CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » के भएको थियो नायक श्रीकृष्ण श्रेष्ठ लाई ?

के भएको थियो नायक श्रीकृष्ण श्रेष्ठ लाई ?

अभिनेता श्रीकृष्ण श्रेष्ठको असामयिक निधनले देशलाई नै स्तब्ध बनाएको छ। भारतको राजधानी नयाँ दिल्लीस्थित सुविधासम्पन्न गंगाराम अस्पतालमा साउन २४ गते राति ११ बजे जीवनको अन्तिम श्वास फेरेका श्रीकृष्णको निधन के कारणले भयो ? उनको निधनपछि मात्र स्पष्ट भएको छ। उनको निधनको समाचार सार्वजनिक भए लगत्तै स्वदेश तथा विदेशमा रहेका केही चिकित्सकले उनको निधन 'डिप नियोनिया' का कारणले मात्र हुन नसक्ने ठोकुवा गरेका थिए। सुविधासम्पन्न
अस्पतालमा निमोनियाका कारण कुनै व्यक्तिको मृत्यु हुन गाह्राे हुने चिकित्सकहरूको अनुमान अन्ततः सत्य निस्कियो। निधन भएको केही घन्टा नबित्दै श्रीकृष्णको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै निर्देशक आकाश अधिकारीले स्पष्ट पारे-'श्रीकृष्ण श्रेष्ठको निधन क्यान्सरका कारण भएको रहेछ। उहाँलाई बोन क्यान्सर भएको रहेछ।' 

लामो समयदेखि सुख्खा खोकीले पीडित श्रीकृष्ण श्रेष्ठ नायिका श्वेता खड्कासँगको आफ्नो विवाहको दिन (साउन २३) पनि अस्वस्थ देखिएका थिए। 'विवाहको कार्ड बाँडिसकेकाले वैवाहिक समारोह रद्द गर्न सम्भव भएन, श्रीकृष्ण निकटस्थ एक चलचित्रकर्मी भन्छन्—'उहाँले स्वास्थ्यमा समस्या बढ्दै गएपछि विवाहको मिति नै पछि सार्न खोज्नुभएको थियो तर आफन्त तथा आगन्तुकहरूलाई निमन्त्रणा कार्ड वितरण गरिसकेकाले वैवाहिक समारोह सार्न मिलेन।' 

असार २३ गते नायिका श्वेता खड्कासँग लगनगाँठो कसेपछि श्रेष्ठ दम्पती हनिमुनका लागि भन्दै भारतको सिमलातर्फ प्रस्थान गरेका थिए। नायिका खड्काले फेसबुकमार्फत हनिमुनका लागि सिमला गएको तस्बिर समेत सार्वजनिक गरिसकेकी थिइन्। उनीहरूको पछिल्लो चलचित्र 'कोहिनूर' को प्रदर्शन मिति (साउन २३) नजिकिँदै जाँदा निर्देशक आकाश अधिकारीको छटपटी बढिरहेको थियो। हनिमुनमा गएका भनिएका श्रीकृष्ण र श्वेताले केही दिनसम्म आफ्ना बारेमा कुनै पनि जानकारी सार्वजनिक गरेनन्। निर्देशक आकाश अधिकारी चलचित्र प्रदर्शन हुनुभन्दा एक साताअघि आयोजित पत्रकार सम्मेलनमा भक्कानिएको देखेपछि सञ्चारकर्मीले श्रीकृष्णको स्वास्थ्य नराम्रोसँग बिगि्रएको अनुमान गरिसकेका थिए। त्यही क्रममा श्वेताले श्रीकृष्णको अडियो सन्देश सार्वजनिक गरिन्। सन्देशमा श्रीकृष्णको स्वर सुन्ने जो कोहीले उनको स्वास्थ्य अत्यन्त बिगि्रएको ठम्याए। अन्ततः आमनेपालीले नसोचेको घटना घट्यो। सम्पूर्ण देश जनैपूणिर्मा तथा रक्षा बन्धन मनाउने तयारीमा रहेका बेला एकाबिहानै नयाँ दिल्लीबाट सोच्दै नसोचेको दुःखद् खबर सार्वजनिक भयो। बिहान ५ नबज्दै निर्देशक आकाश अधिकारी तथा निर्माता सुनीलकुमार थापाको मोबाइलमा दिल्लीबाट उक्त अशुभ समाचार आइसकेको थियो। बिहान सात नबज्दै लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको खबरले विद्युतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भाइरलको रूप लिइसकेको थियो। 

श्रीकृष्णको निधन हुनुभन्दा केही दिनअघि उनी डिप निमोनियाबाट ग्रस्त भएको स्वयं श्वेता खड्काले स्पष्ट पारिसकेकी थिइन्। निधन भैसकेपछि पनि सम्पूर्ण देशवासीले श्रीकृष्ण नियोनियाकै कारण बिते भन्ने बुझे। यद्यपि चिकित्सकहरूले उनको निधन निमोनियाका कारण मात्र हुन नसक्ने दाबी गरे। अन्ततः श्रीकृष्णको परिवारका सदस्यले निर्देशक आकाश अधिकारीमार्फत देशवासीलाई वास्तविकता वर्णन गरे-'श्रीकृष्णलाई क्यान्सर भएको थियो।' 

निर्देशक आकाश अधिकारीका अनुसार श्रीकृष्ण र श्वेता सिमलाबाट उपचारका लागि भारतको नयाँ दिल्ली जानुको मुख्य उद्देश्य श्रीकृष्णको घाँटीमा देखिएको समस्या थियो। घाँटीमा एलर्जी भएर बोल्न नसक्ने भएपछि श्रीकृष्ण त्यसकै उपचारका लागि दिल्ली गएका थिए। एलर्जीको समस्या समाधान हुन नपाउँदै श्रीकृष्णलाई ज्वरो आयो। चिकित्सकले उच्च ज्वरोलाई पनि ठीक गरे। जब उनीहरू दुवै समस्या समाधान गर्दै अस्पतालबाट डिस्चार्च भएर स्वदेश र्फकने तयारी गर्दै थिए, श्रीकृष्णमा निमोनियाको संक्रमण देखियो। फोक्सोमा पानी जमेको रिपोर्ट पनि त्यही बेला आयो। चिकित्सकले ती दुवै समस्या पनि समाधान गरे। निमोनियाबाट समेत मुक्ति पाइसकेका श्रीकृष्णलाई नेपाल र्फकनु करिब एक साताअघि गरिएको रक्त परीक्षणले मृत्युसँग साक्षात्कार गरायो। 'चिकित्सकले बोन क्यान्सर भएको बताएपछि तत्कालै पहिलो किमो दिने काम भएछ, निर्देशक अधिकारी सम्झन्छन्-'पहिलो किमोबाट स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले दोस्रो किमो दिने योजना बनाएछन्।' भनिन्छ, चिकित्सकले दोस्राे किमो दिनुअघि परिवारका सदस्यलाई त्यसका गुण तथा अवगुण दुवै पक्षका बारेमा अवगत गराएका थिए। नतिजा अवगुण निस्कियो। श्रीकृष्णको शरीरले दोस्रो किमो पचाउन सकेन, उनले दोस्रो किमो दिइएको केही घन्टा नबित्दै प्राण त्यागे। श्रीकृष्णको फोक्सोमा पुरानै समस्या थियो। उनमा विगत केही वर्षअघि सुगर पनि देखिएको बताइन्छ। फोक्सोमा समस्या, सुगर, सुख्खा खोकी, निमोनिया हुँदै अन्त्यमा वोन क्यान्सर श्रीकृष्णको निधनको प्रमुख कारण बन्न पुग्यो। शरीरका अन्य हाड-जोर्नीमा क्यान्सर नफैलियास् भनेर श्रीकृष्णलाई 'किमो थेरापी' दिइएको थियो।



देश नै शोकमग्न


करिब तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनले सिंगो देश नै शोकमा डुब्यो। जनैपूणिर्मा, रक्षा बन्धन तथा गाईजात्राजस्ता चाडपर्वमा रमाउने योजना बनाएका सम्पूर्ण देशवासी श्रीकृष्णको निधनमा डाँको छाड्न बाध्य भए। प्रत्येक टेलिभिजन च्यानलमा श्रीकृष्णले अभिनय गरेका चलचित्रका लोकप्रिय गीतहरू बजिरहे। उनको दुःखद् निधनको खबरले राष्ट्र नै स्तब्ध भयो। 

सोमबार मध्यान्न उनको पार्थिव शरीरलाई त्रिभुवन विमानस्थलबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रांगणसम्म पुर्‍याउन चलचित्रकर्मीहरूलाई हम्मे-हम्मे पर्‍यो। सिनामंगल, तीनकुने, नयाँबानेश्वर, माइतीघर हुँदै अघि बढेको शवयात्रामा श्रीकृष्णलाई मन पराउने हजारौं नेपाली सहभागी भए। प्रज्ञा भवनमा साँझ ६ बजे उनको पार्थिव शरीरमा फूलमाला अर्पण गर्ने कार्यक्रम सर्वसाधारणको अकल्पनीय उपस्थितिका कारण सम्भव भएन। त्यहाँबाट ज्ञानेश्वर, रातोपुल हुँदै आर्यघाटसम्म पुग्दा शव यात्रामा हजारौं समर्थक थपिएका थिए। साँझ सात बजे आर्यघाट पुर्‍याइएको उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न भेला भएको आममानिसको भीड यति ठूलो थियो कि सुरक्षाकर्मीहरूलाई समेत सम्हाल्न गाह्रो परेको थियो। अन्ततः राति नौ बजे दाजु मीनकृष्णले उनको पार्थिव शरीरमा दागबत्ती दिए। मध्यरातसम्ममा श्रीकृष्णको शरीर खरानीमा परिणत भैसकेको थियो। यतिबेला परिवारका सदस्यहरूले म्हैपी, काठमाडौंस्थित श्रीकृष्णको पुख्र्यौली घरमा आशौच बारिरहेका छन्। 



विगतको स्वास्थ्य

साप्ताहिकले श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको विवाह योजना सार्वजनिक भएलगत्तै दुवै जनासँग अन्तर्वार्ता लिएको थियो। गौशालास्थित प्लानेट कलिउडको कार्यालयमा उनीहरूसँग साप्ताहिकको करिब आधा घन्टा रेकर्डेड अन्तर्वार्ता भएको थियो। अन्तर्वार्ताका क्रममा श्रीकृष्ण सुख्खा खोकीका कारण बोल्न सकिरहेका थिएनन्। 'तपाईंलाई त खोकीले असाध्यै च्यापेजस्तो छ, उपचार गराउनुपर्छ जस्तो छ', भन्ने आग्रहमा श्रीकृष्णले भनेका थिए—'सामान्य एलर्जी हो। औषधि खाइरहेको छु। चाँडै बिसेक हुन्छ होला।' वास्तवमा श्रीकृष्णलाई चलचित्र 'कोहिनूर' को छायांकनदेखि नै खोकी लाग्न थालेको बताइन्छ। उनलाई खोकीले कतिसम्म सताएको थियो भने 'कोहिनूर' का लागि उनले आफ्नो स्वर आफैंले डविङ समेत गर्न सकेनन्। 

निर्देशक अधिकारीका अनुसार खोकीका कारण उहाँलाई बोल्न गाह्रो भएको देखेपछि हामीले सबै कलाकारको डविङ सके पनि श्रीकृष्णजीको डविङ गरेका थिएनौं। चलचित्रको प्रदर्शन मिति नजिकिँदै गएकाले उहाँको स्वरमा डविङ गर्ने कि नगर्ने भन्ने भयो। अन्त्यमा उहाँले मलाई, डाइरेक्टर साब, मैले नसक्ने भएँ। तपाईंकै स्वरमा डविङ गर्नुहोस् भनेपछि चलचित्रमा श्रीकृष्ण श्रेष्ठका लागि मैले स्वर दिएको छु।' 



कोहिनूरको क्रेज 


श्रीकृष्ण श्रेष्ठको निधनसँग उनको पछिल्लो चलचित्र 'कोहिनूर' का थुप्रै संयोग जोडिएका छन्। अधिकांश दृश्य भारतमा छायांकन गरिएको यो चलचित्र चेलीबेटी बेचबिखनमा आधारित छ। साउन २३ गते शुक्रबारदेखि देशभरिका करिब ६५ वटा सिनेमा हलमा चलचित्र प्रदर्शन हुने पक्का भएको खबर स्वयं श्रीकृष्णले केही साताअघि फेसबुकमार्फत नै जानकारी गराएका थिए। चलचित्रको प्रदर्शनसम्ममा श्रीकृष्ण स्वदेश फर्किसक्ने योजना थियो तर चलचित्रको प्रदर्शन प्रारम्भ हुँदा उनलाई रोगले गलाइसकेको थियो। निर्देशक आकाश अधिकारीका अनुसार गत शुक्रबार चलचित्रले ६५ प्रतिशत व्यवसाय गरेको थियो। शनिबारसम्ममा उक्त प्रतिशत बढेर ९५ सम्म पुगेको थियो। आइतबार बिहानै उनको निधनको खबरले गाउँ तथा सहरका सिनेमा हलमा दर्शकको भीड लाग्न थाल्यो। 'आइतबारदेखि बुधबारसम्ममा सिनेमा हलमा यति धेरै भीड बढ्यो कि आधा दर्शक सिनेमा हल भित्र, आधा दर्शक सिनेमा हल बाहिर प्रतीक्षा गर्न बाध्य भए, निर्देशक अधिकारीका अनुसार सम्पूर्ण देशवासी यतिबेला 'कोहिनूर' हेरेरै भए पनि आफ्ना प्यारा अभिनेतालाई श्रद्धाञ्जलि दिन आतुर छन्। शुक्रबारदेखि कोहिनूरले काठमाडौंका अधिकांश मल्टिप्लेक्समा समेत स्थान पाउने करिब-करिब पक्का भएको बताइन्छ। 



श्रीकृष्णको अभिनय यात्रा

२०४५ सालमा निर्माण भएको चलचित्र 'भुमरी' मा सानो भूमिका निर्वाह गर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेका श्रीकृष्णले दोस्रो चलचित्र 'कसम' मा राजेश हमालको साथीको भूमिका निर्वाह गरेका थिए। तेस्रो चलचित्र 'पुकार' मा श्रीकृष्णले खलनायकको भूमिका निर्वाह गरे। २०४९ सालमा निर्माण भएको छविराज ओझाको चलचित्र 'नाता' श्रीकृष्णले नायकको भूमिका निर्वाह गरेको पहिलो चलचित्र हो। त्यसयता श्रीकृष्णले जति पनि चलचित्रमा अभिनय गरे सबैमा नायककै भूमिका निर्वाह गरे। आकर्षक नृत्य गर्न सक्ने नायकको छवि बनाएका श्रीकृष्णले अभिनय गरेका चलचित्रहरू एकपछि अर्को गर्दै सफल हुँदै गए। उनको लोकप्रियता यति बढ्यो कि कुनै बेला बुढो बाघको उपाधी पाएका निर्देशक प्रकाश थापादेखि उनको अन्तिम चलचित्र 'कोहिनूर' का निर्देशक आकाश अधिकारीसम्म उनको अभिनयको प्रशंसक भए। तीन दशक लामो अभिनय यात्राका क्रममा एक सय भन्दा बढी चलचित्रमा अभिनय गरेका श्रीकृष्ण आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, हामी तीन भाइ, सुख-दुःख, कहाँ भेटिएलाजस्ता सफल चलचित्रका लागि सधैं सम्झनामा रहनेछन्। २०६९ सालमा प्रदर्शन भएको चलचित्र 'कहाँ भेटिएला' बाट निर्मातासमेत बनेका श्रीकृष्णले त्यही चलचित्रकी नायिका श्वेता खड्कालाई करिब डेढ महिनाअघि मात्र जीवनसाथी बनाएका थिए। 

'कोहिनूर' श्रीकृष्णले अभिनय र निर्माण गरेको अन्तिम चलचित्र हो। कोहीनूरमा श्रीकृष्णलाई श्वेता खड्काले नै साथ दिएकी छिन्। 



कस्ता थिए श्रीकृष्ण ? निकटस्थहरूको राय

आकाश अधिकारी, निर्देशक


श्रीकृष्ण श्रेष्ठ र मेरो सम्बन्ध एउटा कलाकारका रूपमा प्रारम्भ भएको थियो। म कलाकार र निर्देशक, उहाँ कलाकार र निर्माता। यो त हाम्रो व्यवसायिक सम्बन्ध भयो। त्यसबाहेक उहाँ र म असाध्यै मिल्ने साथी पनि थियौं। सौभाग्य नै मान्नुपर्छ, श्रीकृष्णको अन्तिम चलचित्र 'कोहिनूर' को निर्देशन गर्ने अवसर मैले नै पाएँ। यो चलचित्रको छायांकनदेखि नै हामी थप नजिकिएका थियौं। कलाकारका रूपमा त उहाँ सशक्त अभिनय गर्न सक्ने हुनु नै भयो, चलचित्रको पर्दा बाहिर पनि उहाँ असाध्यै असल व्यक्तित्व हुनुहुन्थ्यो। उहाँमा दुईवटा खुबी थिए। पहिलो अभिनय क्षमता तथा अर्को कोमल हृदय। उहाँले कहिल्यै कसैप्रति अपशब्द बोलेको मैले सुनेको छैन। ठूलालाई सम्मान र सानामा माया गर्ने कुरामा उहाँको कसैसँग प्रतिस्पर्धा हुँदैन। जति पनि राम्रा गुण हामी सुन्छौं, ती सबै श्रीकृष्णमा पाउँछौं। मेरो विचारमा श्रीकृष्ण श्रेष्ठको अभाव सदैव खड्किरहनेछ।



शम्भुजित बाँस्कोटा, संगीतकार


श्रीकृष्ण श्रेष्ठलाई म तीनवटा कुराले सधैं सम्झिरहन्छु। पहिलो कुरा अभिनय यात्राको करिब तीन दशक लामो अवधिमा उनले अग्रजहरूलाई सधैं सम्मान गरे। अग्रजलाई दिने उनको सम्मानमा कहिल्यै उतारचढाव आएन। दोस्रो कुरा, उनी असाध्यै अनुशासित कलाकार हुन्। कलाकार नै हुन्छु भनेर जन्मिएको मान्छे श्रीकृष्ण नै हो जस्तो लाग्छ। उनी नाममात्र कलाकार थिएनन्, साँच्चिकै कलाकार थिए। कलाकारितामै जीवन बिताउन सक्ने साहस भएका श्रीकृष्णसँग मैले प्रज्ञा-प्रतिष्ठानको जागिरेका रूपमा सहकार्य गरेको थिए। हामी रंगमञ्चका थुप्रै कार्यक्रममा विदेशसम्म पुगेका थियौं। चलचित्र 'जालीरुमाल' देखि उनले अभिनय गरेका प्रायः सबै चलचित्रमा मैले नै संगीत दिएको थिएँ। 'कोहिनूर' सम्म आइपुग्दा हामीले करिब ६० वटा चलचित्रमा सहकार्य गरेका छौं। उदितनारायण झा, आनन्द कार्की र मेरो आवाज श्रीकृष्णलाई असाध्यै मन पथ्र्यो, चलचित्रमा पनि उनी यिनै तीन आवाज खोज्थे। कुनै कुरामा चित्त बुझेन भने प्रतिकार तथा तर्क गर्ने क्षमता पनि उनमा थियो।



वसन्त श्रेष्ठ, नृत्य निर्देशक

म यतिबेला अमेरिकाबाट श्रीकृष्णलाई स्मरण गरिरहेको छु। श्रीकृष्णको आकस्मिक निधनले म मर्हाहत भएको छु। मैले न त उनको विवाहमा सहभागिता जनाउन सकें, न त उनको निधनको दुःखमै व्यक्तिगत रूपमा सहानूभुति प्रकट गर्न पाएँ। उनको निधनले मलाई मर्माहत बनाएको छ। श्रीकृष्ण मेरो जीवनकै सबैभन्दा असल चेला र शिष्य थिए। होनहार कलाकार गुमाउनुपर्दा समग्र देश नै दुःखी भएको छ। उनको असामयिक निधनको खबरले म अनायासै रुन पुगेछु। जीवनमा यति धेरै दुःख मैले कहिल्यै अनुभव गरेको थिइनँ। नेपाली चलचित्रमा नृत्य गर्न जान्ने नायकको छवि श्रीकृष्णले नै बनाएका थिए। त्यसका लागि उनी मलाई जहिले पनि धन्यवाद दिइरहन्थे।



जितु नेपाल, हास्यकलाकार

मैले श्रीकृष्ण श्रेष्ठसँग २०५३ सालमा चलचित्र 'गुरुचेला' मा पहिलो पटक सँगै काम गर्ने अवसर पाएको थिएँ। त्यसबाहेक सांस्कृतिक कार्यक्रमका क्रममा हामी कतार, कोरिया आदि देशको भ्रमणमा पनि गएका थियौं। श्रीकृष्ण दाइलाई मैले भुल्नै नसक्ने एउटा रमाइलो कुरा पनि छ। मैले जीवनमा पहिलो पटक बोकेको मोबाइल उहाँले नै मलाई उपहार दिनुभएको थियो। सिमकार्ड किन्दा नै पैसा सकिएपछि मोबाइल किन्न सकिएन, त्यति बेला मोबाइल अत्यन्तै महँगो पथ्र्यो। यो कुरा श्रीदाइले पनि थाहा पाउनुभएछ। 

मलाई मोबाइल चाहिएको थाहा पाएर 'भाइ मसँग एउटा मोबाइल छ, लगेर चलाऊ' भन्नुभयो। त्यो बेलाको महँगो मोबाइल उपहार पाउँदा असाध्यै खुसी भएको थिएँ। मैले उक्त मोबाइल करिब दुई वर्ष बोकें। मलाई उपहार दिएकाले मात्र होइन, समग्रमा नै श्रीकृष्ण दाइ एउटा असल व्यक्ति हुनुहुन्थ्यो। पछिल्लो पटक चलचित्र 'कोहिनूर' को प्रचार-प्रसारका लागि 'जिरे खुर्सानी' श्रृंखलामा आउने कुरा गर्नुभएको थियो, तर बिडम्बना मैले उहाँलाई आफ्नो श्रृंखलामा अभिनय गराउन सकिनँ।



झरना थापा, नायिका


पहिलो पटक श्रीकृष्ण श्रेष्ठको निधनको खबर सुन्दा मैले पत्याउन सकिनँ। चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूले नै उहाँको निधन पुष्टि भएको बताएपछि म आइतबार दिनभरि झोक्राएर बसें। दिनभर आँखा रसाइरहे। थुप्रै चलचित्रमा उहाँको नायिकाका रूपमा अभिनय गर्ने अवसर पाएकाले मलाई उहाँको निधनको खबरले दुःखी बनायो। श्रीकृष्ण दाइसँग हाम्रो पारिवारिक सम्बन्ध थियो। मेरा श्रीमान् तथा निर्माता सुनिलकुमार थापा र श्रीकृष्ण नजिकका साथी हुनुहुन्थ्यो। उहाँसँग हाम्रो धेरै विषयमा सरसल्लाह भैरहन्थ्यो। म उहाँलाई दाइ भनेर सम्बोधन गर्थें। उहाँसँग मैले जति पनि चलचित्रमा काम गरें, ती चलचित्रका प्रायः सबै गीत लोकप्रिय भए। अहिले पनि टेलिभिजनमा ती गीत हेर्दा श्रीकृष्ण दाइको सम्झना आउँछ। उहाँको अनुहार, उहाँले मप्रति गर्ने आत्मीय व्यवहार सम्झना आउँछ। खासगरी उहाँले गर्ने केयर म कहिल्यै बिर्सन सक्दिनँ। पहिलो चलचित्र 'गोर्खाली' मार्फत हामी जोडी बनेका थियौं। त्यसपछि हाम्रो जोडीले अभिनय गरेका ए मेरो हजुर, हामी तीन भाइ, पाहुना, सुख-दुःख आदि चलचित्र दर्शकहरूले अत्यन्त मन पराउनुभयो। पछिल्लो समय श्रीकृष्ण दाइलाई लिएर 'ए मेरो हजुर' को सिक्वेल निर्माण गर्ने विषयमा छलफल गरिरहेका थियौं। श्रीकृष्ण दाइसँग स्वच्छ छवि तथा सबैप्रति समान व्यवहार गर्ने विशिष्ट शैली थियो। उहाँसँग काम गर्दा कहिल्यै कसैले असहज महसुस गर्नुपरेन।



सारंगा श्रेष्ठ, नायिका

श्रीकृष्ण श्रेष्ठलाई म धेरै कुराले सम्झन्छु। मेरो अभिनय करियरको थालनी गर्ने, अघि बढाउने तथा स्थायित्व दिने श्रेय नै श्रीकृष्ण श्रेष्ठलाई जान्छ। हामीबीचको डान्स-केमेस्ट्री उत्कृष्ट थियो भन्ने कुरा दर्शकहरूले नै अनुभव गरिसक्नुभएको छ। उहाँ एउटा असाध्यै राम्रो व्यक्ति हुनुहुन्छ (हुनुहुन्थ्यो भन्न मनले मानिरहेको छैन ?) उहाँको निधनको कुरालाई म यहाँ (अमेरिकामा) बसेर विश्वास गर्नै सकिरहेकी छैन। उहाँले जहिले पनि अरूका बारेमा बढी चिन्ता लिनुभयो, आफूलाई गाह्रो भए पनि अरूलाई गाह्रो नहोस् भन्ने उहाँको चाहना हुन्थ्यो। श्रीकृष्णको शरीर यति बेला जहाँ भए पनि उहाँसधैं मेरो मुटु र आत्मामा बसिरहनुहुनेछ।



विकास आचार्य, निर्देशक


श्रीकृष्ण श्रेष्ठ मेरा एकदमै नजिकका मित्र हुनुहुन्थ्यो। व्यवसायिक रूपमा मैले उहाँसँग 'राम बलराम' तथा 'कहाँ भेटिएला' मा मात्र काम गर्ने अवसर पाएँ। यी दुई चलचित्रका लागि काम गर्ने क्रममा नै मैले अनुभव गरिसकेको थिएँ, उहाँलाई नेपाली चलचित्रका बारेमा कति धेरै चिन्ता छ ? राम्रो, गुणस्तरीय चलचित्र मात्र बनाउनुपर्छ, त्यस्तो चलचित्र निर्माण गर्न सकियो भने मात्र नेपाली दर्शक सिनेमा हलसम्म आउँछन् भन्ने कुरा मैले उहाँबाटै सिकेको हुँ। उहाँ नेपाली चलचित्रलाई कसरी माथि उठाउन सकिन्छ भन्ने कुरामा चिन्तित रहनुहुन्थ्यो। श्रीकृष्ण अर्थात् जस्तो नाम, त्यस्तै स्वभावका व्यक्तित्वलाई गुमाउनुपर्दा आज मलाई असाध्यै दुःख लागिरहेको छ।



सुनीलकुमार थापा, निर्माता


श्रीकृष्ण श्रेष्ठसँग म २०५२ सालदेखि नै नजिक छु। मैले हालसम्म जति पनि चलचित्र बनाएँ, ती सबैमा श्रीकृष्ण श्रेष्ठ नै नायक हुनुहुन्थ्यो। उहाँका सफल चलचित्रको सूचीमा हामीले निमर्ाण गरेका चलचित्रको संख्या बढी छ। चलचित्र निर्माणका क्रममा श्रीकृष्ण श्रेष्ठसँग जुन रूपले म नजिकिएँ, सम्भवतः कुनै दाजुभाइ पनि त्यसरी नजिकिँदैनन्। हामीबीच असल साथीभन्दा पनि दाजुभाइको सम्बन्ध थियो। उहाँको संगतबाट मैले धेरै कुरा सिक्ने अवसर पाएको छु। चलचित्र निर्माणदेखि लिएर विषयवस्तुका बारेमा समेत उहाँलाई पर्याप्त ज्ञान थियो। व्यक्तिगत रूपमा पनि उहाँ असाध्यै असल व्यक्ति हुनुहुन्थ्यो।

साभार : इकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis