CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ऊ उता, म यता : माया कता-कता !

ऊ उता, म यता : माया कता-कता !

ऊ उता, म यता : माया कता-कता !
भनिँदै, सुनिँदै आएको कुरा हो– प्रेमले भूगोल भन्दैन, दूरी भन्दैन, समुदाय भन्दैन, धनी–गरिब भन्दैन । तर, हामी यति सरल दुनियाँमा बाँचिरहेका छैनौँ कि सम्बन्धहरूमा कुनै जटिलता नहुन्। सन्दर्भ हो– भौगोलिक रूपले टाढा रहेकाहरूको सम्बन्ध । गरिखाने बाटोको खोजीमा लाखौँ नेपाली विदेश गएका छन्। श्रीमान्–श्रीमती र प्रेमी–प्रेमिका भौतिक दूरीमा छन् । भावनात्मक रूपले जोडिइरहन सहयोग पुर्‍याउने स्काइप, भाइबर, फेसबुक आदि नभएका होइनन्। ज्यान टाढा हुँदा माया गाढा हुन नसकेका उदाहरण थुप्रै छन्। अम्मर जिसीले भौगोलिक दूरीले सम्बन्धमा पारेका प्रभावबारे बुझ्ने प्रयत्न गरेका छन् ।
दोषी समय

काठमाडौँस्थित एक निजी स्कुलमा कार्यरत सुमन शर्मा रातमा ड्युटी पर्ने जागिर चाहन्छन् । प्रेमसम्बन्धलाई टिकाउनकै लागि उनलाई 'दिनमा आराम, रातमा जागिर' भइदिए हुन्थ्यो जस्तो लाग्दै छ । 'हाम्रो देशमा नाइट ड्युटी पर्ने जागिर कहाँ पाइन्थ्यो ?' उनी भन्छन्, 'अब त मायाको मायै मार्नुपर्ला जस्तो भइसक्यो ।'


पाँच वर्षदेखि प्रेमसम्बन्धमा भाँजो हाल्न डिभी चिट्ठा आइपर्‍यो। उनकी प्रेमिका नेपालभन्दा १० घण्टा समयअन्तर रहने अमेरिका उडेको दुई वर्ष भइसक्यो । कहिले उता बोलाउलिन् भन्ने आशैआशमा उनका दिनगन्ती चलिरहेका छन् । 'अर्को वर्ष बोलाउँछु भन्दै छिन्,' उनलाई त्यतिबेलासम्म प्रेमसम्बन्ध टिक्नेमा शंका लागिसक्यो, 'दिनमा एकपल्ट च्याट नभए नानाभाँती शंका गर्छिन् । उनी खाली हुँदा म स्कुलमा हुन्छु । म खाली हुँदा उनी अफिसमा हुन्छिन् ।' उनीहरूको निन्द्रा मात्र खलबलिएको छैन, भावनात्मक सम्बन्ध पनि मक्किँदै गएको छ । 'उनले भिसा नपठाए मेरो करिअर के हुने हो ? चिन्ता लागिरहन्छ,' उनीहरूलाई भूगोलले टाढा बनाएदेखि समयले पनि साथ दिन छाड्यो, 'अब त रिलेसन टुट्ला भन्ने डर छ ।'

काठमाडौँ, बानियाटारका भूपेन्द्र राई (नाम परिवर्तन) समयलाई नै दोष दिन्छन् । उनकी 'गर्लफ्रेन्ड' क्यानडामा छिन् । कुराकानी गर्न साह्रै अप्ठ्यारो परिरहेको उनी बताउँछन् । भन्छन्, 'यता दिन हुँदा उता रात, यता रात पर्दा उता दिन हुन्छ । झ्याउ भइसक्यो । जहिल्यै म काममा हुँदा उनी अनलाइन हुन्छिन् । म कामबाट चुँ गर्न पाए पो !' सम्बन्ध जोगाउनै मुस्किल छ भन्छन् उनी । 'यहाँ हुँदा त मेरो खूब केयर गर्र्थिन्,' उनले भने, 'उता गएपछि वास्ता नगरे जस्तो लाग्दै छ । 'तिमी सम्पर्कमै आउँदैनौ' मात्र भन्छिन् ।'

समाजशास्त्री डा. मीना उप्रेतीको भनाइमा सम्बन्धका लागि समय वा भूगोल कदापि दोषी हुन सक्दैन । आधुनिक दुनियाँमा रम्दै गर्दा युवायुवतीको रोजाइ हरेक क्षण परिवर्तन भइरहने गरेकाले अन्य पक्षलाई दोष दिएर टाढिने बहाना बुनिरहेको बुझाइ छ उनको । 'आधुनिक पुस्ताको सम्बन्धमा भौगोलिक दूरी बढेसँगै भावनात्मक दूरी पनि बढ्दै गएको देखिन्छ,' उनको तर्क छ, 'समय, भूगोल जस्ता परिस्थितिलाई दोषी देखाएर पुराना सम्बन्धबाट टाढिन खोज्ने प्रवृत्ति देखिएको छ ।'

सर्वस्व सखाप

बाग्लुङका प्रमोद हमाल (नाम परिवर्तन) बिहे गरेको २० वर्षपछि अमेरिका हानिए । दुई छोरा, एक छोरीसहित श्रीमती काठमाडौँमा बस्थिन् । श्रीमान्ले विदेशबाट पठाएको पैसाले काठमाडौँमा घरघडेरी जोडिन् उनले । समय–समयमा भाइबर सम्पर्क भइरहन्थ्यो उनीहरूको ।

इन्टरनेटमा समस्या छ भन्दै पछिल्लो एक महिनादेखि श्रीमती सम्पर्कमा रहिनन् । 'मैले पनि अब छुट्टीमा घर जाँदै छु भनेर वास्ता गरिनँ,' ११ वर्षपछि काठमाडौँ अवतरण हुँदा उनको सातो उड्यो, 'यहाँ त श्रीमती हराएको तीन महिना भइसकेछ ।'

श्रीमतीको खोजीमा जुटे उनी । एक महिनापछि पत्तो लाग्यो, 'उनी त क्यानडा पुगिसकेकी रहेछिन् ।' श्रीमान् विदेशिएपछिको परिस्थितिले श्रीमतीका लागि नयाँ जीवनसाथी जुराइसकेछ । 'घरघडेरी उनकै नाममा छ,' प्रमोदले भने, 'अरू पैसा पनि सबै उनकै जिम्मा थियो ।' श्रीमतीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अंशबन्डाको मुद्दा हालेका उनले थपे, 'सम्पत्ति त फेरि कमाउन सकिन्छ । तर, भाँडिएको परिवार कसरी सम्हाल्ने हो ? सर्वस्व स्वाहा पार्दी उसले ।'

जाजरकोटका लालबहादुर मगर वैदेशिक रोजगारीका क्रममा दुबई गए । श्रीमान् घरमा नभएपछि 'सासुससुरासँग बस्न मुस्किल परेको' निहुँ पारेर श्रीमती राजधानी पसिन् । यहाँ आएको केही समयमै उनको सम्बन्ध अर्कैसँग जम्न पुग्यो । लालबहादुरले विदेशमा दुःख झेलेर पठाएको रेमिट्यान्स श्रीमतीले कुम्ल्याइन् । श्रीमती अर्कैसँग भागिसकेको खबरले आत्तिँदै उनी नेपाल आए । अहिले के गरौँ कसो गरौँ भन्दै अदालत जान वकिलसँग परामर्श लिइरहेका छन् उनी । वकिल राजेशकुमार बटालाले भने, 'सम्पत्ति हिनामिनाको महलले सम्पत्ति फिर्ता गराउने र श्रीमती भगाउने केटालाई ठगीको मुद्दा हाल्ने तयारी गरिरहनुभएको छ उहाँले ।'

बाग्लुङका प्रमोदको मुद्दामा पनि बहस गरेका वकिल बटाला भौतिक रूपमा टाढिँदै जाँदा अविश्सासको खाडल पनि बढ्दै जाने र त्यसले दाम्पत्यलाई सम्बन्ध–विच्छेदसम्म पु¥याएको अनुभव सुनाउँछन् ।

विश्वासको खडेरी

छोराछोरी श्रीमान्को जिम्मा लगाएर खोटाङकी प्रमिला राई इजरायल पुगिन् । त्यहाँ गएको वर्षदिनमै श्रीमान्सँग खटपट सुरु भइहाल्यो । 'तँ अर्कैसँग सल्किस् होला' भन्ने श्रीमान् । अनि 'तँ मात्र कहाँ गतिलो होस् र ?' भन्ने श्रीमती । खटपटकै बीच पाँच वर्ष इजरायलमा बिताएर स्वदेश फर्किइन् प्रमिला । यहाँ आएपछि खटपटले विकराल रूप लियो । विदेशबाट फर्केपछि जब श्रीमान्ले 'तेरो एचआइभी टेस्ट गरौँ' भन्न थाले, घरबार भाँडियो ।

'यस्तो अविश्वास गर्नेसँग बस्न सक्दिनँ भनेर डिभोर्सको मुद्दा हालेँ,' अहिले अदालतको फैसला पर्खिरहेकी प्रमिला भन्छिन्, 'भएको केही होइन । 'इजरायलमा केटीहरू त यस्तो गर्छन्, उस्तो गर्छन् अरे' भन्ने सुनेकै भरमा सबैले मेरो विश्वास गर्न छाडे ।' नजिक हुँदा श्रीमान्लाई सम्झाउन सक्ने उनी भौगोलिक रूपमा टाढिएदेखि त्यसमा असमर्थ रहिन् ।

अविश्वासकै कारण झन्डै तोडिएको थियो, झापाका श्यामप्रसाद (नाम परिवर्तन) को वैवाहिक सम्बन्ध । श्रीमती विदेशिएदेखि उनीहरूबीचको विश्वासको डोरी खुइलिन थाल्यो । समाजमा कुरा काट्नेहरू बढेसँगै श्यामलाई पनि श्रीमतीको चरित्रमाथि असाध्यै शंका लाग्न थाल्यो । शंकाले लंका जलाउने अवस्था आइलाग्यो । 'म त मानसिक रूपमै विक्षिप्त हुने अवस्था आयो,' अहिले सम्मोहन विधिबाट मानसिक उपचार गराइरहेका उनले भने, 'जबदेखि हाम्रो शरीर अलग्गियो, तबदेखि मन पनि टाढिन थाल्यो ।'

उनको उपचारमा संलग्न काठमाडौँको तीनकुनेस्थित सम्मोहन मनोविश्लेषण केन्द्रका हिप्नोटिस्ट साइकोलोजिस्ट बासु आचार्य भन्छन्, 'अविश्वासकै कारण उहाँहरूको सम्बन्ध झन्डै तोडिएको मात्र थिएन, उहाँमा मानसिक रूपमै समस्या आइसकेको थियो । अहिले अवस्था सामान्य छ । सम्बन्ध पनि सुध्रेको छ ।' आचार्यको बुझाइमा अरूको कुरामा लागेर आफ्नो मान्छेलाई सीधै शंका गर्ने प्रवृत्तिले धेरैको सम्बन्ध तोडिएको छ ।

समाजशास्त्री डा. मीना उप्रेती शरीर नजिक हुँदैमा सम्बन्ध बलियो बन्दैन भन्छिन् । उनको बुझाइमा शरीर टाढा रहँदा पनि मन जोडिएकै हुन्छ । त्यसका लागि इमानदारी चाहिन्छ । 'सम्बन्धलाई कायम राख्नै नचाहने हो भने त जसरी पनि तोड्न सकिन्छ नि,' उनी भन्छिन्, 'शरीर नजिक भए मात्र मन जोडिन्छ भन्नु स्वार्थी चरित्र हो । आफ्नो मान्छेको इच्छा, चाहना, आवश्यकता, समस्या र परिस्थिति के हो ? बुझ्न सके भूगोल जति अलग रहे पनि मन समीपमै रहन्छ ।'

यूएन वुमनमा महिलाको आर्थिक सशक्तीकरण कार्यक्रमकी प्रमुख रहेकी सरु जोशी श्रेष्ठ विदेशिएकाहरूको परिवारसँगको सञ्चार अभाव नै अविश्वास बढ्नुको मूल कारण ठान्छिन् । 'परस्पर सञ्चारको कमीले विश्वासको अभाव हुन सक्छ,' वैदेशिक रोजगारीमा रहेकाहरूको परिवारसँग लामो समय साक्षात्कार गरेकी उनी अनुभव सुनाउँछिन्, 'टाढिने बित्तिकै शंका–उपशंका सुरु भइहाल्छन् । विशेष गरी महिलाको चरित्रमाथि प्रश्न गरिन्छ । अविश्वासबाट सुरु भएको समस्या सम्बन्ध विच्छेदसम्म पुग्छ । अझ कतिपय मान्छे त ज्यान लिने मनोदशासम्ममा पुगेका छन् ।'

उनले केही कहालीलाग्दा घटना सम्झँदै भनिन्, 'विदेशबाट फर्केपछि हिसाब नदेखाएको भन्दै धनकुटामा एकजनाले श्रीमतीको स्तन काटिदिएर हत्या गरे । इटहरीमा विदेशबाट फर्केका श्रीमान्ले बञ्चरोले हानेर श्रीमतीको ज्यान लिए । झापामा पनि अर्कासँग लागेको भन्दै एक श्रीमान्ले विदेशबाट फर्केर हत्या गरे । यी सबै घटनाको सुरुवात अविश्वासबाटै भएको हो ।' सम्बन्ध व्यवस्थापन गर्ने उपाय सिकाउनुपर्ने आवश्यकता देख्छिन् उनी । हरेक कुरालाई पैसासँग तुलना गर्ने समाजले सम्बन्धलाई सुधार्ने स्वस्थ बहस चलाउन आवश्यक नठानेकोप्रति उनको गुनासो छ ।

उनका अनुसार सम्बन्ध तोडिनुमा मुख्य कारक महिलालाई नै ठान्ने गलत बुझाइ छ । 'सम्बन्ध मधुर बन्न दुवै जिम्मेवार हुन्छन्,' उनी भन्छिन्, 'महिलालाई मात्र शंकाको घेरामा पार्ने मनोवृत्तिले उनीहरूलाई थप पीडा दिएको छ ।' एक घटना सुनाउँदै उनी भन्छिन्, 'सात वर्षदेखि श्रीमान् विदेशमा थिए । घर बनाउने क्रममा ठेकेदारसँग सम्बन्ध जोडेको आरोप समाजले लगायो । ठेकेदारले उल्टै ब्ल्याकमेल गर्न थाल्यो, 'मागे जति पैसा नदिए मसँग सम्बन्ध छ भनिदिन्छु ।' अब के गर्ने त्यो महिलाले ?' उनका अनुसार कुरैकुरामा महिलाको काममाथि शंका गरेर छोरी वा बुहारी इजरायलमा छ भन्न पनि लाज मानेर कुवेतमा छ भन्छन् धेरैले ।

पारिवारिक विखण्डनको अर्को चरण

प्रेमी वा प्रेमिका भौतिक रूपमा टाढिन्छन् । उनीहरू भावनात्मक रूपमा निकट या टाढा हुन सक्लान् । 'तर, जीवनका हरेक पाइलामा साथ दिने कसम खाएर सम्बन्धमा बाँधिएका श्रीमान्–श्रीमती टाढिँदा गम्भीर समस्या आइलाग्छ' भन्छन् मानवशास्त्री प्राडा ऋषिकेशराज रेग्मी ।

'पश्चिमी देशमा जस्तो केही अवधिका लागि मात्र जोडिने सम्बन्ध होइन हाम्रो,' उनी भन्छन्, 'जीवनभर साथ दिने कसम खाएर बनेको जीवनसाथी सामान्य कुरामा भाँडिन खोज्नु चिन्ताजनक विषय हो । मान्छेहरू एक्लो हुँदै गएको यो अवस्थामा जीवनसाथीलाई पनि चिन्न, बुझ्न नसक्नु हामी मानवकै शरम हो ।'

बाग्लुङ, बुर्तिबाङका रमेश घर्ती मलेसिया बस्न थालेको पाँच वर्ष भयो । घर्तीले पहिलो बिदामा नेपाल आउँदा २०६९ माघमा बाग्लुङकै दगातुम्म डाँडाकी सविना थापासँग विवाह गरे । विवाहको २५ दिनपछि मलेसिया उडेका उनी बिदा नमिल्दा डेढ वर्षसम्म नेपाल आउन पाएनन् । छ महिनापछि नेपाल फर्कने योजना बनाउँदै गर्दा उनकी श्रीमती सविनाले बाग्लुङकै भीमगिठेमा दोस्रो विवाह गरिसकेकी थिइन् ।

घर्ती दुःख पोख्छन्, 'राम्रोसँग झ्याम्मिन पनि नपाउँदै छाडेर गइदिइन् । खै के चित्त बुझेन, उनले मलाई सधँैका लागि त्यागिन् । अब के गर्ने ? सोच्नै सकेको छैन ।'

लामो भौगोलिक दूरीमा रहेका सम्बन्धहरू तोडिनुमा शारीरिक सम्पर्क वा अन्य कुनै आकांक्षा पूरा नहुनु मात्र कारण नहुने समाजशास्त्री उप्रेती बताउँछिन् । 'आत्मीयता वा न्यानोपन हरेकले खोज्छ,' उनी भन्छिन्, 'शारीरिक सम्पर्क, धनसम्पत्तिलगायत सपना मात्र पूरा नभएर छुट्ने होइन । म छु नि भन्ने महसुस गराउन नसक्ने ठूलो भूल गर्दै छौँ हामी ।'

फाइदाजनक सम्बन्ध

भौतिक रूपमा टाढा रहेकालाई अहिलेको प्रविधि विकासले मन जोड्न सघाइरहेको छ । यसको दुरुपयोग गर्दै नाफामुखी सम्बन्ध जोड्नेहरू पनि छन् ।

विदेशमा रहेका चारजना नेपाली केटीसँग सम्बन्ध रहेको बताउने काठमाडौँका एक तन्नेरी आफ्नो आयस्रोत नै उनीहरूले पठाउने पैसा हो भन्छन् । कुनै पनि काम नगरी काठमाडौँमा अपार्टमेन्ट लिएर सरर्र कारमा कुद्छन् उनी । 'तीन जनासँग पहिल्यै चिनजान थियो । एकजनासँग अनलाइनबाटै चिनजान भयो,' आफ्नो परिचय नखुलाइदिन आग्रह गर्ने उनी भन्छन्, 'आफूले बिहे नगर्दासम्म यसरी नै मोज गर्ने हो । सबैलाई बिहे गर्छु भनेर 'कन्भिन्स्ड' चाहिँ गराउनुपर्छ ।'

दुवैजना दुवैतिर सम्बन्धको जालो बुन्नेहरू पनि छन् । राजधानीमा रहँदै आएका पर्वतका हिरा चन्दकी श्रीमती विदेशमा छिन् । विदेश गएदेखि श्रीमतीसँग ठाकठुक परिरहन्थ्यो । श्रीमतीले विदेशमा सँगै काम गर्नेसँग लसपस गर्ने गरेको खबर पाए उनले । त्यसपछि आफूले बाध्यतावश नयाँ सम्बन्ध गाँस्नुपरेको बताउछँन् उनी । 'किन सुरुदेखि नै किचकिच गर्दै छे भनेको त अर्को केटो पाइसकेर पो रहेछ । उसलाई देखाउन पनि मैले यहाँ नयाँ रिलेसन राख्नुप¥यो,' उनी भन्छन्, 'साथीले फोटै देखाएपछि कसरी विश्वास नगर्नु ?' छोराछोरी नभएकाले अर्को बिहे गर्दा आफूलाई कुनै तनाव नहुने तर्कसाथ उनी पुरानो सम्बन्धलाई भूलेर नयाँ सम्बन्ध जोड्ने दाउमा छन् । भन्छन्, 'ऊ जता जाओस्, म त आफ्नो बाटो लागिसकेँ ।'

सम्बन्धको व्ययभार

कलंकी, स्युचाटारकी ओजस्वी थापा (नाम परिवर्तन) का ब्वाइफ्रेन्ड रोहित जापानमा छन् । प्लस टू सँगै पढेका उनीहरूको कक्षा १२ देखि अफेयर चल्यो । '१२ को रिजल्ट आउनासाथ ऊ जापान गइहाल्यो,' ओजस्वी भन्छिन्, 'म पनि जाउँला भनेकी थिएँ । तर, भाषा परीक्षामा गुल्टिएँ ।' हाल स्नातक दोस्रो वर्षमा अध्ययनरत उनी रोहितसँगको सम्बन्ध दिगो राख्न चाहन्छिन् । त्यसैले दिनहुँ फोन, च्याट र भिडियो कल गरेर सम्पर्कमा बसिरहन्छिन् ।

'नजिक हुँदा त एक–दुई दिन नबोले पनि फरक पर्दैनथ्यो,' ओजस्वी भन्छिन्, 'टाढा भए पछि त छिनछिनमा कुरा गरेन भने केटाको मन न हो, भाँडिएला कि भन्ने पिर लाग्छ ।' रोहितका लागि हप्ताको कम्तीमा हजार रुपैयाँ खर्च गर्दै आएको बताउने उनी कलेजमा खाजा नखाएर भए पनि पैसा बचत गर्छिन् । आफ्ना लागि लुगालत्ता वा अन्य सामग्री पनि अत्यावश्यक नपरी नकिन्ने उनी मोबाइल चाहिँ हरहालतमा रिचार्ज गर्नुपर्ने बताउँछिन् । 'रिचार्जले नधानेर आजकल डाटा किन्न थालेकी छु,' उनी भन्छिन् ।

जापानमा रहेका आफ्ना प्रेमी दीपकको जन्मदिनमा उपहार पठाउन गोंगबुकी प्रकृति अधिकारी (१९) लाई धौ–धौ परेको थियो । 'कुरियर कहाँ छ नै थाहा नभएर हैरान भएकी थिएँ,' उनी भन्छिन्, 'बल्लतल्ल गुगल गरेर भेट्टाएँ । तर, सुन्धारामा रहेको त्यो कुरियरले असाध्यै महँगो रेट भनेपछि गोश्वारा हुलाकबाट पठाएँ ।' वैशाख २ गते पार्सल पठाएकी उनलाई हाल दीपकले 'आई लभ नेपाल' र 'वी विल राइज अगेन' लेखिएको टी–सर्ट पठाइदिन आग्रह गरिरहेका छन् ।

'टाढाको सम्बन्ध मेन्टेन गर्न गाह्रो छ,' प्रकृति भन्छिन्, 'फोन गर, उपहार पठाउ, उसका यहाँका आफन्तलाई भेट । जे गर्न पनि पैसा चाहिन्छ । हामीजस्ता बेरोजगारलाई साह्रै टेन्सन हुन्छ ।' यसो भए पनि मन परेको मान्छेलाई छोड्न नसक्ने हुँदा उनी जे–जस्तो अप्ठ्यारो पनि झेल्न तयार रहेको बताउँछिन् ।

महाराजगञ्जका अनिश गुरुङ (२५) लाई भने 'लङ डिस्ट्यान्स रिलेसनसिप' मा फिटिक्कै विश्वास छैन । केही वर्षअघि धरानकी एक युवतीसँग अफेयर चलेको र बिहे गर्ने मुडमै पुगेका उनलाई ती केटीले विदेश गएपछि धोका दिइछन् । त्यही घटनाले उनलाई टाढाको सम्बन्ध दिगो हुँदैन भन्नेमा निश्चिन्त बनाएको छ । भन्छन्, 'आफ्नो मान्छे ठानेर विदेश जाने बेला तीन÷चार लाख रुपैयाँ सहयोग पनि गरेको थिएँ । यूके गएको एक वर्षसम्म राम्रै सम्बन्ध थियो । अहिले त मलाई मतलबै गर्दिन । धोकेबाजलाई सम्झिएर पीर मान्नुभन्दा बा–आमाले खोजिदिएकी केटीसँग बिहे गर्ने सोचेको छु ।' अनिश आफ्नो प्रेममा कुठाराघात गर्ने चिज नै 'दूरी' भएको बताउँछन् ।
साभार : नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis