CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , , » बर्ष २०७२ चर्चित १२ हस्तीहरु

बर्ष २०७२ चर्चित १२ हस्तीहरु



विद्यादेवी भण्डारी
   
डा. रामवरण यादवपछि मुलुकको दोस्रो राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारी निर्वाचित भइन् । त्यतिमात्र होइन, नेपालकै पहिलो महिला राष्ट्रपतिका रूपमा उनको नाम दर्ता भएको छ । मुलुककै सर्वोच्च निकायमा महिलाको उपस्थितिलाई यो वर्षको अर्को उपलब्धि मान्न सकिन्छ । विद्यार्थी कालमा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठनमा काम गरेकी भण्डारीले स्वर्गीय नेता मदन भण्डारीसँग विवाह गरेपछि राजनीतिबाट विश्राम लिएकी थिइन्, तर एमाले महासचिव भण्डारीको २०५० साल जेठ ३ रहस्यमय दुर्घटनाबाट निधन भएपछि विद्याको राजनैतिक करियर पुन: प्रारम्भ भयो । मदन भण्डारीको विरासतका रूपमा विद्याको राजनैतिक यात्रा निरन्तर चलिरहयो । राष्ट्रपति भैसकेपछि उनको जनकपुरको धार्मिक भ्रमण चर्चामा रह्यो । 

नेपाली राष्ट्रिय फुटबल टिम

वर्ष २०७२ निराशाको वर्षका रूपमा चित्रित हुने क्रममा नेपाली राष्ट्रिय फुटबल टिम आशाको किरण सञ्चार गर्न सफल भयो । बंगलादेशमा आयोजित बंगबन्धु फुटबल कप उचालेको राष्ट्रिय टिमले भारतमा आयोजित १२औं सागमा चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई पराजयको स्वाद चखाउँदै स्वर्ण पदक हासिल गर्‍यो । बंगबन्धुमा भारत सहभागी थिएन्, त्यसैले भारतलाई पराजय गर्न साग फुटबलसम्म कुर्नुपर्‍यो । भारतीय नाकाबन्दीले आजित भएका नेपालीले फुटबलमा भारतको हारलाई आफ्नो आत्मसम्मानका रूपमा हेरे । ती २ महत्वपूर्ण जितका निम्ति प्रशिक्षक बालगोपाल महर्जन र राजु शाक्य नायक बने । २३ वर्षअघि राजु शाक्यको कप्तानीमा साग जितेको नेपाल उनकै प्रशिक्षणमा अर्को स्वर्ण जित्न सफल भयो । युवा फुटबलरहरू नवयुग श्रेष्ठ, विकेश कुथु, विशाल राई, विराज महर्जन, विमल घर्ती मगर, अनन्त तामाङ आदिको कुशल खेलले धेरैको मन जित्यो । विशेषत: नवयुग श्रेष्ठ चर्चाको शिखरमा रहँदै धेरै मन जित्न सफल भए । 
खगेन्द्र लामिछाने

थिएटरदेखि ठूलो पर्दासम्म आफूलाई सफल बनाएका खगेन्द्र लामिछानेले यो वर्ष आफ्नो बहुआयामिक पक्षलाई अझ मज्जाले प्रष्ट्याए । यो वर्ष लामिछानेद्वारा लिखित तथा अभिनीत चलचित्र ‘पशुपतिप्रसाद’ ले सफलताको स्वाद चखायो नै खगेन्द्रलाई दरिलो परिचयसमेत दिलायो । सुरुवातमा साहित्य र त्यसपछि रंगमन्चको आकर्षणले तानेपछि कलायात्रातर्फ लागेका खगेन्द्रले प्रारम्भमा महेशविक्रम शाहको कथा ‘खुमा’ लाई नाटकको रूप दिएका थिए । अनुप बराल निर्देशित खुमापछि उनले ‘पीडा गीत’ नाटक लेखेर निर्देशन र अभिनयमा आफूलाई प्रयोग गरे । थिएटरका लागि चिनियाँ कथामा आधारित टलकजंग भर्सेज टुल्केको स्क्रिप्ट लेखेका खगेन्द्रले त्यसैलाई चलचित्रको रूप पनि दिए । निश्चल बस्नेत निर्देशित टलकजंग भर्सेज टुल्केमा ‘टुल्के’ को चरित्रमा जमेका खगेन्द्रले चलचित्र पशुपतिप्रसादमार्फत आफूलाई ‘पशुपति प्रसाद’ का रूपमा स्थापित गराए । यही वर्ष थियटर भिलेजमा लामिछाने अभिनीत नाटक ‘दाँतको डोब’ ले पनि चर्चा कमायो । खगेन्द्रले फरक धारको चलचित्रको बलियो प्रतिनिधित्व गर्ने सम्भावना देखाएका छन् । 
ओनसरी घर्ती

नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बन्ने अवसर पाइन्, ओनसरी घर्तीले । त्यतिमात्र होइन, उनी कम उमेरमा सम्माननीय पदमा पुग्ने अवसर पाउने पहिलो व्यक्तिसमेत भइन् । संघीय गणतान्त्रिक नेपालको दोस्रो महिला सभामुख ओनसरी एनेकपा माओवादीको प्रतिनिधिका रूपमा निर्विरोध निर्वाचित भएकी थिइन् । सशस्त्र संघर्षमा लडाकु कमान्डर रहेकी ३८ वर्षीया घर्ती रोल्पाको जंकोट माडिचौरमा जन्मिएकी हुन् । १० वर्ष भूमिगत जीवन बिताएकी मगरले एसएलसीसम्म अध्ययन गरेकी छिन् । संविधान निर्माण गर्ने संविधानसभामा उनी उपसभामुख थिइन् । ०४६ सालदेखि विद्यार्थी आन्दोलन हुँदै राजनीतिमा सक्रिय मगर ०४८ सालमा माओवादी विद्यार्थी संगठनको जिल्ला कोषाध्यक्ष बनेकी थिइन् । त्यसपछि नेकपा एकता केन्द्रको पार्टी सदस्य बनिन् । ०५२ सालमा माओवादी नेता वर्षमान पुनसँग जनवादी प्रेम विवाह गरेकी मगरले रोल्पाको होलेरी चौकी आक्रमणमा लडाकुको भूमिका निर्वाह गरेकी थिइन् । ०५४ मा माओवादी रोल्पा जिल्ला सदस्य, ०५७ सालमा क्षेत्रीय ब्युरो सदस्य, ०६० सालमा केन्द्रीय सदस्य तथा ०७० सालमा पोलिटब्युरो सदस्य बनेकी ओनसरी २०६४ को पहिलो संविधानसभामा समानुपातिकतर्फ संविधानसभाको सदस्य बनिन् । २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा उनी युवा तथा खेलकुदमन्त्री भइन् । घर्ती दोस्रो संविधानसभामा रोल्पा २ नम्बर क्षेत्रबाट विजयी भएकी थिइन् । 
प्रियंका कार्की

समकालीन नायिकाका रूपमा प्रियंका कार्की चलचित्र उद्योगको पहिलो रोजाइको नायिका बनेकी छिन् । उनको व्यस्तताले देखाउँछ, प्रियंकाका निम्ति वर्ष २०७२ निकै फाप्यो । प्रियंका चलचित्र, विज्ञापन, म्युजिक भिडियोदेखि फेसन सोसम्म जताततै छाइन् । प्रियंका अभिनीत चलचित्र ‘वडा नम्बर ६’ यो वर्ष ब्लकबस्टर हिट चलचित्रमा दरियो । गत वर्षको प्रारम्भमा प्रियंका अभिनीत चलचित्र नाइँ नभन्नु ल–३’ ले पनि सफल व्यापार गरेको थियो । यो वर्ष प्रियंका अभिनीत चलचित्र फन्कोले पनि चर्चा पायो । त्यसबाहेक उनी चलचित्र लुटेराको आइटम डान्स तथा कबड्डी कबड्डी र क्लासिकमा छोटो भूमिकामा देखिइन् । प्रियंकाले अभिनय गरेको नाइँ नभन्नु ल–४ आज सार्वजनिक हुँदैछ । यस्तै हाउ फन्नी वर्षको सुरुवातमै प्रदर्शनमा आउनेछ । मिस टिन नेपाल २००५ बाट ग्लामर उद्योगमा प्रवेश गरेकी प्रियंका प्रारम्भमा म्युजिक भिडियो क्वीनका रूपमा छाएकी थिइन् तर अहिले चलचित्रमा व्यस्त भएपछि उनले म्युजिक भिडियोलाई समय दिन सकिरहेकी छैनन् । प्रियंकाका निर्माणाधीन चलचित्र लालटिन, पुरानो डुंगा तथा छक्कापन्जा हुन् । यो वर्ष प्रियंकाले गायिकाका रूपमा पनि आफूलाई स्थापित गरिन् । उनले गाएको स्वतन्त्र शीर्षकको गीत र त्यसको भिडियोलाई धेरैले रुचाए । कभर सिंगरका रूपमा उनले अन्य केही गीत पनि युट्युबमा अपलोड गरिन् ।
 
सुदर्शन कार्की

२० वर्षभन्दा बढी समयदेखि अध्ययन गरिएको ‘गुरुत्वाकर्षणको तरंग’ पत्ता लागेको खबरसँगै एक नेपाली युवा चर्चामा आए । गुरुत्वाकर्षणको तरंग पत्ता लागेको खबरसँगै सम्पूर्ण नेपालीमा खुसीको तरंग फैलियो । कारण थियो, विज्ञानको यो नविनतम उपलब्धिलाई आत्मसात गर्ने हजार वैज्ञानिकमध्ये एक नेपाली सुदर्शन कार्की पनि थिए । युनिभर्सिटी अफ ओरेगनमा विद्यावारिधि गरिरहेका २९ वर्षीय कार्कीले यो खोजका निम्ति महत्वपूर्ण तथ्यांक विश्लेषणमा भूमिका निर्वाह गरेका थिए । जनरल रिलेटिभिटीसम्बन्धी सन् १९१६ मा प्रतिपादन गरिएको प्रख्यात सिद्धान्तपछि आइन्सटाइनले भविष्यवाणी गरेका विषयमध्ये यो कुरा मात्र व्यवहारिक रूपमा पुष्टि हुन बाँकी थियो । आइन्सटाइन स्वयंले पिण्डहरू तीव्र गतिमा चल्दा उत्पन्न हुने गुरुत्वाकर्षणका संकेतहरू पृथ्वीमा आइपुग्दा मसिनो भैसक्ने भएकाले कहिल्यै पत्ता लाग्न नसक्ने सम्भावना औंल्याएका थिए । गुरुत्वाकर्षणको तरंग गत सेप्टेम्बर १४ मा पृथ्वीमा आइपुग्दा सुदर्शन लाइगो हैनफोर्ड बेधशालामा काम गरिरहेका थिए । उनी लाइगो फेलोसिप अवार्ड पाएर विगत १ वर्षदेखि त्यहाँ काम गरिरहेका थिए । सुदर्शनको काम बेधशालामा बसेर लाइगोको डिटेक्टरले सही र सटिक नतिजा देओस् भनेर हेर्ने थियो । बुटवलमा जन्मिएर काठमाडौंको आनन्दभूमि स्कुलबाट विद्यालय शिक्षा हासिल गरेका सुदर्शनले संकेत प्राप्त भएपछि तथ्यगत ढंगले पुष्टि गर्न त्यसलाई थप ५ महिना अध्ययन गरेको बताए । सेन्ट जेभियर्सबाट आइएस्सी गरेका कार्कीले अमेरिकास्थित युनिभर्सिटी अफ मिजोरीबाट बिएस्सी पूरा गरे । सुदर्शन अमेरिका बसेको १ दशक बितिसकेको छ । 
राजेन्द्र खेतान/उपेन्द्र महतो

वर्ष २०७२ को प्रारम्भमै आएको ठूलो भूकम्पका कारण ८ हजारभन्दा बढी नागरिकले ज्यान गुमाए, त्यतिमात्र होइन, हजारौं घरवारविहीन हुन पुगे । नेपाली जीवनशैली उथलपुथल भैरहेको समयमा तत्कालीन सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्दार समितिमा सहयोग रकम जम्मा गर्न अपिल गर्‍यो । व्यवसायिक घराना खेतान समूहले सबैलाई अचम्मित तुल्याउँदै कोषमा १० करोड रुपैयाँ नगद जम्मा गर्‍यो । खेतान समूहका राजेन्द्र खेतानले प्रधानमन्त्री राहत कोषमा १० करोड नगद जम्मा गरेपछि अरू धेरै व्यवसायीहरू सरकारको कोषमा सहयोग गर्न अग्रसर भए । यद्यपि खेतान समूहले विगतमा व्यवसायिक रूपमा गरेका त्रुटिलाई सच्याउन सहयोग गरेको भनेर आलोचनासमेत खेप्नुपर्‍यो । यस्तै एनआरएनका पूर्वअध्यक्ष एवं उद्योगी उपेन्द्र महतोले खेतानलाई उछिन्दै १५ करोड नगद सहयोग गर्ने घोषणा गरे । आफ्नी आमा फूलकुमारी महतो ट्रस्टमार्फत उनले यो सहयोग रकम परिचालन गर्ने बताएका थिए । ३ करोड रकम राहत तथा १२ करोड रुपैयाँ भत्किएका विद्यालयको पुन:स्थापनामा सहयोग गर्ने महतोले बताएका थिए । त्यसबाहेक १० करोड वा त्यसभन्दा बढी सहयोग गर्ने अन्य दाताहरू पनि चर्चामा रहे । 

मीरा राई

अल्ट्राधावक मीरा राई विभिन्न क्रियाकलापका कारण यो वर्ष चर्चामा रहिन् । पूर्वमाओवादी लडाकु मीरा गत वर्ष फ्रान्समा आयोजित ८० किलोमिटर मोन्ट ब्लंक म्याराथनको उपाधि जितेपछि एकाएक चर्चामा आएकी थिइन् । भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेरमा माओवादी बनेकी थिइन् । माओवादी शान्तिप्रक्रियामा आएपछि सेना समायोजनका क्रममा अयोग्य सावित भएपछि निराश मीरालाई साथी पूर्णिमा मगरले काठमाडौं बोलाएपछि उनको जीवनले अर्कै मोड लियो । सन् २०१३ मा फूलचोकी अल्ट्रा म्याराथन जितेपछि मीराको जीवन बदलियो । हङकङ आइल्यान्ड ट्ेरल रेस जितेपछि साउथ चाइना मर्निङ पोस्टमा उनको जीवन संघर्ष छापियो । त्यसपछि उनले अन्तर्राष्ट्रिय एक्सपोजर पाइन् । मीरा राईको जीवनलाई लिएर चलचित्रसमेत निर्माण भयो । यो वर्ष अल्ट्राधाविकाका रूपमा विश्व नम्बर १ बन्ने लक्ष्यका साथमा मीराले इटालीमा १ महिना प्रशिक्षण गरिन् तर स्पेनमा सम्पन्न सालोमन प्रिनेउ अल्ट्रा म्याराथनमा उनले उपविजेतामा चित्त बुझाउनुपर्‍यो । निर्धारित १ सय १० किलोमिटरको दूरी १३ घन्टा ४३ मिनेट ४९ सेकेन्डमा पार गर्दै मीराले नेपाली झन्डा फहराइन् । उनी मात्र ४ मिनेट १६ सेकेन्डले विश्व नम्बर वान बन्नबाट वञ्चित भइन् । संसारकै पाँच उत्कृष्ट दौडमध्ये एक मानिने उक्त दौडपश्चात् मीरा पुन: अर्को प्रतियोगितामा नम्बर वान बन्न अग्रसर छिन् । अहिलेसम्म एथलेटिक्सका कुनै पनि विधामा नेपाली विश्व नम्बर वान बन्न नसकेको यथार्थका बीच आफू विश्व नम्बर वान बनेरै छोड्ने मीराको अठोट छ ।
 
विपुल क्षेत्री

नेपाली सांगीतिक क्षेत्रमा यही वर्ष उदाएका कलाकार हुन्— विपुल क्षेत्री । नेपाली संगीतमा विगत २ वर्षदेखि सक्रिय रहँदै चर्चा कमाएका विपुलले यो वर्ष गाएको गीत तिमी जाने सिलिगुरी म जाने सिक्किमतिरले पर्याप्त प्रशंसा पायो । रोचक कुरा, अहिलेको समयमा कुनै पनि गीत लोकप्रिय बन्न त्यसको भिडियो आवश्यक पर्छ भन्ने मान्यतालाई यसले गलत सावित गर्‍यो । भिडियो नबन्दै युट्युबमा १७ लाख पटक सुनिएको यो अडियो संगीत धेरैले गुनगाउने गरेका छन् । हालसम्म आफ्ना गीतको भिडियो नै नबनाएका विपुलका प्राय: सबै गीत दर्शकले रुचाएका छन् । नेपाली मूलका भारतीय नागरिक विपुलले नेपाली संगीतमै आफूलाई समर्पित गरेका छन् । भारतको कालिम्पोङमा जन्मिएर हाल नयाँ दिल्ली बस्दै आएका विपुल यो वर्ष ३ पटक नेपाल आए । लन्डनस्थित ट्रिनिटी कलेजबाट ‘वेस्टर्न क्लासिकल गिटार’ मा स्नातकोत्तर गरेका विपुल गजबको संगीत संयोजन गर्न सक्ने क्षमता राख्छन् । पश्चिमा संगीतको ज्ञान भए पनि उनले ठेट नेपाली लोकफ्लेभरलाई समाएका छन् । उनी वास्तविक जीवनसँग नजिक रहेर गीत गाउँछन् । विपुल वर्ष २०७३ मा नयाँ गीतिसंग्रहका साथमा पुन: स्रोतामाझ आउँदैछन् । यो गीतिसंग्रह सार्वजनिक भएपछि उनको सांगीतिक यात्राले लिने मोडमा उनको भविष्य अडिएको छ । विपुलले यो वर्षमात्रै ७ वटा मुलुकमा सांगीतिक प्रस्तुति दिए । आउने साउनसम्म उनी कन्सर्टका लागि बुक भैसकेका छन् । विपुल हाल दिल्लीस्थित एक महाविद्यालयमा संगीत डिपार्टमेन्ट हेडका रूपमा समेत कार्यरत छन् ।
 
सर्वेन्द्र खनाल

यो वर्ष नेपाली फुटबलले लगातार उपाधि चुमिरहँदा सोसल नेटवर्क साइटहरूमा धेरैले त्यसको जस एसएसपी सर्वेन्द्र खनाललाई दिनुपर्ने भन्दै ‘लबिङ’ गरे । खासमा फुटबलरहरूले राष्ट्रिय झन्डाको अपमान गर्दै म्याच फिक्सिङ प्रकरणमा संलग्न रहेको भन्दै सप्रमाण उनीहरूलाई गिरफ्तार गर्ने टोलीको नेतृत्व गरेका थिए, सवेन्द्रले । सागर थापा, अन्जन केसी, सन्दिप राई जस्ता राम्रा खेलाडी फिक्सिङमा संलग्न भएको भनेर सर्वेन्द्रको टिमले उनीहरूमाथि मुद्दा चलाएको छ । पछिल्ला केही वर्षयता लज्जास्पद हार बेहोर्दै आएको नेपाली फुटबल टिमलाई जीवनदान दिएको भनेर धेरैले सर्वेन्द्रलाई सम्झिएका छन् । गत वर्ष सर्वेन्द्रकै नेतृत्वमा डन कुमार घैंटेको इन्काउन्टर गरिएको थियो । काठमाडौं महानगरीय अपराध महाशाखाका एसएसपी खनाल सामाजिक मर्यादा कायम राख्न सफल प्रहरी अधिकृत मानिन्छन् । नाकाबन्दीको प्रारम्भिक समयमा बढेको तस्करी एवं कालोबजारी नियन्त्रण गर्न पनि उनको टिम सक्रिय रह्यो । सर्वेन्द्र महाशाखाको नेतृत्वमा आएलगत्तै आपराधिक क्रियाकलापमा पनि कमी आएको विश्लेषकहरू बताउँछन् । बढ्दो राजनैतिक दबाबका बाबजुद अपराध नियन्त्रणमा प्रहरी अधिकृतका रूपमा उनको सक्रियता वर्षभर नै समाचार बने । प्रहरी अधिकृतका रूपमा नेपालभित्र जुनसुकै स्थानमा पुगे पनि उनी आफ्नो इमेज बनाउन सफल छन् । निर्भीक स्वभावका खनाल आफूले सम्हालेको मिसनलाई टुंग्याएर मात्र विश्राम लिन्छन् ।
अर्चना पनेरु

विद्यालय अध्ययन नै पूरा नगरेकी किशोरी अर्चना पनेरुले आफू पोर्नस्टार बन्न चाहेको बताउँदै न्युड तस्बिर सार्वजनिक गरेपछि यो वर्ष सर्वाधिक चर्चा पाइन् । त्यसो त उनको चर्चालाई सकारात्मक भने मान्न सकिँदैन । मुलुकको कानुनले समेत यसलाई बैध मानेको छैन् । यद्यपि खुला परिवेशमा प्रवेश गर्न लागेको समाजकी एक युवतीले आफ्नो व्यक्तिगत इच्छा पोर्नस्टार बन्ने हो भनेर खुला रूपमै व्यक्त गर्नुलाई केही हदसम्म साहसिक कदम मान्न सकिन्छ । यो वर्ष महेन्द्रनगरको भाँसीस्थित लिटल बुद्ध स्कुलमा कक्षा १० मा अध्ययन गर्ने अर्चनाको नग्न तस्बिर मात्र होइन, सेक्सटेपसमेत सार्वजनिक भैसकेको छ । 

सामाजिक सद्भाव भड्काएको तथा अश्लीलता फैलाएको आरोपमा उनलाई प्रहरीले पक्रिएर कारबाहीसमेत गर्‍यो तर अझै पनि उनी आफ्नो क्रियाकलापलाई निरन्तरता दिइरहेकी छन् । सन्नी लियोनीलाई आफ्नो आदर्श मान्ने अर्चनालाई उनकी आमा सुनिता पनेरुले बलियो साथ दिएकी छिन् । आमा आफैं पनि छोरीलाई पोर्नस्टार बनाएरै छोड्ने अभियानमा सक्रिय छिन् । महेन्द्रनगरमा आयोजित प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगितामा सेकेन्ड रनर्सअप भएपछि ग्लामर उद्योगमा लागेकी अर्चनाले केही म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । 

सुरुमा सेमिन्युड र पछि न्युड तस्बिर फेसबुकमा पोष्ट गरेपछि उनी रातारात चर्चामा आइन् । पछिल्लो समय नेपाली चलचित्र निर्माताले उनलाई चलचित्रमा नायिकाका रूपमा अभिनय गर्नसमेत प्रस्ताव राखे । मुम्बईमा जन्मिएकाले सानै उमेरमा नायिका बन्ने अभिलाषा पालेकी अर्चना ग्लोबल रूपमै आफ्नो परिचय बनाउने महत्त्वाकांक्षा राख्छिन् ।
साभार : ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis