CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » यसरी जन्माईन्छन् डन ! डन, नेता र प्रहरी बिचको जालो

यसरी जन्माईन्छन् डन ! डन, नेता र प्रहरी बिचको जालो


SONY DSCसोम बिक्रम सिंह, काठमाडौं

‘सर्वेन्द्र खनाल त बर्दिवाला गुण्डा हो यार । सिभिल ड्रेसमा पुरा गन राखेर आएको थियो, घैंटेले मज्जाले लखेट्यो ।’ कसैले भनेको शब्द मेरो कानमा परेको थियो । कुरा सायद २०६२ तिरको होला । रेष्टोरेण्ट बिक्रिमा छ भन्ने हेतुले एउटा साथिले हामीलाई देखाउन लगेको थियो । नेपालका चर्चित ब्यक्तित्व नै हुन जसलाई घैंटेले दाई भन्थ्यो अर्थात उनि हस्ति नै थिए । तर त्यो रेष्टोरेण्ट डान्स बार रहेछ, हामी त्यतिकै फर्कियौं जुन रेष्टोरेण्टमा सर्वेन्द्र खनाल र घैंटे बिच ढुंगा
हानाहान भएको थियो । त्यो घटनाको लगत्तै सर्वेन्द्र खनाललाई तुरुन्त उपत्यका बाहिर सरुवा गरियो । जुन घटना सायद प्रहरीको अफिसियल ड्युटी अनुरुप थिएन । यता भने समाजमा घैंटेको प्रभाव बढ्न सुरु भयो ।
त्यो घटनाको अगाडि २०६०/०६१ तिरको कुरा होला एका बिहान मलाई फोन आयो र राजा हजुरले एउटा सानो काम गरिदिनु पर्यो भनेर कसैले आग्रह गरे । मलाई भनिएको कुरा यस्तो थियो, “सोह्रखुटटे थानाबाट आएका प्रहरीले राती ति ब्यक्तिका भाईलाई उठाएर लगेका रहेछन् । प्रहरीले लगेका ति ब्यक्तिलाई प्रेसर, सुगर रहेछ । बिरामी मान्छे बेला बेला औषधी खानु पर्ने रहेछ, केटा साह्रै सोझो तर अनाहकमै समातिएछ । बरु अरुलाई अनुसन्धानको रुपमा राखेपनि उनलाई चाहि छोडाई दिनु परयो,” मलाई फोन गर्ने ब्यक्तिले यसै भने ।
ति ब्यक्तिको नाम र ठेगाना बुझि मैले मेरो साथि जो त्यतिबेला थानाको ईन्चार्ज थिए, उनलाई सबै कुरा सेयर गरें र उसको नाम कुमार श्रेष्ठ हो भने । मेरो मित्र ईन्चार्ज फिस्स हांसेर “लौ लौ म बुझछु हेरुँला” भनेर फोन राखिदिए । केहि दिन पछि मलाई ति ब्यक्तिले “धन्यवाद राजा मेरो भाई छुट्यो” भनेर फोन गरे ।
२०६२/६३ पछि ति ब्यक्तिको नाम घैंटे डन भनेर आयो । उनको कर्तुत पत्र पत्रिकामा पढें र आफुलाई पहिला छुटाउन मद्धत गरेकोमा आत्मग्लानी भयो । आफु पनि भावुक मान्छे कसैलाई पर्दा अगाडि सरिहाल्ने । आफु बिदेशबाट ७/८ बर्ष पछि बल्ल नेपाल फर्केको, समाजमा डनगिरी मौलाई सकेको पत्तै भएन । तर मैले बिदेश बस्दा ईटालीमा भने डन भन्ने शब्द एकदम आदरिणय शब्द थियो र हो र यसलाई सम्मान गरेर कसैलाई सम्बोधन गरेर डनब्रास्को, डनमारियो, डन पाओलो, डन फलानो भनेर गरिन्थ्यो, गरिन्छ । तर यता भने डन भन्ने शब्दले समाजमा डर लाग्दो, त्रासदीपूर्ण र कहालीलाग्दो तर्साउने रुपले हेरिंदो रैछ ।
आम जनताले त भन्छन् डनको उत्पादन नै नेता र पुलिसले गरेका हुन् । डनलाई प्रयोग गरेर नेता, उद्योगपति, दलालहरुले आफ्नो आर्थिक अभिष्ट पुरा गर्न, धम्क्याउन, त्रास देखाउन र चुनावमा जित्न प्रयोग गरेका पाईन्छन् । त्यस्तै प्रहरीहरुले बालुवाखानी, बिभिन्न मेनपावर कम्पनिबाट यि डनहरुलाई नै प्रयोग गरिरहेको सुनिनमा आउँछ ।
सम्झन्छु ति पञ्चयतका दिनहरु, सायद राजनीतिक पृष्ठभूमिका परिवारबाट नआएकोले होला पञ्च्यायत मलाई अत्यन्त स्वर्णिम युग लाग्छ । त्यतिबेलाको अखवारमा कुकुर किचेर मारेका खवर, अझ भनौं भारतमा मान्छेले दिन दहाडै मान्छेलाई छुरा घोपेर मारेका खवर महिनौं दिन सम्म घरको आँगन, पाटि पौवा, टोल टोलमा गफ चुटने बिषय बन्थे ।
आफ्नो ठुलो बुवा आईजिपि, काकाहरु डिआईजी, नातामा पर्ने प्रधानमन्त्री, बाजे पर्ने गृहमन्त्री, मामा आर्मिको चिफ हुँदा पनि साधारण हवल्दार देखेर पनि मन ढुक्क फुल्थ्यो । टिनएजको उमेर भएता पनि त्यस्ता उछृगंल, अपराधिक गतिबिधी, झैं झगडामा त्यति ध्यान जादैन्थ्यो । अझ डिआईजीपि जस्ता ब्यक्तिले तालिम केन्द्र महाराजगञ्जबाट गाडिमा फुत्त निस्केर म फुच्चे लाई “राजा दर्शन भनि सम्बोबन गरि, मेरो लवाई हेर्दै के हो हँ राजा गु को पोका झुण्डेको जस्तो पाईन्ट लगाएर, क्या हो यस्तो चाला कैचिले काटि दिउ ? ढंगको जुत्ता लगाउने हैं ” भन्दा सातो जान्थ्यो । त्यो बेला लामो कपाल काटिदिने, ब्यागि पाईन्ट काटेर कट्टु बनाईदिने, डिंगो जुत्ता काटेर आधा बनाईदिने प्रहरीले अभियान नैं थालेका थिए । त्यो बेलाको संस्कारै यस्तो थियो कि प्रहरी भनेपछि सातोपुत्लो उडिहाल्थ्यो । अझ गाउँघरमा एउटा बर्दिवाल हवल्दार पस्यो भने सोध खोजको बिषय हुन्थ्यो । गाउँघरमा फलानो गाउँमा आज किन प्रहरी छिरेछ भनेर लाज हुन्थ्यो । समाजमा शान्ति सु ब्यवस्था गर्न प्रहरी प्रशासन तथा राज्य सफल थियो ।
बरिष्ठ पत्रकार पदम ठकुराठीको काण्डमा उच्च पदस्थका ब्यक्तिहरुलाई समातेर कारबाही गर्न प्रहरी सफल भएका थिए । त्यो बेला बिभिन्न अपराध तथा काण्डमा मुछिएर प्रहरीका आईजिपी डिबि लामा, अधिराज कुमारका एडिसि कर्नेल भरत गुरुगं आदि समाजका उच्च पदस्थ ब्यक्तिहरुलाई पनि कठघरामा उभ्याउन प्रहरी सफल भएकै हो ।
स्वर्गिय राजा बिरेन्द्रले आफ्ना भाई अधिराज कुमार स्वर्गिय धिरेन्द्र बिभिन्न सांगठित अपराधिक क्रियाकलापमा मुछिदैं आएको सर्ब साधारणको मर्मलाई महशुष गरि उनलाई अधिराज कुमारबाट हटाएकै हो ।
कस्तो समय थियो, शान्ति सु ब्यवसथा कायम गर्ने जिरो टलरेन्स । दरबारले पनि आफ्नो र अर्काको भन्ने गर्दैनथ्यो । त्यस समयमा रानी ऐस्वर्याको आफ्नै नातेदार रत्न शमसेरलाई भन्दा स्वर्गिय बिरेन्द्रले बरिष्ठता, काम कर्तब्यको आधारमा हेम बहादुर सिंहलाई आईजिपिको पदमा अघि सारे । भलै सम्पूर्ण राजसंस्थाका सदस्यहरु स्वर्गिय रत्न समशेरको समर्थनमा थिए । सम्पूर्ण राष्ट्र सेवकहरु त्यसबेला दरबारको सम्मान र डर मान्ने गर्थे । गल्ती गरिएर जागिरबाट हात धोईन्छ कि भन्ने डर भन्दा पनि समाजमा बहिस्कृत भईन्छ, नाक काटिन्छ भन्ने सरम । नाकको ठूलो ईज्जत हुन्थ्यो, नाक जोगाउन सके ठूलो ईज्जत र आदर सत्कार पाईन्छ भन्ने मानसिकता थियो ।
एक पटक मेरो काका राजा बिरेन्द्रको एडिसि भएर युरोपको यात्रामा जाने अवसर मिल्यो । बिदेश भ्रमणबाट फर्केर आएपछि सुबिधाको रुपमा बिदेशबाट भन्सार छुटमा कुनै ठूलो बस्तु मगाउन पाईन्थ्यो । काकाले त्यसबेला मेरो बुवा जो पर्यटन ब्यवसायी थिए, सँग छलफल गरि निश्कर्षमा एउटा कार मगाउने सहमति भयो । पर्यटन ब्यवसायमा लागेपछि पर्यटकलाई सिटी टुर गराउन एउटा गाडिको अत्यावस्यक थियो र गाडि मगाईयो ।
पछि दरबारमा यस बिषयलाई लिएर जाबो ईन्सपेक्टरको हैसियतले गाडि कसरी मग्यो भनेर हल्ली खल्ली नै भयो । काकाको जागीर नै जाने माहोल बन्यो । काकाको स्पष्टिकरणले र दाईको पर्यटन ब्यवसाय भएको कारण तथा हुनेखाने परिवार भएकोले होला दरबार सन्तुष्ट भएछ र जागिर बच्यो । कस्तो समय थियो, साधारण भ्रष्टाचार, आर्थिक अवचलनमा जान राष्ट्र सेवक डराएर बस्नु पथ्र्यो ।
आजको अवस्थालाई लिएर आम जनताको मन साहै्र नै बिचलित बनाउँछ । कहिले चरि मर्यो शिसैको गोलीले, कहिले घैंटो फुट्यो भनेर जनताले राहतको महशुष गर्छन् । नेताले प्रहरी उपर ज्यान मार्यो भनेर दोश थोर्पछन भने जनताले नेताको घैंटोमा घाम लाग्यो भनेर खुशि ब्यक्त गर्छन् । आफ्नो कार्यकर्ता मारयो भनेर नेतालाई हनहन्ति ज्वरोले थला पार्छ । यसो भन्दा के अब देशको जनताले शान्तिको सास फेर्न नपाउने भए त ?
अचम्म छ राजनीति, कोहि नेता साम्प्रदायिक द्ववेश फैलाउन उद्धत हुन्छन । मधेशी जाग्नु पर्यो खुँडा तरबार लिएर पहाडिको घरमा जाई लाग्नु परयो भन्छन भने कोहि नेता जनताको जिवनको अवमुल्यन गर्दै देश टुक्रयाउनेलाई शहिद घोषणा गरिन्छ, ५० लाख दिईन्छ । पैंशा आफनै खल्तीबाट दिईने हो जस्तो गरि ।
देशमा ठूला नेता भ्रष्टाचारमा मुछिन्छन, जेल चलान हुन्छन्, लाउडा धमिजा काण्डमा देशका प्रधानमन्त्री मुछिन्छन, न्यायालयका न्यायाधिश मुछिन्छन, कानुनका रखवाला प्रहरी प्रशासन मुछिन्छन् । डिबि लामा पछिका प्रायः जसो सबै आईजिपि भ्रष्टचारमै मुछिएका छन् । अपराधिक घटनामा ससस्त्रका डिआईजी जस्ता मुछिन्छन, माओवादीले क्रान्तिको नाममा १७ हजार बढी सर्व साधारण नेपालीलाई मृत्युको खाडलमा होमी देशको अर्थतन्त्र र बिकासको कार्यमा बिध्वंश गरी र डामाडोल बनाए । कयौं सुरक्षाकर्मी जनता अंग भंग भई कयौं शहिद भए ।
आज ठूला ठूला गुण्डाको नाम नेतासँग जोडिन्छ, राष्ट्रको अर्थतन्त्र अवचलन गरेकोमा ठूला मिडिया हाउसको सञ्चालक देखि ठूला ठूला उद्योगपतिको नाम जोडिन्छ । यहाँ सबैलाई संरक्षण चाहिएको छ, संरक्षण बापत डनहरुलाई ब्यापारिक साझेदारी तथा पैंशा चाहिएको छ । अहिलेको गुण्डा तथा साधारण कार्यकर्ताको खल्तीबाट डिआईजी निस्कन्छन् । तल्लो दर्जाको ईन्सपेक्टर र डिएसपीलाई अगाडि राखेर तर्साउनको लागि तेरो डिआईजी मसँग मुत्छ भनि स्पिकर अन गरि फोन गर्छन । ठूला दर्जाका प्रहरी अधिकृत पनि आप्mनो प्रमोसनको लागि मालदार ठाउँमा जान गणेश लामा जस्ता डनलाई सर र हजुर भन्दै नजराना चढाउन जान्छन र पछि त्यहि डनको कन्डो पछाडि कुरा काटछन् ।
नेताले डन खेलाउने, डनले प्रहरी खेलाउने फेरी प्रहरीले त्यही डन खेलाउने ! यस्तै छ यहाँको सिस्टम । हिन्दी फिल्म सिंगममा झैँ यहाँका सिस्टम हि ऐसा छे सर एक हवल्दार भन्दै थिए । जब सम्म राजनीतिमा फोहोरी खेल भईरहन्छ तब सम्म प्रहरी प्रशासन, समाज, ठेक्का पटटा तथा डनको सिस्टम यसरी नै चलिरहन्छ । जब सम्म नेपालमा सिंगममा झै नायक प्रहरी अधिकृत जन्मदैन, देशमा यस्तै भई नै रहन्छ ।
चरी उड्दा एमाले तथा सुरेन्द्र पाण्डे जस्ताले बिलौना गरि नैं रहन्छन्, घैंटो फुट्दा कांग्रेस र जगदिश नरसिंह आघात नै भई नै रहन्छन् र यता एकछिनको खुशिको क्षण आम जनता बाडि नै रहन्छन् । भलै डनका परिवार केहि दिन शोकमग्न किनै नहोस् ।
के साच्चिकै प्रहरी पनि लाईसेन्सवाला डन नै हुन त ? उनिहरुले चाहेको बेला जे पनि गर्न सक्ने, मेरो दाई पर्नेले ईन्स्पेक्टरबाट पास हुँदा भनेको शब्द संस्मरण गर्न चाहन्छु । हामी सोझा साझाले प्रहरीमा गएर केहि पनि हँुदैन । हामीले पाएको त क्राईम गर्ने लाईसेन्स हो ।
मेरो ईच्छा पनि प्रहरीमा जागिर खाने नै थियो । प्रहरीमा भर्ना हुने फारम लिएर ठूलो बुवा सँग जागिर खानको लागि सहयोग माग्न गएको थिएँ । तर म प्रोत्साहित हुनु भन्दा हतोत्साही भएर फर्किएं । कति अपत्यारिलो सुझाव आयो । के तैले पहिलाको जस्तो अवस्था सोचेको छस् ? के तैले भ्रष्टाचार गर्न, घुस खान सक्छस्, के तैले नेताको चाकडी र गुलामी गर्न सक्छस् ? यि शब्दले प्रहरीको मान सम्मान भन्दा घृणा र बितृष्णा मात्रै पाउने रहेछ भन्ने ठानी बिदेशमा उच्च अध्ययन गर्नको लागि पलायन भएँ ।
बारम्बार प्रश्न उठ्छ प्रहरीले फ्रेम गरेर ईन्काउन्टर गर्छ, कसैलाई लागुमा फसाउँछ । गुण्डा नाईके चक्रे मिलन लागुमा जेल चलान हुँदा प्राय जसो चल्ता पुर्जा डनहरु कहि कतै गाडि पार्किगं गर्नु परयो भने प्रहरीले पोका हालि दिन्छ भनेर गाडिको पुरै शिसा बन्द गर्नुपर्छ भन्थे । त्यस्तै रमश बाहुनले मलाई बरु ईन्काउन्टरमा मारि दिएको भए हुन्थ्यो, म जस्तालाई पोकामा फसाएर जेलमा सडाउने जुन प्रपंच छ त्यसलाई मेरो आत्माले पनि मान्दैन । उनलाई समाउने प्रहरी अधिकृतलाई त म तेरो नाम जिन्दगी भरि भुल्दिन भनेका थिए रे । जेलमै हेर्न गए पुग्छ, त्यहाँ बसेका प्रहरी गार्ड नै भन्छन कैंदी मध्येमा ७५ प्रतिशत त प्रशासन, प्रहरी, नेता तथा ठूला बडा भन्नेले, डन भन्नेहरु एकले अर्कालाई नै फसाएर पुगेका छन् । चोर, फटाहा, जाली जति आरामले घुमेर बसेका छन् ।
सोझा साझा जो झेल्लि गर्न जानेका छैनन ति बिचराहरु भित्रै सडेर बसेका छन् भने चोर जाली फटाहाहरु बाहिर आरामले घुमेर बसेका छन् । अझ मुद्धा छिनोफानोको लागि दलालहरुको मोलमोलाईले त न्यायालयप्रति आम जनता सशंकित हुनु परेको छ ।
देशको यस्तो परिस्थिती देख्दा र सुन्दा जो कोहि पनि अचम्म मान्दा हुन् । एउटा डनको आमा त छोरा डन भएकोमा गर्व गर्दछिन् । एकजना पिडित डनबाट भेटे पिच्छे गोदाई खाई आजित भएर ति डनका आमालाई कुरा लाउन पुगेछन् । बिचरो केटो आस्वासन पाउला भनेर आशा गरेको त उल्टै पो डनकी आमाले “भो भो चुप लागेर बस्, कुटाई मात्र खा को छस् त्यसले त खुकुरीले काट्छ, बरु त्यसको छेउमै नपर” भनिछन् । झगडा पर्दा छोरालाई ला यो पनि लिएर जा भनेर खुकुरी थमाउथिन् । हो आजको समाजमा डनगिरी मौलाएको धेरै कारण छन् ।
युवा वर्गमा त चार दिन कुनै कारणले थाना पुग्दा पनि चार दिन जेल बसेर आएको भनेर गर्वको साथ भन्छन् । त्यसकारण समाजमा सुधार ल्याउने, राज्य ब्यवस्थालाई सरल र सहज ढंगले सुचारु रुपले अगाडि बढाउनु छ भने देशको नीति निर्माण तहमा सहि छवि भएका ब्यक्ति राजनैतिक नेतृत्वमा पुग्न बहुतै जरुरी छ । आफ्नो कार्यकर्तालाई बचाउन होस या आफ्नालाई बचाउन सोझा जनतालाई फसाउने कार्य जुन प्रहरी प्रशासन तथा नेतामा प्रवृति छ, त्यसमा तुरुन्त पूर्ण बिराम लागु हुनु पर्छ । अभिभावकले आफनो छोरालाई खुकुरी लिएर काटन जा भन्नुको साटो छोरा छोरीले चरि र घैंटेको नियती भोग्न नपरोस भनि समयमै बुद्धि र होस पुरयाएर छोरा छोरीलाई उचित शिक्षा र संस्कार दिन जरुरी छ ।
प्रहरी प्रशासनलाई प्रोत्साहित गर्नको लागि बृद्धि बिकास, उचित तालिम तथा प्रोत्साहन मुलक कार्यक्रम ल्याउन जरुरी छ । प्रहरी प्रशासनलाई गृह, डन र कार्यकर्ताले आफ्नो खल्तीमा राख्नुको साटो पूर्ण स्वतन्त्र संस्थाको रुपमा बिकास गरेर लानु पर्दछ । जस्तै महाराजगंजको डिएसपी त ईश्वर पोखरेलको मान्छे रे उनले भनेको मान्छन् भन्ने मान्यतालाई पूर्ण रुपले हतोत्साहि गरि प्रहरी जनताको सेवा गर्नको लागि जनतासँगै अगाडि बढ्नु पर्छ भन्ने मान्यतालाई स्थापित गर्नुपर्दछ ।
यता घुमुवा प्रहरी जस्तोलाई आर्थिक अवचलनको लागि प्रयोग गरिने र गरिएको शैलिमा तत्काल सुधार गर्नु पर्दछ । प्रहरी र न्यायलयमा एक आपसमा विस्वासको खाडल छ त्यो पुर्न जरुरी छ । जस्तैः प्रहरी प्रशासनले समातेर ल्याएको अपराधीलाई न्यायालयले फसाएर ल्याएको बुझनु र न्यायालयले सफाई दिदा प्रहरीले न्यायालयलाई अन्यथा बुझनु एक आपसमा बिश्वासको खडेरी देखिन्छ । त्यस्तै समाजमा अपराध र बिकृति बढेन भने हाम्रो ब्यवसाय कसरी चल्छ भन्ने मान्यतालाई कानुन ब्यवसायीले सोच्ने हो भने समाजमा अपराध र बिकृति ठप्प हुन्छ त ? कानुन त सेवा हुनुपर्ने हो, तर कानुन कसरी ब्यवसाय भयो ?
डन मारेर प्रमोसन भईन्छ भन्ने नजिर जब सम्म प्रहरी प्रशासनमा स्थापित रहन्छ तब सम्म डन जन्मि नै रहन्छन् । किनकी डन, उसका गतिबिधीलाई प्रहरीले नदेखे झैं गरी उसलाई त्यो काम गर्न नदेखिदो रुपमा सुरुमा हौसला थपि दिन्छन् । प्रहरीले चाहने हो भने, यहाँ मान्छे मार्न त परै जाओस, अनुमति बिना कसैले कसैको सिन्को सम्म भाच्न सक्दैन ।
बाँच्न र बँच्ने अधिकार सबैले पाउनु नै पर्छ यद्यपी दोशि कानुनको कठघरामा भने हुनै पर्दछ । जब सम्म नैतिकताको घैंटो प्रत्येक समाज, घर मात्र नभई ब्यक्ति ब्यक्तिमा खुलिदैन नैतिकताको खडेरी तब सम्म परि नै रहन्छ तब सम्म देश र समाजमा त्यस्तो घैंटो फुटि नै रहन्छन्, चरि उडि नै रहन्छन्, यसरी अपराधको चक्र घुमि नै रहन्छ ।
नेपालमा जेब्रा क्रसिगं जस्तोमा आम जनताले बाटो काट्दै गर्दा मृत्युवरण गर्नुपर्छ, बिदेशमा कहि कतै प्रहरीको उपस्थिती देखिन्न । तर घटना घटे लगत्तै प्रहरीको जमात देखिन्छ । यसले के देखाउँछ भने विदेशमा उच्च कोटीको सूचना तथा प्रबिधीको बिकास भएको देखिन्छ । त्यहाँ घरको कोठामा पनि राज्यको उपस्थिती हुन्छ भन्ने देखिन्छ । तसर्थ नेपालमा प्रहरी प्रशासनमा उच्च किसिमको तालिम, शिक्षा, सूचना तथा प्रबिधीको बिकास तथा राज्यलाई लगानि गर्न अत्यन्त ढीला भईसकेको छ ।
अन्त्यमा देशको शान्ति तथा सुरक्षा कायम गर्न हाम्रा प्रहरी दाजु भाई पनि अनुशाषित भई देश र जनताप्रति उत्तरदायि भई अगाडि बढ्न अत्यन्त जरुरी छ । प्रहरी प्रशासनलाई राजनीतिक दल, नेता तथा जनता बाधकको रुपमा नभई सहयोगिको रुपमा अगाडि उभिन जरुरी छ ।
देशको अमन चयनको लागि कटिबद्ध भएर कर्ममा निरन्तरता दिईरहनु भएका प्रहरी दाजुभाई तथा दिदि बहिनीप्रति आम नेपाली हार्दिक नमन गर्दछ । चरी र घैंटे घटनाप्रति त्यसबेलाका एसएसपी पुष्कर कार्कि तथा अहिलेका एसएसपी सर्वेन्द्र खनाल सम्पूर्ण आम जनताले हार्दिक आभार ब्यक्त गरेकोमा म लेखक पनि नतमस्तक भई हार्दिक नमन गर्न चाहन्छु । यसैगरी नेपाल प्रहरीले निस्पक्ष भएर न्याय, शुसासन र समाजमा शान्ति, अमन चयन कायम राख्न भूमिका खेलि रहोस् । जय नेपाल, नेपाल प्रहरी ।
singhsom@hotmail.com


साभार : सेतो परेवा 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis