CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कोरियोग्राफर बन्ने धुनमा तेरिया

कोरियोग्राफर बन्ने धुनमा तेरिया


रुपन्देही रुद्रपुर-६ सुनागाभाचोककी १२ वर्षीया किशोरी तेरिया फौजा मगर हालै भारतको जी टिभीबाट प्रसारित डीआईडी लिटिल मास्टर्स सिजन-३ को उपाधि जित्न सफल भइन् । १४ वर्षमुनिका करिब ४ लाख जनाले भाग लिएको उक्त चर्चित रियालिटी शोमा तेरियाले ४० हजार प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । यो प्रतियोगिता जित्ने तेरिया प्रथम नेपाली हुन् । उपाधिसँगै १० लाख भारु नगद पुरस्कार जितेर घर फर्किएकी
तेरियासँग नारी मासिकका लागि टोपराज शर्मालेगरेको कुराकानी :

डीआईडीमा भाग लिन कसरी पुग्यौ ?

म सानैदेखि नाच्न मन पराउँथे । मेरो नाच देखेर अरुले कति राम्रो नाचेको भन्थे । ८ वर्षकी हुँदा गुल्मीको ठूलो लुम्पेकमा भएको कन्सर्टमा नाच्न गएकी थिएँ । त्यहाँ मेरो नाच देखेपछि गायक रामचन्द्र काफ्लेले तिमी डीआईडीमा भाग लिन सक्छ्यौ । तिम्रो नाच धेरै राम्रो छ भन्नुभयो । त्यसपछि मैले डीआईडी हेर्न थालें । डीआईडीमा नाच्नेहरूलाई देखेर आफूले पनि त्यस्तै नाच्न पाए हुन्थ्यो भन्ने कुरा मनमा आउँथ्यो । म गाउँघरमा, स्कुलमा हुने नृत्य प्रतियोगिताहरूमा सधंै प्रथम हुन्थें । नेपाल टेलिभिजनबाट प्रसारित खोजी प्रतिभाको नृत्यमा पनि टप टेन भएँ, पोहोर साल काठमाडौंमा जापानी संस्थाले आयोजना गरेको डान्स कम्पिटिसनमा पनि फस्ट भएर १ लाख पुरस्कार पाएँ । त्यसपछि ममा डीआईडी लिटिल मास्टर्स पनि जित्न सक्छु भन्ने भावना बढ्यो । घरमा मम्मी, हजुरबाहरूलाई म डीआईडी लिटिल मास्टर्समा भाग लिन्छु भनेपछि हजुरबा, मम्मीहरूले मेरो इच्छा पूरा गरिदिनुभयो ।

डीआईडी लिटिल मास्टर्स जितेपछि कस्तो लाग्यो त ?

सुरुमा त भाग लिन पाए हुन्थ्यो भन्ने थियो । जब ३ वटा अडिसन राउन्ड, मेगा राउन्ड पनि पास गरें त्यसपछि विजेता बन्ने सपना देख्न थालेकी थिएँ । सपना पूरा भएकोमा एकदमै खुसी र सरप्राइज भएँ, अलिकति नर्भस पनि भएँ ।

मुम्बईमा रमाइलो-नरमाइलो के-के पायौ ?

म मुम्बईमा बिल्कुलै नयाँ थिएँ । हिन्दी पनि त्यति नजानेकी मलाई घरिघरि एक्लो फिलिङ हुन्थ्यो तर मेरा कोरियोग्राफर सार्थक मिश्रले एकदमै माया गरेर नृत्य सिकाउनुभयो । त्यहाँ मैले ज्याज, कत्थक, म्याजिक एक्ट, क्रम्पिङ, युबी एक्ट आदि डान्स सिकें । नेपालमा १ घन्टामात्र डान्स सिके पुग्थ्यो तर त्यहाँ दिनमा ५-६ घन्टादेखि ग्रान्ड फिनालेको तयारीसम्म पुग्दा २२ घन्टासम्म सिक्नुपर्‍यो जसले गर्दा म धेरै थाकें, सुत्न पनि पाइन । जे होस् धेरै मेहनत गरें । पछिपछि त त्यही रमाइलो लाग्दै गयो । मेरो डान्सलाई ग्रान्ड मास्टर मिथुन, जज गीता सबैले मन पराएर हौसला दिनुभयो ।

भविष्यमा के बन्ने लक्ष्य छ ?

म कोरियोग्राफर र कलाकार बन्छु । राम्रो कोरियोग्राफर बनेर नेपालमा डान्स सिक्न चाहनेहरूलाई डान्स सिकाउँछु अनि भारतमा डान्सको जति चर्चा छ नेपाललाई पनि डान्समा त्यस्तै बनाउँछु ।

डान्सले अध्ययनलाई असर गर्दैन ?

म पढाइलाई पहिलो प्राथमिकता दिन्छु । त्यसैले म सधैं कक्षामा प्रथम हुँदै आएकी छु । डीआईडीमा भाग लिने क्रममा ६ महिना पढाइ छुटेकोमा मलाई चिन्ता छ तर अब राम्रोसँग पढ्छु । पढाइसँगै डान्सलाई पनि अघि बढाउँछु । सन्तुलन मिलाउन सके डान्सले पढाइलाई असर गर्दैन । यसले शरीर स्वस्थ राख्न मद्दत गर्नुका साथै मानसिक रूपमा पनि फाइदा पुर्‍याउँछ ।



सेलिब्रेटीहरूको विवाह मौसम

यो वर्ष सेलिब्रेटीहरूको विवाहको लहर नै चलेको छ। गत वैशाखमा नायक आर्यन सिग्देलले प्रेमिका  सपना भण्डारीसँग लगन गाँठो कसे। त्यस्तै जेठमा महानायक राजेश हमालले प्रेमिका मधु भट्टराईलाई भित्र्याए। अभिनेतृ ऋचा सिंह ठकुरीले असारको सुरुमै एनआरएन गजेन्द्र थापासँग विवाह गरिन्। अभिनेतृ तथा नृत्यांगना मिथिला शर्माले पूर्व आईजीपी मोतिलाल बोहरासँग लगनगाँठो कसिन्। नायक श्रीकृष्ण श्रेष्ठ एवं नायिका श्वेता खड्काले असारमै विवाह गरे भने त्यही दिन रंगकर्मी तथा निर्देशक अनुप बराल एवं अभिनेतृ दिया मास्के पनि विवाह बन्धनमा बाँधिए।



सार्क फिल्मबाट उत्कृष्ट नायिका गरिमा


चलचित्रमा लामो समयदेखि लागे पनि त्यति चर्चामा नआउने नायिका हुन्-गरिमा पन्त। चलचित्र हिट भए पनि गरिमाको चर्चा कमै हुन्छ। साहित्यमा रुचि राख्ने गरिमाका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित  भैरहन्छन्। राम्रो कुराको मूल्यांकन हुने कुरा गरिमाको अभिनय यात्रामा पनि लागू भएको छ। कृष्ण धरावासीद्वारा लिखित उपन्यास झोलामा आधारित चलचित्रमा गरिमाको मुख्य भूमिका छ। मे २० देखि २५ तारिकसम्म कोलोम्बोमा सम्पन्न सार्क फिल्म फेस्टिभल-२०१४ मा झोला चलचित्रबाट गरिमा उत्कृष्ट नायिका घोषित भएकी छिन्। सती प्रथाविरुद्धको चलचित्र झोला धेरैले रुचाएको नेपाली चलचित्र पनि हो।  

साभार : नारी 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis