सरकारी संयन्त्रमा समन्वयको हालत कस्तो छ भन्ने २९ फागुनको सार्वजनिक बिदाले प्रस्टै पार्यो। एक महिनाअघि मनाइएको शेर्पा समुदायको चाड ग्याल्पो ल्होसारबारे न गृह मन्त्रालयले पत्तो पायो, न सार्वजनिक बिदाको सिफारसि गर्ने पञ्चांग निर्णायक समितिले। सोही दिन राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताले ग्याल्पो ल्होसारका
अवसरमा शुभकामना दिए। तर, त्यसले लक्षित शेर्पा समुदायलाई कुनै उल्लास दिन सकेन।सञ्चारमाध्यमहरूमा ख्यालख्यालैको बिदाबारे अनेकन् टिप्पणी आउन थालेपछि एउटा निकायले अर्को निकायलाई दोष लगाएर पानीमाथिको ओभानो हुने शृखंला नै चल्यो। शेर्पा समुदायका संस्थाहरूले फोस्रो शुभकामना र बिदाप्रति हुस्सु सरकारलाई नै व्यंग्य गरे। बिदाको सिफारसि स्वीकार्ने गृह मन्त्रालयले पञ्चांग निर्णायक समितिलाई दोष लगायो। र, समितिले एक वर्षपहिले नै बनाइएको क्यालेन्डर भन्दै पन्छिन खोज्यो। दोष कसको हो, आफैँ पत्ता लगाउनूस् र बुझ्नूस्।
- नारायण अमृत, नेपाल