CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » किन मारिए पूर्व सभासद् सदरुल ?

किन मारिए पूर्व सभासद् सदरुल ?

विजयप्रसाद मिश्र–सदरुल मियाँको धेरैसँग दुस्मनी थियो । तीमध्ये बंगलादेशी नागरिक सुब्रतो विनसँगको आर्थिक लेनदेन र आफ्नै सालो असलमसँगको व्यापारिक कारोबारमा भएको हेराफेरी सबैभन्दा ठूलो थियो । यसबाहेक श्रीमती नुरजहाँ र विसनपुर मस्जिदका मौलाना नुरजमानबीचको सम्बन्धका कारण उठेका पारिवारिक विवाद पनि ठूलै मामिला बनेको थियो ।
 बंगलादेशी नागरिक विनले सुनसरीबाट अली असरफको नाममा
नक्कली नागरिकता लिएका थिए । सोही काण्डमा सुनसरीको झुम्का जेल परेका वेला विनले आफ्नी श्रीमतीमार्फत सदरुलसँग सम्बन्ध बनाएका थिए । नेपाल प्रहरीले विनको नाम इन्टरपोलमा राख्न खोजेपछि त्यसलाई रोक्न विनले सभासद् सदरुललाई प्रयोग गरेका थिए । विनले श्रीमतीमार्फत सदरुललाई १८ लाख (भारु) दिएका थिए । तर, सदरुलले काम गर्न नसकेपछि विनले पैसा फिर्ता मागे । सदरुलले पैसा फिर्ता गर्न आनाकानी गरेपछि विवाद लम्बिँदै गयो । र, उनलाई बारम्बार मार्ने धम्की आउन थाल्यो ।
सदरुल, सुब्रतो र धीरेन्द्र यादव
स्वतन्त्र भए पनि सदरुलले एकीकृत माओवादीलाई समर्थन गरेका थिए र सम्बन्ध पनि राम्रो थियो । त्यसैले सदरुलले सहयोग गर्नसक्ने विश्वास विनलाई थियो । झुम्का जेल तोडेर विनसँगै फरार भएका अर्का अभियुक्त धीरेन्द्र यादवले स्थानीय सञ्चारकर्मीलाई बताएका थिए— इटहरीमा बसिरहेकी विनकी श्रीमतीले सदरुललाई पटक–पटक गरी १८ लाख भारु दिएकी थिइन् । यी धीरेन्द्र पनि नेपाली नागरिकता लिएर नेपालमा बसिरहेका थिए । उनी भारतको मोस्ट वान्टेड अपराधीको सूचीमा परेका थिए । यी यादवले ०६३ माघ ८ गते कृषि विकास बैंक राजविराज शाखाका प्रबन्धक विक्रम साहको हत्या गरेका थिए । त्यसैको सजाय काट्न काठमाडौंको जेलमा थिए । ०६८ कात्र्तिक ३० गते यादवलाई सरुवा गरेर झुम्का जेलमा ल्याइयो । यहाँ विन र यादवको संयुक्त अपराध मोर्चा बनेपछि झुम्का जेल तोड्ने योजना बनेको थियो । धीरेन्द्र भन्छन्, ‘झुम्का जेल तोड्ने तारतम्य मिलाउन मात्रै तीन करोड जति खर्च भयो ।’
यसअघि सुब्रतो विन र धीरेन्द्र यादवले सदरुलमार्फत हाल ड्यास माओवादीमा रहेकी एक सभासद्सँग सम्पर्क गरे । धीरेन्द्र यादवले खुलासा गरे, ती सभासद्ले उनीहरूलाई जेलबाट छुटाइदिन तत्कालीन गृहमन्त्री कृष्णबहादुर महराकहाँ कुरो पुर्‍याइन् । तर, महराले ठाडै अस्वीकार गरेपछि सदरुल संकटमा परे । सदरुलले पैसा लिएर पनि काम गराउन सकेनन् । नेपाल प्रहरीले विनलाई इन्टरपोलको मोस्ट वान्टेड सूचीमा राखिदिएपछि त मामिला झन् बिग्रन गयो । सुब्रतो विन, अन्डरवल्र्ड डन दाउद इब्राहिमको बंगलादेश हेर्ने प्रतिनिधिका रूपमा कार्यरत रहेको र उनले बंगलादेशमा ठूला अपराध गरेका समाचार बंगलादेशमा प्रकाशित भइरहेका थिए । सुब्रतो विनको संकट गहिरिँदै थियो ।
यसैबीच ०६९ कात्तिक २३ गते राति सुनसरीको झुम्का जेल तोडियो । त्यसै रात जेलबाट सुब्रतो विन र धीरेन्द्र यादवसहित आठ अपराधी भागे । धीरेन्द्र यादव सुनसरीको सीमाक्षेत्रबाट तुरुन्तै पक्राउ परे भने सुब्रतो विनलाई चाहिँ भारतीय प्रहरीले १९ दिनपछि कलकत्ताबाट पक्राउ गर्‍यो । यसपछि भारत र बंगलादेशबीच अपराधी साटासाट गर्ने कूटनीतिक पहल सुरु भयो । दुई देशबीच गृहमन्त्रीस्तरमा सुब्रतो विन र ‘उल्फा’का महासचिव अनुप चैत्यको साटासाट गर्ने सहमति भयो । तर, दुवै देशको मन्त्री परिषद्ले कुनै निर्णय लिएको छैन ।
भारतले सुब्रतोलाई जाली भारुको कारोबार गरेको अभियोग लगाएर जेलमा राखेपछि सदरुललाई भारतीय सीमाबाट लगातार फोनमा मार्ने धम्की आउन थाल्यो । नेपालमा नक्कली भारु कारोबार गरेको आरोपमा तीन वर्ष सिराहा जेलमा बसिसकेका सिराहा चतरीका ऐनुल सेख पनि सदरुल हत्यामा संलग्न रहेको देखिएपछि मामिलाले गम्भीर मोड लियो । यी ऐनुल सेखको सम्बन्ध धीरेन्द्र यादव र सुब्रतो विनसँग पनि थियो ।
सदरुलका हत्यारा
सदरुलको हत्या राति सुतेकै अवस्थामा ओछ्यानमै धारिलो हतियार प्रयोग गरेर घाँटी रेटेर (हलाल गरेर) भएको थियो । यस हत्याको आरोपमा राजविराज जेलमा रहेका चाँदबाबु भन्ने अब्दुल रउफले बताए, म साउदीबाट ०७० सालको बैशाखमा घर फर्कें । मेरो, ऐनुल र जमिरुल सेखको घर एउटै गाउँमा छ । घटनाको दिन हामी तीनैजना एउटै मोटरसाइकल चढेर विसनपुरा गयौँ । घटनापछि राति एक बजेतिर, जमिरुल र ऐनुल सेख मोटरसाइकलबाटै लहान गए । मचाहिँ रात्रि बस चढेर लहानको घर आएँ । खुट्टीखोलामा जमिरुल र ऐनुलसँग भेट गरेँ । ऐनुलले केही पैसा र एउटा फुटेको मोबाइल दिएर मलाई विराटनगर पठाए । त्यहाँको चाँदनी होटलमा सात दिन लुकेर बसेँ । पछि लहान जाँदा पक्राउ परेँ ।
घटना भएको २३ दिनपछि अब्दुल रउफ प्रहरीको कब्जामा परे । रउफलाई उनकी प्रेमिका बसन्तीले लहान चोकमा बोलाएकी थिइन् । प्रहरीले रउफको परिवारलाई भने जाली भारुको कारोबार गरेको आरोपमा पक्राउ गरेको बताएको थियो । जाली भारु खोज्ने सिलसिलामा रउफको घरमा छापा मार्दा प्रहरीले सदरुलले प्रयोग गर्ने मोबाइल सेट फेला पारे । यसपछि रउफलाई सदरुल हत्याको आरोपमा पक्राउ गरी राजविराज जेलमा राखियो । रउफकी श्रीमती रुखसाना भन्छिन्— भारतीय जाली नोटको काम गर्ने ऐनुलले मेरो श्रीमान्लाई फसाइदियो । ऐनुलले घटना हुनुभन्दा १०/१२ दिनअघिदेखि नै लगातार घरमा आएर रउफलाई कता–कता लैजाने गथ्र्यो ।
रुउफकी प्रेमिका बसन्ती भन्छिन्—‘विसनपुराको ठूलो मानिसले रउफको साथीको धेरै पैसा ठगेको थियो रे । रउफले त्यसलाई छोड्नु हुँदैन भन्थ्यो । ऐनुल र जमिरुल त सँगै उठबस गर्थे ।’
बसन्तीले थपिन्, ‘सदरुल घटनाको भोलिपल्टै मलाई रउफले बोलाएर विराटनगरको चाँदनी लजमा एक हप्ता श्रीमती बनाएर राखेको थियो । उसको चारवटा मोबाइल थियो । नबुझिने भाषामा कोकोसँग कुरा गरिरहन्थ्यो । ठूलो मान्छेको ठूलै दुस्मन हुन्छ, सदरुलको हत्या पनि ठूलै मान्छेले गराएको हो भन्थ्यो ।’ बसन्तीका अनुसार, सदरुलको हत्या भएपछि रउफले चिन्ता प्रकट गर्दै भनेको थियो, ‘सब बेकार भयो, पैसा फिर्ता आएन ।’
ऐनुलको रेटाइ
ऐनुल सेख, बाबा भनिने जमिरुल सेख र अब्दुल रउफ एकै गाउँका थिए । यी तीनैजना घटनाको दिन एउटै मोटरसाइकल चढेर विसनपुरा गएका थिए । प्रहरीले जेठ २३ गते पक्राउ गरेको अब्दुल रउफका अनुसार, सदरुल मियाँको घाँटी रेट्ने काम ऐनुलले गरेको थियो ।
इस्लामिक संघ नेपालका अध्यक्ष नजरुल हुसेनले बताए, सदरुलले ६ महिनाअघिदेखि नै आफ्नो ज्यानको खतरा रहेको बताएका थिए । यो हत्या बाहिरकै मानिसको योजनाबाट भएको हो । अपराधी प्रवृत्तिका जमिरुललाई सदरुलको घरमा भित्र्याउने काम तिनै योजनाकारले बनाएका हुन् । जमिरुलले छोरीलाई प्रेमजालमा फसायो । अनि, घटनाको दिन जमिरुलले सदरुलकी छोरी रुवेदा खातुनसँग पटक–पटक सम्पर्क गरेर बुबा कहाँ हुनुहुन्छ भनेर सोधेको थियो ।
जमिरुलकी प्रेमिका रुवेदाले भनिन्, ‘घटनाको दिन राति १० बजेतिर, बुबा पेट्रोल पम्पमा एक्लै सुत्न गएको कुरा मैले बाबालाई बताइदिएकी थिएँ । जमिरुलले दिउँसो, साँझ र रातितिर पनि लगातार सोधखोज गरिरहेको थियो ।’
सदरुलकी श्रीमती नुरजहाँ भन्छिन्, ‘विसनपुरा मदरसाका मौलाना नुरजमानले जेठी छोरीको झारफुक गराउन जमिरुललाई हाम्रो घर ल्याएका थिए । छोरीको झारफुक गरेकोले जमिरुललाई रु.४० हजार दिएकी थिएँ । उसले हाम्रो परिवारसँग राम्रो सम्बन्ध बनाएको थियो ।’
जमिरुललाई सदरुलको घरमा भित्र्याइदिने मौलाना नुरजमानलाई धेरै वर्षअघि सदरुलले बेइज्जती गरेर नराम्रोसँग कुटपिट गरेका थिए । स्थानीय बासिन्दाहरू भन्छन्, आफ्नी श्रीमती र नुरजमानबीचको सम्बन्ध शंकास्पद लागेपछि सदरुलले दुवैजनालाई नराम्रोसँग कुटपिट गरेका थिए । यसपछि नुरजमान सप्तरी जिल्ला छोडेर गए ।
सदरुलका छोरा हेमायु भन्छन्, ‘जमिरुललाई झारफुक गर्न मेरो घरमा ल्याउने नुरजमानसँग बुबाको झगडा परेको थियो । आमा र बहिनीले कुरा बुझेनन् । उसको बचाउ गरिरहे ।’
जमिरुलको धावा
लहान–५ मा स्थायी घर भएका पाँच छोराछोरीका बुबा ४० वर्षीय मोहम्मद जमिरुल सेख झारफुक गर्दै हिँड्ने हुनाले स्थानीयले ‘बाबा’ भनेर चिन्दथे । उनी लहानको मस्जिदको नाममा चन्दा उठाउँदै हिँड्थे । घटना हुनुभन्दा दुई वर्षअघि विसनपुरा मस्जिदका मौलाना नुरजमानको साथ लागेर यी बाबा सदरुलको घर पुगेका थिए । बाबा भनिने जमिरुल र ऐनुल दुवैजना जाली भारुको कारोबार पनि गर्दथे । सिराहा प्रहरीको रेकर्डमा पनि जमिरुललाई ‘शंकास्पद क्रियाकलापमा संलग्न’ रहेको भनी जनाइएको थियो ।
जनकपुरमा विवाह भएकी सदरुलकी जेठी छोरीको सन्तान नभएकोले उसलाई छोराछोरी हुने बनाइदिने भनेर विसनपुराका मौलवी नुरजमानले जमिरुललाई सदरुलको घरमा भित्र्याइदिएका थिए । जमिरुल स्थानीय स्तरमा मौलवी (इस्लामिक धर्मगुरु) भनेर पनि चिनिन्थ्यो । मस्जिदका लागि उठाएको चन्दाबाट आधा लिन्थ्यो ।
बसन्ती भन्छिन्, ‘रउफलाई विदेशबाट झिकाउने र घटनामा प्रयोग गर्ने काम त्यही बाबाले गरेको थियो ।’ स्थानीय बासिन्दा भन्छन्, हत्या हुनु एक साताअघि साँझ सात बजेतिर दुई अपरिचित सदरुलको विसनपुराको इटाभट्टामा आएर उनैलाई सदरुल कता छन् भनेर सोधेछन् । सदरुल आफैँले उनीहरूलाई ऊ त यहाँ छैन, बाहिर गएको छ भनेर फर्काएका रहेछन् । यसरी खोजी गर्ने मानिस एउटा कालो र अर्को गोरो, अग्लो व्यक्ति थिए । उनीहरूले आफ्नो घर सिरहा बताएकाले शंका लागी सदरुलले प्रहरीलाई खबर गरेका थिए । तर, कोही पक्राउ परेनन् । धेरैले तीमध्ये एक सिराहा चतरीका ऐनुल हुनसक्ने शंका गरेका थिए । ऐनुल सेख फरार छन् । उनी सुब्रतो विनको जाली नोट कारोबारका सहयोगी थिए ।
फरार जमिरुलले आफ्नो परिवारलाई दिएको जानकारीअनुसार उनीहरू भारतको मधुवनी जिल्लाको ग्रामीण भेगमा बसिरहेका छन् । मधुवनीमै सदरुलका साला असलमको घर पनि छ । नुरजमान भने नेपालकै सुनसरीको दक्षिणी भेगमा बसिरहेका छन् ।
भित्री दुस्मनी
पहिले सदरुलको परिवार गरिब थियो । मामा रहिमुद्दिनले उनलाई सानै उमेरमा दिल्ली लगेर लेदर सिलाइको काम सिकाएर सात वर्षमै मास्टर बनाइदिएका थिए । त्यसपछि सदरुलले कानपुर र मुम्बईमा काम गरे । मजदुरी गर्न कोरिया पनि गए । कोरियामा दुई–तीन वर्ष बसेर फर्केपछि कल्याणपुर गाविस—३ मा हेमायु काष्ठ मिल खोले । रहिमुद्दिनको आर्थिक साझेदारीमा कल्याणपुर गाविस—२ मा इटा उद्योग पनि खोले । पछि सदरुलले भट्टा नै एकलौटी बनाए ।
यसपछि सदरुलले साला असलमलाई मिलाएर बिहार कुशमाहीमा पनि इटाभट्टा खोले । त्यहाँ पनि पछि सालालाई हटाइदिए । आफूलाई उद्धार गरिदिने मामा रहिमुद्धिन र साला असलमसँग कटाक्ष परेपछि उनले सुनसरीमा पनि इटाभट्टा खोले । तर, यसमा घाटा लाग्यो । भट्टा नै बन्द भयो । यसपछि कृषि विकास बैंक कल्याणपुर र सनराइज बैंक राजविराजबाट ऋण लिएर पेट्रोलपम्प खोलेर चलाइरहेका थिए । त्यही पेट्रोलपम्पको घरमा उनी मारिए ।
मामा रहिमुद्धिन र साला असलमले हिसाब माग्दा सदरुलले क्रुर व्यवहार गरेका थिए । यसै घटनाले सदरुल र उनकी श्रीमती नुरजहाँबीच पनि वैमनस्य बढेको थियो । नुरजमानसँगको मामिलामा नुरजहाँको बेइज्जती गरेपछि र भाइको पैसा पचाएपछि श्रीमतीले पनि विद्रोह गरिरहेकी थिइन् । यसैबीच सदरुलका साला असलम अवैध हतियारसहित भारतमा पक्राउ परी जेल परे । उनी भारतीय जेलमा छँदै सदरुलमाथि विभिन्न आपत् आइपरे ।
आजाद काष्ठ उद्योगका मालिक विसनपुराका मोहम्मद इसराइल भन्छन्— हत्या हुनु चार महिनाअघि घरकै खाना खाँदा सदरुललाई उल्टी भयो । लहानको अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरको नोबेल अस्पताल लगियो । त्यहाँका डाक्टरले ‘फुड प्वाइजनिङ केस’ हो भने । बेहोस भएकाले भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । यसैवेला तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सदरुललाई हेर्न विराटनगर आए । त्यसैदिन राति काठमाडौं लान खोजे, तर मौसम खराब हुनाले प्लेन आएन । भोलिपल्ट बिहान नेपाली सेनाको हवाइजहाज मगाएर काठमाडौं लगियो । सदरुललाई हेर्न गृहमन्त्री विजयकुमार गच्छदार, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि आए । नर्भिकमा तीन दिन भेन्टिलेटरमा राखेर डा. रावल र जेपी जयसवालले उपचार गरेपछि उनी स्वस्थ भए ।
सप्तरीका अधिवक्ता अवधेशकुमार सिंहकी श्रीमती र सदरुललाई नर्भिक अस्पतालको एउटै कोठामा राखिएको थियो । श्रीमतीको हेरचाह गर्न बसेका सिंहले जिल्लाबासी भएकाले सदरुलसँग कुराकानी गरिरहन्थे । अवधेश भन्छन्, ‘एक दिन म हुँदा नै सदरुलको मोबाइलमा फोन आयो । उनी तनावमा थिए । फोन गर्नेलाई आक्रोशित हुँदै उनले भनेका थिए, ‘तुम क्या देखोगे, हम भी काट देंगे तुमको, आओ एकबार देखो, कौन क्या करता है ?’
अवधेशको अनुमानमा त्यसवेला सदरुललाई कतैबाट मार्ने धम्की आएको थियो । त्यसैले उनले म पनि कम छैन भनेर धम्की दिनेलाई तर्साइरहेका थिए । अवधेश सम्झन्छन्, ‘यही फोन संवादपछि सदरुल मानसिक रूपमा अस्वस्थ र चिन्तित हुन थाले ।’
कल्याणपुरका ३५ वर्षीय अयुफ राइन भन्छन्, मारिनुभन्दा ६ महिनाअघिदेखि नै सदरुलले ‘म मारिन्छु होला’ भनिरहेका थिए । उनी राजनीति गर्ने मान्छे । त्यसवेला नेपालमा मुसलमानहरूको लगातार हत्या भइरहेको थियो । केही अघि मात्र इस्लामिक संघ नेपालका केन्द्रीय सचिव फैजान अहमद काठमाडौंको घण्टाघरनजिक दिउँसै मारिएका थिए ।
संविधानसभा विघटन हुनुभन्दा तीन महिनाअघि सदरुल मुस्लिम इत्तेहाद संघर्ष समितिको संयोजक बनेका थिए । यो संस्था मुसलमानको पहिचानका लागि संघर्षरत थियो । अयुफ राइन भन्छन्, ‘यो हत्या राजनीतिक पनि हुन सक्छ ।’
खोरमा श्रीमती र छोरी
बुबाको हत्यारालाई सघाएको आरोपमा थुनामा रहेकी सदरुलकी छोरी रुवेदाले भनिन्, ‘बाबा भनिने जमिरुलले मलाई ठग्यो । मैले त दिलैदेखि प्रेम गरेकी थिएँ । पापाको हत्या भएको राति उसलाई मैले घरबाट लुकाएर खाना खुवाएकीे थिएँ ।’ यसैगरी हत्यामा सहयोगी रहेको आरोपमा राजविराज जेलमा रहेकी हककी श्रीमती ५० वर्षीया नुरजहाँ भन्छिन्, ‘मलाई केही मालुम छैन ।’
तर, नुरजहाँ खातुनको पक्षबाट मुद्दा हेरिरहेका अधिवक्ता नवीन सिंह भन्छन्, ‘प्रहरीले घटनाको कारण छोरीको प्रेमलाई मानेको छ । प्रेममा तत्काल आक्रोशमा घटना हुन सक्छ, तर योजनाबद्ध ढंगले पटक–पटक धाएर मार्न खोजिँदैन ।’
छोरा हेमायुको जाहेरीमा पनि घटनाको दिन राति ९:२० मा बुबा घरबाट पेट्रोलपम्पमा सुत्नका लागि गएको भन्ने उल्लेख छ । तर, हत्याको आरोप लागेका मानिसहरूको मोबाइलको कल डिटेल्स हेर्दा उनीहरू लहानबाट ७:१५ बजे नै हिँडेका र ७:३० बजेतिर विसनपुरा चोकमा उनीहरूको मुभमेन्ट देखिन्छ ।’ अधिवक्ता सिंह भन्छन्, ‘घरका मानिसले भन्दा धेरै अघिदेखि रेकी गर्न आउनेले नै पुरानो रिसइबी फेरेको देखिन्छ ।’
सदरुलको व्यवहार
सप्तरी, रायपुरका ७० वर्षीय ध्रुवलाल यादव सदरुललाई सानैदेखि चिन्थे । उनका अनुसार, सदरुल लडाकु स्वभावका थिए । पन्चेतीमा कुटपिट गर्थे । उनको एक धुर जग्गा पनि थिएन । भगवान्ले उसमाथि पैसा बर्साइदियो । चुनावमा ५० लाखभन्दा बढी खर्च गर्‍यो होला । एकाएक त्यत्रो पैसा कहाँबाट आयो, कसैलाई थाहा छैन । उसको अनुयायी कोही थिएन, तर पनि चुनाव जित्यो ।
सप्तरीजस्तो सचेत जिल्लामा पहिलो झमटमै स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव जितेर आएपछि यिनको राजनीतिक र आर्थिक आधारबारे निकै चर्चा चलेको थियो । यसअघि मधेसको राजनीतिमा पनि उनी उति परिचित थिएनन् । पैसाको बलमा चुनाव जितेको कुराचाहिँ व्यापक चर्चामा थियो । संविधानसभामा पनि यिनको खासै भूमिका थिएन । त्यसैले भनिन्थ्यो, सदरुल संविधानसभाको उपयोग गरिरहेका छन् ।
घटना हुनुभन्दा एक साताअघि नै आफ्नो हत्या हुने शंका लागेपछि, सदरुलले मकालु सेक्युरिटी एजेन्सी इटहरीबाट दुईजना सुरक्षा गार्ड मगाएका थिए । सेक्युरिटी एजेन्सीेले घटनाको दिन साँझ पाँच बजे आएर सदरुललाई भेटे । तर, सदरुलले उनीहरूलाई भोलिदेखि पेट्रोलपम्पमा बस्ने व्यवस्था मिलाउँछु, आज इटा भट्टामै बस्नु भनेर उतै राखिदिए । सदरुलले सुरक्षाको प्रबन्ध गरिसकेको थाहा पाएपछि हत्याराहरूले त्यसै दिन आक्रमण गरे ।
प्रहरीको कमजोरी
हत्यामा संलग्न रउफ ज्यादै बलियो मानिस थियो । ऐनुल सेख चोरीडकैती गर्ने चतुर र क्रुर मानिस थियो । ऐनुलले त जाली नोटको कारोबार र तस्करी गथ्र्यो । जमिरुल नक्कली मौलवी हो, सशस्त्र समूहमा हिँड्थ्यो । स्थानीय अयुफ राइन भन्छन्, ‘हत्या हुनुभन्दा १०–१२ दिनअघि जमिरुलले विसनपुराका मानिसहरूसँग सम्पर्क बढाइरहेको थियो । ऐनुल र जमिरुल पक्राउ नपरेसम्म सदरुल हत्याकाण्डको रहस्य खुल्न सक्तैन । प्रहरीले चाहेमा उनीहरूलाई पक्राउ गर्न सक्छ ।’
(खोज पत्रकारिता केन्द्र)
साभार : अपराध . कम 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis