CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » एड्सभन्दा खतरनाक इबोला भाइरस

एड्सभन्दा खतरनाक इबोला भाइरस

सन् १९७६ मा पहिलो पटक अफ्रिकाको कंगो भनिने तत्कालीन जायरमा देखा परेको इबोला भाइरसबाट अहिलेसम्म ९ सय व्यक्तिको मृत्यु भैसकेको छ। गत शुक्रबार विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको छ। अहिले अफ्रिकाका सियरालियोन, लाइबेरिया, गिनी र नाइजेरिया आदि देशमा यसले महामारीको रूप लिएको छ। गत मार्चमा अफ्रिकी मुलुक गिनीमा यो रोग फैलिएको थियो। ती देशमा नेपाली शान्ति मिसन परिचालित छन् भने वैदेशिक रोजगारीका लागि गएका नेपाली पनि प्रशस्तै छन्।


त्यसैले नेपालमा पनि यो भाइरस फैलन नदिन विशेष सतर्कता अपनाइएको छ। उक्त भाइरस नेपाल भित्रिन र फैलन नदिन सरकारले अफ्रिकाबाट फर्किएका नेपाली नागरिकलाई कम्तीमा तीन साता निगरानीमा राख्ने भएको छ। त्यसका लागि सरकारले सार्वजनिक सूचना नै जारी गरेको छ। रोग भित्रिन नदिन अन्य प्राविधिक तयारी गर्न नसकेको अवस्थामा व्यक्तिगत तवरबाटै रोकथाम गराउने उद्देश्यले उक्त सूचना जारी गरिएको हो। दोस्रो चरणमा विमानस्थलमै स्वास्थ्य टोली खटाएर संक्रमण परीक्षण गरिने सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

के हो इबोला ?

इबोला भाइरस डिजिज (इबिडी) अर्थात् इबोला एउटा गम्भीर रोग हो, जसका कारण मानिसको मृत्यु पनि हुनसक्छ। संसारभर यो रोगले सताएका मध्ये ९० प्रतिशतको मृत्यु भएको छ। उक्त रोग फिलोविरिदाए परिवारको जीन इबोला भाइरसका कारण फैलन्छ। अहिलेसम्म यसका ५ उप-प्रजाति पहिचान भएका छन्। तीमध्ये बुन्दीबुग्यो, जायर र सुडानमा इबोला भाइरसका कारण धेरै मानिस मरेका छन्। बाँकी दुई ताइ फरेस्ट र रेस्टन इबोला भाइरसचाहिँ अलि कम खतरनाक मानिन्छन्।

सन् १९७६ मा सुडानको नजारा र जायरको यामबुकुमा पहिलो पटक यो भाइरस देखिएको थियो। जायरको इबोला नदी नजिक भेटिएकाले त्यसैको नामबाट उक्त भाइरसको नाम पनि इबोला राखिएको हो।

लक्षण

संक्रमित भएको २ देखि २१ दिनका बीचमा इबोला भाइरसको लक्षण देखा पर्न थाल्छ। ज्वरो आउनु, टाउको दुख्नु, मांसपेशी, पेट तथा जोर्नी दुख्ने, घाँटी खसखसाउने, कमजोरी हुने, पखाला लाग्ने, बान्ता हुने, बान्तामा कफका साथ रगत आउने, सास फेर्न गार्‍हो हुने, हिक्का लाग्ने तथा शरीरभित्र र बाहिर रक्तश्राव आदि लक्षण देखिन्छ। संक्रमित व्यक्तिको कुनै पनि रससँग लसपस भए २१ दिनभित्र घाँटी खसखस गर्ने, आँखा रातो हुने, खोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने आदि लक्षण देखिए इबोलाको आशंका गरिन्छ। दोस्रो चरणमा पेट दुखेर वाकवाकी लाग्नुका साथै शरीरमा विभिन्न प्रकारका धब्बा देखिन्छ। यो चरणमा झाडापखाला र बान्तासमेत हुन्छ। तेस्रो चरणमा कलेजो र मृगौलाले काम गर्न छाडेपछि आन्तरिक तथा बाह्य रक्तस्राव भएर बिरामीको मृत्यु हुन्छ।

कसरी फैलन्छ ?

इबोला भाइरस कसरी फैलन्छ भन्ने विषयमा अहिलेसम्म स्पष्ट जानकारी मिलेको छैन। पहिलो पटक यो सुँगुर वा बादरबाट मानिसमा फैलिएको अनुमान गरिएको छ। जनावरको शरीरबाट निस्कने तरल पदार्थबाट संक्रमित भएर मानिसमा यो रोग सर्छ भन्ने अनुमान भने गरिएको छ। त्यसपछि रगतको सम्पर्क तथा शरीरबाट निस्कने तरल पदार्थका कारण यो रोग एक अर्कामा सर्छ। संक्रमित पुरुष ठीक भएको सात हप्तासम्म पनि बिर्यमा त्यसको प्रभाव रहन्छ। त्यसैले उक्त समयमा यौनसम्पर्क गरे यौनसम्पर्क गर्ने महिलामा समेत यो रोग सर्छ। इबोलाका कारण मृत्यु भएको व्यक्तिको लासबाट पनि रोग सर्छ। त्यसैले औषधी गर्दा सुरक्षित कपडा नलगाउने स्वास्थ्यकर्मी एवं बिरामीको सम्पर्कमा आउने सबैमा इबोला भाइरसको संक्रमण हुनसक्छ।

इबोलालाई एचआईभी एड्सभन्दा पनि खतरनाक मानिएको छ। एचआइभी एड्स भाइरसको खोज सन् १९८० मा भएको थियो। एचआईभी एड्सको भाइरस फैलन ९ महिनादेखि २० वर्षसम्म लाग्न सक्छ, तर इबोला भाइरसले २ देखि २१ दिनमै संक्रमण गर्छ र संक्रमण भएको १२ दिनभित्रै मानिसको मृत्यु हुन्छ।

अमेरिकाको युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सनले इबोलासँग सम्बन्धित गतिविधि विश्वव्यापी रूपमै निगरानी गरिरहेको छ। क्यानाडेली कम्पनी टेकमिरा र अमेरिकी कम्पनी केबीपीले इबोला प्रतिरोधक औषधि निर्माण गरेको दाबी गरे पनि त्यो परीक्षणकै क्रममा छ।

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis