CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » फिल्मी शैलीको ‘इन्काउन्टर’

फिल्मी शैलीको ‘इन्काउन्टर’

–डम्बरकृष्ण श्रेष्ठ
लामो समयदेखि प्रहरीले खोजिरहेको ‘दादा’ दिनेश अधिकारी ‘चरी’ २१ साउनमा काठमाडौंको भीमढुङ्गामा फिल्मी शैलीमा मारिएपछि ‘न्यायिक’ र ‘गैर–न्यायिक’ हत्याको बहस छेडिएको छ । ‘घटनास्थल’ मा प्रहरीले सञ्चारमाध्यमलाई दिएको विवरण र त्यसपछि प्रहरी अधिकृतहरूले गरेको दाबी ‘घटनास्थल’ को अवस्थासँग नमिल्दा त्यो ‘मुठभेड’ नभई नियोजित ‘इन्काउन्टर’
भएको आशंका बलियो बनेको छ ।
सीतापाइलाबाट करीब ७ किमी टाढाको नर्सरीभञ्ज्याङ सामुदायिक वनको सडक मोडमा ‘चरी’ को शवसँगै बा४९प ३११२ नम्बरको मोटरसाइकल, हेलमेट र पेस्तोल बरामद भएको थियो । ‘चरी’ को दाहिने छाती, देब्रे कोखा र पेटमा गोली लागेको देखिन्छ, तर शव र त्यस वरपर रगत देखिएन । शव नजिक भेटिएका ८ वटा खोकाले त्यहाँ ८ राउन्ड गोली चलेको देखाउँछ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम कार्कीले मोटरबाइकलाई पिछा गर्दै जाँदा महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाका डीएसपी मीरा चौधरीको टोलीमाथि बाइकबाटै गोली प्रहार भएपछि जवाफी कारबाहीमा ‘चरी’ मारिएको ‘घटनास्थल’ पुगेका सञ्चारकर्मीहरूलाई बताएका थिए ।
तर, बाइकमा हुँइकिएको व्यक्तिले पछाडि फर्केर गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले दागेको गोली उसको छातीमा लागेको विवरण अपत्यारिलो छ । नेकपा एमालेका सभासदहरूले घटनास्थलमा रगत नभेटिनु र भिडन्तमा मारिएको दावी गर्ने प्रहरी अधिकृतहरूको भनाइ नै नमिल्नुले ‘चरी’ लाई अन्यत्रै गोली हानेर भीमढुङ्गामा शव सार्वजनिक गरेको आरोप लगाउँदै आएका छन् ।
हुन पनि, एसएसपी कार्कीको भनाइ अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीकै दाबीसँग मिल्दैन । महाशाखाका एसएसपी कार्की प्रहरी टोलीमाथि गोली प्रहार भएपछि गरिएको जवाफी कारबाहीमा ‘चरी’ मारिएको दाबी त गर्छन्, तर हेलमेट लगाएकाले मोटरसाइकलमा सवार व्यक्ति ‘चरी’ हुन् भनेर पहिले थाहै नभएको बताउँछन् । “सोही दिन अर्का ‘दादा’ अभिषेक गिरीलाई ललितपुरमा पक्राउ गर्न जाँदा कुनै प्रतिकार नगरेकाले अप्रिय घटना भएन”, एसएसपी कार्कीले भने, “तर, भीमढुङ्गामा भने एउटा नागरिकको ज्यान जाँदा मलाई दुःख लागेको छ ।”
तर, यो अप्रिय घटनाले चार/पाँच वर्षमै रु.४/५ करोड, गाडी, घरजग्गा जोड्ने गलत सपना देख्नेहरूलाई निरुत्साहित गरेको उनले बताए । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकाल अपराध गतिविधि मौलाइरहेको समाजमा यो घटनाले दीर्घकालीन प्रभाव पार्ने देख्छन् । यो घटनाले आम जनतामा सुरक्षाको भावना सञ्चार गराएको र आपराधिक गतिविधिमा लागेकाहरूमा नसुध्रिए यस्तै नियति भोग्नुपर्छ भन्ने सन्देश दिएको पूर्व एआईजी ढकालको भनाइ छ ।
‘फेक इन्काउन्टर’
अपराधशास्त्री रजितभक्त प्रधानाङ्ग सञ्चारमाध्यममा आएको घटना विवरण, ‘चरी’ को शव र घटनास्थलको तस्वीर–भिडियो तथा प्रहरी अधिकृतहरूको फरक भनाइले ‘फेक इन्काउन्टर’ भएको देखाएको बताउँछन् । मृतकको छातीमा लागेको गोलीको दाग र घटनास्थलको प्रकृतिले नै त्यस्तो देखाएको उनले बताए । “जति पटक पक्राउ गरिए पनि सधैं राजनीतिक हस्तक्षेपबाट उम्कने भएपछि प्रहरीले ‘नरहे बाँस, नबजे बाँसुरी’ सिद्धान्त अपनाएको देखियो”, प्रधानाङ्ग भन्छन्, “तर, समाजलाई दुःख दिएको गुन्डा नै भए पनि उसको हकमा कानूनलाई कसरी प्रयोग गरियो भन्ने प्रश्न अहम् हुन्छ ।”
उस्तै परे घुँडामुनि गोली हान्न पाउने अधिकार पाएको प्रहरी यस्तो ‘फेक इन्काउन्टर’ तिर लाग्यो भने भोलि जसलाई पनि सिध्याउने अपराधशास्त्री प्रधानाङ्ग बताउँछन् । उता, वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रहरीको यो कारबाहीले कानूनलाई मार्‍यो कि बचायो भनेर हेर्नुपर्ने अवस्था आएको बताए । उनका अनुसार, मारिने ‘गुन्डा’, ‘दादा’ जे भए पनि सबभन्दा पहिले ऊ आम नागरिक हो । “कानूनले नागरिकलाई गोली हानेर मार्ने अधिकार कसैलाई दिएको छैन”, थापाले भने, “राज्य खतरनाक भएको देखाउने यत्रो घटना हुँदा पनि मानवअधिकार आयोग, नेपाल बार एसोसिएसन, पत्रकार महासंघ र नागरिक समाज क्रियाशील नहुनु अर्को आश्चर्य भएको छ ।”
एमालेका नेताहरूले गैरन्यायिक हत्या भएको दाबी गर्दै उच्चस्तरीय छानबिनको माग गरेका छन् । ‘चरी’ एमाले धादिङ क्षेत्र नम्बर १ का पूर्व उपाध्यक्ष थिए । एमाले अध्यक्ष केपी ओली स्वयंले दिनेश अधिकारी षड्यन्त्रपूर्वक मारिएको दावी गर्दै न्यायिक छानबिन हुनुपर्ने बताएका छन् । धादिङका एमाले सभासद्हरू राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु बुर्लाकोटीले घटनाको भोलिपल्टै संसदमा यसबारे गृहमन्त्री वामदेव गौतमको जवाफ मागेका थिए । तेस्रो दिन संसदमा उभिएका गृहमन्त्री गौतमले प्रहरीको बचाउ गरेका छन् ।
राजनीतिको शिकार
२०६० सालदेखि राजधानीको आपराधिक गतिविधिमा सक्रिय धादिङका दिनेश अधिकारी त्यसको केही वर्षमै ‘चरी’ उपनामबाट कुख्यात थिए । शुरूमा नेपाली कांग्रेसको संरक्षण लिएका उनी पछिल्लो समय एमालेको आश्रयमा थिए । हालैका महीनाहरूमा भने पार्टीबाट आफ्नो बचाउ नभएको भनेर उनी निकै आक्रोशित थिए । पहिले एमाले नेता ओलीको राजधानी भित्र या बाहिरको कार्यक्रमहरूमा ‘चरी’ आफ्नो दस्ता लिएर तैनाथ हुन्थे । ओली राजधानी आउजाउ गर्दा उनी गाडीको लस्करका साथ स्वागत र बिदाइ गर्न विमानस्थल पुग्थे । आफूसँग भेट्नेहरूसँग ‘चरी’ भन्थे, “बूढा (ओली) प्रधानमन्त्री मात्रै बनून्, सबलाई देखाइदिन्छु ।”
गएको १४ पुसमा काठमाडौंको सोह्रखुट्टेमा धादिङकै राधे भण्डारी नामका ‘दादा’ माथि तरबार प्रहार गरेर फरार भएदेखि प्रहरी ‘चरी’ को खोजीमा थियो । शुरूमा राधे र ‘चरी’ एउटै ग्याङमा थिए । ‘चरी’ कांग्रेस छाडेर एमालेमा लागेपछि भने राधेसँग दुस्मनी भएको थियो । २२ असार २०७० मा धादिङबाट काठमाडौं आउँदै गर्दा नैकापमा आफूलाई गोली हानेर घाइते बनाएको बदलामा ‘चरी’ ले राधेमाथि खुकुरी प्रहार गरेका थिए ।
गएको ४ माघमा ललितपुरको धापाखेल हाइटमा नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका ‘दादा’ मीनकृष्ण महर्जन र मिलन सिलवाललाई लक्षित गरी ‘चरी’ ले नै गोली हानेको प्रहरीको भनाइ छ । त्यो घटनापछि दिल्ली भागेका ‘चरी’ त्यहाँबाट गोवाहुँदै सिंगापुर पुगेका थिए । “त्यो बेला उपचारका लागि दिल्लीमा रहेका केपी ओलीलाई ‘चरी’ ले अस्पतालमै भेटेर आफ्नो केस सल्टाइदिन अनुरोध गरेका थिए”, स्रोत भन्छ ।
स्रोतका अनुसार, अहिले एमाले सरकारमा पुग्दा, पार्टी नेता गौतम गृहमन्त्री बन्दा र स्वयम् ओली पार्टीका शक्तिशाली अध्यक्ष हुँदा समेत आफू भागी–भागी हिंड्नुपरेकोमा ‘चरी’ क्रूद्ध थिए । उनले आफ्नो लागि केही नगरेको भन्दै फोनबाट तथानाम भन्न थालेर ओली र एमाले युवा संघका अध्यक्ष महेश बस्नेतसँगको सम्बन्ध बिगारेका थिए । स्रोत भन्छ, “पिएका बेला उनले ओलीलाई समेत बाँकी नराख्ने धम्की दिन थालेका थिए ।”
विभिन्न केसमा पटक–पटक समातिएका ‘चरी’ राजनीतिक शक्ति लगाएरै धरौटीमा रिहा हुन्थे । राधे भण्डारीमाथि तरबार प्रहार गरेपछि प्रहरीले ‘चरी’ लाई समातेर हातहतियार तथा खरखजाना मुद्दा चलाएको थियो । त्यसमा पनि उनी धरौटीमा छुटे । त्यसअघि उनी रकम असुली र सांघातिक आक्रमणदेखि खाग तस्करीसम्मको केसमा पक्राउ पर्दै, छुट्दै आएका थिए ।
२०६२ मा प्रकाश सिलवाललाई घाइते बनाएर पक्राउ परेका ‘चरी’ हिरासतबाट भागेका थिए । त्यसपछि ठमेलको एक गोली काण्डमा पक्राउ परी ११ महीना जेल परे । वैशाख २०६४ र फागुन २०६५ मा अर्जुन श्रेष्ठ र निरञ्जन खनाललाई गोली प्रहार गरेको घटनामा समेत उनको संलग्नता थियो । २०६५ पछि भने उनले खाग तस्करी, अवैध रकम र हतियार केसमा पक्राउ पर्दा पनि धरौटीमा छुट्ने हैसियत बनाइसकेका थिए ।
राजधानीको संगठित अपराधमा काजी शेर्पा, चक्रे मिलन, दीपक मनाङे, गणेश लामा र कुमार घैंटे बढी चर्चित भए पनि ‘चरी’ र रमेश ‘बाहुन’ (सुजन पौडेल) प्रहरीको सर्वाधिक खोजीमा थिए । यिनीहरूको आक्रामक स्वभावबाट प्रहरी हैरान थियो । भारतमा समातिएको कुरा मिडियामा ‘लिक’ नभएको भए ‘बाहुन’ को पनि ‘चरी’ कै हालत हुने प्रहरीभित्रको एउटा स्रोत बताउँछ । फिरौतीदेखि प्रहरीमाथि गोली प्रहारसम्मको अपराधमा संलग्न ‘बाहुन’ अहिले लागूऔषध ओसार–पसार मुद्दामा जेलमा छन् ।
महानगरीय अपराध महाशाखा प्रमुखको कार्यभार सम्हाल्नासाथ गुन्डाहरूप्रति आक्रामक बनेका एसएसपी कार्की सबै ‘दादा’ माथि निगरानी बढाएको बताउँछन् । राजधानीका ‘दादा’ हरू पनि ‘चरी’ घटनापछि त्राहिमाम् भएका छन् । स्रोतका अनुसार, भर्खरै जेलबाट छुटेका चक्रे मिलनले काजी शेर्पा, कुमार घैंटे र सञ्जय ढुङ्गेलमाथि पुरानो रीस फेर्न ‘चरी’ सँग एक चरणको बैठक सकेका थिए । “तर, अहिले त उसको पनि सातो गएको छ”, स्रोत भन्छ ।
प्रेमको चक्कर
‘इन्काउन्टर’ को घटना लगत्तैदेखि ‘चरी’ की प्रेमिका खुश्बू ओलीले व्यक्तिगत रिसईबीमा उनको हत्या गरिएको आरोप लगाइरहेकी छन् । ‘चरी’ ले आफूसँग ‘इन्गेजमेन्ट’ गरेको अवस्थामा अर्पण कोइराला र प्रहरी निरीक्षक कुमुद ढुङ्गेलले ‘विवाह गरे मारिदिने’ धम्की दिएको खुश्बूको दाबी छ । पहिले अर्पण र ‘चरी’ साथी थिए । खुश्बूको भनाइ अनुसार, उनलाई प्रनि ढुङ्गेलले पनि मनपराए । ढुङ्गेल हनुमानढोकाको केरकार शाखामा छन् ।
‘मोस्ट वान्टेड’ रमेश ‘बाहुन’ लाई भारतमा समातेर ल्याउने मिसनमा राम्रो भूमिका खेलेका प्रनि ढुङ्गेल त्यसपछि ‘चरी’ को पछि लागेका थिए । अर्पणलाई माध्यम बनाएर प्रहरी खुश्बूको घरसम्मै पुगेको थियो । त्यो थाहा पाएपछि ‘चरी’ ले उनलाई फोन गरेर पिछा नछोडे सिध्याइदिने धम्की दिएका थिए ।
त्यसपछि प्रनि ढुंगेलले ‘चरी’ कै समूहका कसैलाई सुराकी बनाएर उनको राजधानी आउजाउको सूचना संकलन गरेको स्रोतको दाबी छ । खुश्बूले भने दिनेशलाई अदालतमा आत्मसमर्पण गर्नकै लागि केही समयअघि मात्र भारतबाट नेपाल बोलाए पनि उनको प्रहरीको मिलेमतोमा ‘षड्यन्त्रपूर्वक हत्या’ गरिएको आरोप लगाइरहेकी छिन् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis