CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » समय व्यवस्थापन कसरी गर्ने ?

समय व्यवस्थापन कसरी गर्ने ?

Image result for time managementकुनै पनि मानिस जीवनमा असफल हुन चाहँदैन । सफलताको शिखरसम्म पुग्ने चाहना जोसँग पनि हुन्छ, तर धेरैजसो मानिसले सोचेजस्तो सफलता हासिल गर्न सकिरहेका छैनन्, यसको एउटै कारण हो, हामीले आफू स्वयं, आफूले दैनिक रूपमा गर्नुपर्ने काम, काम गर्ने शैली तथा समयलाई सही ढंगले व्यवस्थित गर्न सकिरहेका हुँदैनौं । व्यापार, व्यवसाय, जागिर, पढाइ वा करियरका जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न स्पष्ट उद्देश्य र लक्ष्य हुनुपर्छ । सोही अनुरूपको
कार्य योजना, सकारात्मक सोच, उद्देश्य प्रतिको दृढता एवं इमान्दारिताको पनि खाँचो हुन्छ । त्यसका साथमा सबैमा समयको सदुपयोग गर्ने कला हुनुपर्छ ।     

समयलाई कसैले रोक्न सक्दैन, न त हामी यसलाई चाहेजस्तो ढिलो वा छिटो नै गर्न सक्छौँ, तर आफूलाई समयानुकूल बनाउन भने पक्कै सकिन्छ । नेपालीमा एउटा भनाइ प्रचलित छ, समयभन्दा अघि र भाग्यभन्दा बढी केही पनि पाइँदैन । समयअनुसार आफ्नो काम गर्ने शैलीलाई गतिशील बनाउन सकिएन भने यसले धेरै अवसरहरूबाट किनारा लगाउँदै जान्छ, फलस्वरूप सफलताको बाटो कठिन बन्न पुग्छ । धेरै मानिसलाई लाग्छ कि काममा लामो समयसम्म व्यस्त रहनु नै सफलताको सूत्र हो । एक किसिमबाट यो सही हो, तर लामो समयसम्म व्यस्त रहनुमात्र सफलता होइन । बरु, थोरै समयमा पनि प्रभावकारी किसिमबाट कार्य सम्पन्न गर्न सक्नु सफलताको संकेत हो । 

हिजोआज मानिसहरू बढीजसो समय फेसबुक, टि्वटर जस्ता सामाजिक सञ्जालमा बिताउँछन् । मोबाइल बाटै फेसबुक चलाउनेहरूको संख्या प्रशस्तै छ । यस्ता सामाजिक सञ्जालहरूमा धेरै समय बिताउनु भनेको समय नाश गर्नु हो । त्यसो त फेसबुक, टि्वटर, म्यासेन्जरजस्ता साइटहरू चलाउनै हुँदैन भन्ने होइन तर यसैमा बढी समय बिताउनु हानिकारक हुनसक्छ । प्रसिद्ध सफलताशास्त्री ब्रायन ट्रेसीले भनेका छन्- यदि तपाईंले हरेक दिन एक घण्टा मात्र नयाँ पुस्तक वा नयाँ कुरा पढ्ने हो भने एक सातामा एउटा पूरै पुस्तक पढ्न भ्याइन्छ । यस्तो अध्ययनले तपाईंलाई हरेक वर्ष एउटा पीएचडीसरह बनाउँछ । कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न समय बर्वाद गर्ने सम्पूर्ण गतिविधिहरूबाट जोगिनैपर्ने हुन्छ ।

जुनसुकै पेसामा लागेको व्यक्ति भए पनि आफूले दैनिक गर्नुपर्ने कामहरूलाई त्यसको महत्त्वका आधारमा प्राथमिकता निर्धारण गरी सम्पन्न गर्न सकियो भने समय खेर जान पाउँदैन । यसका लागि आफूले गर्नैपर्ने कामहरूको सूची बनाउन सकिन्छ । दैनिक, साप्ताहिक वा मासिक रूपमा गर्नुपर्ने कामहरूको सूची बनाएर काम गर्दा एकातिर धेरै काम गर्न सम्पन्न गर्न सकिन्छ भने अर्कातिर ठीक समयमा काम गर्ने बानीको विकास हुन्छ ।

समय व्यवस्थापन आफैंमा एउटा जटिल कार्य हो । आफूलाई समयानुकूल बनाउने हो भने यो काम त्यति जटिल पनि छैन । त्यसैले अहिल्यैदेखि आफ्नो लक्ष्य प्राप्ति एवं सफलता हासिल गर्न योजनाबद्ध रूपले त्यसलाई व्यवस्थित गर्न सिकौं । नेपालीमा एउटा उखान छ- मौका आउँछ पर्खदैन, बगेको खोला फर्किंदैन ।

- मनु आभास 
साभार : ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis