CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नबिल बैंक हात पार्न चौधरीले फेरि घुमाउरो बाटो रोज्नुपर्ने, ५० प्रतिशत सेयर कसलाई बेच्लान् उनले ?

नबिल बैंक हात पार्न चौधरीले फेरि घुमाउरो बाटो रोज्नुपर्ने, ५० प्रतिशत सेयर कसलाई बेच्लान् उनले ?

mj22dy‘हो, मैले घुमाउरो बाटो प्रयोग गरेरै नबिल बैँक हात पारेको हुँ’ शैलिमा गर्व देखाएर आत्मकथा लेखेपछि नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी एकपछि अर्को अप्ठेरोमा फँस्ने क्रम जारी छ।
सुरुमा उनले एनबी इन्टरनेशनलको नामबाट नबिल बैँकमा गरेको लगानीवापत् पाउनु पर्ने ६० करोड रूपैयाँ नाफा लैजान दिइएन। अब राष्ट्र बैंकले दिएको नयाँ निर्देशन झन् कडा छ। सोझो हिसाबमा हेर्ने हो भने डेढ वर्षभित्र चौधरीले नबिल बैँकको नियन्त्रण गुमाउने छन्।
कानून पूर्ण रुपमा पालन गर्ने हो भने चौधरीको यसमा १५ प्रतिशतभन्दा बढी स्वामित्व हुने ठाउँ नै छैन। अहिले भने बहुमत सेयर चौधरीको नाममा छ। अहिले कसको कति सेयर छ त ? 
NB
Nabil Share Structure
आयरल्यान्डको एनबि इन्टरनेसनल लिमिटेडको नाममा सबैभन्दा बढी ५० प्रतिशत सेयर छ। यो के कम्पनी हो, कस्तो कम्पनी हो भन्ने कुरा आजसम्म खुलेको छैन। तर आत्मकथामा र उनैले अन्तर्वार्ताहरुमा स्वीकार्दै हिँडे अनुसार यो उनकै कम्पनी हो, घुमाउरो बाटोबाट लगानी गर्न खोलिएको।
त्यसबाहेक छोराहरु निर्वाणकुमार चौधरी, वरुण चौरी र राहुल चौधरी अनि श्रीमति सारिका चौधरीको गरी कूल ३.११ % सेयर चौधरीको नाममा छ। देखाउनका लागि राखिएको बाहिरी कम्पनी समेत जोड्ने हो भने ५३.११% अर्थात् बहुमत सेयर चौधरीको नियन्त्रणमा छ। जबकि नेपालको कानुनमा एउटा परिवारबाट बैंक तथा वित्तीय संस्थामा १५ प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था छ।
नबिल बैँकमा रहेको ०.५९% सेयर भने अहिले नेपाल ट्रस्टको नाममा छ। यसअघि यो हत्या गरिएका राजा वीरेन्द्रको परिवारको नाममा थियो। राष्ट्रियकरण गर्ने क्रममा अहिले यो ट्रस्टमार्फत् नेपाल सरकारमातहत आइपुगेको हो।
१५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने कानुनी व्यवस्थालाई धोती लगाउँदै विदेशी कम्पनीको नामबाट नबिल बैँक हात पार्न सफल भएको सगर्व घोषणा चौधरीले आत्मकथा अनि फोर्ब्स पत्रिकाको अन्तर्वार्तामा गरेपछि यो एनबी इन्टरन्यासनलको विषयमा पहिला स्पष्ट पार्नुपर्ने भन्दै लाभांश लिन रोक लगाइदिएको थियो।
अब हिजो राष्ट्र बैँकले अर्को निर्देशन जारी गरेको छ। यसले त झन् चौधरीलाई संकटमा पारिदिएको छ। यस्तो छ निर्देशन-
2070_71_(For_D_Class)--Circ
निर्देशन अनुसार अब नेपालको बैँकमा विदेशी लगानी विदेशी बैङ्क वा वित्तीय संस्थाले मात्र गर्न पाउने छ। यसअघि जुनसुकै विदेशी कम्पनीले गर्न पाउने थियो। कानुनमा रहेको यही ‘जुनसुकै कम्पनी’को व्यवस्थालाई टेकेर आयरल्यान्डको एनबी इन्टरनेसनलको नाममा चौधरीले नबिल बैँक हात पारेका थिए। त्यसलाई उनी आफैले आत्मकथामा घुमाउरो बाटो भन्दै स्वीकार गरेका थिए।
निर्देशन अनुसार २०७२ सालको असार मसान्तसम्ममा विदेशी व्यक्ति वा संस्थाको लगानी विदेशी बैंक, वित्तीय संस्था वा नेपाली
व्यक्ति, संस्थालाई बिक्री गरी नियमित गर्नुपर्ने छ।
यो अनुसार अब चौधरीले एनबी इन्टरन्यासनलको नाममा रहेको आफ्नो ५० प्रतिशत सेयर बेच्नु पर्छ। किनभने एनबी इन्टरन्यासनल भनेको विदेशी बैँक वा वित्तीय संस्था हैन।
नबिल बैँकलाई आफ्नो नियन्त्रणमा राखिरहन अब चौधरीले फेरि एक पटक घुमाउरो बाटो प्रयोग गर्नुपर्ने भएको छ। त्यस अनुसार छोराहरु र श्रीमतीको नाममा रहेको अहिलेको संयुक्त ३.११% सेयरलाई १५% पुर्‍याउन कानुनी अड्चन छैन।
तर बाँकी झण्डै ३८ प्रतिशत सेयर आफ्नै नियन्त्रणमा राख्न घुमाउरो बाटो बाहेक अरु उपाय छैन। चौधरी जस्ता बाठा साहुले पक्कै पनि कुनै न कुनै उपाय खोजिहाल्लान्।
तर विदेशी स्वामित्वमा रहेको सेयर खरिद बिक्री गर्न पनि राष्ट्र बैँकको अनिवार्य स्वीकृतिको प्रावधान राखिएको छ।
२०७२ सालको असार मसान्तअघि उनको सेयर कसले किन्ने हो, त्यो समाचार त आइहाल्ला र हामी थाहा पाइहाल्छौँ भन्ने विश्वास गरौँ। त्यसो त पत्रिका र आजभोलि त केही प्रमुख अनलाइनहरुको मुख समेत त्यहाँका विज्ञापनले थुनिएको अवस्था छ, नआउन पनि सक्छ।
चौधरीले आत्मकथा लेखेकै कारण नेपालको कानुनमा रहेको ‘लुपहोल’ पत्ता लागी राष्ट्र बैँक कडा प्रावधान ल्याउन बाध्य भएको छ। वास्तवमा यही प्रावधान पहिलेदेखि नै ल्याउनु पर्थ्यो।
चौधरी भने पछुताउँदै होलान्, हरे किन लेखेछु मैले आत्मकथामा त्यो प्रसंग ! त्योभन्दा बढी उनी नजिकका सल्लाहकार/पत्रकार पछुताउँदै होलान्- हरे, किन हामीले यो प्रसंग लेखे पनि केही फरक पर्दैन भनेर सल्लाह दिएछौँ नि !
अरु बैँकलाई पनि असर
सबभन्दा बढी असर पर्ने त नबिल बैँकलाई नै हो। किनभने त्यसमा ५० प्रतिशत सेयर विदेशी कम्पनीको नाममा छ। अर्को बैँक एनएमबीको भने १३ प्रतिशत सेयर एउटा मलेसियन रियल स्टेट कम्पनी यङ लियन रियल स्टेटको नाममा छ। अब यो १३ प्रतिशत पनि कि विदेशी बैँक वा वित्तीय संस्थालाई बेच्नु पर्‍यो, कि नेपाली व्यक्ति वा संस्थालाई।
निर्देशनपछि अर्को ठूलो बैँक नेपाल इन्भेस्टमेन्ट बैँकको १० प्रतिशत सेयर सर्वसाधारणलाई खुला गर्नुपर्ने भएको छ। बैँकको ३० प्रतिशत सेयर सर्वसाधारणलाई खुला गर्नुपर्नेमा विदेशी लगानीको भए त्यसमा छुट हुन्थ्यो। तर विदेशीले लगानी फिर्ता लगिसकेको हुनाले इन्भेस्टमेन्ट बैँकले हालको २० प्रतिशतलाई बढाएर ३० प्रतिशत सर्वसाधारणलाई खुला गर्नु पर्ने भएको हो।
 साभार : माई संसार
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis