CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » एक सेवक, एक योद्धा : डा. गोविन्द केसी

एक सेवक, एक योद्धा : डा. गोविन्द केसी

एक सेवक, एक योद्धा
'आफ्नो पुस्ताको स्वास्थ्यका लागि पूरा जवानी दाउमा राखे, भावी पुस्ताका लागि ज्यानको बाजी थापेका छन्,' डा. गोविन्द केसीका अनशनमा ऐक्यबद्धता जनाउन पुगेका एक व्यक्ति भन्दै थिए।
एघार दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ। त्यसैले विशेष व्यक्तित्वबाहेकलाई अनशनरत कोठाको ढोका खुला छैन। तर, उनको सत्याग्रहसँग ऐक्यबद्धता जनाउन विभिन्न पेशाकर्मीदेखि सर्वसाधरणसम्म लाइनमा छन्। ढोका बाहिरबाटै नमस्कार गर्छन्, एक झल्को हेर्छन् र फर्किन्छन्।

स्वास्थ्य क्षेत्रमा देखिएको विकृतिविरुद्ध केसीले पाँचौँपल्ट ज्यान दाउमा लगाएका छन्। चारपल्टसम्म सरकारको आश्वासनका कारण अनशन तोड्न बाध्य उनी यसपल्ट मानसिक रूपमा गल्ने अवस्थामा छैनन्, तर उनको स्वास्थ्यले उनलाई पहिलेभन्दा चाँडो गलाएको छ। उनको पक्षमा उर्लिएको 'मास' हेरेर कमजोरीले थलिएको ज्यानको पर्वाह नगरी मुस्कुराउँछन्। नेपालको मेडिकल शिक्षालाई गुणस्तरीय बनाउन उनले १० बुँदामा माग राखेका छन्।

गाउँसँग डाक्टरको सम्बन्ध अझै सुमधुर बन्न सकेको छैन। तर, डा. केसी दुई दशकदेखि गाउँसँग साइनो गाँस्दै हिँडिरहेका छन्। उनले बिरामी र स्वास्थ्य चौकी खोज्दै गाउँ डुल्न थालेको २० वर्ष नाघिसकेको छ। देशका ७५ वटै जिल्लामा पुगेर स्वास्थ्य सेवा दिने एकमात्र चिकित्सक केसी हुन्। २०४५ सालमा भूकम्प जाँदा केसी पहिलोपटक पीडितको उपचारमा स्वयंसेवकका रूपमा सहभागी भएका थिए। त्यतिबेला धरानमा ठूलो जनधन हताहत भएको सुन्नासाथ नाइट बस चढेर धरान पुगेका थिए। २०६६ सालमा जाजरकोटमा हैजाले सयौँ मानिस पीडित भएको खबर सुनेपछि केसी आफ्नै पैसामा खच्चडमा औषधि लिएर सदरमुकाम खलंगा पुगे।

२०६४ सालमा कोशी तटबन्ध भत्कियो। केसी काठमाडौँमै थिए। तटबन्ध भत्केर हजारौँ विस्थापित भएका र तिनका स्वास्थ्य नाजुक बन्दै गएको दृश्य टीभीले देखाउन थाल्यो। केसीले आफूसँग भएको सम्पूर्ण पैसाले औषधि किनेर घटनास्थल पुगे। पाँच दिन त्यहाँ बिताएका उनले १ हजार ७ सय ५१ जनालाई स्वास्थ्य सेवा दिए।

डाक्टर कुनै भूगोल, जात, धर्म र परिधिमा बाँधिनु हुँदैन भन्ने मान्यता राख्ने उनलाई विदेशमा पर्ने प्रकोपले समेत उत्तिकै दुखाउँछ। त्यसैले सन् २००१ मा ४० हजार मान्छेको ज्यान जानेगरी भारतको गुजरातमा भूकम्प जाँदा तीन साता बिरामीको सेवा गरे। बंगलादेशको आँधीमा परेकाको घाउमा मलम लगाए। सन् २००५ मा पाकिस्तानमा गएको भूकम्पले पनि उनको सेवी मन हल्लियो। दुई हप्ताभन्दा बढी घाइते र बिरामीको उपचारमा सक्रिय रहे।

सन् २००८ मा बर्मामा आँधी आउँदा १२ दिन खटिएका थिए। त्यतिखेर बर्माको राजधानी रंगुनमा २ सय ७८ जनालाई हाडजोर्नीसम्बन्धी तालिम पनि दिए। बिरामीको ज्यान जोगाउन उनले त्यहाँ आफ्नो ज्यानलाई जोखिममा पारेका थिए। बर्मा सरकारले विदेशीलाई आँधीप्रभावित क्षेत्रमा पस्न नदिइरहेको अवस्थामा स्थानीय शिक्षकको सहयोगमा भेष बदलेर उनले सेवा पुर्यादए। 'यदि सरकारले सुइँको पाएको भए १५ वर्ष जेल पर्न सक्थेँ,' उनी सुनाउँछन्।

सन् २०१० मा हाइटीमा महाभूकम्प जाँदा उनले १६ दिन त्यहाँ बिताए। दैनिक २५ घाइतेलाई जाँचे। तीन लाख मानिसको ज्यान लिने भूकम्प आएको समाचार सीएनएन टीभीमा हेरेपछि त्यहाँ पुगेका थिए उनी।

'चिकित्सा पेशालाई कुनै समय, सीमा र भौगोलिक विकटताले बाधा पार्नु हुँदैन'– उनको दर्शन हो यो । यही विश्वासमा अडिएर उनी देश–विदेश जहाँसुकै प्रकोपका ठूला घटना हुन्, पीडितको उपचारमा पुग्छन्। उनी न सरकारको मुख ताक्छन्, न दाताको। शिक्षण अस्पतालमा पसिना बगाएर सँगालेको पैसाले औषधि किन्छन् र दौडिहाल्छन् प्रभावित क्षेत्रमा।

नचिनेको ठाउँ, नजानेको भाषा, हिमपात, उकालोओरालो, वनजंगल कुनै किसिमका अवरोधले उनको अभियान रोकिएको छैन। दशवर्षे माओवादी युद्ध भइरहँदा पनि उनले आफ्नो सेवायात्रा रोकेनन्। कहिले सुराकी त कहिले छापामारको आरोपमा अनेक हैरानी भोग्दा पनि उनले हार खाएनन्। सेवामा लाग्दा पाएका दुःखलाई दुःखका रूपमा लिँदैनन्। उनलाई लाग्छ, 'सेवाको भावनाले अघि बढ्दा आइपर्ने दुःखलाई सम्भि्कनुहुन्न।'

अविवाहित छन् उनी। उनलाई धेरैले अव्यवस्थित जीवन बिताइरहेको ठान्छन्। तर, उनी मनले यति व्यवस्थित छन् कि विवाह गरेको भए यसरी सेवा गर्न पाइन्नथ्यो भन्छन्। अस्पतालकै सरकारी क्वार्टरमा बसेका कारण उनले जतिबेला पनि बिरामी र विद्यार्थीका लागि समय उपलब्ध गराउन पाएका छन्।

पाउरोटी र जामबाट सुरु हुने दैनिकी राति दहीचिउराको भरमा टर्छ। भातको स्वाद चाख्न समय मिलाएर आफन्तकहाँ पुग्छन् उनी। भन्छन्, 'आफैँले खाना पकाएर खाने समय बिरामीलाई दिन पाए एउटाको ज्यान जोगिन्छ।' घर र गाडी कहिल्यै जोडेनन्। उनका नजिकका केही डाक्टरका अनुसार उनले आफ्ना लागि लुगा नकिनेको पनि केही वर्ष बित्यो। पहिल्यै किनेका केही जोर कपडा छन्, तिनलाई नै सफा गरेर लगाउँछन्।

सन् १९९४ मा उनले काठमाडौँ वरपरका गाउँमा 'हेल्थ क्याम्प' सञ्चालन गरी अघोषित रूपमा अभियान प्रारम्भ गरेका थिए। उनी गाउँ पुग्दा दुईवटा काम गर्छन्। भेटेका बिरामीको निःशुल्क उपचार गर्छन् र गाउँमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिन्छन्। गाउँमा स्वास्थ्यकर्मीले थोरै जानेर बिरामीलाई प्रारम्भिक उपचार र सही सल्लाह दिए पनि धेरै ठूलो कुरा हुनसक्छ। यी कामका लागि केसी एकपटकमा दुईदेखि तीन हप्ता गाउँमा बिताउँछन्।

झोलामा उनी औषधि, तालिमका लागि आवश्यक पुस्तक र साधारण उपकरण राख्छन्। सामान्य कुराको अभावमा उपचार नरोकियोस् भन्ने उनको ध्यान हुन्छ। शल्यक्रिया गर्नैपर्ने अवस्थाका बिरामीलाई काठमाडौँ बोलाएर शल्यक्रिया गराइदिन्छन्। त्यसका लागि खल्तीका पैसादेखि अस्पतालका निःशुल्क शऒ्ढया मिलाइदिन केसी आफैँ लागिपर्छन्।

वरिष्ठताका आधारमा आईओएममा डिन नियुक्तिको माग गर्दै उनी तीनपटक आमरण अनशन बसे। तर, डिन र अस्पतालको निर्देशकजस्ता पदमा बस्ने सपना उनको छैन। न उनका लागि प्रचारप्रसारको बाटो नै उपयुक्त हो। भन्छन्, 'पछिल्ला दिनमा मैले उठाएका एजेन्डामा जनमत जुटाउन तथा संस्था जोगाउन नेता र सरकारको ध्यानाकर्षण गराउन मैले मिडियाको सहयोग लिनैपर्योम।'

विकृतिविरूद्धको लडाइँ निष्ठा र इमानदारीको जगमा मात्रै सफल हुन्छ। केसीको विश्वास, त्याग र समपर्णले सत्यमार्गमा उन्मुख हुन बलियो जग बनाएको छ। उनले उठाएका एजेन्डाका जग झन् कमजोर हुने कुरै भएन।

२०१४ सालमा रामेछापको दुर्गम गाउँ माकादुम–सिम्लेमा जन्मिएका थिए उनी। गाउँमा केसी परिवार सम्पन्न परिवारमै गनिन्थ्यो। परिवारमा पढ्नुपर्छ भन्ने चेतना व्याप्त थियो। पढाइमा अब्बल उनले निम्नमाध्यमिक शिक्षा दोलखाबाट पूरा गरे भने एसएलसी चाहिँ २०२९ सालमा काठमाडौँको पद्मोदय हाई स्कुलबाट द्वितीय श्रेणीमा पूरा गरे। एसएलसीपछि के पढ्ने भन्ने अन्योल थियो। नाताले उनका भान्दाइ महाराजगञ्ज केन्द्रीय क्याम्पसमा हेल्थ असिस्टेन्ट (एचए) पढ्थे। उनले पनि सँगै एचए नै पढ्न थाले। 'त्यतिबेलासम्म मलाई एचए पढेर डाक्टर बन्न पाइन्छ भन्नेसमेत थाहा थिएन,' केसी भन्छन्।

उनको ब्याचमा एचए पढ्ने झन्डै डेढ सय विद्यार्थी थिए। दुई वर्षमा एचएको पढाइपछि उनले छ महिना जति पढाए। शिक्षा मन्त्रालयले लिएको छात्रवृत्ति परीक्षामा नाम निस्किएपछि उनले बंगलादेशको ढाकामा गएर एमबीबीएस पढे। सन् १९८५ मा एमबीबीएस सकेर काठमाडौँ फर्किनेबित्तिकै उनले शिक्षण अस्पताल हाडजोर्नी विभागमा हाउस अफिसरको जागिर पाए। एक वर्षपछि लोकसेवामा नाम निकालेर टेकु अस्पतालमा मेडिकल अफिसरका रूपमा काम थाले।

एमडी गरेर विशेषज्ञता हासिल गर्ने भित्री इच्छा थियो उनको। एमडी अध्ययनका लागि प्रवेश परीक्षा दिए। परीक्षा दिने दुई सयजना रहेकोमा जम्मा १२ जनाले मात्र पढ्न पाउँथे। उनी १२ जनाभित्रै परे। त्यस बेला नेपालमा हाडजोर्नीसम्बन्धी डाक्टर ज्यादै न्यून थिए। त्यसैले उनले हाडजोर्नी नै रोजे। अध्ययन बिदा मिलाएर उनी सन् १९८९ मा एमडी पढ्न पुनः ढाका गए। सन् १९९३ मा अध्ययन सकेर नेपाल फर्किए।

पढ्न जाने समयमा बिदा दिन नमानेर उनलाई मन्त्रालयका अधिकारीले निकै दुःख दिएका थिए। पछि सेवामा पुनः प्रवेश गर्न खोज्दा पनि जिल्ला जानुपर्छ भनेर उनलाई दबाब दिए। उनले वीर अस्पतालमा काम गर्न खोजेका थिए। पढेर जानेको ज्ञानमा ठूला अस्पतालका वरिष्ठसँग बसेर सीप थप्न पाए हुन्थ्यो भनेर सुरूमा उनले काठमाडौँ रोजेका थिए। दुर्गम ठाउँदेखि त केसी डराउने मान्छे होइनन् नै। ठूला अस्पतालमा अवसर नपाउने भएपछि उनले सरकारी जागिरबाटै राजीनामा दिए।

शिक्षण अस्पतालमा हाडजोर्नीसम्बन्धी चिकित्सकको अभाव थियो। उनले काम गर्ने इच्छा राख्नेबित्तिकै नियुक्ति पनि पाए। त्यसपछि सुरु भयो, उनको शिक्षण अस्पतालको यात्रा। प्राध्यापन र शल्य चिकित्सा दुवै काम उनले एकसाथ सुरु गरे। सन् १९९३ तिर सुरुको आठ महिना उनले निःशुल्क काम गरे। सन् १९९४ देखि उनी आईओएममा जागिरे भए।

डाक्टरी पेशाको दुई दशकसमा उनले जम्मा एक वर्ष निजी अस्पतालमा काम गरेका छन्, त्यो पनि बाध्यतामा। उनका एकजना मित्र चिकित्सक जापान जानुपर्ने भएकाले उनलाई सहयोग गर्न मात्रै काठमाडौँ नर्सिङ होममा काम गरेका थिए उनले। त्यसपछिका दिनमा फुर्सदको समय निजी अस्पतालमा होइन, दुर्गम बस्तीलाई दिँदै आएका छन्।
साभार : नागरिक न्युज 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis