CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » चरी, रोमान्स र इन्काउन्टर

चरी, रोमान्स र इन्काउन्टर

एउटा डनका निम्ति प्रेमसम्बन्ध कति खतरनाक हुन्छ भन्ने कुरा चलचित्र हेर्ने आमदर्शकले थाहा पाएको कुरा हो। डन समाप्त हुने विभिन्न कारणहरूमध्ये एउटा प्रमुख कारण उसको गहिरो प्रेमसम्बन्ध नै हुन्छ भन्ने कुरा थुप्रै मुम्बइया चलचित्रमा देखिँदै आएको छ। चलचित्रले समाजकै कथा बुनेको हुन्छ भन्ने कुरालाई आधार मान्ने हो भने अहिलेको सर्वाधिक चर्चित चरी मृत्यु प्रकरणमा पनि त्यसको नमुना देख्न सकिन्छ। साउन २१ गते मारिएका भनिएका दिनेश अधिकारी 'चरी' को मृत्युमा पनि
प्रेमसम्बन्धका कुनै न कुनै छटा प्रस्ट रूपमा देखिन्छ। उनकी प्रेमिकाका रूपमा मोडल खुश्वु ओलीले घटनाको खबर फैलिएको केही समयमै दिनेश र आफूबीच पारिवारिक सम्बन्ध रहेको बताउँदै उनको हत्या गरिएको र त्यसको एउटा कारण आफूसँगको दिनेशको सम्बन्ध भएको बताएपछि त्यसले थप पुष्टि पाएको हो।

घटनाको परिदृश्यमा प्रस्ट रूपमा मुख्य चारपात्र देखिएका छन्— दिनेश अधिकारी चरी, मोडल खुश्वु ओली, पूर्वप्रेमी अर्पण कोइराला एवं प्रहरी इन्सपेक्टर कुमोद ढुंगेल। त्यसबाहेक चरीसम्बद्ध परिवारजन एवं उनको ग्याङका सदस्यहरू, सभासद, प्रहरी प्रशासन, गृहमन्त्री, दलका नेताहरू तथा अर्पण र खुश्बुसँग सम्बन्ध रहेका व्यक्तिहरू सामान्य भूमिकामा छन्। वास्तवमा केही मानिसका निम्ति प्रेमसम्बन्ध निकै भारी हुन्छ। मानिसहरू अफेयर ब्रेक भएको ट्रेजडीमा विभिन्न समस्याको सिकार हुन्छन्, तर दिनेश अधिकारी अर्थात् चरीले भने ज्यानै गुमाउनुपरेको छ। 

चलचित्रको क्लाइमेक्स सिनलाई प्रहरीले भीमढुंगामा बिसाए पनि, चरी निकट पात्रहरूको सक्रियताका कारण यो कथा केही लम्बिने संकेत देखिएको छ। प्रेमिका खुश्बुले चरीलाई इनकाउन्टरमा मारिएको भनेर खुला रूपमा भनेपछि चुनावी दिनमा चरीको पर्याप्त सहयोग पाएका धादिङका तीन जना सभासदले सदन चर्काए। संसदलाई प्रहरीसँगको मुठभेडमा चरीको मृत्यु भएको विवरण दिने गृहमन्त्रीको प्रतिवेदनमाथि एमालेसम्बद्ध धादिङका सभासदहरूले चित्त नबुझाएपछि सरकार घटनाको संसदीय छानबिन गराउने अवस्थामा पुगेको छ। 

एउटा डनले मस्तीपूर्ण जीवन बिताए पनि डिप लभमा पर्नु हुँदैन भन्ने सन्देश अक्सर मुम्बइया चलचित्रमा पाइन्छ। पछिल्ला दिनमा मोडल खुश्बुसँग दिनेशको निकट सम्बन्ध एक्सपोज हुँदै गएको थियो, त्यसले फरार भनिएका गुन्डा नाइकेलाई ट्रयाक गर्न प्रहरी प्रशासनलाई थप सजिलो भयो। आफ्नो मृत्युभन्दा केही अघिसम्म भारतीय भूमिमा लुकेर बसेका भनिएका चरी नेपाल आएदेखि नै प्रहरीको निगरानीमा थिए, अझ खुश्बुको क्रियाकलापदेखि हरेक पक्षमा ध्यान दिइरहेको पुलिस यो सम्बन्धका कारण नै आफ्नो योजना सफल हुन्छ भन्नेमा आश्वस्त थियो। घटनापछि खुश्बुका विभिन्न अभिव्यक्ति आए पनि एउटा प्रस्ट कारण भनेको मिस टिन हुँदैदेखि नै चर्चामा रहेकी खुश्बुसँगको निकट सम्बन्ध नै चरीको अन्त्यको कारण बनेको एक अपराध विशेषज्ञले बताए। 

त्यसो त अक्सर चलचित्रमा प्रहरीको एउटा अधिकारी पनि नायिकासँग कतै न कतै नजिक हुन्छ भनेजस्तै इन्सपेक्टर कुमोद ढुंगेल पनि लामो समयदेखि खुश्बु, अर्पण र चरीको सम्बन्धका बारेमा जानकार थिए। सामान्य हिसाबले चलिरहेको जीवनमा सबै पक्षको सम्बन्ध कतै न कतै जोडिएको हुन्छ भन्ने आधारमा इन्सपेक्टर कुमोद देखिएका हुन्, तर खुश्बुले कुमोदले आफूसँग प्रेम गर्न चाहेको भनेर खुला रूपले भनिदिएपछि अहिले कुमोद पनि तनावमा छन्। कुमोद उक्त घटनाका सम्बन्धमा प्रहरी प्रशासनका प्रवक्ताले मात्र बोल्न मिल्ने भनेर पन्छिन खोजे पनि खुश्बुको अभिव्यक्तिले यो विषयमा आफू अनावश्यक तानिएको कुरा भने स्वीकार गर्छन्। उनी यति मात्र भन्छन्- 'जो-कसैले बिनाआधार मैले मन पराएको भन्दै हिँड्छ भने म के नै गर्नसक्छु र ? म त्यस्ता कुराबाट धेरै पर छु, कसैले वाहियात लान्छना लगाउँदैमा मैले असहज मान्नुपर्छ भन्ने छैन, तर किन मलाई मुछेको होला भनेर छक्क चाहिँ परेको छु।'

घटनालाई सुरुवातदेखि नै लिड गरिरहेकी खुश्बुले कुनै व्यक्तिको हत्या गरेर समाधान खोजिने हो भने कानुनी उपचारका अन्य सबै बाटा बन्द गरिदिए हुन्छ भन्ने अभिव्यक्ति दिइरहेकी छिन्। नियोजित रूपमै पूर्वप्रेमी अर्पण थापा तथा प्रहरी इन्स्पेक्टर कुमोद ढुंगेलको ग्रान्ड डिजाइनमा प्रहरी प्रशासनले इनकाउन्टर गरी दिनेशको हत्या गरेको उनी जो कसैलाई बताउँछिन्। 'जसरी प्रहरीले मुठभेडभन्दै यो प्रकरणको कथा बुन्यो, त्यसमा कति सत्यता छ आममानिसले आफैं अनुमान गर्न सक्छन्, खुश्बु भन्छिन्- 'दिनेश अपराधी हुन सक्छन्, डन हुन सक्छन् तर म त्यसको कानुनी उपचार नगरी निहत्था व्यक्तिको हत्या गर्ने र घटनालाई मुठभेड भनेर व्याख्या गर्ने प्रवृत्तिविरुद्ध लडिरहेकी छु, दिनेशको मृत्यु मुठभेड नभई इनकाउन्टर हो भनेर प्रहरीले स्वीकार गरोस्, म यो विषयलाई त्यहीं अन्त्य गर्छु।' खुश्बुको दाबी अनुसार कुनै समय गुन्डा, आपराधिक पृष्ठभूमि भए पनि पछिल्लो समयमा दिनेश पूर्णरूपमा सच्चिसकेका थिए, तर उनीसँगको प्रेममा असफल दुई व्यक्तिले बनाएको षड्यन्त्रको चक्रव्युहमा पारेर उनको हत्या गरियो। 

घटनाका अर्का मुख्य पात्र अर्पण कोइराला यतिबेला भारतमा छन्। अर्पणका अनुसार उनी दिनेशबाट बच्नकै निम्ति भारत भाग्न बाध्य भएका हुन्। कुनै समय खुश्बुलाई दिनेशसँग चिनजान गराउने अर्पण अन्ततः दिनेशकै कारण आफ्नो ज्यान जोखिममा परेको तथा आर्थिक रूपमा टाट पल्टिएको बताउँछन्, तर खुश्बु भने त्यो कुरा मान्न तयार छैनन्। खुश्बुका अनुसार उनी आफ्नो सुखसयलपूर्ण जीवनशैलीका कारण करोडौं रुपैया ऋण लिएर तिर्न नसकेपछि काठमाडौंबाट भागेका हुन्। अर्पणले आफ्नो १० करोड रुपैयाँ खुश्बुसँगको प्रेमकै कारण सकिएको बताइरहेका बेला उनकी पूर्वप्रेमिका खुश्बु भने अर्पणले आफ्नो २-३ करोड रुपैयाँ डुबाइदिएर थप अरू ऋण पनि तिर्न नसकेकाले भागेको बताउँछिन्। खुश्बुका अनुसार दिनेशले अनाहकमा ज्यान गुमाउनुको मुख्य कारण अर्पण नै हुन्। उनले बारम्बार मलाई मार्छु भनेर अभिव्यक्ति दिएको कुरा प्रहरी प्रशासनलाई पनि थाहा थियो, खुश्बु भन्छिन्- 'मेरो परिवारको कसैलाई तलमाथि भएको अवस्थामा त्यसको जिम्मेवारी अर्पणले लिनुपर्छ भनेर डिएसपी सोमेन्द्रसिंह राठौरका अगाडी कागज गरिएको हो, मेरो परिवारको दिनेश मारिदा अहिले त्यो विषयमा म किन मौन रहने ?'



कुमोद भर्सेज खुश्बु

सडक बालकहरूलाई पुनस्र्थापना गर्न सञ्चालनमा ल्याइएको विशालनगरस्थित सामाजिक संस्थाबाट दुईजना बालक अचानक हराएपछि खुश्बु प्रहरी इन्सपेक्टर कुमोद ढुंगेलसँगको सम्पर्कमा आएकी थिइन्। त्यतिबेला खुश्बुका लागि उनले प्रहरी भ्यान उपलब्ध गराएर सडक बालक खोज्न सहयोग गरेका थिए। प्राप्त जानकारीअनुसार कुमोदले खुश्बुसम्बद्ध संस्थाका लागि सडक बालक जुटाइदिने काम पनि गरेका थिए। स्रोत भन्छ- 'खुश्बु राम्री थिइन्, त्यसकारण उनको सौन्दर्यबाट जो-कोही प्रभावित हुनसक्छन्, तर एकाधपटक साथै बस्ने र कतै साथै हिँडेको भन्दैमा खुश्बु र कुमोदको अफेयर नै थियो भन्न सकिँदैन।' दिनेश मारिएकै दिन आफूसँग प्रेम गर्ने नाममा कुमोद र अर्पणले चरीलाई सिध्याएको आरोप लगाउने खुश्बु कुमोदको मनोविज्ञान आफूले राम्रोसँग बुझेको बताउँछिन्। तिम्रा लागि मैले सबै थोक गर्नुपर्छ, त्यसबापत तिमीले मलाई साथ दिनुपर्छ जस्ता कुरा कुमोदले गर्ने गरेको खुश्बुको दावी छ। उता कुमोद यी र यस्ता कुराबाट आफू सधैं टाढा रहेकाले त्यो कुरा वाहियात भएको बताउँछन्। चरित्रमा समस्या परेकी कुनै केटीले आरोप लगाएकै भरमा मैले ऊसँग सम्बन्ध छ भनेर स्वीकार गर्न आवश्यक छैन, कुमोद भन्छन्- 'मैले यो विषयमा बोल्न आवश्यक छैन् भनेरै नबोलेको हो। मसँगै पैसाको डिमान्ड गर्न सक्ने केटीले अरूसँग झन् के गरेकी होली ?' सामाजिक संस्था संचालन गरेकाले त्यसमा विभिन्न समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै खुश्बुले कुमोदसँग सम्बन्ध बनाएको बताइन्। खुश्बुले भनिन् 'उनले केही सहयोग गरेका हुन्, तर उनी प्रेमिका रूपमा सामीप्यता चाहन्थे, मैले त्यो सम्भव नभएकाले वास्ता गरिन्, त्यसपछि उनीहरू दिनेशलाई समाप्त गर्न उद्यत रहे।' 

'म १० वर्षदेखि प्रहरी प्रशासनमा आफ्नो इमेज बनाउने काम गरिरहेको मानिस, दुनियाँसँग सम्बन्ध गाँस्दै र छोड्दै हिँड्ने केटीका पछाडि लाग्ने कुरा हुनै सक्दैन,' कुमोद भन्छन्- 'पैसा कमाउने तथा विलासी जीवनको चाहना भएको भए म यो क्षेत्रमा लाग्ने नै थिइनँ।' तर कुमोदले आफूसँग नजिकको सम्बन्ध बनाएको अवस्थामा आर्थिक सहयोगको सम्भावना पनि देखाएको खुश्बु दाबी गर्छिन्। हामीलाई अर्पणले आर्थिक रूपमा निकै बिगारेको थियो, खुश्बु भन्छिन्- 'त्यतिबेला परिवार र साथीभाइहरूले सहयोग गरेकैले हामी फेरी सहज अवस्थामा र्फकन सफल भयौं, त्यतिबेला आश्वासन दिनेमा कुमोद पनि एक थिए।' 



लभ होइन निकटता मात्र


अहिले खुश्बु भन्न थालेकी छिन्, अर्पण होस् वा दिनेश दुवैसँग उनको प्रेमसम्बन्ध थिएन। 'भविष्यमा उनीहरूसँग सम्बन्ध रहन सक्छ भन्ने आधारमा निकटता मात्र थियो' खुश्बु भन्छिन्- 'तर म कसैको रिलेसनसिपमा थिइनँ, अर्पणले सम्बन्ध राख्न नपाएका आधारमै मलाई नराम्रो सोच्दै गयो, हो उसँग सुमधुर सम्बन्ध थियो भने विवाहसम्म हुन सक्थ्यो। दिनेशसँग पनि विवाह सम्बन्ध कायम हुन सक्थ्यो तर अहिले नै डिप अफेयर भनेर गलत समाचार आइरहेका छन्,' त्यसो त अर्पण र खुश्बु सबैले थाहा पाउने गरी बेलायतमा बसेका थिए। नेपालमा रहँदा पनि अर्पण प्रायः खुश्बुकै घरमा बस्थे। बजारमा उनीहरूको लिभइन रिलेसनसिपको चर्चा चले पनि वास्तविकता त्यस्तो नभएको जिकिर खुश्बुको छ। अर्पणलाई खुश्बुका अभिभावकले ज्वाइँ भन्ने गरेको कुराको पनि खुश्बुले खण्डन गरिन्। 'अर्पणलाई बाबु भनेर सम्बोधन गर्नुहुन्थ्यो,' खुश्बुले भनिन्- 'छोरा जस्तो गरेर ६ वर्ष मेरो परिवारले अर्पणलाई पालेको हो, आफ्नो घरमा उसले खानसम्म पाउँदैनथ्यो, घरमा बस्न सक्दिनँ भनेर म कहाँ बस्न आउँथ्यो।'



रोचक लभस्टोरी

सन् २००० मा लिटिल लेडीको उपाधि जितेकी खुश्बु ओलीले त्यसको ६ वर्षपछि मिस टिन नेपालको उपाधि हात पारेकी थिइन्। आकर्षक सौन्दर्य र प्रस्ट बोल्न सक्ने खुबीका कारण सौन्दर्य प्रतियोगिता मात्र होइन, आमजीवनमा समेत धेरैलाई प्रभावित तुल्याउन सक्ने क्षमता खुश्बुमा छ। मिस टिनको उपाधि जितेपछि उनले सामाजिक कार्यमा सक्रिय रहने प्रतिबद्धता पनि जनाएकी थिइन्। 

मिस टिनको उपाधि जितेलगत्तै लागूपदार्थ दुव्र्यसनमा फसेर पुनर्जीवनका लागि पुनस्र्थापना  केन्द्रमा बसेका युवाहरूसँग काम गर्दै उनको सामाजिक सेवा प्रारम्भ पनि भयो। त्यही क्रममा भेटिए, अर्पण कोइराला। लागूपदार्थको दुव्र्यसनमा फसेर पुनर्जीवनका लागि पुनस्र्थापना केन्द्रमा रहेका अर्पण खुश्बुको सौन्दर्यबाट यति प्रभावित भए कि उनले भनेका सबै कुरा अक्षरस मान्न थाले। कवि धरणीधर कोइरालाका यी नाति १५ दिनको सामीप्यतामा सबै नशा बिर्साउन खुश्बुको नसा नै पर्याप्त हुने निक्र्यौलमा पुगे। उनले खुश्बुलाई भने- 'म लागूपदार्थ दुव्र्यसनबाट सधैंका निम्ति मुक्त हुन चाहन्छु, त्यसका लागि तिमीले मलाई साथ दिनुपर्छ, म तिमीसँग सुन्दर जीवन बिताउन चाहन्छु, खुश्बु तिमी मलाई अपनाऊ।' दुव्यर्सनको कुलतमा फसेको युवाले आफ्नो साथ पाए कुलतमुक्त भएर नयाँ जीवन पाउने कुरा गर्दा भावनात्मक हिसाबले खुश्बुलाई चसक्क छोयो, तर त्यतिले मात्र मानिसको मन जित्न सकिँदैनथ्यो, खुश्बुले त्यो कुरालाई सामान्य हिसाबले लिइन्। लगत्तै अर्पणका माता-पिताले खुश्बुलाई भेटेर छोराको चाहना पूरा गरिदिन आग्रह गरे। त्यसबीचको समयमा खुश्बु पनि अर्पणसँग नजिकिँदै थिइन्। साथीका रूपमा खुश्बुले पुनस्र्थापना केन्द्रबाट निकालेर अर्पणलाई पूर्णतः सामाजिक कार्यमा सक्रिय गराउने निधो गरिन्। नजिकिँदै गएको यो सम्बन्धले अर्पणलाई नयाँ जीवन दिएको थियो भने खुश्बुलाई सामाजिक सेवा गर्ने अभीष्ट पूरा गर्ने बलियो साथी। 

प्लस टु अध्ययन गरिरहेकी खुश्बुका अगाडि अध्ययन महत्त्वपूर्ण कुरा थियो। त्यसैले उनीहरू अध्ययनका निम्ति बेलायत जाने भए। सुरुमा खुश्बुलाई पठाएर पछि अर्पण बेलायत गए। बेलायतमा एक बि्रटिस नागरिकको सहयोगमा अर्पणले खुश्बुका लागि अक्सफोर्ड विश्वविद्यालयमा स्नातक तहको अध्ययनको व्यवस्था मिलाएका थिए। अर्पणका अनुसार राजधानीको एक परिचित कन्सल्टेन्सीमा उनले नै पैसा बुझाएर खुश्बु र आफू बेलायत जाने व्यवस्था गरेका थिए। यद्यपि त्यसलाई मान्न खुश्बु तयार छैनन्। 'मैले सामान्य कलेजमा पढेर खुश्बुलाई विश्वचर्चित विश्वविद्यालयमा ठूलो रकम खर्चिएर अध्ययन गराएको हुँ,' मुम्बईबाट मोबाइलमा कुराकानी गर्दै अर्पणले भने- त्यसको सबै प्रमाण मसँग छ, एजुकेसन कन्सल्टेन्सीसँग सोध्न सक्नुहुन्छ, प्रस्ट थाहा हुन्छ।' आर्थिक रूपमा आफ्नो परिवार मजबुत भएकाले खुश्बुले आफ्नो प्रेमप्रस्ताव स्वीकार गरेको अर्पण बताउँछन्। खुश्बुलाई आफ्नो बनाउन करोडौं रुपैया खर्चिएको उनले फेरि पनि दाबी गरे। 

उनीहरूले सञ्चालनमा ल्याएको सडक बालक पुनस्र्थापना केन्द्रलाई सामाजिक सेवाको मूल आधार बनाए। हाल ३२ जना सडक बालबालिका रहेको उक्त सामाजिक संस्थालाई अहिले खुश्बुले सेल्टर होम नाममा सञ्चालन गरेकी छिन्। ३ वर्ष सँगै बेलायत बसेका उनीहरूले त्यहाँ घरसमेत किनेका थिए। व्यवसायका लागि भनेर अर्पणले एउटा रेस्टुराँ पनि खरिद गरे। अर्पण यो सबै खर्च आफूले गरेको बताउँछन् भने खुश्बु घर किन्नेदेखि त्यहाँको अध्ययन र बस्नेसम्मको खर्च आफ्नो परिवारले गरेको बताउँछिन्। 'अर्पणको परिवार सम्पन्न अनि मचाहिँ विपन्न होइन,' खुश्बुले भनिन्- 'मेरो परिवारको आम्दानी अझ बढी थियो, म सम्पन्न परिवारकी छोरी थिए, मैले बेलायतमा पढ्ने नाममा बुबालाई धेरै सम्पत्ति बेच्न बाध्य बनाए।' रेस्टुराँमा अर्पणले गरेको व्यक्तिगत लगानी डुबेको खुश्बु बताउँछिन्। खुश्बु पोस्ट ग्राजुएट सकेर अर्पणभन्दा डेढ वर्ष पछि मात्र नेपाल आइन्। 

अर्पण र खुश्बुबीच नेपाल आउँदासम्म पनि राम्रै सम्बन्ध थियो। बीचको समयमा अर्पणले सामाजिक संस्थाको काम हेरे। अर्पण भन्छन्- 'मैले खुश्बुलाई आफ्नो बनाउन भनेर बीच बीचमा विभिन्न मुलुक घुमाउनेदेखि क्रिकेटको आईपीएल हेर्न भारतका विभिन्न रंगशालामा समेत पुर्‍याएँ। खुश्बुको घरमा सबैले मलाई ज्वाइँसरह माया गर्नुहुन्थ्यो। खुश्बुका ममी-ड्याडीलाई समेत आफ्नै खर्चमा बेलायत लगेको थिए।' अर्पणका यी सबै कुरा खुश्बुको परिवार ठाडै नकार्छ। अझ आफ्नो चेक बुक विभिन्न मानिसलाई दिएर आफू लुटिएको ओली परिवारको दाबी छ। 'विश्वासमा चेकबुक लियो, पछि विभिन्न मानिसलाई ऋण तिर्ने नाममा सबै पैसा सकिदियो, त्यो हामीलाई सडकमा ल्याउने प्रयास थियो उसको ' खुश्बुका पिताका अनुसार कीर्तिपुरको घर बेचेको ९० लाख तथा मोरङको खेत बेचेको ६० लाख रुपैयाँ उसकै कारण सकियो। मुख्य कुरा सम्बन्ध बन्ने आशामा त्यतिबेला साझा आर्थिक कारोबार गर्न दुवै पक्ष राजी थियो, जब सम्बन्ध बिगि्रयो अनि एक-अर्काविरुद्ध आरोप-प्रत्यारोप चल्यो। 

अर्पणका अनुसार चरीलाई उनले नै खुश्बुसँग चिनापर्ची गराएका थिए। सुरुवातमा चरीले खुश्बुलाई भाउजू भन्ने गरेको अर्पण बताउँछन्। अर्पण चरी र उनको समूहसँग मित्रवत सम्बन्धमा थिए। खुश्बुले पनि चरीसँगको अर्पणको सम्बन्धलाई आपत्तिजनक मानिनन्। आपराधिक क्रियाकलापमा लिप्त भए पनि खुश्बुले चरीलाई राम्रो व्यवहार गर्ने व्यक्तिका रूपमा लिइन्। फलतः उनीहरूको सम्बन्ध नजिकिँदै गयो तर खुश्बु यो कुरा मान्न तयार छैनन्। 

उनका अनुसार उनी पछिल्लो डेढ वर्ष बेलायतमा रहँदा अर्पण नेपाल आएर पहिलेजस्तै दुव्र्यसनी भएर बिगि्रएका थिए, त्यही क्रममा उनलाई फेरि नयाँ दिल्लीको एक पुनस्र्थापना केन्द्रमा राख्नुपर्‍यो। अर्पणको अय्यासीका लागि आफ्नो र अर्पणकै परिवारको सम्पत्ति गएपछि नेपाल फर्किएर फेरि उसलाई ट्रयाकमा ल्याउन आफूले प्रयास गरेको खुश्बु बताउँछिन्। 'अर्पण धेरैको ऋण खाएका कारण मेरो घरमा लुकेर बस्नुपर्ने अवस्थामा पुग्यो,' सम्बन्ध बिगँ्रदै गए पनि व्यवहार मिलाउँला भनेर अर्पणलाई आफ्नो घरमा राखेको कुरा बताउँदै खुश्बुले भनिन्- 'उसको अरू केटीहरूसँगको अनैतिक सम्बन्ध र क्यासिनो जाने, लागूपदार्थ सेवन गर्ने क्रमले मलाई दिक्क बनाइसकेको थियो, तर पनि आफ्नो २-३ करोड डुबेकाले घरमा लुकाएर राखे।' 



को हुन् चरी ?


एक दशकको छोटो अवधिमै चर्चित गुण्डा नाइकेको उपमा पाएका व्यक्ति हुन्- दिनेश अधिकारी चरी। धादिङ त्रिपुरेश्वर गाविसका चरी एसएलसी उत्तीर्ण भएपछि एक दशकअघि अध्ययनका लागि सरस्वती क्याम्पसमा भर्ना भएका थिए। कलेज अध्ययनसँगै उनको गुन्डागर्दी सुरु भएको थियो। आफू अध्ययन गर्ने कलेजकै आसपासको क्षेत्र नयाँबजार र सोह्रखुट्टेलाई आधार बनाएर उनले गुन्डागर्दी सुरु गरे। प्रारम्भमा कुमार घैंटेको समूहमा रहेर उनले हप्ता असुली गरे। जाँड, रक्सी, चुरोट, खैनीदेखि लिएर सुपारीसम्मको पनि अम्मल नरहेका चरीको तीव्र महत्वाकांक्षाले नै उनलाई गुण्डा नाइके बनाएको हो। उनी हप्ता असुलीका साथै आर्जित रकम क्यासिनोमा मिटर ब्याजमा लगाएर थप आम्दानी गर्थे। आरोप अनुसार चरी र उनको समूहका सदस्यहरू पेट्रोल हालेको तथा रेस्टुराँमा खाएको बिलको पैसा तिर्दैनथे। 

नगद भएपछि दिनेशले घरजग्गा कारोबारमा समेत हात हाले। उनी कमाएको पैसा आफ्नो समूहका सदस्यहरूको जीवन चलाउन तथा उनीहरूको चाहना पूरा गर्न पनि खर्च गर्थे। जन्मथलो धादिङका सामाजिक क्रियाकलापमा पनि उनी सहयोग गर्न पछि पर्दैनथे। यही क्रममा उनको सामाजिक परिचयसमेत स्थापित भयो। एमालेबाट राजनीतिमा सक्रिय भएपछि उनी चर्चित बन्दै गए। धादिङ १ नम्बर क्षेत्रीय समितिका निवर्तमान उपाध्यक्ष चरी पहिले केपी ओली निकट मानिन्थे। हालैको महाधिवेशनमा राजेन्द्र पाण्डे माधव नेपालको टिमबाट उपाध्यक्षमा उठेपछि उनले क्याम्प परिवर्तन गरेका थिए। 

गत माघमा रमेश खरेल काठमाडौं प्रहरी प्रमुख भएर आएपछि बिदेसिएका चरीमाथि कांग्रेस महासमिति सदस्य मीनकृष्ण महर्जनलाई माघ ६ मा गोली हानेको आरोप पनि छ। चरीकै सहयोगमा रमेश बाहुनले मीनकृष्णमाथि गोली हानेको अभियोग छ। त्यसो त पछिल्लो समयमा पनि विदेशमा रहेर उनी व्यवसायीहरूलाई टेलिफोनमार्फत धम्क्याएर पैसा माग्थे भने उनका गुन्डा तथा खुश्बुले  उक्त पैसा संकलन गर्ने गरेको आरोप छ। 

२०६५ मा घैंटेसँग छुट्टिएर उनी यार्सागुम्बा लुट्न सक्रिय भए। प्रहरीस्रोतका अनुसार उनले ८ पटकमा ४० किलो यार्सागुम्बा लुटेका थिए। चरी गैंडाको खाग कारोबारमा समेत सक्रिय थिए भनिन्छ। खागसहित पक्राउ पर्दा पनि राजनीतिक पहुँचकै कारण उनी जेल जानबाट बचेको बताइन्छ। दुई वर्षअघि प्रहरीले उनीसहितको समूहलाई खुकुरी र तरबारसहित थानकोटमा समातेको थियो। त्यतिबेला चरीको रिहाइको माग गर्दै एमाले धादिङले धादिङ बन्दसहित राजधानीमा प्रदर्शनसमेत गरेको थियो। त्यतिबेला सार्वजनिक अपराधको अभियोगमा दिनेश र उनका गुन्डाहरूविरुद्ध मुद्दा चलाइएको थियो। यद्यपि तीव्र राजनीतिक दबाबका कारण पक्राउ परेको ९ दिनमै उनी रिहा भएका थिए। उनलाई छोड्ने दिन काठमाडौं जिल्ला प्रशासन कार्यालय राति साढे ८ सम्म खुलेको थियो। 

गत वर्षको असार २३ गते राधे भण्डारीले गोली प्रहार गरेपछि दिनेश सख्त घाइते भए। धन्न पाखुरामा गोली लागेकाले उनी बाँचे। धादिङबाट काठमाडौं आउने क्रममा आक्रमणमा परेर घाइते भएका चरी त्यतिबेला अस्पतालबाटै फरार भए। गत पुस १५ गते चरीले राधे भण्डारीलाई खुकुरी प्रहार गरेर घाइते तुल्याए। 

भन्डारीसँगको लफडाकै कारण खुश्बु र दिनेशको विवाहको मिति पर सरेको थियो। ३० जना पूर्णकालीन गुन्डा पालेका भनिएका दिनेश आफ्नो समूहका सदस्यहरूलाई असाध्यै माया गर्थे। उनले खुश्बुसँग विवाह गर्न लागेको भन्दै समूहका सबै सदस्यका लागि सुट पनि किनिसकेको समाचार सार्वजनिक भैसकेको छ।



चरीसँगको प्रेम


त्यसो त खुश्बुलाई चरीसँग चिनाउने अर्पणले सोचेका पनि थिएनन् होला- तिनै चरी नै आफ्नी गर्लफ्रेन्डको ब्वाइफ्रेन्ड बन्ला भन्ने कुरा। खुश्बु यो कुरा मान्न तयार छैनन्। खुश्बुका अनुसार अर्पण भाग्ला भनेर उनले उसको पासपोर्ट आफूसँग राखेकी थिइन्, उक्त पासपोर्ट हात पार्न अर्पणले चरीको साथ लिए। दिनेशजी दिनहुँ उसको पासपोर्ट लिन मेरो घर आउनुहुन्थ्यो, खुश्बु भन्छिन्- 'त्यस क्रममा अर्पणले लगाएको ऋणको भार हामीमाथि जसरी परिरहेको थियो, त्यो उहाँले देख्नुभयो, पछि उहाँले पनि अर्पणलाई व्यवहार मिलाउन सल्लाह दिनुभयो, त्यसका लागि आफू सहयोग गर्न तयार भएको दिनेशले बताएका थिए, तर अर्पण सम्हालिन नसक्ने गरी बिगि्रसकेको थियो। अर्पणले भाग्ने दाउ मात्र खोजिरहेको बुझेर उहाँले मलाई साथ दिनुभयो।' त्यस क्रममा खुश्बु र दिनेशबीच अफेयर सुरु भैसकेको थियो। अब उल्टै अर्पणलाई चरीको 'थ्रेट' आउन थालेपछि अर्पण आफ्नो हतियार आफैंतिर फर्किएको महसुस गरेर भारत भाग्ने दाउमा लागे। खुश्बु-अर्पण निकटस्थ स्रोतका अनुसार चरी र उनको समूहबाट जोगिन अर्पण अनुहार छोपेर केही स्थानमा पुग्थे। अर्पण चरीसँग निकै डराएका थिए। खुश्बुलाई भार पारेको भनेर चरीले सबै ऋण सेटल गर्न अर्पणलाई चेतावनी दिएका थिए। एक समय यस्तो पनि आयो कि अर्पण त टाट पल्टिए नै, खुश्बुको परिवार पनि आर्थिक रूपमा निकै समस्यामा पर्‍यो। त्यसकारण पनि चरीको निरन्तर सम्पर्कमा रहनु खुश्बुका निम्ति आवश्यक भैसकेको थियो। खुश्बुका अनुसार उनीहरू करिब डेढ वर्ष सामीप्यमा रहे। पछिल्लो समय काठमाडौंमा एसएसपी रमेश खरेल आएपछि गुण्डाहरू भागाभाग भए। त्यही क्रममा अर्पणको सट्टा चरी नै लुक्न भनेर भारत पुगे। ग्याङस्टर राधेसँगको लफडाले पनि उनलाई अप्ठ्यारोमा पारेको थियो। त्यसपछि भारतमा भएका अर्पण नेपाल आएर आफ्नो सवारीसाधन खुश्बुले लुटेको जाहेरी प्रहरीसमक्ष दिन पुगे। बैंकको कागजातदेखि यातायात व्यवस्था विभागको दर्तापत्र सबै खुश्बुको नाममा भएको पाइएपछि अर्पणले उक्त गाडीबाट पनि हात धुनुपर्‍यो। 'अर्पण र उनको समूहले आफूलाई मार्न घरमा एकजना व्यक्तिलाई मध्यरातमा पठाएका थिए।' खुश्बु दावी गर्छिन्- 'धन्न म बाँचें, प्रहरीमा उजुरी दिएर अर्पणलाई थुनाउन सक्थें, तर मैले किन निहुँ खोज्नु भनेर छाडिदिएँ, त्यो गल्तीले गर्दा अहिले परिवारको सदस्य गुमाउनुपर्‍यो।' चरी भारतमा लुकेको बेला खुश्बु उनीसँग गोवा तथा दुबई घुम्न गएको दाबी गर्दै खुश्बु निकटस्थ समूहका एक सदस्यले भने- 'डिप अफेयरकै कारण उनीहरू भारत र दुबईमा मस्ति गरिरहेका थिए।' तर खुश्बु दिनेशसँग घुम्न गएको कुरा मान्न तयार छैनन्। एमाले सरकारमा आएपछि खुश्बुले दिनेशलाई नेपाल ल्याउन चाहिन्। 'दिनेशले मसँग सुधि्रएर राजनैतिक जीवनमा आउन चाहेको कुरा बताएको थियो।' खुश्बु भन्छिन्- 'आपराधिक क्रियाकलापबाट टाढिन चाहँदा पनि उसलाई फेरि त्यतातर्फ डोर्‍याउन खोजियो, आफू राम्रो मानिस हुँ भन्ने कुरा पुष्टि गर्न अदालत जान चाहँदा-चाहँदै उसलाई समाप्त गरियो।' आफू मारिएको बिहान ९ बजे चरीले भाइबरका माध्यमबाट कुरा गर्दै आफूसँग भोलि कोर्टमा गएर न्यायका निम्ति अपिल गर्ने जानकारी दिएको खुश्बुको दावी छ। त्यसो त केहि समयअघि साप्ताहिकसँगको कुराकानीमा खुश्बुले दिनेशको आपराधिक इमेज पखाल्दै दुवै जना विदेशमा सेटल हुन सक्ने कुरा पनि बताएकी थिइन्, तर पछिल्लो कुराकानीमा भने न्यायालयसम्म पुगेर दिनेशलाई राजनीतिक जीवनमा सक्रिय गराउने तथा दसैंसम्ममा इन्गेजमेन्ट गर्ने सोच बनाएको उनले बताईन् । खुश्बु भन्छिन्-'आपराधिक बाटोबाट धेरै पर रहेर उनी अबको आमनिर्वाचनमा धादिङको प्रतिनिधि भएर संसद् छिर्ने योजनामा थिए, तर त्यो चाहना अधूरै रह्यो।'
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis