CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » अफ्रिकी डान्सबारमा

अफ्रिकी डान्सबारमा

ब्रुअरी २८ । मध्यरात १२ः३० बजे । स्थान ः इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल । दिल्लीस्थित विमानस्थलबाट केन्या एयरवेजको केक्यु २२१ विमान नैरोवी उड्न लागेको थियो । सेतो टिसर्ट र कालो जिन्स पाइन्ट लगाएकी युवती हत्तारिँदै उडान कक्ष नजिकैको वेटिङ रुममा आइपुगिन् । उनी चर्को स्वरमा कसैसँग फोनमा कुराकानी गर्दै थिइन् । 


'आम्मामा, तीन महिना फेसबुक नखोल्नु?'

'ओहो, अब म कहिले नेपाल फिर्छु त?'

'मेरो साटो त्यो केटीलाई ओमान पठाउनु है त...'

      ०००

विमानस्थलको वेटिङ रुममा सँगै थिए- युगान्डामा युएन सेनामा भर्ती हुन हिँडेका घर्ती थरका रोल्पाली युवक । उनी पनि तस्करीको जालोमा उनिएका थिए, हेर्दैखेरि लाग्थ्यो । डराउँदै र धकाउँदै बोलिरहेका थिए । 

बोलचाल गर्न रुचाउने युवतीसँग मैले सोधें—'कता जान लागेकी बहिनी?'

'दक्षिण अफ्रिका ।'

'ओहो, दक्षिण अफ्रिकाको कता?'

'दारेसलाम ।'

'ए त्यो त तान्जानियाको राजधानी पो हो त...।'

'किन जान लागेको त?'

'खासमा म कलाकार हुँ, डान्सर हुँ । अन्तर्राष्ट्रिय स्तरको नाच सिक्न हिँडेकी ।'

'ओहो, कसले पठायो ?'

'मेरो श्रीमान् पनि कलाकार हो क्या, तपाइर्ं पनि चिन्नुहुन्छ होला... उहाँको सहयोग पाएर हिँडेकी ।'

लामा थरकी ती युवतीसँग यति गफ भएपछि अस्ति भर्खरै भ्यालेन्टाइन डेमा नायक राजेश हमालसँग नाचेको दृश्य पनि उनले आफ्नो मोबाइल-क्यामेरामा देखाइन् । आफ्नो थप आइटम-डान्सरको चिनारी पनि सुनाइन् । 

'उता दारेसलाम, नैरोवीतिर नेपाली केटीलाई मुजुरा नाच्न लगिन्छ भन्ने थाहा छ?'

'खोइ थाहा छैन त । म त अन्तर्राष्ट्रिय डान्स सिक्न हिँडेकी । श्रीमान्को सम्पर्कबाट उता हिँडेकी ।'

'ए, उसो भए त राम्रै होला...'

'नेपालमा पनि म साह्रै व्यस्त थिएँ । ओमानमा कार्यक्रम गर्न जाने भनेर एड्भान्स पनि लिएकी थिएँ । एकाएक यता आउनुपर्‍यो...।'

'अनि विदेश त गैरहनुहुन्छ होला?'

'हो गएकी छु, सिक्किमसम्म ।'

'ए...।'

      ०००

फेरि फोन बज्यो ती युवतीको— 'खोइ त त्यो साथी आइन त, छिटो भित्र पठाइदिनु । प्लेन जान लाग्यो...'

वरपर हेर्दै नहेरी उनी कराएर बोलिरहेकी हुन्थिन् । तरुनी वयको अल्लारे झझल्को बोलचाल र हाउभाउमा झल्कन्थ्यो । 'अघि टिकट काउन्टरमैं रोक्यो मलाई धेरैबेर । कहिले कति डलर छ भन्छ, कहिले के गर्न उता जान लागेको भन्छ । म त हैरान भएँ अनि मोबाइलमा श्रीमान्ले पठाएको आइ लभ यु मेसेज देखाएपछि मात्र बोर्डिङ पास हात पर्‍यो,' उनले एकै 

सासमा सुनाइन् । 

आफू कलाकार भनेर परिचयपत्र देखाउन पाएको भए अथवा एउटा चल्तीको टेलिभिजनमा डान्स क्लास सिकाउने भएकाले त्यहाँको परिचयपत्र मात्र देखाउन पाएको भए पनि टिकट काउन्टरबाट सजिलै 'क्लियरेन्स' पाइने थियो भन्ने अनुमान उनी गरिरहेकी थिइन् । 

केक्यु २२१ मा बोर्डिङ सुरु भैसकेको थियो । हामी अघिपछि गर्दै प्लेनमा छिर्‍यौं । बोर्डिङ टुङ्गनिै लाग्दा अघि भनिएकी अर्की युवती साथी पनि हतारिँदै आइन् र सिट मिलाएर दुवै डान्सर एकसाथ बसे । 'खासमा म कोरियोग्राफर हुँ, तर उनको जस्तो नाम बनाउन सकेकी छैन । नयाँ-नयाँ छु,' सानो काँटकी युवतीले साथमा बसेकी आइटम-डान्सरतर्फ देखाउँदै भनिन् । दुवैमा मस्कामस्की चलिरहेको थियो । विमान ठूलो थियो, ती युवतीले देख्ने सपना-जपनाको आकार पनि ठूलै हुनुपर्छ भन्ने भान परिरह्यो ।  

यति कुरा भएपछि सबै कुरा ठीकै त होला नि भन्ने भयो । 

दिल्लीबाट झन्डै ७ घन्टाको उडान भरेपछि स्थानीय समयअनुसार बिहान ५ बजे हामी नैरोवी उत्रिएका थियौं । विमानस्थलबाट नैरोवी उत्रने र ट्रान्जिट बनाउनेको दुई फरक दिशा तोकिएको थियो । यसरी अघिसम्म साथै रहेका दुई नेपाली चेली अर्कै बाटोतिर लागे— दारेसलाम गन्तव्य पहिल्याउँदै । म भने नैरोवी उत्रिएँ ।

      ०००

चर्चामा सुनिएअनुसार नैरोवी उत्रिएको रातदेखि त्यहाँका डान्स सेन्टर धाउने काम सुरु भयो । कुनै तीज वा भैलोमा भेला भएका दिदीबहिनीजस्तै जुनसुकै सेन्टरमा पुगे पनि नेपाली-नेपालीको स्टेज धमाका देखिन थाल्यो । नैरोवीस्थित डाइमन्ड प्लाजा, पार्कल्यान्ड प्लम्स, मुथाइटी रोड, राप्ता रोड सबैतिर घुम्यौं । 'द रेडी' डान्स सेन्टरका सञ्चालक राजन थापाको नामकाम पनि केन्यामा निकै छाएको रहेछ । अरू हेरिकन उनका दुई डान्स सेन्टरमा भने नेपाली नाच केही व्यवस्थित र सुरक्षित लाग्थे । उनले डान्स सेन्टर (मुजरा) का थिति-बेथितिका सम्बन्धमा पनि खुलेरै कुराकानी गरे । तान्जानियाको दारेसलामका सेन्टरदेखि केन्याका मुम्बासामा रहेका अखडाहरूका बारेमा पनि जनाउ दिए । पार्कल्यान्डको एउटा सेन्टरमा एक नेपाली युवतीले पातलो सेतो वस्त्रमा गरेको सावर-डान्स (पानीमा भिज्दै गरिने) र ग्राहकको टेबलमा आएर लडीबुडी गर्दै देखाएको बिचित्रको कला भने थामिनसक्नुको थियो, जस्तै जोगी पर्यटकले पनि गोजीबाट हजार/पन्ध्र सय सिलिङ झिक्नैपर्ने खालको । 

पृष्ठभूमिमा 'टिपटिप वर्ष पानी, पानीमें आग लगी है' बजिरहेको थियो । 

      ०००

केन्या घुमफिरपछि मार्च ४ को साँझ तान्जानियाको दारेसलाम उत्रिएँ । केन्याका डान्स सेन्टर सञ्चालक राजनले त्यहाँका केही डान्स सेन्टरको नाम टिपाएका थिए, जानैपर्ने भनेर । त्यही भएर त्यहाँका टक हफ द टाउनदेखि हन्टर डान्स सेन्टरसम्म घडीपला हेर्दै धाउन सुरु भयो । 

त्यहाँ पनि उस्तै मुजरा डान्स थियो । झन्डै डेढ दर्जन नेपाली केटी चित्र-विचित्रका पहिरनमा रिमोट कन्ट्रोलबाट बज्ने गीतका सुरमा रातभर नाचिरहेका थिए । पैसा फ्याक्नेहरू नैरोवीमा थिए भने दारेसलाममा डान्सरलाई प्लास्टिकका माला लगाइदिनेहरूको होड थियो । एउटा मालाको ५ हजार सिलिङ्स अथवा नेपाली झन्डै ३ सय रुपैयाँ । हजारौं रुपैयाँका यस्ता माला त छिनभरमै लगाइन्छ र फुकालिन्छ । 

रमितलाग्दो नाच चलिरहेको थियो । टस्कर बियर हातमा लिएर उभिएकै बेला वल्लो स्टेजबाट सानो ज्यान भएकी एक नानी मतिर हेरेर मुस्काइन् । चिनेचिनेजस्तो भयो । छेउमा माला लगाइदिन गएर भेटें । 'आमाउ, दाइ यहाँ पो? कहिले आउनुभो?,' उनले नाच्दा-नाच्दै स्टेजबाटै भनिन् । 

'म आजै आ'को...अनि तिमी कोरियोग्राफर भनेको होइन?,' मैंले सोधें ।

'खोइ दाइ, केके...,'उनले उति कुरा गर्न चाहिनन् । 

'खोइ त साथी, तिमीसँगै आएकी?,'मैंले सोधें ।

'ऊ पल्लो स्टेजमा हेर्नु त,' उनले नाच्दा-नाच्दै ओठ उतैतिर तन्काएर देखाइन् । 

फेरि हातमा अर्को माला लिएर पल्लो स्टेज छेउमा पुगें । कालो सारीमा बेरिएर नाचिरहेकी थिइन् ती आइटम-डान्सर । तिनै डान्सर युवती जो ५ दिनअघि दिल्ली विमानस्थलमा गफगाफमा रमिरहेकी थिइन् । 

माला लगाइदिएर सोधें- 'के इन्टरनेसनल डान्स भनेको 

यही हो?'

'दाइ मलाई फसाइयो । त्यो महादेव मेरो श्रीमान् होइन पनि । यता मेरो मोबाइल पनि खोसियो, पासपोर्ट पनि खोसियो । म अब कसरी उम्कने होला?'

नाचिरहेका बेला धेरै कुरा बोल्न चाहन्थिन् ती युवती, तर फेरि डान्स सञ्चालक र बाउन्सरले शंका गर्लान् भन्ने पनि भयो । सीसी टिभीको भय पनि उस्तै थियो । 

'नेपाल गएर त्यसलाई भन्दिनुहोला, जसरी भए पनि यहाँबाट निकाल भनेर..., 'नाच्दानाच्दै आक्रोश, पीडा र विरक्तिमिसिएको भावमा उनी बोलिरहेकी थिइन् । 

त्यही रात म दारेसलाम छाडेर दिल्लीतर्फ लागें, मनभरि अनेक आशंका र संशय भर्दै । 



दिल्ली फर्किएर कलाकार भनिएका महादेव त्रिपाठीसँग फोनमा कुरा भयो । उनले सुरुमै नेपाली छापाका धेरै रंग पत्रकार आफ्ना साथीभाइ भएको परिचय दिन भुलेनन् । 

'हो, उनी मेरै श्रीमती हुन् । मैले तान्जानियाका ८ वटा ठाउँमा एक महिनासम्म सांस्कृतिक कार्यक्रम गर्न त्यता पठाएको हुँ । आयोजकबाट एडभान्स पनि लिएको छु, म आफैं दिल्लीसम्म पुर्‍याउन गएको थिएँ । कुनै मुजुरा-सुजुरामा नाच्न ्रगएकी होइनन् ।'

अनि कसरी पठाउनुभयो त?

'होइन क्या, पहिले म पनि केही महिना तान्जानिया गएर फिरेको हुँ । उता कलाकारिता देखाएका भरमा सानो घर जोड्न सकेको थिएँ । त्यही भएर श्रीमतीलाई पठाएको हुँ, तर मैले बाहिरतिर भने उनीसँग विवाह गरेको कुरा भनेको छैन । हामी यता नेपालमा पनि सँगसँगै काममा हिँड्थ्यौं, त्यही लिंकले काम गर्‍यो...'

'अस्ति आइतबार उता एउटा सो भैसक्यो रे । अब पर्सि पनि छ रे । मेरो कुरा भैसक्यो, सब ठीक छ उनलाई...,' महादेव हाकाहाकी भनिरहेका थिए । 

'डीकेराज दाइ, तीर्थ दाइ आदि स्थानीय दाइहरूले ठूलो सहयोग गर्नुभयो...राम्रो कामको अवसर मिल्यो क्या...,' उनले सुनाए । 

यी त साँच्चिकै कर्मधर्मका पनि 'जादुगर' रहेछन् भन्ने भयो । आँखैसामु देखे पनि केही गर्न-भन्न सक्ने अवस्था रहेन ।

- साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis