CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » विश्वकप यात्राको सुखद अन्त्य, अफगानी हराउँदै दोस्रो

विश्वकप यात्राको सुखद अन्त्य, अफगानी हराउँदै दोस्रो

View image on Twitterबिहीबारको दिन क्रिकेटप्रेमी नेपालीका लागि स्मरणीय रह्यो। टि-२० मा अहिलेसम्म हराउन नसकेको र अरु ढाँचाका क्रिकेटमा पनि लगातार ६ खेलमा पराजय भोग्न बाध्य बनाउने अफगानिस्तानलाई नेपालले नौ रनले पराजित गर्‍यो। यो ठूलो उपलब्धि थियो। लगत्तै अर्को खेलमा आयोजक बंगलादेशलाई एसोसिएट टिम हङकङले १०८ रनमै समेटेपछि समूह प्रथम हुँदै नेपालै
पो अर्को चरण सुपर टेनमा पुगेर भारत, पाकिस्तान, अस्ट्रेलिया र वेस्ट इन्डिजसित खेल्ने हो कि भन्ने आशा पलायो। हङकङले १३.१ ओभरमा विजय लक्ष्य भेट्टाएको भए त्यो संभव पनि हुन्थ्यो। त्यसो हुन नसकेकोले पराजित भए पनि बंगलादेश रनरेटका आधारमा समूह प्रथम हुँदै सुपर टेनमा पुग्यो। अङ्क तालिकामा बंगलादेश र नेपाल बराबरी ४ अङ्कमा छन्। खैर, सुपर टेनमा पुग्ने नेपालले सोचेको थिएन नै। नेपाल कप्तान पारस खड्काले भने जस्तै विश्वलाई आफ्नो खेल देखाउन र चिनाउन आएको थियो। हङकङलाई ८० रनले हराउनु अनि बंगलादेश जस्तो टेस्ट खेल्ने देशसँग २० ओभरै टिकेर खेल्नु र चीर प्रतिद्वन्द्वी अफगानिस्तानलाई पहिलो पटक टि२० मा हराउनु सानोतिनो उपलब्धि हैन। नेपाली खेलाडीको खेलले धेरैको मन पनि जितेको छ। यो झनै ठूलो उपलब्धि हो।

भिडियोहरु हेर्नुस्-

म्यान अफ दि म्याच जितेन्द्र मुखियाको बलिङ
अफगानिस्तानका विकेट यसरी झरे
खेलका टप फाइभ क्षण
जितेन्द्र मुखियाको बलिङ प्याकेज
म्याच प्रिजेन्टेसन
पारस खड्का के भन्छन् ? (हाम्रा क्याप्टेनको सन्तुलित प्रतिक्रियाका लागि यो भिडियो अवश्य हेर्नुहोला। उनी भन्छन्- ‘एउटा म्याच जित्यो भन्दैमा धेरै excited हुनुपर्ने देख्दिनँ, हाम्रो लक्ष्य ठूलो छ’
खेलका प्रमुख अंश
यस्तो थियो नेपालको ब्याटिङ
पछिल्ला छ वटा क्रिकेट खेलमा नेपाललाई अफगानिस्तानले तगारो हाल्दै आएको थियो। सँधै नेपालविरुद्ध ब्याटिङ र बलिङमा उनीहरु छाउँथे र नेपालले दबाबमा परेर खेलेको देखिन्थ्यो। अफगानिस्तान आइसिसीको एसोसिएट सदस्य राष्ट्रमध्ये सबैभन्दा माथिल्लो श्रेणीमा रहने टिम पनि हो।
यस पटक भने अफगानिस्तानसँग नेपाल दबिएर खेलेन। नेपालले खेलेका सबै तीन वटा खेलमा टस हारेको थियो। यस पटक पनि टस हारेर ब्याटिङका लागि निम्त्यायो अफगानिस्तानले।
क्रिजमा आए ओपनर सुभाष खकुरेल र सागर पुन। तर १९ रनको साझेदारी मै यो जोडी टुट्यो। ढिलो सुरुवात गरिरहेको नेपालको लागि सागरको विकेटले झट्का दियो। उनले ८ रनमात्रै जोडेका थिए।
खकुरेललाई साथ दिए ज्ञानेन्द्र मल्ल आए। छैटौँ ओभरमा ज्ञानेन्द्रले स्ट्राइक पाउने बित्तिकै समिमुल्लाह शेनवारीको बलमा १८ रन जोडेर सुस्तिएको रन रेटलाई बढाए। उनले पहिलो, चौथो र पाँचौँ बलमा चौका र अन्तिम बलमा लङ अनको बाउन्ड्री बोर्ड बाहिर पुग्ने गरी छक्का हिर्काए।
तर ज्ञानेन्द्र आठौँ ओभरको चौथो बलमा रिस्की सट खेल्ने क्रममा अफगान कप्तान नाबीको बलमा आउट हुन पुगे। उनले २२ रन मात्रै बनाउन सके। ज्ञानेन्द्र पछि आएका कप्तान पारस खड्का समेत पाँच बलमा एक रनमात्र बनाई आउट हुन पुगे। पारस आउट हुँदा स्कोरबोर्डमा नेपालको रन नौ ओभरमा ५३/३ थियो।
नेपालको इनिङलाई सम्हाल्ने काम गरे त्यसपछि आएका शरद भेसावकर र सुवास खकुरेलको जोडीले। यो जोडीले चौथो विकेटका लागि ७६ रनको साझेदारी गर्‍यो।
१६ औँ ओभरमा भेसावकरले तीन वटा चौका र दुई वटा दुई रन लिएर १६ रन बनाए। त्यसअघि १५ औँ ओभरमा खकुरेलले एक छक्का र एक चौकासहित १६ रनै बनाएका थिए।
दुई ब्याट्सम्यान जमिरहेका बेला १९ औँ ‌ओभरमा नेपालले धक्का सहनु पर्‍यो। पहिलो बलमा खकुरेल र तेस्रो बलमा भेसावकर आउट हुन पुगे। अन्तिम केही बलमा नेपालको रन बन्ने संभावना यसरी कम भयो।
नरेस बुढायर र विनोद भण्डारी नयाँ ब्याटसम्यानका रुपमा क्रिजमा थिए। अन्तिम ओभरमा बलिङ गर्न कप्तान नाबी नै आए। पहिलो बलमा नरेसले कुनै रन लिन भ्याएनन्। दोस्रो बलमा एक रन लिएपछि स्ट्राइकमा विनोद आए। तेस्रो बललाई उनले लेगसाइडतिर हिर्काएर बाउन्ड्री कटाए। अर्को दुई बलमा कुनै रन बनेन भने अन्तिम बलमा एक लेग बाई आयो।
५ ओभरको क्षतिमा नेपालले कूल १४१ रन बनायो।
यस्तो थियो बलिङ
अफगानिस्तान जस्तो टिमका लागि १४२ रनको लक्ष्य कठिन होला ? नेपाली बलिङ आक्रमण सुरु नभएसम्म भन्न कठिन थियो।
चौथो ओभरको पहिलो बलमा नै सोमपाल कामीले करिम सदिकलाई आठ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरिदिए।
पाँचौँ ओभरमा त झन् म्यान अफ दि म्याच जितेन्द्र मुखियाले तहल्कै मच्चाए। तेस्रो बलमा मोहम्मद सहजाद र चौथो बलमा नजिबुल्लाह जदरनलाई आउट गरेर ह्याट्रिक नजिक पुगे। जदरनले हावामा उडाएको बललाई मिड अन नजिकै पक्रन जितेन्द्र स्वयं दौडेका थिए। तर मिड अफबाट कप्तान पारस खड्का दौड्दै आएको देखेपछि उनले हाँस्दै बाटो छाडिदिए। पारसले क्याच गरी नेपाली समर्थकको जोसलाई बढाए।

कप्तान पारस खड्का लेक्याच गर्दा जितेन्द्र मुखिया हाँस्दै। फोटो सौजन्यः आइसिसी
कप्तान पारस खड्का लेक्याच गर्दा जितेन्द्र मुखिया हाँस्दै। फोटो सौजन्यः आइसिसी

नवौँ ओभरको दोस्रो बल। शक्ति गौचनले नवरोज मंगललाई बल फ्याँके। उनले उडाएको बललाई सर्ट फाइन लेगबाट डिप स्क्वायर लेग बाउन्ड्रीतिर दौड्दै गए, स्क्वायर लेगको फिल्डरलाई कराएर सतर्क गराउँदा पनि आँखा बलमै थियो। अनि बायाँतर्फ डाइभ गरी च्याप्पै समाते। क्रिकइन्फोका मोहम्मद इसामले यसलाई १९८३ को विश्वकपको फाइनलमा कपिल देवको क्याचसँग तुलना गरेका छन्। यसपछि अफगानिस्तान ४७ रनमा ४ विकेटको क्षतिमा थियो। चार बलपछि शक्तिले विपक्षी कप्तान नाबीको महत्त्वपूर्ण विकेट एलबिडब्ल्यु धरापमा पारी लिए।
महँगो बलिङ गरिरहेका वसन्त रेग्मीले पनि ३६ रन बनाएर नेपाललाई चुनौति दिइरहेका सफिकुल्लाहलाई सागर पुनबाट १५ औँ ओभरको पहिलो बलमा क्याच आउट गराए।
अन्तिम दुई ओभरमा अफगानिस्तानलाई ३० रनको आवश्यकता थियो १९ औँ ओभरमा बलिङ आक्रमणका लागि जितेन्द्र मुखिया आए। सुरुका तीन बलमा एक रन दिएपछि चौथो बलमा उनले १४ रन बनाएका समिमुल्लाहलाई आउट गरे। आकाशमा उडेको बल समात्न स्वयं मुखिया अघि बढेका थिए। उनी अर्का फिल्डरलाई हट्न इशारा गर्दै थिए। दुई फिल्डरबीच क्याच समात्न कन्फ्युज भइरहेकै बेला पारस मिड अनमा आएर फरवार्ड डाइभ गर्दै क्याच समात्न सफल भए।
अन्तिम ६ बलमा २४ रनले अफगानिस्तान विजय हुनसक्थ्यो। सबै चौका बने यो संभव पनि थियो। बिग हिट गर्न कुनै कसर नछाड्ने अफगानी खेलाडीको भर पनि हुँदैन थियो। यो महत्त्वपूर्ण ओभरमा बलिङ गर्न आए सोमपाल कामी।
पहिलो बलमा अस्गर स्टानिकजाइले चौका बनाए।
दोस्रो बल, त्यो पनि चौका।
तेस्रो बलमा २ रन बन्यो।
चौथो बल पनि चौका। अब बाँकी दुई बलमध्ये एउटामा छक्का बने खेल अफगानिस्तानको पक्षमा जान सक्थ्यो।
सबको मुटु ढुक ढुक।
पाँचौँ बल- बाउन्ड्री नजिकै पुग्यो तर ज्ञानेन्द्र मल्लको हातमा परेर अस्गर क्याच आउट भएपछि नेपाल विजयी भयो।
छैटौँ बलमा जितका लागि १० रन आवश्यक हुन्थ्यो अफगानिस्तानका लागि, जुन असंभव थियो।
यसरी नेपालले अफगानिस्तानविरुद्धको खेल नौ रनले जित्यो। देश र विदेशमा रहेका नेपाली क्रिकेटप्रेमीहरुले अन्तिम ओभरतिरको यो रोचक क्षण र विजयलाई धेरैपछिसम्म याद गरिरहने छन्।
जोशको माहौल टोलटोलमा ठूलो पर्दामा हेर्नेहरु मात्र हैन, न्युजरुममा समेत थियो। अन्नपूर्ण पोस्टको दृश्य यस्तो थियो

आइसिसीले एउटा समूहबाट दुई वटा टिम अर्को चरणमा जाने बनाएको भए नेपाल पक्कै पनि जान्थ्यो। तर एसोसिएट टिमलाई सौताको छोरा जस्तो व्यवहार गर्ने भएकोले नेपालले विश्वकपमा खेलेर पनि टेस्ट खेल्ने राष्ट्रका रुपमा बंगलादेशसँग मात्रै खेलेर अनुभव बटुल्ने मौका पायो।
क्रिकेट भनेको तथ्याङ्कको पनि खेल हो। अङ्क तालिकामा समान रहे पनि नेट रन रेटमा पछाडि परेपछि नेपाललाई पछाडि पारेर हङकङसित हारे पनि बंगलादेश सुपर टेनका लागि छनौट भयो।
netrr
मन जित्न सफल विश्वकप यात्रा
नेपालले विश्वकप यात्रामा दुई खेल जित्यो। मन भने धेरैको जित्यो। स्वदेशी र विदेशी दुवैको।
नेपाल र नेपालीलाई चिनाउन सफल भएर नेपाली टिम फर्कने सम्बन्धि पवित्रा राउतले चट्गाउँबाट लेखेकी छिन्-
नेपाली खेलाडीले मैदान बाहिर देखाएको अनुशासन र आत्मविश्वास अनि अन्तर्वार्ताका क्रममा कप्तान पारस खड्का र अन्य खेलाडीले देखाएको भद्र र आत्मविश्वासी प्रतिक्रियाले पनि धेरैको मन जितेको छ।
‘पहिलो विश्वकपमा पनि तपाईं धेरै आत्मविश्वासी देखिनु हुन्छ नि, यसको कारण के होला?’, एक बंगलादेशी पत्रकारले सोधेका थिए। त्यसको जवाफमा पारसले भनेका थिए, ‘हामी देशको प्रतिनिधित्व गरेर सिक्न आएका हौं, यसमा अत्तालिनुपर्ने कारण छैन। क्रिकेट कुनै पनि खेलाडीको नामले होइन, बल र ब्याटले खेलिन्छ।’
शरद भेसावकरले पनि भने, ‘क्रिकेट हाम्रा लागि एकताको प्रतीक हो, अन्य टोलीका जस्ता हामीसँंग फरक देशका खेलाडी छैनन्। हामी नेपालमै जन्मिएका नेपाली हौं र राष्ट्रका लागि एक ढिक्का भएर खेल्छौं। सीमित साधन स्रोत भए पनि यसलाई हामी आफ्नो कमजोरी लुकाउने बहाना कहिल्यै बनाउँदैनौं।’ थप विवरण यहाँ
भारतीय पत्रकार तथा कमेन्टटेटर आनन्द वसु
भारतीय क्रिकेट कमेन्टेटर
अफगानिस्तान क्रिकेट बोर्ड

साभार : माई संसार
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis