CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » गरिब प्रधानमन्त्रीका धनी मन्त्रीहरू :सुकुम्बासी' कोइरालाका धेरैजसो मन्त्री करोडपति

गरिब प्रधानमन्त्रीका धनी मन्त्रीहरू :सुकुम्बासी' कोइरालाका धेरैजसो मन्त्री करोडपति


rich man
काठमाडौ, चैत्र ५ - प्रधानमन्त्री सुशील कोइरालाको न घरजग्गा छ, न बैंक खाता नै । सम्पत्तिको नाममा तीन थान मोबाइल फोनमात्र । मन्त्रिपरिषद्का सदस्यहरूको बुधबार सार्वजनिक सम्पत्ति विवरणबाट प्रधानमन्त्रीको यस्तो सादगीपना प्रस्तुत हुँदा धेरैजसो मन्त्रीको हकमा ठीक उल्टो देखियो ।  
'सुकुम्बासी' कोइरालाका धेरैजसो मन्त्री करोडपति छन् । उनीहरूसँग गृह जिल्लाबाहेक राजधानीमै घरघडेरी, खातामा पचासौं लाख नगद, बैंक तथा वित्तीय संस्थामा ५०/६०
लाखसम्मको सेयर, लाखौंका गरगहनालगायत सम्पत्ति रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा उल्लेख छ ।
पटक-पटक मन्त्री भएकाहरूको सम्पत्ति बढिरहेको छ । धेरैजसोले स्वआर्जन, पैत्रिक र पारिश्रमिकबाट त्यति धेरै सम्पत्ति आर्जन गरेको दाबी गरेका छन् । पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यको मात्र सम्पत्ति विवरण आउन बाँकी छ, अरू सबै मन्त्रीले सार्वजनिक गरेका छन् ।
उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह दुवै धनी मन्त्री हुन् । गौतमको बर्दियाको डेउडाकलामा छोरा हरिशदेवको नाममा तीन कट्ठा जग्गा, राजधानीको बालकुमारीस्थित निर्माणाधीन भेगास सिटीमा पत्नी तुलसाको नाममा ५० लाख रुपैयाँको फ्ल्याट, ललितपुरको छम्पीमा ७ आना २ पैसा जग्गा, बुहारी ताराको नाममा काठमाडौंको सांग्ला गाविसमा १ रोपनी जग्गा र भरतपुरमा छोराको नाममा १३ लाख ३३ हजारको जग्गा छ । बुहारीकै नाममा हुन्डाई आई २० गाडी छ ।
गौतमको छोरा र उनको नाममा करोड रुपैयाँभन्दा बढी नगद छ । उनीसँग सुन ३५ तोला, चाँदी एक सय तोला, हीरा एक सेट, बैंंकमा छोराको नाममा ९६ लाख, आफ्नै नाममा १ लाख र पत्नी तुलसाको नाममा बैंक तथा वित्तीय संस्थामा ११ लाख रुपैयाँ बराबरको सेयर
छ । नबिल बैंकबाट १ करोड रुपैयाँ ऋण लिएकोमध्ये ५० लाख रुपैयाँ तिरिसकेको गौतमले उल्लेख गरेका छन् । गौतमले आफ्नो सम्पत्तिको स्रोतमा बुहारीको पेवा, स्वआर्जन, पारिश्रमिक र पैत्रिक भएको उल्लेख गरेका छन् ।
अर्का उपप्रधानमन्त्री सिंहको क्षेत्रपाटीमा सगोलको ७ रोपनी जग्गामा दुइटा घर, अपार्टमेन्ट, उपत्यकाभित्र ३२ रोपनी जग्गा, धनुषामा ३० बिघा जग्गा रहेको उल्लेख छ । उनको ६५ तोला सुन, करिब २ किलो चाँदीको गरगहना, बैंकमा ७ लाख ६४ हजार रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्थामा १५ लाख रुपैयाँ बराबरको सेयर, टोयोटा प्राडो गाडी र एउटा मोटरसाइकल सम्पत्ति रहेको विवरणमा छ ।
सम्पत्तिका दृष्टिले श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ धनी मन्त्रीमा पर्छन् । उनको राजधानीमा १७ रोपनी, १४ आना र ८ आनामा बनेका तीनवटा घर, चितवनमा ९ बिघा, भैरहवामा डेढ बिघा र गृह जिल्ला मनाङ १० रोपनी जग्गा छ । उनको ४१ लाख रुपैयाँ बराबरको सेयर, दुइटा महँगा जिप, एउटा कार र १५ लाख रुपैयाँ ऋण रहेको उल्लेख छ । उनले आफूले व्यापार र पैत्रिक सम्पत्तिबाट सम्पत्ति आर्जन गरेको उल्लेख गरेका छन् ।
अर्थमन्त्री रामशरण महतको काठमाडौं बाँसबारीमा १ रोपनी २ आनामा बनेको साढे दुई तले घर, १ सय ६३ वर्ग मिटरको अपार्टमेन्ट, राजधानीमा ४ रोपनी र काभ्रेमा १४ रोपनी, गृह जिल्लाको चौघडामा ६३ रोपनी र अंशबन्डा हुन बाँकी घरजग्गा छ । उनको सम्पत्ति धेरैजसो पत्नी रोशनाको नाममा छ । सम्पत्तिको स्रोत स्वआर्जन र माइतीबाट पाएको दाइजो पेवा भन्ने उल्लेख छ । उनीसँग सुनको गहना ९५ तोला, चाँदी २ सय १० तोला, केही हीराका गहना, टोयोटा प्राडो गाडी र मारुती कार, बैंकमा करिब ६४ लाख नगद र विभिन्न बैंकमा ८ लाखभन्दा बढीको सेयर रहेको उल्लेख छ । उनले बैंकबाट १ करोड १० लाख रुपैयाँ ऋण लिएकोसमेत उल्लेख छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिको भक्तपुर कटुञ्जेमा १ रोपनी जग्गा, सुन ६० तोला, चाँदी १ सय ५० तोला, नगद र बैंकमा गरी करिब ४५ लाख रुपैयाँ र २ लाखभन्दा बढीको सेयर सम्पत्तिका रूपमा रहेको छ । तर, उनले गृह जिल्ला धनुषामा रहेको पैत्रिक सम्पत्ति छुट्टै पेस गरेको उल्लेख गरेका छन्, त्यो वेबसाइटमा छैन ।
कानुनमन्त्री नरहरि आचार्यको राजधानीमा १ रोपनी २ आनामा बनेको घर, राजधानीमै १ रोपनी जग्गा, तनहुँको दमौलीमा ६ सय ४५ वर्गफिटमा बनेको घर र १८ रोपनी जमिन, सुन ७ तोला, चाँदी १ किलो, बैंकमा १२ हजार रुपैयाँ र मोटरसाइकल छ । पत्नी शारदाको नाममा राजधानीमा २ आना १ पैसा र चितवनमा ३० कट्ठा जग्गा, ३० लाख नगद, ३५ तोला सुन र डेढ किलो चाँदीका गहना सम्पत्तिका रूपमा रहेको उल्लेख छ ।
वनमन्त्री महेश आचार्यको मोरङको विराटनगरमा ३ कट्ठा, झोराहाटमा २ बिघा जग्गा, राजधानीमा ६ आना २ पैसामा बनेको घर, ४५ तोला सुन, बैंकमा ६५ लाख नगद र बैंक तथा वित्तीय संस्थामा करिब १० लाखको सेयर सम्पत्ति रहेको उल्लेख छ ।
शिक्षामन्त्री चित्रलेखा यादव र उनका पति कृष्ण यादवको नाममा राजधानीमा ४ र सिराहामा एक गरी ५ ठाउँमा घरजग्गा, ललितपुर र सिराहामा ११ ठाउँमा जग्गा, विभिन्न बैंकमा नगद र सेयर, मारुती सुजुकी गाडी, मोटरसाइकल र ८८ लाख रुपैयाँबराबरको
सेयर छ ।
सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल र उनकी पत्नी दुर्गा रिजालको नाममा गृह जिल्ला मोरङको विराटनगरमा साढे ११ कट्ठामा घरजग्गा, दुलारी गाविसमा आठ बिघा जग्गा, राजधानीमा २ रोपनी जग्गा र घर, सुन ४० र चाँदी ४ सय तोला, बैंकमा ५० लाख नगद, विभिन्न संस्थामा सवा करोड रुपैयाँबराबरको सेयर र मारुती सुजुकी गाडी छ ।
ऊर्जामन्त्री राधा ज्ञवाली र परिवारको नाममा बुटवलमा डेढ कट्ठामा बनेको दुईतले घर, १ कट्ठा १० धुर जग्गा, ९ लाख १० हजार नगद, सुन १० तोला, चाँदी २० तोला, ३ लाख रुपैयाँ बराबरको सेयर, फोर्ड गाडी र स्कुटर छ । सिँचाइमन्त्री एनपी सावदको कञ्चनपुर र डडेलधुरामा घरजग्गा, ५० रोपनी जग्गा, सुन ३२ र चाँदी ७० तोला, बैंकमा साढे १८ लाख रुपैयाँ नगद र करिब ३० हजार रुपैयाँको सेयर छ ।
सहरी विकासमन्त्री नारायण खड्काको राजधानीमा दुई ठाउँमा घरजग्गा, अर्को एउटा घडेरी र गृह जिल्ला उदयपुरमा एक कट्ठा जग्गा, सुन १८ तोला, बैंकमा करिब ४ लाख नगद र टोयोटा कार सम्पत्ति छ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको राजधानीमा १० आनामा बनेको घर, गृह जिल्ला नुवाकोटमा २६ रोपनी जग्गा, काठमाडौं, चितवन र बेंसीसहरमा घडेरी, सुन १० र चाँदी २० तोला, बैंकमा १६ लाख नगद, २ लाखको सेयर, ५ लाख ऋण र दुई मोटरसाइकल छ ।
स्वास्थ्यमन्त्री खगराज अधिकारीको पोखरामा घरघडेरी, ४ हजार २ सय ५० वर्गमिटर जग्गा, नगद ५ लाख ५० हजार, सुन तीन तोला, ६ लाखभन्दा बढीको सेयर र ऋण २ लाख छ । अर्का मन्त्री लालबाबु पण्डितको राजधानीमा ४ आना घडेरी, गृह जिल्ला मोरङमा १ कट्ठामा बनेको घर, करिब चार बिघा खेतीयोग्य जमिन, सुन र चाँदा १०/१० तोला र बैंकमा ४७ लाख नगद छ ।
भूमिसुधारमन्त्री दलबहादुर रानाको राजधानी र गृह जिल्ला पाल्पामा घरघडेरी, छोराको नाममा बेलायतमा घर, सुन ११ तोला, बैंकमा ७० हजार नगद र सेयर ३ हजार रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
उद्योगमन्त्री कर्णबहादुर थापाको गृह जिल्ला बाजुरामा घरघडेरी, ६ हजार १ सय वर्गमिटर कृषियोग्य जग्गा, राजधानीमा साढे २ आना घडेरी, सुन १७ र चाँदी २ सय २० तोला, बैंकमा ४६ हजार नगद, एउटा मोटरसाइकल, १५ बाख्रा, ३ गाई, कम्प्युटर र १२ लाख रुपैयाँ ऋण रहेको उल्लेख छ ।
सम्पत्ति विवरणमा अर्का मन्त्री हरिप्रसाद पराजुलीको नाममा गृह जिल्ला बाँकेको कोहलपुर र भरतपुर नगरपालिकामा घरघडेरी, कोहलपुरमा ३ बिघा जग्गा, काठमाडौं र भरतपुरमा घडेरी, १४ लाख नगद, सुन २२ र चाँदी ७ तोला, चार ट्याक्टर, दुई मोटरसाइकल, माटो खन्ने मेसिन र ऋण २७ लाख रहेको उल्लेख छ ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको भक्तपुर, निजगढ र हेटौंडामा घरघडेरी, निजगढमा २० आना जग्गा, सुन ८ तोला, चाँदी १० तोला, बैंकमा २ लाख ५० हजार नगद, करिब ३ लाख रुपैयाँ बराबरको सेयर, एउटा स्कुटर र ऋण ५ लाख रुपैयाँ छ ।

साभार : ईकंतिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis