CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » विनोद चौधरी गरिब कि उपेन्द्र महतो गरिब ?

विनोद चौधरी गरिब कि उपेन्द्र महतो गरिब ?


विनोद चौधरीभन्दा उपेन्द्र महतो गरिब ?

कति सम्पति छ महतोसित ?

रुस र बेलारुसलाई केन्द्र बनाएर महतोले युरोप, अफ्रिका, एसिया र नेपालसम्म लगानी गरेका छन्। नेपालमा सबैभन्दा धेरै कर तिर्नेमा दोस्रो र सबैभन्दा बढी नाफा कमाउने कम्पनी एनसेलको २० प्रतिशतको साझेदार हुन् महतो। खासमा एनसेलको पुरानो नाम मेरो मोबाइल छँदा उपेन्द्र महतो कै नेतृत्वमा सञ्चालन भएको थियो। पछि युरोपको टेलियासोनेरालाई उनले ८० प्रतिशत शेयर बेचेका थिए। पछि फेरि उनले निरजगोविन्द श्रेष्ठलाई २० प्रतिशत सेयर हस्तान्तरण गरेका थिए। टेलियासोनेराका अनुसार त्यो २० प्रतिशत सेयर पनि उसले किनिसकेको छ।
त्यसैगरी हेलो नेपाल ब्रान्डको नेपाल स्याटेलाइटमा पनि उपेन्द्र महतोको साइप्रसी कम्पनी एअरवेलले ७५ प्रतिशत लगानी गरेको थियो। गत मे २०१२ मा टेलियासोनेराले एअरवेलको नाममा रहेको १०० प्रतिशत सेयर किनिसकेको छ। २८ मिलियन डलरभन्दा बढी त यो हेलो नेपालको सेयर बेचेर मात्रै उनले कमाएका छन्। एनसेल जस्तो चलेको कम्पनीको सेयर झन् कतिमा बिक्री भयो होला, आफै अनुमान लगाउनुस्। एनसेल र नेपाल स्याटेलाइटको सेयर बेचेर मात्रै २४ अर्ब रुपियाँ महतोले लगेको एउटा हचुवा अनुमान छ। एनसेलको सेयर बेचेवापत् करमात्रै उनले ६० करोड रुपियाँ तिरेका छन्।
यो त भयो उनको लगानी र सम्पतिको एक सानो पाटोमात्रै। नेपालमा त्यसबाहेक सानिमा विकास बैंक, सानिमा हाइड्रोपावर, स्टेन्डर्ड फाइनान्स, एक्मी कलेज अफ इन्जिनियरिङ, कान्तिपुर टेलिभिजन, शिखर इन्सुरेन्स, मेडिकेयर हस्पिटल आदिमा उनको लगानी छ।
नयाँ पत्रिकामा उनको विदेशमा लगानी बारे फेहरिस्त नै छापिएको थियो केही वर्षअगाडि। त्यस अनुसार मस्कोमा उनले सबैभन्दा ठूलो लगानी रियलस्टेट र विद्युतीय उपकरण उत्पादन कम्पनीमा गरेका छन्। बेलारुसमा उनले हेभी इक्युपमेन्ट उत्पादन, स्वास्थ्य, बैंक, कृषि, वन र तेल उत्खनन्मा लगानी गरेका छन्।
रुसमा लगानी-
रुसको एमटिजेड (मस्को टेलिभिजन प्लान्ट) रुविनमा, यो टेलिभिजन सेट उत्पादन गर्ने कम्पनी हो।
रियलस्टेट कम्पनी रुविनमा लगानी। रुविनले मस्कोमा ‘बिजनेस सेन्टर रुविन’ निर्माण गरेको छ, रेस्टुरेन्ट, सम्मेलन केन्द्र, व्यापारिक स्थल भएको यो सेन्टर मस्कोको व्यापारिक केन्द्र पनि हो। बहुउद्देश्यीय व्यापारिक कम्प्लेक्स फिलीओनमा पनि रुविनको स्वामित्व। तीन दशमलव ४७ हेक्टर क्षेत्रफलमा फैलिएको यो कम्प्लेक्समा चारतले सपिङ मल, रेस्टुरेन्ट, मनोरञ्जन हललगायत १५ सय गाडी अट्ने पार्किङ सुविधा।
रुविनको स्वामित्वमा होटल एन्ड बिजनेस सेन्टर, सेन्टरमा २५ तला, १३ तला र ६ तलाको होटल रहनेछ भने तीनतले भूमिगत पार्किङ। त्यस्तै रुविनको स्वामित्वमा मस्कोमै ‘वेस्ट साइड’ र ‘इजोमरुद’ नाम गरेका दुइटा आवासीय कम्प्लेक्स। २४ तलाको वेस्ट साइड आवासीय कम्प्लेक्समा २ सय १९ अपार्टमेन्ट छन् भने इजोमरुदमा एक सय अपार्टमेन्ट।
रुविनसँग मस्कोको ‘टिसी गोर्वुस्किन द्भोर’ सपिङ मलको स्वामित्व। युरोपको सम्भवत सबैभन्दा ठूलो विद्युतीय तथा घरायसी सामग्री बिक्री गर्ने यो मलमा ६० हजार स्क्वायर मिटरको क्षेत्रफल छ। यो मलमा महिनामा १५ देखि २० लाख उपभोक्ता पुग्ने गर्छन्।
बेलारुसमा लगानी
डोजर, क्रेनजस्ता हेभी इक्युपमेन्ट उत्पादन गर्ने कम्पनी ‘अम्कोडर। अम्कोडरका उत्पादन भने ३५ मुलुकमा बिक्री हुन्छन्। यो बेलारुसको सबैभन्दा बढी रोजगारी दिने, सबैभन्दा बढी रकमको कारोवार गर्ने कम्पनी हो। यो कम्पनीले सन् २०११ मा मात्रै २६ अर्ब डलरको कारोवार गरेको थियो। यसमा उपेन्द्र महतो एक्लैको ६० प्रतिशत सेयर लगानी छ।
क्राभिरा अस्पताल। क्राभिराले बेलारुसमा औषधि उत्पादन तथा बजारीकरणका लागि पनि काम गर्न खोजिरहेको छ।
बेलारुसको सबैभन्दा ठूलो बैंक अल्फा बैंकमा पनि लगानी।
पेट्रोलियम पदार्थ उत्खनन तथा बिक्री गर्ने, युरेनियम उत्खनन् गर्ने कम्पनीमा लगानी।
बिजमान्डुका अनुसार उपेन्द्रसँग साइप्रसको टाइमटर्न होल्डिङ्गस् कम्पनी छ, यही कम्पनीले कम्बोडियामा लाटेलज, बुरुण्डीमा लासेल सु, सेरालिओनमा इन्टरग्रुप टेलिकम, तान्जानियामा बेनसन इन्फोम्याटिकस, युगाण्डामा स्योर टेलिकम र कंगोमा योज्मा टाइमटर्न एसपिआर कम्पनी चलाइरहेको छ।

फोर्ब्सले सूचि यसरी बनाउँछ

कसैले भन्लान्, उनी त एनआरएन पो त। एनआरएन भनेको पनि ‘मान्छे’ नै हुन्। त्यो सूचि विश्वका धनी मान्छेको नै हो। उपेन्द्र महतोले रुस र बेलारुसलाई केन्द्र बनाएर विश्वका विभिन्न ठाउँमा व्यापार गरिरहे पनि उनी नेपाली मूलका विदेशी नागरिक नभएर अझै पनि नेपाली पासपोर्ट प्रयोग गर्ने नेपाली नागरिक नै हुन्। फोर्ब्सले धनीको सूचिमा राख्न कुनै एक देशमा मात्र गरेको व्यवसायलाई हेर्दैन। स्वयं चौधरीले पनि आफ्नो अधिकांश सम्पति नेपाल बाहिरको व्यवसायबाट कमाएको फोर्ब्सले उल्लेख गरेको छ। त्यसो भए महतो चाहिँ किन छैनन् त सूचिमा ?
यो थाहा पाउन फोर्ब्सले अर्बपतिहरुको सूचि कसरी बनाउँछ, त्यो थाहा पाउन जरुरी हुन्छ। फोर्ब्सले संसारभरका अर्बपतिहरुको सूचि बनाउन दुई वटा उपाय अपनाउँछ। या त कसैले मेरो अर्ब डलर सम्पति छ है भनी विवरण फोर्ब्समा बुझाउन आउनु पर्‍यो, या फोर्ब्सको नजरमा योसँग चाहिँ अर्ब डलर सम्पति छ है भनी पर्नुपर्‍यो। कसैले विवरण बुझाउन आए पनि वा फोर्ब्सकै नजरमा परे पनि त्यसलाई पुष्टि गर्न उसले प्रमाणहरु संकलन गर्छ र विभिन्न अनुसन्धान गर्छ। स्टक प्राइस र एक्सचेन्ज रेटका आधारमा उसले सम्पति गणना गर्छ।

चौधरीलाई प्रचार चाहिन्छ, महतोलाई आवश्यकै छैन

चौधरी प्रचारमुखी व्यक्ति हुन्। उनलाई नेपालको सबैभन्दा ठूलो धनी कहलाउन निकै रहर छ। त्यसैले उनले आफ्नो एक अर्ब डलर सम्पति रहेको कागजातसहितको प्रमाण आफै फोर्ब्समा बुझाएका हुन्। यसलाई उनले नेपाली मिडियाहरुसँगको अन्तर्वार्तामा पनि खुलाएका छन्। पाँच वर्ष अघि पनि हाफ बिलिनियर्स (५०० मिलियन डलर सम्पति) का मालिकका रुपमा फोर्ब्सले उनको प्रोफाइल छापेको थियो। सिंगापुरलाई केन्द्र बनाएर खोलेको कम्पनीमार्फत् विदेशमा गरिएका लगानी, मेहनत र चातुर्यले उनले पाँच वर्षमा थप ५०० मिलियन डलर कमाए, प्रमाण दिए र नेपालको पहिलो बिलिनियर्स सूचिमा रहने व्यक्ति भए। उनको यो व्यक्तिगत उपलब्धिलाई कसैले नकार्न सक्दैन। त्यो सूचिमा रहेपछि उनले आफूमाथि परेको भ्याट छलीको कालो दाग छोप्ने प्रयास गर्नेछन्। (स्मरण रहोस्, यो भ्याट छली अरु जस्तो कर नतिरेको नभई उपभोक्ताले तिरेको कर सरकारी ढुकुटीमा राख्नुपर्नेमा नक्कली बिल बिजक बनाई तिर्दैनतिरी तिरिसकेको भन्दै ठगी गरेको केस थियो। यसलाई पूर्व अर्थ सचिव रामेश्वर खनालले नक्कली नोट छापेसरहको अपराधको संज्ञा दिएका थिए)
फोर्ब्समा सूचिकृत अर्बपतिको रुपमा उनले नेपालको राजनीति र अर्थनीतिमा धाक र प्रभाव जमाउन गर्ने प्रयास हेर्न लायक हुनेछ। प्रचार र प्रभाव चाहिएकै भएर उनी विघटित संविधान सभामा एमाले सभासद पनि भए। उता महतोलाई यो सब आवश्यक छैन। उनी अगाडि नदेखिएरै सब कुराको सेटिङ मिलाउँछन्। कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा सुमार्गीको नाममा लगानी गर्न लगाएर पछि आफैले हेलो नेपालको सेयर किन्दै टेलियासोनेरालाई बेचेकोसम्मका कुरा पर्दापछाडि सेटिङ मिलाएर भएका हुन्। यसो गर्न उनलाई कुनै दलको सभासद भइराख्न पनि परेन। सभासद भएवापतको घरभाडा रकम लिइराख्न पनि परेन। एनआरएनमा जोसुकै अध्यक्ष निर्वाचित होउन्, उनी जतिको बोली बिक्ने र नेतृत्व क्षमता कसैसँग भएन। रामदेवलाई काठमाडौँ ल्याउन होस् कि भारतको तिरुपति बालाजीको मूर्तिलाई नेपाल घुमाउन होस्, महतो सक्रिय भइरहन्छन्। सभासद किन हुनुपर्‍यो, रामदेवलाई नेपाल बोलाएर उनको कार्यक्रममा राष्ट्रपतिदेखि शीर्ष नेतासम्म सबैलाई उपस्थित गराउने हैसियत राख्छन् उनी।
महतोले झण्डै साढे दुई करोड रुपियाँ तराई क्षेत्रमा ६ वटा स्कूल खोल्न दान दिइरहँदा चौधरी भने चार विद्यार्थीलाई जनही पाँच हजार रुपियाँको छात्रवृत्ति दिएको खबर तस्बिरसहित पत्रिकाहरुमा छपाउन लालायित भइरहन्छन्। (सन्दर्भः बायाँ छापिएको कान्तिपुरको समाचार) प्रचारमुखी चौधरीको अर्को अस्त्रमात्रै हो फोर्ब्सको सूचि, जुन महतोलाई नभए पनि हुन्छ। त्यसैले उनी आफ्नो सम्पति कति छ खुलाउन चाहँदैनन्। अन्तर्वार्ताहरुमा भन्छन्- ‘एउटा उद्यमीको सम्पत्ति ऊसँग भएको नगद होइन, उसको लगानीको बजार मूल्य हो, म आफ्नो सम्पत्ति यतिउति छ भन्न चाहन्नँ । तर, राम्रै अवस्थामा छु, धेरै धनी हुने इच्छा छैन, तर मनले निक्कै धनी छु।’ धन देखाएरै धाक जमाउन आवश्यक नभएकोले उनी फोर्ब्स धाउँदैनन्। अरबौँको भिडमा फोर्ब्सको नजरमा पनि उनी परेका छैनन्।

समाजका लागि के दिए?

आनन्द कृष्णनलाई चिन्नुहुन्छ ? बुलात उटेमुराटोमलाई नि ? पंकज पटेललाई चिन्नुहुन्छ त ? तपाईँहरु मध्ये धेरैले पक्कै चिन्नुभएन। पहिलो नाम मलेसियाका ११.७ बिलियनका धनी, दोस्रो कजाखस्तानका २.२ बिलियन धनी र तेस्रो छिमेकी देश भारतका २.१ बिलियन धनी व्यक्ति हुन्। तपाईँले यिनीहरुको नामै चिन्नुभएन भने उनीहरुले देशको नाम राखे कसरी भन्नु ! विनोद चौधरी पनि त्यस्तै सूचिमा हराउने नाम हो। फोर्ब्सको सूचिमा नाम पर्नु व्यक्तिगत उपलब्धि पक्कै हो तर उनले अन्तर्वार्ताहरुमा भने जस्तो बुद्ध र सगरमाथाको कोटीमा राखेर देशले गर्व गर्नुपर्ने विषय हैन। जसरी आनन्द, बुलात र पंकजलाई हामी चिन्दैनौँ, चौधरीलाई अरुले चिन्दैनन्। व्यक्तिगत उपलब्धिलाई थोरै समाजका लागि योगदान दिने हो भने समाज र देशले गर्व गर्ने मौका पाउनेछ। चौधरीभन्दा महतो यो मामिलामा धेरै अगाडि छन्। उनी करोडौँको दान एकै पटकमा दिन्छन्। पशुपतिमा क्रियापुत्री भवन बनाउन उनले चार करोड दान दिए। आमा फुलकुमारी महतोको नाममा खोलिएको ट्रस्टबाट करिब २२ करोड रुपैयाँ सामाजिक परोपकारी काममा उनले दान दिएका छन्। आफू जन्मेको स्थानमा अस्पताल बनाउन होस् कि देवघाटमा वृद्धाश्रम बनाउन करोडौँ रुपैयाँ दान दिएका छन्। ५० लाख रुपियाँ व्यक्तिगत लगानीमा बाटो बनाउँछन् र मन्त्रीलाई उद्‌घाटन गर्न लगाउँछन्। फोर्ब्सको सूचिका आधारमा चौधरीभन्दा महतो गरिबै देखिए पनि समाजलाई दिने मामिलामा भने चौधरी निकै गरिब देखिन्छन्। नेपालका पहिलो अर्बपतिका रुपमा आफ्नै कर्मचारीहरुले सम्मान गरेको फोटो आजका पत्रिकाहरुमा छापिएको देखियो। अर्बपतिका रुपमा हैन समाजलाई योगदान गरेवापत उनलाई समाज र देशले पनि सम्मान गर्ने वातावरण बनोस्, चौधरीलाई शुभकामना! हैन, सूचिमा नै रहने रहर गर्ने हो भने अर्को विश्वप्रख्यात सूचि ब्लुमबर्ग बिलिनियर्समा पनि नाम छाप्ने सुरसार कस्नोस्, त्यसका लागि पनि शुभकामना !
By Salokya, on mysansar on March 7th, 2013
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis