CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पूर्वडाँका भेट्दा

पूर्वडाँका भेट्दा


धेरैपहिले नै सुनेको थिएँ– तराईमा एउटा यस्तो बस्ती छ जहाँका अधिकांश मानिसको पुख्र्यौली पेसा चोरी–डकैती गर्नु हो । मनमनै सोचें– यस्तो पनि हुन सक्छ र † खोजतलास गर्दै गएपछि थाहा भयो, सूचना सही रहेछ । 

गाउँको ठेगाना पत्ता लाग्यो । जाने योजना पनि बन्यो । चोरी–डकैती गरेर जहान–परिवार पाल्नेहरूसँग कसरी कुरा गर्ने होला भनेर मनमा एक प्रकारको सन्त्रास मडारिइरहेको थियो । चैतमासको चर्को गर्मीमा एक दिन त्यस गाउँतिर सोझिएँ । गाउँ नजिकै पुगेर नवपरिचित एक सहयोगीकहाँ
वास बसें, बडो खुल्दुलीपूर्वक । 

भोलिपल्ट बिहानैदेखि वार्तालाप तयारीमा लागें । वरपरका एकाध मान्छेहरूसँग सोधें– त्यहाँको जनजीवनसँग जोडिएको चोरी–डकैती पेसाबारे कसैसँग खुला प्रश्न गर्दा कत्तिको सुरक्षित भइएला ? मलाई कसैले उक्साए, धेरैले तर्साए । कसैले गए पनि विचार गरेर मात्र बोल्न सुझाए । 

अन्तत: म भोलिपल्ट दिउँसोतिर त्यो गाउँ पस्ने निष्कर्षमा पुगें । गफगाफ गर्नका लागि पात्र छनोट पनि गरें । त्यो काममा मलाई त्यही समुदायका एक अगुवा र बाहिरबाट गएर सेवारत सामाजिक कार्यकर्ताले साथ दिए । 

केही प्रारम्भिक सूचना बटुलिसकेपछि कुराकानीका लागि मेरो छनोटमा परे डाँका दलका भूतपूर्व नाइके । उनीसँग फोनमा संवाद भयो । मैले उनको पछिल्लो उद्यमबारे जान्ने जिज्ञासा लागेर भेटघाट गर्न चाहेको बताएँ । उनले आफू दिनभर घरबाहिरै काममा व्यस्त हुनुपर्ने हुँदा साँझतिर घरमा आउन निम्ता दिए । 

मैले त्यो बस्तीका अनेक पात्रहरूसँग सुखदु:खका संवाद गरेर दिन बिताएँ । घाम ढलेपछि त्यस यात्राका मुख्य पात्र भेट्न उनको घर खोज्दै गएँ । साँझ पर्नपर्न लाग्दा खोजी गरिरहेको घर फेला पर्‍यो । गन्तव्य गृहको आँगन पुग्दा मनमा कताकता डर पलाएजस्तो लागेको थियो । तर जब पात्रलाई देखें र उनै हुन् भनेर चिनें तब अलि ढुक्क भएँ । उनी श्रीमती र छोराछोरीसँगै गफ गरेर बसिरहेका थिए । 

उनीसँग नभेटिंदै मैले उनको नाम राखिसकेको थिएँ– सनत सिंह । भेट्न गइरहेको पात्रलाई पहिल्यै नाम दिनुको कारण थियो, उनीसँग वास्तविक नाम सोध्नु नपरोस् जसले उनलाई आफ्नो विगतबारे खुल्न सजिलो होस् । मैले उनलाई राम्ररी चिन्ने स्थानीय एक अगुवा र अर्की एक सामाजिक कार्यकर्ता महिलालाई पनि सँगै लिएर गएको थिएँ, जसले उनको पछिल्लो जीवनलाई मर्यादित मार्गमा डोर्‍याउन सघाइरहेका थिए । 

सनत र उनको समूहले अनेक ठाउँ डुल्दै डकैती गर्दाका अनुभव सुन्न ममा जति उत्सुकता थियो, त्योभन्दा बढी कौतूहल थियो उनी कसरी बदलिएर सामान्य जीवन बाँच्न आइपुगे भन्नेमा । दुई परिचित व्यक्तित्वसँगै मेरो नयाँ अनुहार देखेर सनत सुरुमा त केही अलमलिए । उनको जटिल मनोविज्ञानलाई सरल बनाउने सूत्र खोज्दै मैले भनें, ‘तपाईंसँग एकछिन सुखदु:खका कुरा गरौं भनेर उहाँहरूको सहयोगमा यहाँसम्म आइपुगें । कुरा गर्न मिल्छ ?’ 

‘मेरो गफ तपाईंलाई काम लाग्छ भने भइहाल्छ नि, किन नमिल्नु र ?’ सनतको जवाफ मैले सोचेभन्दा बढी सहज थियो । त्यो मञ्जुरीसँगै उनले मलाई सरासर आफ्नो सुत्ने कोठामा लगे र खाटमा बसाले । 

भर्खरै बनेजस्तो देखिने चारकोठे पक्की घरभित्र उनी र म चिरपरिचित साथीजस्तै भएर आमनेसामने बस्यौं उनको बिछ्यौनामाथि । मेरो आसन सिरानीतिर परेको थियो । खाटमाथि टाँगेर सर्लक्क फर्काइराखिएको झुलले मेरो टाउकोमा छोयो । पात्रको प्रकृति र मेरा सम्भावित प्रश्नहरू सम्झिएर मनमनै सोचें, त्यो झुलरूपी जालमा आज म माछाजसरी उम्कनै नसक्ने गरी थुनिनुपर्ने पो हो कि † 

मैले आफ्नो नोटबुक र टेपरेकर्डर निकालेर गफको अभिलेख राख्न उनीसँग अनुमति मागें । सनतले अलि अनकनाउँदै स्वीकृति दिए । उनको आँखामा नियालें । थोरै आवेश र धेरै आशंकाको पारदर्शी पर्दा टाँगेर मलाई हेरिरहेका थिए । 

अनि हाम्रो कुराकानी सुरु भयो । ३८ वर्षका सनतले आफ्नो कथा सुरु गरे, ‘म सानै छँदा घरपरिवार बुबाले चलाउनुहुन्थ्यो । हाम्रो जमिन त दुई बिघा थियो तर उब्जनी राम्रो नहुँदा खेतीपातीबाट खान पुग्दैनथ्यो । भोको पेट भर्नकै लागि चोरी–डकैती गर्नुपर्ने बाध्यता बुबाको पालादेखि नै थियो । मैले पनि १९ वर्षकै उमेरदेखि बुबाको बाटो पछ्याएँ । त्यसो गर्नु रहर नभएर बाध्यता थियो ।’ 

समूह बाँधेर चोरी–डकैती गर्न जाँदा सनतले अनेक दृश्य देखे । राति घरलाई घेरा हालेर गर्जनका साथ हतियार देखाउँदै भित्र पसेपछि त्यो परिवारका जस्तै बहादुर पनि डरले पानी हुन्थे । भएजति नगद र गरगहना सुम्पिन्थे । महिला र स–साना केटाकेटीहरू खुब आत्तिन्थे, रोइकराइ गर्थे । त्यस्तो देख्दा पनि उनको मनमा दयामाया भन्ने चीज पटक्कै पलाउँदैनथ्यो रे । कति महिलाले दाउरा बेचेर वर्षौं मेहनत गरी सुनको सानो फुली लगाएका हुन्थे । उनीहरूको नजर परेपछि तिनले पनि छुट्कारा पाउँदैनथे । 

चोरी–डकैतीबाट पैसा कमाउँदै जाँदा सनतले त्यस्तो कमाइमा ढुक्कले बाँच्ने मौका गुमाइँदोरहेछ भन्ने सिके । इज्जत कमाउने कुराको त कल्पनै गर्न नसकिने । गाउँले र पुलिसले कहाँ कति बेला समात्ने हुन् थाहा हुँदैनथ्यो । तैपनि मेहनत नगरी एक रातमै मनग्गे सम्पत्ति हात पर्दा खुसी लाग्थ्यो रे । अरूले दु:ख गरेर कमाएको सम्पत्ति भन्ने सोचाइ त्यसबेला रत्तिभर आउँदैनथ्यो उनमा । 

‘कमाउन’ गएका कतिपय रातहरू सँगै गएका साथी गुमाएर फर्कनुपथ्र्यो । समूहका सहकर्मीहरू कहिले सुरक्षाकर्मी र पीडितहरूको प्रतिकारमा मारिन्थे भने कहिले भाग्ने क्रममा उचाइबाट लडेर कहिल्यै नउठ्ने गरी निदाउँथे । 

कुरा गर्दै जाँदा निराश देखिएका सनतले शिथिल अनुहारमा भने, ‘कमाइ त महिनामा ४० हजारदेखि एक लाख रुपियाँसम्म हुन्थ्यो, तर एक पैसा पनि बच्दैनथ्यो । सबै पैसा जाँडरक्सी, माछामासु र जुवातासमा सकिन्थ्यो । परिवारमा एक छाक सँगै बसेर खान र एक रात वास बस्न पनि डर लाग्थ्यो । गलत काममा लागेपछि अरू काम गर्ने जाँगर पनि चल्दैनथ्यो ।’

चोरी–डकैतीबाट बटुलेको धनमाल खर्चेरै उनले विवाह गरे । बालबच्चा भए, ती हुर्कंदै जान थाले । उनलाई अब चोरीडकैती गर्न गएको परिवारमा बालबच्चा देखेपछि आफ्नो परिवारको याद आउन थाल्यो । छोराछोरीको अनुहार झल्झली देख्न थाले । ज्यानकै जोखिम काममा हिँड्दा आफूलाई केही भइहाल्यो भने बच्चाहरूले दु:ख पाउनेछन् भन्ने भयले उनलाई बेचैन बनायो । 

सात वर्ष चोरी–डकैती गरेर बिताएपछि एक रात उनलाई भारी पीडा महसुस भयो । त्यो रातको सानै कुराले उनलाई बदलेको थियो । प्रहरी सूचीमा उनी सर्वाधिक खोजी गरिएका अभियुक्त थिए । कानुनको आँखा छलेर रातको समयमा सुटुक्क परिवार भेट्न घर आएको बेला ओछ्यानमा मस्त निदाइरहेकी छोरी ब्युँझिएर चर्को आवाजमा रुन लागिन् । 

त्यसबेला सनतले सम्झिए एउटा पुरानो कथा जसमा त्यस्तै मध्यरात उनको समूह एउटा घरमा पसेको थियो । त्यहाँ उस्तै सानो बच्चा च्यापेर निदाइरहेका दम्पतीलाई बन्दुक र खुकुरी देखाएर सातो लिई उनीहरूसँग भएका गरगहना र थोरै नगद कब्जा गरेका थिए । त्यसबेला निद्राबाट ब्यँुझिएर चिच्याईचिच्याई रुन थालेकी काखे बालिका देख्दा दया जाग्नुको सट्टा झन्डै गोली हानेका थिए रे सनतले । बच्चा रोएको आवाजले टोलका अरू मान्छे ब्युँझेलान् भन्ने डर भएपछि उनको ज्यानै लिनेगरी आवेशमा आइसके पनि अन्तत: त्यहाँबाट उम्केर त्यही बालरोदन सुन्दै भागेका रहेछन् उनी । 

डकैती गरिएको त्यो जोडीको ठाउँमा आफ्नो दम्पतीलाई उभ्याएर हेरेपछि त्यसबेला रुने बालिकाको चेहरामा पनि आफ्नै छोरीको अवोध अनुहार देख्न पुगे उनी । रोइरहेकी सानी छोरी झन्डै आफ्नो आवेशको सिकार भएकी तिनै अवोध बालिकाजस्तो लाग्यो उनलाई । छोरी ठूली भएपछि आफूलाई कस्तो बाबुका रूपमा देख्लिन् भनेर धेरै सोचे । त्यही रात सोच्दासोच्दै एउटा साहसी निर्णयमा पुगेछन् उनी, आफूसँग भएका सबै हतियार प्रहरीलाई बुझाई आत्मसमर्पण गर्ने । त्यसपछि उनले आफ्नो समूहमा हिँड्ने त्यही गाउँका ४०–४५ जना साथीलाई पनि सम्झाएर नजिकको प्रहरी कार्यालयमा लगेछन् र भएभरका हतियारसँगै आत्मसमर्पण गरेछन् । 

त्यसरी घर फर्केपछि सामान्य जीवनमा अभ्यस्त हुन थाले उनी । आत्मसमर्पणपछि उनको समूहका सबैले केही न केही काम थाले । सनतले चाहिं धानकै कुटानी–पिसानी गर्ने मिल खोलेछन् । आत्मसमर्पण गरेपछि सफाइ पाइएला भन्ने ठानेका उनले त्यसको दुई वर्षपछि आफूविरुद्ध एउटा खून–डाँका मुद्दा लागेको थाहा पाए । घरमै मिल चलाएर बसिरहँदा पक्राउ पर्ने डर भयो । त्यसबाट उम्किन फेरि घर छाडे । 

डुलिरहन मिल्ने अरू पेसा केही नजानेकाले उनलाई पुरानै पेसामा फर्काइदियो । त्यसपछि फेरि चोरी–डकैतीमै होमिन पुगे । कम्तीमा एक रातदेखि बढीमा हप्तौं लाग्ने जोखिम अपराध गर्न कति ठाउँ गए त्यसको गणनै छैन । चोरी–डकैती गर्ने गन्तव्य भारतीय भूमि र नेपाली गाउँ–सहर पनि हुने गरेको उनले सम्झिए । 

दुई नम्बरी पेसामा दोस्रोपटक लागेको दुई वर्षपछि भारतको एउटा गाउँमा समातिए सनत । त्यहाँको पुलिसले डाँका मुद्दा चलायो । दुई वर्ष थुनामा परेपछि मुद्दा जितेर छुट्कारा पाए । त्यसबेला वकिल लगाउँदा एक लाख रुपियाँ खर्च भयो । रोचक कुरा त के छ भने डकैतीको अभियोगबाट सफाइ पाउँदा उनले डकैतीबाटै जोडेको धन खर्च गरेका थिए रे । जेलबाट छुट्कारा पाएपछि जे होला–होला भनेर घर फर्किए ।

दोस्रोपटकको घर फिर्तीपछि उनले आफूजस्तै २५ जनाको एउटा समूह बनाए । अनि पुरानो अप्रिय पेसाबाट कसरी छुट्कारा पाइन्छ भन्ने विषयमा परामर्श लिन एउटा संस्था मार्फत मनोसामाजिक परामर्शदाताकहाँ पुगे । तीन दिनसम्म बन्द प्रशिक्षण लिएपछि सनत र उनको समूहको आँखा खुल्यो । त्यतिबेला उनलाई समाजमा आफूहरूले गरेको अपराधप्रति आत्मग्लानि भयो । अपराधकर्मको सजाय उद्यम गरेर असुल्ने निधो गरे । 

असन्तोषी मान्छेलाई जति पैसा भए पनि पुग्दोरहेनछ, सन्तोष भयो भने थोरैले पनि खुसी मिल्दोरहेछ भन्ने ज्ञान उनीहरूलाई अन्तरमनबाट मिल्यो । तालिम सकिएपछि गाउँमा सनतले एउटा बचत समूह बनाए र आफू त्यसको कोषाध्यक्ष भए । प्रत्येक सदस्यले आफ्नो आम्दानीबाट महिनाको ५० रुपियाँ समूहको कोषमा बचत गर्ने नियम बसालियो । समूहका सबैले खेतीपाती गर्ने सीप सिके । अनि सबैजना समर्पित भएर लागे कृषि कर्मतिर । 

सनतको रोजाइमा उखु खेती पर्‍यो । आफ्नो दुई बिघा जमिनबाट खेती सुरु गरे । लगाएको एक वर्षपछि उखुले आम्दानी दिन थाल्यो । आफ्नै मेहनतबाट आर्जन गर्न थालेपछि उनलाई गुमेको आत्मसम्मान फर्केको महसुस भयो । बच्चाहरूलाई पढाउन र व्यथाबिमारी लाग्दा उपचार गर्न आफ्नै बचत समूहबाट ऋण लिन थाले । त्यसपछि उनलाई लाग्यो, ‘थोरै पैसाले पनि धेरै सन्तुष्टि दिंदोरहेछ र कसैसँग डर नभएपछि आनन्द आफैंसँग हुँदोरहेछ ।’ 

सुधारिएको जीवनको आठौं वर्षसम्म आइपुग्दा उनी गाउँको ठूलै कृषि उद्यमीमा गनिन थालेका छन् । यतिबेला उनको जमिन पनि बढेर चार बिघा भइसकेको छ । भाडामा लिएको पाँच बिघासमेत नौ बिघा जग्गामा उखु र पोपलर (एक प्रकारको रूख) को व्यावसायिक खेती गरिरहेका छन् । गाउँका हाटबजार र पोखरीहरूमा ठेक्कापट्टा गरेर पनि कमाउँछन् । पाखुरीको पौरखबाट वर्षमा ७ देखि ८ लाख रुपियाँसम्म कमाउने सनत सबै खर्च कटाएर तीन लाख जति जोगाउँदारहेछन् । 

आत्मसम्मानको खोजी गर्दै सुध्रिएका सनतले सुकर्मको कमाइबाट बीस लाख रुपियाँ खर्चमा पक्की घर बनाएका छन् । पाँच छोराछोरीलाई निजी स्कुलमा पढाएका छन् । उनले अग्रसरता लिएपछि चोरी–डकैतीजस्तो जोखिम अपराधमा लागेका गाउँबासी बदलिएर सम्मानित पेसामा फर्किएका छन् । 

उनीहरू सुध्रिएपछि चोरी–डकैतीमा सक्रिय सिंगो गाउँका सयौं पुरुषमध्ये ८० प्रतिशत खेतीपातीमा लागेका छन् । गलत काम छाडेका १० प्रतिशत जति विदेश गएर परिश्रमले पैसा कमाइरहेका छन् । आठ प्रतिशत जति मजदूरीमा लागेका छन् भने एक–दुई प्रतिशतचाहिं मुद्दामामिलाका कारण घर बस्न नसकेर लुकीछिपी पुरानै पेसामा अल्झिएका रहेछन् । सरकारले मुद्दा फिर्ता लिइदिए उनीहरू पनि सुध्रिनेथिए भन्छन् सनत सिंह । 

मेहनतको कमाइसँगै सम्पत्तिको महत्त्व बुझेपछि आफूहरूले पहिले जबर्जस्ती बटुल्ने गरेका सम्पति पनि अरूले त्यसरी नै दु:खले कमाएका रहेछन् भन्ने सम्झँदा उनलाई दु:ख लागिरहन्छ । भावुक हुँदै गएपछि उनले एक ठाउँमा भने, ‘कहिलेकाहीं त यस्तो लाग्छ कि जसजसको जति सम्पत्ति चोरीडकैती गरियो त्यो सबै तिर्न पाए हुन्थ्यो ।’ त्यसरी पाप काट्न यो जीवनभरको कमाइले नपुग्ने देखेर दिक्क मान्दारहेछन् उनी । 

गलत काम गर्नेको जीवनमा एक दिन सोच्दै नसोचेको दु:ख आइपर्ने र त्योभन्दा अघि नै बाटो बदल्नुपर्ने ज्ञान उनले आफ्नै जीवनबाट पाएका हुन् । आफू र आफूजस्ता थुप्रै पूर्वडाँकाहरूले सुधारिएको जीवनको नमुना पेस गर्न पाएकोमा सनतलाई गर्व छ । भन्छन्, ‘अहिले पनि बाध्यतावश चोरी–डकैती गरिरहेका गरिबहरूलाई म सोच्न र सुध्रन सल्लाह दिन्छु, इच्छा भए बाटो अवश्य मिल्छ ।’ 

चोरी–डकैती गर्दागर्दै बदलिन बिर्सिएका वयस्कहरूको नाममा यो सुझाव दिएर उनी खानपानतिर लागे, म आफ्नो आश्रयस्थलमा फर्किएँ ।

राप, ताप र रक्तपातपूर्ण जीवन छोडेर आफ्नै पौरखको हरियाली संसार रोजेका सनतबाट सिक्ने अवसर छोप्ने पालो अब तिनीहरूको हो जो आज पनि विभिन्न आवरणमा सनतहरूकै विगतको धन्दा धानिरहेका छन् । सनतको पुरानो पेसा अँगालिरहेकाहरू उनी जसरी नै बदलिने हो भने १० वर्षपछि यो देश कस्तो देखिएला ? 

सुन्दैछु, सनतको गाउँचाहिं आज सुख–शान्ति र समृद्धिसँगै सम्मानले समेत सुगन्धित हुँदै गइरहेछ । 

प्रकाशित मिति: २०७२ श्रावण ९ १०:२४

साभार : कोशेली 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis