सयौँ गोविन्द कोइरालाहरू देखिए तर मेरै अंकलचाहिँ भेटिएनन्।"

सम्झनाबाहेक अरू धेरै कुरा छैनन्, अहिले गोविन्दका। पुरानो श्यामश्वेत तस्बिर पनि बिस्तारै खुइलिसकेको छ। आमा बालादेवी भन्छिन्, "एक दिन त सपनामा आएर भन्यो, कति रुनुहुन्छ आमा ? म कहाँ छाडेर गएको छु र ? आइहाल्छु। हत्तपत्त ब्यूँझेँ तर गोविन्द थिएन।" हराएर दुःख दिने छोराको माया बालादेवीसँग कति छ कति ! त्यसभन्दा धेरै छ, फर्केर आउँछ भन्ने विश्वास। "ज्योतिषीले पनि जिउँदै छ, पक्का फर्केर आउँछ भन्या छ, त्यो मेरो मायाले पक्का फर्किन्छ," उनी आशाले भरिएको लामो सास तान्दै भन्छिन्।

आशा एउटा कुरा, विश्वास अर्को कुरा। हराएका सदस्य जिउँदो भए/नभएको प्रमाण आँखैले नदेखेसम्म अरूले जति भने पनि केही हुँदैन। १५ कात्तिक ०६३ मा भारतको नयाँदिल्लीबाट हराएका हास्य कलाकार साम्दे शेर्पाकी आमा लक्कीमा शेर्पालाई त्यही लाग्छ। साम्देका दाजु वाङ्छे शेर्पा भाइ जिउँदो भएको कुरामा विश्वास गर्दैनन्। तर, त्यो विश्वासका आधारमा आमालाई बताउनु उनका निम्ति सजिलो छैन।

कलेजोसम्बन्धी रोगको उपचार गरेर अमेरिकाबाट फर्केका साम्दे दिल्लीबाट नेपाल र्फकने क्रममा प्लेनको टिकट नपाएपछि गोरखपुर आउने रेलको टिकट काटेकोसम्म प्रमाण वाङ्छेसँग छ। वाङ्छे भन्छन्, "त्यसपछि उनी कहाँ पुगे भन्ने आशंकाहरू मात्रै छन्। घटनाको प्रकृति, प्राप्त प्रमाण र प्रत्यक्षदर्शीहरूका आधारमा भाइ जिउँदो छैन। तर, आमा भने बारम्बार आशा गर्नुहुन्छ।"

भाइ हराएको खबर सुन्नेबित्तिकै वाङ्छे दिल्ली कुदे। त्यहाँका गल्ली गल्ली दौडिए। रेलवे स्टेसनमा भाइको फोटो देखाउँदै हिँडे। दिल्लीबाट दरियागन्जसम्म पुगे। प्रहरी कार्यालय चहारे, हराउनेहरूलाई खोज्नकै लागि भनेर खोलिएका गुमसुदा केन्द्रसम्म पुगे, निवेदन दर्ता गराए, पत्रिकामा विज्ञापन छपाए। तर, केही सीप लागेन। र्फकने बेलामा भाइ रेल चढेर गएको दिशामा पर्ने गोयना गाउँनजिकको जंगलमा एउटा शव भेटिएको खबर सुनेछन् र त्यही शव खोज्न हापुर प्रहरी स्टेसनसम्म पुगे। तर, प्रहरीले भनिदियो, त्यो अर्कैले लगिसक्यो, तपाईंको होइन। उनलाई भने प्रहरीको कुरामा कत्ति विश्वास छैन। घटना र प्रमाणका आधारमा उनी मर्ने मान्छे आफ्नै भाइ भएको ठान्छन्। भन्छन्, "भाइको पासपोर्ट र गोजीमा रहेको केही रुपियाँका लागि तिनीहरूले शव गायब पारे।" हास्यव्यंग्यको क्षेत्रमा कहलिएका कलाकार हुन् साम्दे। वाङ्छे भन्छन्, "शव नभेटिएसम्म मान्छेको मनमा विश्वास भन्ने मर्दो रहेनछ।"

साम्दे धेरै शुभेच्छुकका निम्ति अझै पनि हराइरहेको नाम हो। उनकी आमाका निम्ति भने बारम्बार बल्भिmने याद हो। छोरा हराएपछि आमा लक्कीमाको रक्तचाप ह्वात्तै बढ्यो। रक्तचापले मुटुमै असर गर्‍यो र उनी राम्रोसँग बोल्न पनि नसक्ने भएकी छन्। भन्छिन्, "जसले जे भने पनि फर्किन्छ कि भन्ने आशा लाग्छ।"

यस्तै बेटुंगोले सताइरहेको छ, सर्लाही नेत्रगन्जकी सुशीला साहलाई पनि। जेठ ०५८ मा घरबाट सुटुक्क निस्केका छोरा मनोज, १८, फर्केनन्। मनोजलाई खोज्न सुशीलाले सक्नेजति सबै गरनि्। भन्छिन्, "संसार ठूलो रै'छ, कहाँ कहाँ धाउनू ? कति कुना चहार्नू ?"

१० कक्षामा पढ्ने मनोजसँगै घरबाट हिँडेका उनका साथी राजेश सोनार भने उतिबेलै घर फर्के। लखनउसम्म सँगै गएको, पानी खान रेलबाट उत्रेपछि मनोज छुटेको राजेश बताउँछन्। तर, उनी छुटेर कहाँ पुगे, किन फर्केनन् भन्ने उत्तर अहिलेसम्म पाएको छैन परिवारले।

सुशीला छोरा खोज्दै दुईपटकसम्म दिल्ली पुगिन्। जनकपुरमा प्रख्यात तान्त्रिक आएको खबर सुनेपछि छोराको केही पत्तो लाग्छ कि भनेर त्यहीँ पुगिन्। तान्त्रिकलाई कहिले छोराको कपडा, कहिले छोराको फोटो, कहिले छोराले प्रयोग गर्ने सामग्री दिँदा दिँदै ती सबै सकिए। भन्छिन्, "कसैको भर परेर भएन, अब भगवान्को पूजा गरेर बसेकी छु।"

मनोजको भलादमी स्वभाव र शान्त अनुहारको चित्र आँखैअगाडि आउँछ। छोरा हराएपछिका धेरै रात सुशीलाले ननिदाईकन काटिन्, लामो समय बिरामी पनि परनि। आफूलाई नै स्याहार्न नसक्ने भए पनि उनले सानै उमेरमा माहिला छोराको बिहे गरिदिइन्। सुशीला भन्छिन्, "त्यतिबेलै सबैले म बाच्दिनँ भन्थे, छोरा फर्किने आशामा बाँचेकै छु।"

यस्तै आशामा खैरहनी-४, चितवनकी मनकुमारी र बद्रीनारायण श्रेष्ठ पनि बाँचेका छन्। किनभने, उनीहरूका छोरा पवनबाबु, ३३, पछिल्ला चार वर्षदेखि हराएको हरायै छन्। वैदेशिक रोजगारका लागि साउदी अरबबाट छोरो फर्केपछि मनकुमारी कतिखेर छोरालाई भेट्न पाइएला र चुम्न पाइएला भनेर कुरेर बसिन्। उनका छोरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल त ओर्लिए तर त्यहाँबाट घर फर्केनन्। पाँच छोरीमुनिका छोरा हराएपछि दम्पतीको आँखा आजसम्म ओभाएका छैनन्। बुहारीले पनि पारपाचुके गरनि्। मनकुमारी भन्छिन्, "छोरो त हरायो नै, बुहारी पनि आफूसँग रहिन।"

दर्जनभन्दा धेरै ज्योतिषीकहाँ चहार्दा चहार्दै हजाराँै रुपियाँ सकियो। उनीहरूले दर्जनभन्दा धेरै मन्दिरमा भाकल गरे, दक्षिणा चढाए, पत्रिकामा विज्ञापन छापे, प्रहरीमा रिपोर्ट लेखाए। तर, छोरो कहाँ छ, के गर्दै छ, उनीहरूले सुइँको पाएका छैनन्। छोराका पुराना लुगा, सुत्ने कोठा र भित्तामा टाँगिएका तस्बिर देख्नेबित्तिकै मनकुमारीका आँखाबाट आँसुको भेल छुट्छ। बाबुआमाका रसाएका आँखा र उदास अनुहार देखेर पवनकी बहिनी विनीता पनि थाकिसकेकी छन्। भन्छिन्, "चार वर्षका चार भाइटीका खल्ला भए, अझै कति हुने हो पत्तो छैन।"

पत्तो त सेतीदोभान-१, स्याङ्जाका नारायण पोखरेलको पनि छैन। नेपाल प्रहरीको जागिरका लागि छनोट भएर तालिम लिँदा लिँदै नारायण भागेको २४ वर्ष पुगिसक्यो। वर्ष जतिसुकै होस्, आमा क्षेत्रकुमारी, ७०, लाई त्यो दिन हिजोजस्तै लाग्छ। हरेक दिन छोरो आजै फर्केर आउँछ कि झँै लाग्छ।

दुई छोरा काठमाडौँमा जागिरे छन्। हराएको छोराकै पीडामा बिरामी बाबु रुक्मलाल पाँच वर्षअघि बिते। हिजोआज क्षेत्रकुमारीको एक्लोपनाको साथी भनेकै त्यही हराउने छोराको याद भएको छ। जसले उनलाई बारम्बार रुवाइदिन्छ। थकथकाउँछिन्, "छोराको मुख हेर्न नपाई बाबुको प्राणान्त भयो।"

प्रवीणता प्रमाणपत्र तह पढेका नारायण काठमाडौँमै बस्थे। पढ्दै गर्दा प्रहरीमा भर्ना भएका उनी तालिमको २७औँ दिनमा फुत्त भागेछन्। भागेर छोरो कहाँ पुग्यो भन्ने भेउपत्तो नपाएपछि परिवारमा रुवावासी चल्यो। सक्नेजति ठाउँ पुग्दा पनि नारायणको पत्तो लागेन। क्षेत्रकुमारीले पुतलीबजारमा रहेको सतौचण्डीकाली मन्दिरमा छोरा फर्किए बोका चढाऊँला भनेर भाकल गरनि्। उनको भाकल पूरा भएन, सतौचण्डीले बलि खान पाएनन्। दर्जनभन्दा बढी ज्योतिषीलाई चिना देखाउन उनको परिवार रूपन्देहीदेखि कास्की र काठमाडौँसम्म पुग्यो। त्यसबाट उनले एउटा निष्कर्ष निकालेकी छन्, ४० वर्षपछि छोरो फर्किन्छ भन्ने।

हराएका सन्तानहरूको वियोग खेप्न बाबुआमालाई जति गाह्रो छ, त्यसभन्दा गाह्रो छ, हराएका पतिको वियोग खेप्न। छोराछोरीको रखवारी, सासूससुराको जिम्मेवारी अनि पतिको तारन्तारको याद। भारदह-३, सप्तरीकी गीता दास र रङि्दी, पाल्पाकी सीता अर्यालको कथा यस्तै छ। १० वर्षअघि पति अशोक, ५०, एक्कासि हराएपछि गीताका दुःखका दिनहरू सुरु भए। पति खोजौँ कि पाँच छोराछोरी स्याहारौँ!

पसलका लागि कपडा किन्न सदरमुकाम राजविराज हिँडेका उनका पति आजसम्म फर्केनन्। आफन्त र चिनेजानेकाबाट पनि पतिको पत्तो नलागेपछि उनले प्रहरी र मानव अधिकारवादी संस्थाहरूलाई समेत गुहारनि्। 'बच्चाहरूको बेहाल छ, घरमा खानेकुरा छैन, भोकभोकै बस्न बाध्य छु, जहाँ भए पनि छिट्टै घर आउनूस्' भन्ने सन्देश उनले स्थानीय एफएममा महिनाँैसम्म प्रसारण गराइन्। थाहा भएन, उनका पतिले यो याचना सुने कि सुनेनन्!

कुनै कारण त्यस्तो थिएन, जसको मूल्य उनका पतिले हराएर चुक्ता गर्नुपर्ने। न मधेसमा सशस्त्र समूहको नै जन्म भएको थियो, न उनका पति राजनीतिमै चासो राख्थे। पति हराएपछि उनले आफन्तको सहयोग र छिमेकीहरूको मायासमेत गुमाइन्। कसैले सुनाइदिए उनलाई, हराएका मान्छेहरू भारतका तीर्थस्थलमा जोगी बनेर बस्छन् भन्ने। भारतको झारखण्डस्थित बाबाधाममा हराएका पति खोज्न मात्रै उनी पाँचपटक पुगिन्। पतिको फोटो बाँड्दै हिँडिन्। तर, न उनका पति भेटिए, न कसैले उनलाई देखेको सुइँको नै दिए।

पति जिउँदा छन् कि मरेका, उनलाई पत्तो छैन। तर, र्फकन्छन् भन्ने आशाको त्यान्द्रो चुँडिएको छैन। जग्गाजमिन पतिकै नाममा छ। छोराछोरी हुर्काउँदा बर्सेनि ऋणको भारी बढ्दै छ। पतिका नाममा रहेको जग्गा बेच्न कानुनी रूपमा उनलाई अधिकार छैन। किनभने, अधिकार ऐन २०३१ को दफा ३२ अनुसार यसरी बेपत्ता भएका व्यक्ति १२ वर्षसम्म नफर्केमा मात्रै निजलाई मृत घोषित गर्न सकिन्छ। भन्छिन्, "मरेकै भए बरू एकल वा विधवा भत्ता पाइन्थ्यो। यादले त सताउँदैनथ्यो।"

उता सीताका पति रामचन्द्र अर्याल १४ वर्षदेखि हराएका छन्। सासूससुराबाट अलग्गिएकी उनी एक्लै बस्छिन्। रामचन्द्रका बाबु शेषकान्त, ८५, र आमा हरकिला, ६६, पनि छोराको यादमा तड्पिरहेका छन्। २१ मंसिर ०५६, छोरा घरबाट हिँडेको मिति सीतालाई अहिले पनि कण्ठ छ। हराएको वर्षैपछि भारतको नयाँदिल्लीबाट रामचन्द्रले चिट्ठी पनि पठाएका थिए। तर, घर फर्किने कुरा भने त्यसमा उल्लेख थिएन। सीता भन्छिन्, "बाबुआमा र छोराछोरीको मायाले भए पनि आउलान् कि ? समय बित्दै गयो, फेरि दोस्रो चिट्ठी आएन, सम्पर्कका अरू माध्यमहरू पनि टुटे।"

रामचन्द्रको खोजीमा परिवारले गर्नुसम्म गर्‍यो। दिल्लीसम्मै पुगेर धुइँपत्ताल खोजे। ज्योतिषीकहाँ गएर चिना र टिप्पन देखाए। मन्दिर पुगेर भाकल गरे। तर, सबै व्यर्थ भए किनभने रामचन्द्र फर्केनन्। उनी फर्केलान् भनेर परिवारले अहिले पनि उनका लुगा जतन गरेर राखिदिएका छन्। सावित्री भन्छिन्, "तारन्तार सपनामा देख्छु। तर, सपनामा देखेर मात्रै हुँदो रहेनछ।" बुटवलका एक ज्योतिषीले गत १४ भदौमा पक्का फर्किन्छन् भनेर भविष्यवाणीसमेत गरेका रहेछन्। ज्योतिषीले भनेको सम्झिदै हरकिलाले भनिन्, "छोराको ग्रह जुधेकै कारण ऊ बेपत्ता भएको रे ? सास छँदै फर्किए त हुन्थ्यो।"

खुसुक्क हराएका पि्रयजन कुरेर बसेका बूढा बाबुआमाहरू, पत्नीहरू, छोराछोरीहरू र आफन्तलाई मात्रै थाहा हुन्छ, प्रतीक्षा कति गाह्रो हुन्छ भनेर। मानव तथा समाजशास्त्रका जानकार संजीव पोखरेल परिवारका सदस्य कसैलाई थाहै नदिई हराउने परम्परा विश्वव्यापी रहेको बताउँछन्। उनी नेपाली समाजमा सामूहिक परिवार संरचनाका कारण त्यसबाट परिवारका सदस्यहरूमा पर्ने चोट महँगो हुने बताउँछन्। भन्छन्, "राज्य प्रत्येक नागरकिप्रति जिम्मेवार नभएसम्म त्यस्तो चोटको अन्त्य हुँदैन।"



डोरबहादुर कहाँ छन् ?

खुसुक्क π कसैलाई पत्तै नदिई आफ्ना बाबु त्यसरी हराउलान् भन्ने कहिल्यै सोचेका पनि थिएनन्, केशरबहादुर विष्टले। १७ वर्षअघि ७१ वर्षे उमेरमा डोरबहादुर विष्ट अध्ययन र अनुसन्धान सकेर जुम्ला, चौदहवीसबाट सदरमुकाम खलंगा र त्यहाँबाट नेपालगन्जसम्म पुगेको पत्तो छ। त्यसपछि उनी कहाँ गए, कसैलाई पत्तो छैन। कोही भन्छन्, उनी बस चढेर कोहलपुरबाट धनगढीतिर लागेका थिए। कोही भन्छन्, त्यतैबाट भारतको तीर्थस्थलतिर लागे रे !

केशरबहादुर सुरुका वर्षहरूमा त हल्लाको पछि पनि लागे, बाबु भेटिने आशामा। खासमा डोरबहादुर उनका निम्ति बाबु मात्रै थिएनन्, असल गुरु र पथप्रदर्शक पनि थिए। बाबु खोज्नकै लागि उनी भारतको तीर्थस्थल हरिद्वारसम्म पुगे। हप्ताँै चहारे। तर, बाबु कतै भेटेनन्, न कसैले त्यसको कुनै सुइँको नै दिए। उनी आफैँ ज्योतिषीकहाँ त धाएनन्। तर, उनका आफन्तजन भने त्यहाँ पनि पुगे। तर, केही खबर मिलेन।

पोहोरसम्म पनि केशरबहादुरलाई बाबु फर्किन्छन् भन्ने लाग्थ्यो। "अब त विश्वास पनि कमजोर हुँदै गयो," केशरबहादुर भन्छन््, "हामी हरेक वर्ष बाबुको जन्मदिन मनाएर उहाँलाई सम्झन्छौँ।" त्यसो त उनले बाबुको सम्झनामा चैत्यसमेत बनाएका छन्। त्यसअघि पुग्दा उनलाई आफ्ना बाबु आफँैअघि उभिएजस्तो अनुभूति हुन्छ। भन्छन्, "बुबा हराउनुभएकै छैन, बरू अलप पो हुनुभयो कि ?"



(साथमा, जितेन्द्र खड्गा/राजविराज, अमन कोइराला/सर्लाही, विमल खतिवडा/चितवन,

माधव अर्याल/पाल्पा, गणेश चौधरी/कैलाली, जानु पंगेनी/स्याङ्जा, अगन्धर तिवारी/पर्वत)

साभार : नेपाल साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis