नेपाल धेरै हवाई दुर्घटना हुने देशमध्ये पर्छ । हरेक दुर्घटनापछि छानबिन आयोग बन्छन् र प्रतिवेदन बुझाउँछन् । तर, उडान सुरक्षित गर्न दिइएका सुझाव कार्यान्वयन हुँदैनन् । कतिसम्म भने प्राविधिक गडबडी देखिएका जहाजसमेत पर्याप्त परीक्षणबिनै उडाइन्छन् । यात्रु र चालक दल जोखिम मोलेर उड्नुपर्ने बाध्यता हुन्छ ।
पुसको दोस्रो साता गोमा एयरको सिंगल इन्जिन जहाजबाट जुम्ला उड्नुअघि नेपालगन्ज विमानस्थलमा यात्रुले प्रत्यक्ष नै जहाजको दुर्दशा देखे, जुन यस्तो थियो : जहाज नेपालगन्जमा अवतरण हुनासाथ प्राविधिकहरू मर्मत गर्न जुटे । पंखा खोले, इन्जिनको कभर भताभुंग पारे । पार्किङ् स्थलबाट मजदुर लगाएर धकेल्दै जहाजलाई किनारमा लगे । र अन्त्यमा, 'ठीकै रहेछ आउनूस्' भन्दै जुम्ला जाने यात्रुलाई बोलाए । जहाज चढ्नुअघि पनि गोमा एयरका नेपालगन्ज स्टेसन प्रमुख दीपक शाह भन्दै थिए, "मोटामोटा अघिल्तिर बस्नूस्, पातलाजति पछाडि ।" यात्रु चढिसकेपछि उनले बाहिरबाट ढ्याप्प ढोका लगाइदिए । त्यो सम्पूर्ण दृश्य हेरिरहेका यात्रुहरू डराई डराई उडे । धन्य, यात्राचाहिँ सकुशल रह्यो ।
नेपालगन्ज विमानस्थलमा अवतरण गर्दा
अवतरित जहाजको पंखा खोल्दै प्राविधिक, फोनमार्फत इन्जिनियरसँग परामर्शमा
मर्मतका क्रममा जहाज
मोटा यात्रुलाई अघि बस्न भन्दै स्टेसन प्रमुख दीपक शाह (कालो-रातो स्वीटर लगाएका)
जहाजबाट खिचिएको जुम्ला उपत्यकाको तस्बिर