CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » परिवारै तस्करीमा

परिवारै तस्करीमा

  • चेपाङ समुदायका सदस्यलाई फसाएर मोटाइरहेछन्, वास्तविक तस्करहरु


चितवन राष्ट्रिय निकुञ्जले फागुन पहिलो साता गैँडा मारेको आरोपमा सर्वाधिक खोजीमा रहेका कोराक-९, कालीखोलाका राजकुमार प्रजा (चेपाङ), ३१, लाई सार्वजनिक गर्‍यो । उनलाई १६ फागुनमा मलेसियाको पुलिसले वाङतिङ तेलोक सहरबाट पक्राउ गरेको थियो । कानुनी प्रक्रिया पूरा गरेर उनलाई २५ फागुनमा ने पाल ल्याइयो । प्रारम्भिक अनुसन्धानका क्रममा उनले निकुञ्ज र वन कार्यालय क्षेत्रभित्र २० वटा गैँडा मारेर खाग बिक्री गरेको रहस्य खोलेका छन् ।

उनी स्थानीयस्तरको गैँडा तस्करीका मुख्य नाइके नै भएकाले होला, उनको परिवार र नातेदारसमेत गैँडा तस्करीमा संलग्न छन् । निकुञ्जमा उनले १५ वटा गैँडा मारेर खाग बिक्री गरेको मुद्दा दर्ता भएको छ । दर्ता मुद्दामध्ये ६ वटामा
फैसला भइसकेको छ भने नौवटा चालू छन् । फैसला भएका सबै मुद्दामा उनलाई  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिम १५ वर्ष कैद र एक लाख रुपियाँ जरिवाना तोकिएको छ ।

निकुञ्जका सूचना अधिकारी टीकाराम पौडेलका अनुसार उनलाई पक्राउ गर्ने तीनपटकको प्रयास असफल भएको थियो । अनुसन्धानका क्रममा उनी मलेसियामा भएको पत्ता लागेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र इन्टरपोल शाखाको सहयोगमा कात्तिक ०७० मा इन्टरपोलले पहिलोपटक वन्यजन्तु अपराधमा  संलग्न नेपाली नागरिकका नाममा 'रेड कर्नर नोटिस' जारी गर्‍यो । र, भक्तराज गिरीका नाममा राहदानी बनाएर मलेसिया गएका राजकुमारलाई त्यहाँको प्रहरीले पक्राउ गर्‍यो ।

"धेरै गैँडा मार्ने नामुद तस्करमा पर्छन् राजकुमार," निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर भन्छन्, "लामो प्रयासपश्चात् पक्रन सफल भयौँ ।" पहिला गैँडा मार्ने गिरोह सक्रिय हुँदा हप्ता दिनको अन्तरमा गैँडा मारिन्थे । अहिले चोरीसिकारीबाट कम गैँडा मारिन्छन् । अहिलेसम्म निकुञ्ज, प्रहरी, सेनाले दुई सय  गैँडा मार्ने, सहयोग गर्ने र खाग बिक्री गर्ने गिरोहलाई पक्राउ गरी कानुनी कारबाही गरिसकेको छ । "गैँडा मारेर भागेकाहरू एक न एक दिन कानुनको फन्दामा अवश्य पर्छन्," कुँवर भन्छन्, "त्यसैले ढिलोचाँडो जहिले भए पनि कारबाही हुन्छ ।"

गैँडाको तस्करीमा लागेको आरोपमा एकै घरका पाँच जनासम्म पक्राउ परेका छन् । जसले गर्दा केही घर गाउँ नै सुनसान छन् । परिवारको बेहाल छ । सदरमुकाम भरतपुरबाट शक्तिखोर बजार हुँदै कोलार गाउँलाई हेरौँ । यो गाउँमा चेपाङ समुदायको बाक्लो बसोवास छ । तर, गाउँ अहिले सुनसान छ । घरका प्रत्येक  व्यक्ति जेलमा छन् । गैँडा मारेको, खाग बिक्री गरेको, मार्न सहयोग गरेको आरोपमा घरमूली पक्राउ परेपछि परिवारको बिचल्ली भएको छ । छोरा, श्रीमतीले घर धानेका छन् । आमाबाबु नै जेल परेपछि सन्तान बेसहारा छन् । उनीहरू गाउँमा नौलो मान्छे आउँदा खुलेर बोल्न डराउँछन् । "जेल गएपछि मेरा बूढा दुवै  आँखा नदेख्ने भए रे !" बिर्सुमाया चेपाङ, ५१, भन्छिन्, "अब फर्किएर आउलान् जस्तो छैन ।" उनका पति मंगले चेपाङ गैँडा मार्न सहयोग गरेको आरोपमा डेढ वर्षदेखि जेलमा छन् ।

घरमा काम गरेर खुवाउने छैनन् । उनी आफैँ काममा भौँतारिनुपर्ने बाध्यता छ । भएको एउटा छोरो डोजर चलाउने काम गर्ने हुनाले उनको बास बजारतिरै हुन्छ । "बूढा सोझा थिए," उनी भन्छिन्, "एक बोतल रक्सीको लोभले जेल गए ।" उनलाई गाउँकै मान्छेले फसाएको उनको भनाइ छ ।

कोलार गाउँका आठ जना जेलमा छन् । तिनमा एकै घरका तीन जना छन् । पदम चेपाङ गाउँका नाइके थिए । उनले गाउँलेलाई पैसा, रक्सी र मासुको प्रलोभनमा पारेर फसाएको गाउँलेको आरोप छ । चेपाङ समुदायको उत्थानमा सक्रिय केपीकिरण शर्मा भन्छन्, "चेपाङ समुदायको गरिबीको फाइदा उठाउँदै  उनीहरूलाई फसाएर वास्तविक तस्करहरू मोज गरिरहेका छन् ।"

साभार : नेपाल साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis