दुई यात्री
म र मेरो छायाँ
ऊ मेरो प्रतिविम्ब
मेरो कर्मको साक्षी
यो कस्तो विडम्बना
म नाशवान्
ऊ रहेछ अविनाशी !!
मान्छे जन्मेपछि एक दिन मर्छ। उसको भौतिक शरीर पञ्च महाभूतमा विलीन भएर जान्छ। तर, उसले गरेको कर्म सधैँ चिरकालसम्म रहिरहन्छ। नेपाली रजतपटका सबैले मन पराएका कलाकार श्रीकृष्ण श्रेष्ठ आज हाम्रीमाझ छैनन् तर उनले नेपाली चलचित्रमा दिएको योगदान र निर्वाह गरेको भूमिकाको सम्झना हामीमाझ सदैव रहिरहनेछ।म र मेरो छायाँ
ऊ मेरो प्रतिविम्ब
मेरो कर्मको साक्षी
यो कस्तो विडम्बना
म नाशवान्
ऊ रहेछ अविनाशी !!
श्रीकृष्णको चलचित्र यात्रा ०४६ मा भुमरी चलचित्रबाट सुरु भएको थियो। त्यसपछि कसममा नायकका साथी र पुकारमा खलनायक भएर देखा परे उनी। नृत्यमा निपुण र अभिनयमा पनि त्यति नै क्षमता भएका श्रीकृष्ण त्यस बेलासम्म नेपाली चलचित्रका निर्देशक र निर्माताहरूको नजरमा परसिकेका थिए। लगत्तै उनले नातामा नायकको भूमिका पाए। चलचित्र हिट भयो। नेपाली चलचित्रले एउटा आशलाग्दो कलाकारका रूपमा श्रीकृष्णलाई पायो। त्यसपछि आफ्नो २५ वर्षे अभिनय यात्रामा उनले एकपछि अर्को सफल चलचित्र दिए।
श्रीकृष्णको चलचित्र यात्रालाई फर्केर हेर्दा एउटा छुटाउनै नहुने नाम हो, शिव रेग्मी। निर्देशक रेग्मीसँग श्रीकृष्णले आठवटा चलचित्र -आफन्त, आफ्नो मान्छे, पाहुना, ए मेरो हजुर, हामी तीन भाइ, सुख दुःख, राम बलराम र कहाँ भेटिएला) मा काम गरेका थिए। यी सबै फिल्म व्यावसायिक रूपमा सफल भए। शिवले श्रीकृष्णको अभिनय क्षमता राम्ररी बुझेका थिए। शिव आफैँ पनि रंगमञ्चका राम्रा कलाकार थिए। त्यसैले कलाकारको मनोभाव सजिलै बुझ्न र काम लिन उनी उत्तिकै सिपालु थिए। उनी श्रीकृष्णका लागि त स्कुल नै भए। उनीसँग काम गर्दै जाँदा श्रीकृष्णको अभिनयमा निखार आउँदै गयो। श्रीकृष्ण आफैँ पनि यो कुरा स्वीकार गर्थे। उनले धेरैपटक मलाई भनेका थिए, 'आज म जे छु शिव रेग्मीले गर्दा हो।' श्रीकृष्णका लागि शिव आफ्नो परविारपछिका आदरणीय व्यक्ति थिए। हुनु स्वाभाविक पनि थियो। आज हामीले श्रीकृष्णका राम्रा चलचित्रहरू सम्झँदा प्रायः शिवका नै पर्छन्। तर, विधिको विडम्बना ! आज श्रीकृष्ण र शिव दुवै हामीबीच छैनन्।
श्रीकृष्णसँगको मेरो पहिलो भेट ०४८ सालतिर नृत्य निर्देशक वसन्त श्रेष्ठको डान्स स्कुलमा भएको थियो, जुन औपचारकितामै सीमित रह्यो। पछि फेर िहाम्रो भेट राम बलराम निर्माणका बेला भयो। म चलचित्रको लेखक थिएँ, उनी कलाकार। हाम्रो भेट हँुदै गयो र असल मित्र बन्दै गयौँ। कम बोल्ने, अरूको कुरा गर्दै नगर्ने, आफूभन्दा ठूला मान्छेले भनेको कुरामा दोहोरो संवाद नगर्ने उनको स्वभाव थियो। पछि उनैले निर्माण गरेको चलचित्र कहाँ भेटिएलाको लेखनको जिम्मा मैले पाएँ। स्त्रिmप्टमा कुनै कुरा मन परेन भने उनी शिवलाई भन्दैनथे, मसँगै कुरा गर्थे। अग्रजप्रति उनको सम्मान र आदरभाव थियो त्यो। त्यस बेला म शिव र श्रीकृष्णबीच संवादको माध्यम बनेको थिएँ।
एक वर्षयता श्रीकृष्णसँग मेरो भेट प्रायः हुन्थ्यो, गौशालास्थित उनको हेल्थ क्लबमा। शिवको निधनका बेला मैले उनलाई धेरै दुःखी देखेको थिएँ। शिव बितेकै साँझ उनीसँग मेरो भेट भएको थियो। मलाई देख्नासाथ नजिक आए। बोल्न खोजे, बोल्न सकेनन्। उनको आँखामा आँसु छचल्किन थाल्यो। उनले आफ्नो वेदना लुकाउन खोजे तर सकेनन्। त्यसपछि मैले कहिल्यै उनको अनुहार हँसिलो देखिनँ। सधैँ चिन्तित नै देख्थेँ। सिनेमाले होला, कामले होला जस्तो लाग्थ्यो। पछि थाहा पाएँ, उनको स्वास्थ्य ठीक छैन भनेर। अन्तिमपटक मैले उनलाई विवाहको शुभकामना दिएको थिएँ। श्रीकृष्णसँग त्यही मेरो अन्तिम भेट थियो, यो जीवनको !
मर्ने कसैलाई रहर हुँदैन
तर, नमरेको प्रहर हुँदैन !
भागेर जाऊँ कुन ठाउ जाऊँ
मान्छे नमर्ने सहर हुँदैन !!
(आचार्य फिल्म लेखक तथा निर्देशक हुन् ।)
साभार : नेपाल साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !