CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » राजनेताका अनियन्त्रित प्रेम

राजनेताका अनियन्त्रित प्रेम




सामान्यतया आम मानिसको धारणा हुन्छ, समाज र देशलाई हाक्ने राजनैतिक वर्गका मानिसहरु नीतिवान र सदाचारी हुन्छन् । यो मान्यतामा पटक-पटक सार्वजनिक भएका घटनाहरुले प्रश्नचिन्ह लगाउँदै आएको छ । पछिल्लो पटक सार्वजनिक भएको
फ्रान्सका राष्ट्रपति, अमेरिकाका राष्ट्रपति र भारतका एक मन्त्रीको विवाहेत्तर सम्बन्धले राजनेताहरुको चारित्रिक कमजोरीलाई थप उजागर गरेको छ ।

केही सातादेखि भारत, फ्रान्स र अमेरिकाका तीन राजनैतिक हस्तीका अतिरिक्त प्रेम सम्बन्धका घटना संसारभर चासोको विषय बनिरहेको छ। यो क्रममा यही साता छिमेकी मुलुक भारतमा 'श्रीमान-श्रीमती र उनी' को विवादबीच एउटा अप्रिय खबर पनि सार्वजनिक भयो। त्यहाँका केन्द्रीय मन्त्री ५८ वर्षीय शशी थरुरको पाकिस्तानी पत्रकार मेहर तरारसँगको निकटताको खुलासा भएको केही दिन नबित्दै उनकी ५२ वर्षीया श्रीमती सुनन्दा पुष्करको रहस्यमय ढंगले मृत्यु भयो।

भारत, क्यानाडा र दुबईमा सौन्दर्य व्यवसाय, खेलकुद व्यापार, इभेन्ट म्यानेजमेन्ट तथा बजार व्यवस्थापनमा ख्याति आर्जन गरेकी काश्मिरकी सुन्दरी सुनन्दाको जीवनको पाटोलाई उघार्ने क्रम जारी छ। छिमेकको यो ताजा घटना लगभग उदांगिए पनि फ्रान्सका ५९ वर्षीय राष्ट्रपति फ्रान्स्वाँ गेरार्ड जर्जस निकोलास होलान्ड तथा ५३ वर्षीय अमेरिकी राष्ट्रपति बाराक ओबामाको परस्त्रीमोहको विवादले अझैं स्पष्ट आकार लिइसकेको छैन। होलान्डको जीवनमा तेस्री महिलाको प्रवेश तथा ओबामा एवं प्रथम महिला मिसेल रोबिन्सनबीचको फाटोको सत्यता जान्न अझै केही दिन कुर्नै पर्ने भएको छ।

होलान्ड र जुलीको प्रेम

फ्रान्सेली म्यागजिन 'क्लोजर' ले राष्ट्रपति होलान्ड एवं ४१ वर्षीया चर्चित अभिनेत्री जुली गायटबीच दुई वर्षदेखि सम्बन्ध रहेको दाबी गर्दै लगातार दुई पटक खबर प्रकाशित गर्‍यो। क्लोजर पत्रिकाले पहिलो पटक गत १० जनबरीमा 'फ्रान्स्वाँ होलान्ड एन्ड जुलिया गायेट ः द प्रेसिडेन्ट्स सिक्रेट लभ' शीर्षकमा तस्बिरसहित ७ पृष्ठ लामो खबर दियो।

मुखपृष्ठमै होलान्डलाई हेलमेटले अनुहार छोपेर एक मात्र अंगरक्षकको सहयोगमा फ्रान्सको सडकमा स्कुटीमा गुड्दै जुलीसँग भेट्न गैरहेको देखाइएको छ। उनको अधिकांश रात जुलीसँग बित्ने कुरा उक्त समाचारमा उल्लेख छ। सन् २०१२ को राष्ट्रपतीय प्रतिस्पर्धाकै क्रममा निकटता बढेको भन्दै उक्त पत्रिकाले उनीहरूको कथित रोमान्सका सम्बन्धमा १७ जनबरीको अंकमा दुई पृष्ठ ठाउँ दिएर थप कथा पस्कियो। समाचारको शीर्षक थियो, 'दे ह्याभ लभ्ड इच अदर फर टु इयर्स'। क्लोजरले राजधानी पेरिसको पश्चिममा ४१ वर्षीया जुलीसँग भेट्न होलान्डले अर्को अपार्टमेन्ट प्रयोग गर्न थालेको कुरा पनि लेख्यो। निर्वाचन अघि र पछि दुवै बीच 'अन्यौलग्रस्त रोमान्स' चलिरहेको क्लोजरले उल्लेख गरेको थियो।

होलान्ड एवं जुलीको सम्बन्धका बारेमा राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनमा पनि प्रश्न उठ्यो। सरकारको नीती तथा कार्यक्रम घोषणा गरिनुपूर्व आयोजित पत्रकार सम्मेलनमा होलान्डसँग सञ्चारकर्मीहरूले सोधे, 'अब मुलुकको प्रथम महिला को त?' उनी अकमक्क परे। उनले उक्त खबरको खन्डन नगरी आफू निजी जीवनको अप्ठेरो मोडमा रहेको सहजै स्वीकार गरे।

उनले निजी जीवनका घटनालाई सार्वजनिक गर्नुको औचित्य नहुने भन्दै आफ्नो प्रतिरक्षा गरेका थिए। विवादका बीच उनले फरवरी ११ को अमेरिका यात्रा अघि प्रथम महिलाका सम्बन्धमा स्पष्ट गर्ने बताएर उक्त खबरको लगभग पुष्टि गरिदिए। राष्ट्रपतिको निर्वाचन अघिदेखि नै सहधर्मी ४९ वर्षीया भेलेरी त्रिवेलरलाई प्रथम महिलाका रूपमा प्रस्तुत गर्दै आएकाले राष्ट्रपतिका लागि आउँदा दिन चुनौतीपूर्ण हुने पक्कापक्की छ।

पेसाले पत्रकार भेलेरी पनि होलान्डसँग जोडिएपछि नै चर्चामा आएकी हुन्। तीन सन्तानकी आमा भेलेरीको जीवनमा होलान्ड तेस्रो पुरुष हुन्। उनको यसअघि दुई पटक पारपाचुके भैसकेको छ। आफ्नो निजी जीवनका सम्बन्धमा लेखिएको पुस्तक 'द ट्रोबुलमेकर' का लेखकहरूविरुद्धको मुद्दा जिति उनले सन् २०१३ मा क्षतिपूर्तिबापत १० हजार डलर पाएकी थिइन्। फ्रान्समा सार्वजनिक व्यक्तित्व एवं सेलिब्रेटिका गोपनीयतासम्बन्धी हकको रक्षाका लागि कडा कानुन छ।

होलान्डले सोसलिस्ट पार्टीकी सदस्य सेगोलेन रोयलसँगै जीवन रथ अघि बढाइरहेका बेला सन १९८८ को संसदीय निर्वाचनताका भेलेरीलाई भेटेका थिए। उनले मैलेरीसँग हिमचिम भएपछि सन् २००७ तिर चार सन्तानकी आमा समाजवादी राजनीतिज्ञ सिगोलेन रोयललाई आफ्नो जीवनबाट लखेटेका थिए।

राष्ट्रपतिले त्यही व्यवहार अहिले भेलेरीसँग दोहोर्‍याएका छन्। उनले यस पटकको नयाँ वर्षको महत्वपूर्ण क्षण भेलेरीसँग नभएर जुलीसँग बिताए। त्रिवेलेरद्वारा ग्रिसमा बिदा मनाउने प्रस्ताव आउँदा क्षमा मागेर पन्छिएका होलान्ड दक्षिण फ्रान्समा जुलीसँग सप्ताहन्तको बिदा मनाइरहेको अवस्थामा फेला परेका थिए।

त्यति मात्र हो र, त्यहाँको एमसिक्स टेलिभिजनले जुली दोजिया भएको कुरा प्रसारण गर्‍यो भने अर्को प्रतिष्ठित पत्रिका 'ला एक्सप्रेस' ले होलान्डको अराजक गतिविधिका कारण राष्ट्रपति भवनकै सुरक्षा बढाउनु परेको समेत बतायो। जुलीले आफू दुई जीउकी नभएको भन्दै खण्डन गरिसकेकी छिन्। नयाँ प्रेम प्रकरण प्रकट भएपछि राष्ट्रपति भवनमा होलान्डसँगै बस्दै आएकी भेलेरीलाई अस्पताल भर्ना गर्नुपर्‍यो। होलान्डको जीवनमा आफ्नो स्थान र जुलीसँगको सम्बन्धका बारेमा उनले आधिकारिक जानकारी नै माग गरिन्।

केही महिनादेखि अपुष्ट खबर आउँदा अभिनेत्री जुलीका अधिवक्ताले चरित्र हत्या भएको भन्दै गत मार्चमा यस्तो समाचार दिने वेबसाइट र ब्लगर्सविरुद्ध मुद्दासमेत हालेका थिए। होलान्डको जीवनमा एकपछि अर्को गर्दै सुन्दरी र बौद्धिक महिलाहरूको आगमनलाई सहज मानिएको छैन। यसले उनको राजनीतिक करियरलाई नराम्रोसँग क्षति पुर्‍याएको छ। उनले जनताबीच लोकप्रियता गुमाउँदै गएका छन्। उनी सन् २०१२ को मे १५ देखि सत्तामा छन्। उनीअघिका राष्ट्रपति निकोलास सार्कोजी पनि यस्तै प्रेम विवादले लोकप्रियता गुमाउँदै सताबाट बाहिरिएका थिए। सार्कोजीले पूर्व मोडल कार्ला बुर्नीसँग तेस्रो विवाह गरी घरजम गरेका थिए।

यी घटनाक्रमबीच अभिनेत्री गायटले फेरी एक पटक आफ्नो निजताको हनन भएकाले अदालत गुहारेकी छिन्। गायटले उक्त पत्रिकासँग आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएकोमा क्षतिपूर्तिबापत ५० हजार युरो तथा कानुनी कारबाहीमा खर्च हुने ४ हजार युरोको माग गरेकी छिन्।

उता भिलेरीले भने अझैं पनि होलान्डको बचाव गरिरहेकी छिन्। आफूलाई हेर्न होलान्ड अस्पताल नआएको खबरको उनले खण्डन गरेकी छिन्। उनले एक पत्रकारलाई फोन गर्दै चिकित्सकको सुझावअनुरूप होलान्ड नआएको सफाइ दिएकी छिन्। फ्रान्सको प्रथम महिलाका रूपमा सार्वजनिक हुँदै आएकी भिलेरीले आफ्नो आत्महत्याको खबर पनि झूटो भएको बताएकी छिन्।

चिस्सिंदै बाराक र मिसेलको प्रेम

अमेरिकाकी प्रथम महिला मिसेल ओबामाले गत १७ जनवरीमा आफ्नो ५० औं जन्मदिन श्रीमान् ओबामा, आफू अध्ययनरत कलेजका पुराना र नयाँ मित्रहरूसँग मनाइन्। सन् १९६४ को १७ जनवरीमा जन्मिएकी मिसेलले सन् १९९२ मा ओबामासँग विवाह गरेकी हुन्। ओबामा अमेरिकाको राष्ट्रपति बन्दा मिसेल पनि प्रभावकारी भाषणका कारण चर्चामा आएकी थिइन्।

ओबामाको राजनैतिक संघर्षदेखि दुई पटक राष्ट्रपति भवनसम्मको यात्रामा उनी पूर्णतया समर्पित देखिन्छिन्। यद्यपि मिसेलकै जन्म दिनको पूर्वसन्ध्यामा 'इन्क्वायरर' बेबसाइटले जुन खबर दियो, त्यो पूरा विश्वका लागि पत्याउन कठिन थियो। पत्रिकाले ओबामाको आकर्षक महिलाहरूसँग लसपस गर्ने बानीले आजित मिसेलले पारपाचुके चाहिरहेको कुरा उल्लेख गरेको थियो।

पत्रिकाले मिसेल सहर बाहिर भएका बेला ओबामालाई अन्य महिलासँग आपत्तिजनक अवस्थामा देखिएको र गुप्तचरहरूले त्यसलाई लुकाएको दाबी गरेको छ। यस विषयमा थाहा पाएपछि मिसेल क्रुद्ध भएको जनाइएको छ। २२ वर्षको सफल वैवाहिक जीवनपछि उनीहरू छुट्टनिे आश्चर्यजनक खबरले अमेरिकीहरू पनि स्तब्ध छन्। ओबामाले दुई छोरी शशा र मालियासँग मात्र गएको नयाँ वर्षको बिदा मनाएपछि विभिन्न अड्कलबाजी सुरु भएको थियो। ओबामाको कार्यकाल पूरा भएपछि औपचारिक रूपमै उनीहरू छुट्टनिे आशयका खबर अमेरिकी सञ्चारमाध्यमहरूमा आउन थालेका छन्।

मिसेलले पारपाचुके विज्ञ अधिवक्ताहरूसँग भेटेको र ओबामासमक्ष अलग हुन चाहेको कुरा उल्लेख गरिसकेको सञ्चारमाध्यमहरूले जनाएका छन्। कान्छी छोरी शशाको स्कुले अध्ययन पूरा नहुन्जेल उनी वासिङ्टन डिसीमा बस्ने बताइएको छ। राजनैतिक करियर र छोरीहरूका लागि मात्र उनीहरूसँगै बसेको समाचारमा उल्लेख छ।

गत १० डिसेम्बरमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेलाको शोकसभामा ओबामाले विशेषगरी डेनमार्ककी प्रधानमन्त्री हेल थार्निङ समिटसँग स्मार्ट फोनमा आत्मीय तस्बिर खिच्दा मिसेललाई मन परेको थिएन। ओबामाले समिटको काँधमा हिर्काउँदा र जिस्किँदा मिसेल मुठ्ठी कसेर मुख बिच्क्याउँदै बसेकी थिइन्।

उक्त तस्बिरलाई संसारभरी 'सेल्फी डिप्लोमेसी' नाम दिइएको छ। हाते क्यामेरा र मोबाइलमा खिचिने तस्बिरलाई 'सेल्फी' भनिन्छ। ओबामाको समिटसँग बढी नै निकटता देखेपछि मिसेल क्रुद्ध भएकी थिइन्।

प्रधानमन्त्री समिटसँगको फ्लर्टलाई लिएर उनीहरूको झगडा बढेको थियो। त्यसको लगत्तै उनले ओबामाले दुई पटक धोका दिएको र गुप्तचर निकायले यथार्थ लुकाएको थाहा पाइन्। ओबामाले आफ्नो देशप्रतिको कर्तव्य एवं राजनैतिक करियर बर्बाद हुनबाट बचाउन आग्रह गरेपछि मात्र मिसेलले हाललाई मुख बन्द गरेको समाचारहरूमा दाबी गरिएको छ।

ओबामाको जीवनमा परस्त्रीमोहको घटना नयाँ होइन। उनको नाम टिभी कार्यक्रम प्रस्तोता ओपराह बिन्फ्रेसँग पनि जोडिएको थियो। विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न मुलुकका सुन्दर महिला राष्ट्र प्रमुखहरूको गोप्य अंग नियालेको, उनीहरूलाई कसिलो आलिंगनमा लिँदै चुम्बन गरेको दृश्य सञ्चारमाध्यमहरूले धेरै पटक प्रकाशित गरिसकेका छन्।
साभार : साप्ताहिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis