CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » ३६ सालमा सूर्यबहादुरजीलाई एक करोड दिएँ---विनोद चौधरी

३६ सालमा सूर्यबहादुरजीलाई एक करोड दिएँ---विनोद चौधरी

मेरो हजुरबुबा भुरामल चौधरी आजभन्दा १४२ वर्षअघि सन् १८७० (वि.सं. १९२७) मा राजस्थानको शेखावटी क्षेत्रमा जन्मनुभयो। उहाँको जन्मलाई नै हामीले चौधरी समूहको प्रस्थानबिन्दुका रूपमा लिएका छौं। उहाँ नेपाल छिर्नुभएको त्यसको १५–२० वर्षपछि हो। त्यतिखेरका राणा प्रधानमन्त्री वीरशमशेरले राजस्थानका चार मारवाडी परिवारलाई औपचारिक 'निस्सापत्र' पठाएर नेपालमा व्यापार व्यवसाय गर्न निम्तो दिएका थिए। निम्तो पाउनेमा मंगल साहु (सुरज मलको परिवार), मायाराम भोलाराम (टिबडेवाला
परिवार), हनुमान साहु (बनवारीलाल मित्तलको परिवार) र महावीरप्रसाद बृजलाल (केडिया परिवार) हुन् भन्ने बुबाको भनाइ छ। अरू केही परिवार पनि यही पंक्तिमा पर्छन् जस्तो लाग्छ। मेरो हजुरबुबा मंगल साहुसँग काम गर्न नेपाल आउनुभएको थियो।  
००० 
त्यतिखेर हाम्रो स्थायी पसल थिएन। दोकान बोकेर हिँड्ने– जहाँ ग्राहक भेटियो, त्यहीँ पसल थाप्ने। अहिले बजारमा बगे्रल्ती भेटिने डुलुवा व्यापारीजस्तै। बुबाले ८/१० वर्षको उमेरदेखि नै हजुरबुबालाई व्यापारमा भर दिन थाल्नुभएको थियो। उहाँ पारिवारिक जमघटमा हामीलाई सुनाउनुहुन्थ्यो, 'बुबा भरियाको काँधमा कपडाको पोको लादेर राणा प्रधानमन्त्रीको दरबार चाहर्दै हिँड्नुहुन्थ्यो। कहिलेकाहीँ भारी कम छ भने पैसा बचाउन आफैं बोक्नुहुन्थ्यो। म जहाँ पनि पछि लाग्थेँ।' 
जुद्धशमशेरका पालाको कुरा हो यो। हजुरबुबा दरबारको प्रसंगमा कपडाको खात बिछाउनुहुन्थ्यो। साडीका नयाँ–नयाँ डिजाइन देखाउनुहुन्थ्यो। धेरै त दरबारका रानीहरूले पहिल्यै अर्डर गरेका हुन्थे। अर्डर छैन भने पनि भारतबाट नयाँ माल आउँदा काँधमा बोकेर दरबारमा हाजिरी गर्न पुगिहाल्नुहुन्थ्यो। रानीहरू खोपीबाट हातले इसारा गरेर छान्थे। बुबा उनीहरूले छानेको कपडा र साडी टप्प टिपेर खुररर माथि पुर्‍याउन जानुहुन्थ्यो। त्यतिखेर दरबारमा महिलाहरूलाई पर्दामा राख्ने चलन थियो। बाहिरका जो पायो त्यही लोग्ने मान्छेले सम्पर्क गर्न नपाउने। बुबा भने सानै हुनुहुन्थ्यो। उहाँलाई रोकतोक थिएन। सामान लिएर गएपछि खाली हात फर्कनुपर्थेन। केही न केही किन्दिहाल्ने। रवाफ देखाउन पनि होला! 
हजुरबुबाले विसं १९९० सालमा डुलुवा व्यापारीको चोला उतारेर पहिलो स्थायी पसल खोल्नुभयो।  
००० 
काठमाडौंमा जापान, सिंगापुर र भारतका साडी खुब चल्थे। धनाढ्य र नवधनाढ्य वर्गका महिला विदेशी साडीमा आफ्नो हैसियत उकासिएको अनुभूति गर्थे। उनीहरूको यो अनुभूति हाम्रो व्यापारमा अत्यन्त हितकर बन्यो। विदेशी साडीको माग छोप्न मैले अरूण इम्पोरियमभित्रै 'साडी संसार' र 'घर संसार' भन्ने छुट्टै पसलका र्‍याकहरूमा सजाएर राख्थें। आफ्ना मुख्य–मुख्य नियमित ग्राहकलाई जापानबाट, सिंगापुरबाट नयाँ साडी आएको छ भन्ने खबर पठाउँथे। ठूल्ठूला ग्रामकहरूकहाँ त आफैं पुग्थें, खबर दिन। क्रेज कस्तो भने, उनीहरू भोलिपल्टै खुररर आइपुग्थे।  
हजुरबुबाले जुद्धशमशेरको पालामा साडीका थान बोकेर राणा र शाहका दरबार धाएर बेचेको र मैले खिचापोखरीमा बसेर साडी व्यापार गरेको कताकता उस्तै–उस्तै थियो। हजुरबुबा सामानै लिएर जानुहुन्थ्यो, म सामान आइपुगेको खबर लिएर जान्थें। त्यो सानोस्तरको परम्परागत व्यापार थियो, यो व्यवस्थित र ठूलो स्तरको। नभए बेच्ने तरिका उही हो। ग्राहक आउँथे। म साडीका थान फुकाउँथे। उनीहरू ओल्टाइपल्टाइ हेर्थे। खोट निकाल्थे, मिल्काउँथे। बल्लबल्ल कुनै एउटामा ग्राहकको मन बस्थ्यो, तारिफ गर्थे। किन्थे। ग्राहक फर्केपछि म सारा थान पट्याएर र्‍याकमा सजाउँथें।  
००० 
जब त्यो पसल पञ्चट टालेर पांग्रामा हावा भर्न थाल्यो, म फुलेको भएँ।  
तन्नेरी केटाले नयाँ साइकल पाएजत्तिकै भयो मलाई, त्यो साइकलको पांग्रा पनि। मसँग एउटा मोटो काठको रुलर सधैं सँगै हुन्थ्यो। झोलाबाट झिकें। पांग्रा थिच्दै थियो, स्टेयरिङ पनि भयो। त्योभन्दा बढी ड्राइभरलाई के चाहियो! रुलरले ठेलेर पांग्रा गुडाउँदै कुदंे। म स्कुल युनिफर्ममै थिएँ। स्कुल ब्याग भिरेको थिएँ। बाटोमा चिनेजानेका कसैले देखे घरमा चुक्ली लाइदिनसक्थे। तर, हावा भरिएको सग्लो पांग्रा भेटेपछि दंग परेर भुइँबाट खुट्टा छोड्न थालें। पाइला अडिँदै अडिएनन्। हात थामिँदै थामिएनन्।  
कुदेको कुद्यै। कुदेको कुद्यै। कुदेको कुद्यै।  
अहिलेजस्तो होइन, फुटपाथमा पनि पाइला गनीगनी हिँड्नुपर्ने। सडकमा खासै गाडी हुन्थेनन्।  
एक घन्टा लगातार कुदेपछि म थामिएँ। सास पूरै फुलेको थियो। घाममा दौड्या दौड्यै गरेकाले जीउ पसिनाले लुथु्रप्पै भिजेको थियो। कहाँ पुगिएछ भनेर यसो वरिपरि हेरेको त दाहिनेतिर बडेमानको हवाईजहाज खडा छ।  
म एयरपोर्ट पुगेछु।  
००० 
गीत–संगीतप्रतिको लगाव 
गीत–संगीतमा मेरो लगाव बढेको त्यही समयतिर हो।  
यसको श्रेय 'राल्फा समूह'का गायक रायनलाई जान्छ। उहाँको वास्तविक नाम नारायणप्रसाद श्रेष्ठ हो। राल्फा भनेपछि निकै लोकप्रिय र क्रान्तिकारी सांगीतक समूहका रूपमा चिनिन्थ्यो। रायन मेरी सानीआमाको घरमा डेरा बस्नुहुन्थ्यो। मैले उहाँसँग संगीतको तालिम लिएँ। रायनले कागजमा लेखेर दिने 'नोट'हरू हेरेर म गितार बजाउँथे। गीत रियाज गर्थें।  
एमाले नेता प्रदीप नेपालजीसँग चिनजान भएको त्यतिखेरै हो। उहाँ पूर्णकालीन राजनीतिमा लाग्नुअघि राल्फा समूहमै हुनुहुन्थ्यो। रायनसँगको सम्पर्कले हिरण्य भोजपुरे, रामेशलगायत राल्फा समूहका धेरै सदस्यसँग सम्बन्ध गाँसियो।  
गितारसँगै मैले हारमोनियम बजाउन सिकें। यसमा मेरा गुरु खिचापोखरीका 'हारमोनियम माइला' हुनुहुन्छ। हाम्रो घरनिरै उहाँको पसल थियो। हारमोनियम बेच्ने भएकाले उहाँको नामै त्यही रहन गयो। म दिनहुँ उहाँको पसल जान्थें। कहिले उहाँले बजाएको सुन्थें, कहिले आफैं औंला तिखार्थें।  
चलचित्रकर्मी नीर शाहसँगको संगतपछि मेरो सांगीतिक यात्राले नयाँ मोड लियो। नीरकै माध्यमबाट शम्भुजित बास्कोटासँग हिमचिम बढ्यो। एकदिन मैले उहाँलाई भनें, 'ए शम्भुजी, मलाई एउटा गीत गाउनुपर्‍यो। तपाईं कम्पोज गर्नुस् न।' 
उहाँ संगीत क्षेत्रमा भर्खर–भर्खर लाग्नुभएको थियो। संघर्ष गर्दै हुनुहुन्थ्यो। उहाँले मेरो प्रस्ताव तुरुन्त मान्नुभयो।  
त्यो बेला रेकर्डिङ अहिलेजस्तो सहज थिएन। रेडियो नेपालले नाम चलेको गायक छ भने रेकर्डिङको व्यवस्था आफैं गरिदिन्थ्यो। हामीजस्ता नयाँ कलाकारलाई भने पनपक्ष गर्थ्यो। हामीले बाजादेखि बाद्यवादकसम्म आफैं पैसा तिरेर लग्नुपर्थ्यो। स्टुडियो पनि भाडामा लिनुपर्थ्यो। त्यसमाथि म बिजनेसम्यानको छोरा भनेपछि त्यहाँका मान्छेहरू पैसा धुत्नसम्म धुत्न खोज्थे।  
मैले शुम्भजीसँग भनें, 'पहिलो गीत हो। प्राइभेट रूपमा भए पनि रेकर्ड गरौं। लाग्ने खर्च म बेहोर्छु।' 
हामीले बिहानै रेकर्डिङको समय लियौं। वाद्यवादकहरूसँग अघिल्लो दिनै कुरा मिलाएका थियौं। उनीहरूलाई घर–घर लिन गएर रेडियो नेपालको स्टुडियोसम्म लग्ने जिम्मा मेरै थियो। मैले एउटा भ्यान भाडामा लिएको थिएँ। त्यसैमा सबैलाई स्टुडियो पुर्‍याएँ।  
पहिलो गीत रेकर्ड गर्दा म १९ वर्षको थिएँ। बोल थियो– 'माया जिन्दगीको अभिन्न अंग हो, लाउनु र लगाउनु आफ्नो–आफ्नो ढंग हो।' 
००० 
सूर्यबहादुर थापासँगको सम्बन्ध 
म त्यतिखेर २४ वर्षको थिएँ।  
प्रधानमन्त्री सूर्यबहादुर थापाबाट बुबालाई बोलावट आयो। हामी बाबुछोरा प्रधानमन्त्री निवास पुग्यौं।  
'सरकारबाट जनमत संग्रह घोषणा भएको छ,' प्रधानमन्त्रीले भन्नुभयो, 'मैले जसरी पनि चुनाव सम्पन्न गराएर सुधारिएको पञ्चायतलाई जिताउनुछ।' 
सूर्यबहादुरजीसँग हाम्रो निकट सम्बन्ध छ। जुद्धशमशेरको पालादेखि विराटनगरमा रहेको उहाँको सारा मौजा हेर्ने काम हजुरबुबा र बुबाले नै गर्नुभएको थियो।  
'हामीले के गर्नुपर्‍यो प्रधानमन्त्रीज्यू?' बुबाले सोध्नुभयो।  
'चुनाव गराउन पैसा चाहिन्छ। तपाईंले सहयोग गर्नुपर्‍यो।' 
राजनीतिक दाउपेच नुबझ्ने हामीजस्तो साधारण व्यापारीले व्यवस्था परिवर्तनको कति गहिरो खेलमा प्रयोग हुने गइरहेथ्यौं भन्ने अनुमानै लाएनौं। यत्ति मात्र सोचाइ आयो, सरकारको निम्ति काम गर्न पाउनु भनेको उद्योग व्यवसायकोे अनन्त अवसर खुल्नु हो। सूर्यबहादुरजीबाट कुनै प्रस्ताव आएपछि पुरानो सम्बन्धका कारण बुबाले नाइँ भन्ने कुरै आएन। सूर्यबहादुरजीले अरू चार–पाँचजना व्यापारीलाई यसैगरी डाकेर सहयोग माग्नुभयो। करिब डेढ करोड रुपियाँ जम्मा भयो, जुन पञ्चायतलाई जिताउने चुनावी अभियानमा खर्च गरियो। यसैक्रममा तत्कालीन सरकारले गरेका कतिपय निर्णय विवादमा समेत आए। सर्पका छालाको व्यापार इजाजत र वनको लाइसेन्स प्रमुख छन्। हाम्रो सोच भने उद्योगसँग मात्र गाँसिएको थियो।  
जनमत संग्रहमा सुधारिएको पञ्चायत विजयी भएपछि मैले आफ्नो अनुभव र ज्ञानका आधारमा सूर्यबहादुरजीसँग तीनवटा कुरा मागें।  
मेरो पहिलो इच्छा थियो, नेसनल पानासोनिकको विस्तार। मैले भनें, 'नेसनल पानासोनिकको डिलरसीप लिइसकेको छु। अब पार्टपुर्जा आयात गरेर नेपालमै रेडियो उत्पादन गर्न चाहन्छु। मलाई रेडियो बनाउने लाइसेन्स दिनुपर्‍यो।  
सूर्यबहादुरजीले सहमति जनाउनुभयो।  
००० 
मैले किसुनजीलाई आफ्नो कथा सुनाएँ। उहाँले आफ्नै शैलीमा भन्नुभयो, 'विनोदबाबु, सिना तानके जाइए। कुछ फिकरका जरुरत नही है। कुछ नहीँ कर सकती है वो। उँगलियोंमे यिनका दिन गिननेका वक्त आ गया है। बल्की हमारे आन्दोलनको दिल खोलके मद्दत किजिए। आप हमको देखिए, हम उनको देखेंगे।' 
उहाँको आडभर पाएर म फुलेल भएँ। छाती चौडा भएर आयो।  
मैले प्रजातान्त्रिक आन्दोलनलाई आफ्नो बुताले भ्याएसम्म सहयोग गर्न थालें। प्रजातान्त्रिक कित्तामा उभिएपछि पे्रक्षा र उहाँका सहयोगीहरूले प्रत्यक्ष रूपमा मेरो केही बिगार गर्न सकेनन्। भित्रभित्रै राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई मविरुद्ध भड्काएँ भन्ने ठान्छु। किनकि, यो घटनापछि उहाँहरूसँग मेरो प्रत्यक्ष भेटघाट कहिल्यै भएन।  
त्यसको केही महिनामै जनआन्दोलनको आगो रन्किहाल्यो। प्रजातन्त्र पुनःस्थापनापछि पे्रक्षाले अधिवक्ता सुशील पन्तलाई एपोलो स्टिलको हिसाब राफसाफ गर्ने जिम्मा दिनुभयो। मैले आपसी छलफलबाट क्षतिपूर्ति हिसाब गरी चुक्ता गरेर धीरेन्द्रको सेयर आफ्नो नाममा सारें।  
२०४६ को जनआन्दोलन सफल नभइदिएको भए मेरो पत्तासाफ हुन्थ्यो। यो पक्का हो।  
००० 
गिरिजाबाबु र म  
'गिरिजाबाबु आउनुभएको छ। तपाईंलाई भेट्न खोज्दै हुनुहुन्छ।' 
एकजना सहयोगी हुरिँदै मेरो अफिस कोठाभित्र छिर्‍यो।  
२०३५/३६ सालतिर मैले भर्खरै विराटनगरको पशुपति बिस्कुट सम्हाल्न थालेको थिएँ। बढी समय विराटनगरमै बिताउँथे। खबर सुन्नेबित्तिकै दौडिँदै बाहिर निस्कें। बाहिर एउटा पुरानो जिप थियो, क्यानभासको हुड भएको। जिपको टायरले उडाएको धूलो हावाबाट पूरै छ्यांगिएकै थिएन।  
म नजिक गएँ। एकजना दुब्लो–पातलो मान्छे जिपबाट ओर्लिए। साथमा अरू दुई/चारजना थिए।  
मैले पहिलोचोटि गिरिजाबाबुलाई देखेको त्यही बेला हो। त्यसअघि नाम मात्र सुनेको थिएँ।  
उहाँ अफिस कोठामा आउनुभयो। 'तपाईंको बुबासँग हाम्रो राम्रो सम्बन्ध छ', उहाँले भन्नुभयो, 'अहिले तपाईं यहाँ आउनुभएको थाहा पाएर भेट्न आएको।' 
मैले टाउको हल्लाएँ।  
'लूनकरणजीबाट हामीले धेरै सहयोग पाइरहेका छौं। तपाईंबाट पनि सहयोगको आशा राख्छांै', गिरिजाबाबुले भेट्न आउनुको कारण खुलाउनुभयो, 'आन्दोलनको बेला छ, पार्टीलाई सहयोग गर्नुपर्‍यो।' 
उहाँ पन्ध्र मिनेटजति बसेर फर्किनुभयो।  
००० 
एमालेसँगको सम्बन्ध 
०५६ को आमनिर्वाचनपछि मलाई एमालेले माथिल्लो सदनमा प्रतिनिधित्व गराउने प्रस्ताव राख्यो। 'माथिल्लो सदनमा सबै दलका रहलपहल अंक छन्', एमालेले भन्यो, 'हाम्रो अंकले मात्र एकजनालाई प्रतिनिधित्व गराउन पुग्दैन, तपाईंले राप्रपा र सद्भावनासँग कुरा मिलाउनुभयो भने उनीहरूसँग बाँकी भएका अंक र हाम्रोसमेत जोडेर एउटा सिट निस्कन्छ। तपाईं आउनुस्, हामी तपार्इंलाई समर्थन गछर्ौं।' 
मैले यसलाई सकारात्मक रूपमा लिएँ। माधवकुमार नेपाल, केपी ओली, भरतमोहन अधिकारी, ईश्वर पोखरेललगायत प्रमुख नेतासँग यसबारे छलफल भयो। कमरेड ओलीले मेरै अगाडि राप्रपाका पशुपतिशमशेर राणालाई फोन गरेर मेरो नाम प्रस्ताव गर्नुभयो।  
'तपाईंहरू विनोद चौधरीलाई लिन तयार हुनुहुन्छ भने हामी पनि समर्थन गर्छौं', उहाँले टेलिफोनमा भन्नुभयो।  
त्यतिखेर पशुपतिशमशेरजी र सूर्यबहादुरजी फुटिसक्नुभएको थिएन। सूर्यबहादुरजीले मलाई समर्थन नगर्ने कुरै आएन। हुन त दुई पार्टीको मात्र बाँकी अंक मिलाउँदा एउटा सिट सजिलै आउँथ्यो, तर मैले सद्भावनालाई पनि विश्वासमा लिन चाहें। सद्भावनाका बद्री मण्डल, हृदयेश त्रिपाठीसँग मेरो कुरा भयो। उहाँ राजी हुनुभयो।  
सदनमै बसेर राजनीतिक गतिविधिमा प्रत्यक्ष संलग्न हुने अवसर जुदर्ैै थियो। गैरराजनीतिक व्यक्ति भइकन पनि जानी–नजानी राजनीतिक दाउपेचमा समाहित भइरहेको थिएँ। बाहिर रहेरभन्दा भित्रै बसेर अझ ठूलो योगदान गर्न सकिन्छ भन्ने मेरो ठम्याइ रह्यो। म निकै आशावादी भएँ। राष्ट्रियसभामा आफ्नो नाम घोषणा हुने दिन गन्ती गर्न थालें।  
जसोजसो प्रतिनिधि घोषणा हुने दिन नजिकिँदै गयो, वाचा गर्ने दलहरू सम्पर्कबाट टाढा–टाढा हुँदै गएको मलाई लाग्यो।  
यसबीच राप्रपा तर्फबाट कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले त्यही सिटका लागि एमालेसँग संवाद गरिरहेको खबर आयो। केही दिनमै खबर पुष्टि भयो। मकवानपुरका एकजना राप्रपा नेतालाई माथिल्लो सदनमा प्रतिनिधित्व गराउन एमाले सहमत भएछ।  
००० 
केही दिनपछि म एमाले पार्टी कार्यालय बल्खुमा गएँ। स्थायी समिति बैठक बसिरहेको रहेछ। म खबरै नपुर्‍याई बैठक कोठाभित्र छिरें। सारा नेताहरू थिए। सबैले ट्वाल्ल परेर मलाई हेरे। जानेबित्तिकै भनें, 'के हो यस्तो? तपाईंहरूले त मलाई बेइज्जत हुने स्थितिमा पुर्‍याइदिनुभयो। तपाईंहरूको अरू केही योजना थियो भने बेकारमा मलाई किन घिच्याएर सामेल गराउनुभयो?' 
माधव नेपालजीले सम्झाउन खोज्नुभयो। 'हैन, यो एउटा बृहत् सहमतिअन्तर्गत हुन गइरहेको हो', उहाँले भन्नुभयो, 'तपाईंलाई अप्ठेरो पार्न होइन। तपाईंले यसलाई आफूसँग मात्र जोडेर हेर्नुभएन ...' 
मैले सबैको सामुन्ने भनिदिएँ, 'महासचिवज्यू, मैले आफूलाई हेरेर भनेको होइन, तपाईंहरूले नै मलाई आश्वासन दिनुभएको हो। कुनै किसिमको बाध्यता थियो भने त्यतिखेरै मलाई अगाडि नबढाउनुभएको भए हुन्थ्यो। अहिले यसमा मेरो प्रतिष्ठा नै दाउमा परिसकेको छ।' 
यत्ति भनेर म फरक्क फर्कें। उहाँहरू मलाई रोक्न खोज्दै हुनुहुन्थ्यो। मैले वास्तै गरिनँ।  
पछि प्रदीप नेपालजी सम्झाउन आउनुभयो। 'तपाईंलाई हामी नवलपरासीको १ नम्बर सिट दिन्छौं', उहाँले भन्नुभयो, 'तपाईंको त्यहाँ चौधरी उद्योग ग्राम छ। त्यो ठाउँमा ठूलो योगदान गर्नुभएको छ। त्यही विचार गरेर हामीले माथिल्लो सदनको त्यो सिटका लागि राप्रपासँग तालमेल गरेका हौं। त्यो सिट राप्रपालाई दिँदा उसको एउटा मकवानपुरको मान्छे आउने र त्यसको बदलामा उनीहरूले दाङको निर्वाचनमा हामीलाई मद्दत गर्ने कुरा भएको हो।


---विनोद चौधरी 
माघ २४, बुधबार
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis