CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » सरकारी वेबसाइट ठट्टा र भ्रम बाँड्दै

सरकारी वेबसाइट ठट्टा र भ्रम बाँड्दै

मन्त्रालय दुई वेबसाइट एकः अस्तित्वमै नभएको वाणिज्य तथा आपूर्ति मन्त्रालयको वेबसाइटमा वाणिज्य मन्त्री दीपक बोहरा र आपूर्ति मन्त्री गणेशमान पुनको तस्वीरसहितको विवरण।
नेपाल सरकारका वेबसाइट क्लिक गर्नेहरूले भ्रामक सूचना र हैरानी मात्र पाउने गरेका छन्।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट www.opmcm.gov.np मा लगइन गरेर 'मन्त्रिपरिषद्' मा क्लिक गर्दा प्रधानमन्त्री खड्गप्रसाद ओलीसहित ४० मन्त्रीको नाम र उनीहरूले सम्हालेका मन्त्रालयको नाम देखिन्छ। त्यस अनुसार, २८ क्याबिनेट मन्त्रीमध्येका कनिष्ठ शिवलाल थापाको मन्त्रालय हो– विज्ञान तथा प्रविधि। 'विज्ञान तथा प्रविधि' मा क्लिक गर्दा भने 'विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय' मा पुगिन्छ, जहाँ जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानको तस्वीरसहितको विवरण देखिन्छ।
'विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय' को वेबसाइटमा वातावरण तथा जनसंख्या मन्त्री पासवानको तस्वीर देखिनु पनि हास्यास्पद नै हो, किन भने 'विज्ञान, प्रविधि तथा वातावरण' नामको कुनै मन्त्रालय अस्तित्वमा छैन। सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालय र पशुपक्षी विकास मन्त्रालयको पनि वेबसाइट बनाउन सकेको छैन। सरकारले अरू त अरू, सूचनाप्रविधि सम्बन्धी योजना बनाउन स्थापना गरेको विज्ञान तथा प्रविधि मन्त्रालयको समेत वेबसाइट बनाउन सकेको छैन। तर प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबसाइटले हुँदै नभएको विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटको लिंक राखेको छ।
दुई लाख ७० हजार पटक 'भिजिट' भइसकेको प्रधानमन्त्री कार्यालयको वेबसाइटको 'ठट्टा' यतिमै सकिंदैन। मन्त्रीहरूको कार्यविभाजन अनुसार २२औं वरियताकी मन्त्री शान्ता मानवीको मन्त्रालयको नाम 'पशुपक्षी विकास' हो, तर प्रधानमन्त्री कार्यालयको वेबसाइटको नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७२ अनुसार नेपालमा 'पशुपक्षी विकास' नामको कुनै मन्त्रालय छैन। गत १४ पुसमा प्रकाशित राजपत्रमा 'पशु विकास' मन्त्रालयको कार्य विभाजन छ। सरकारका सचिवहरूको सूची अनुसार पनि डा. कृष्णचन्द्र पौडेल 'पशु विकास' सचिव हुन्, 'पशुपक्षी विकास' सचिव होइनन्।
www.mohp.gov.np मा क्लिक गर्दा खुल्ने पेजले 'स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा स्वागत छ' भन्छ। सरकारको कार्यविभाजन नियमावली अनुसार भने नेपालमा यो नामको कुनै मन्त्रालय छैन। वेबसाइटमा मन्त्री रामजनम चौधरी र राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको तस्वीरसहित विवरण देखिन्छ। यथार्थमा, चौधरी स्वास्थ्य मन्त्री र आलम स्वास्थ्य सहायक मन्त्री हुन्। जनसंख्या मन्त्री त विश्वेन्द्र पासवान हुन् जो वातावरण मन्त्रीको कार्यभार सम्हालिरहेका छन्।
'कुसूचना, कुसञ्चार' मन्त्रालय
मन्त्रालयहरूको वेबसाइटमध्ये www.mocs.gov.np मा क्लिक गर्नेहरू बढी हैरान हुन्छन्, जहाँ वाणिज्य मन्त्रालय र आपूर्ति मन्त्रालयको विवरण देखिन्छ। तीन लाख २५ हजारले भिजिट गरिसकेको यो वेबसाइटमा वाणिज्य मन्त्री दीपक बोहरा, आपूर्ति मन्त्री गणेशमान पुन, वाणिज्य सचिव ङइन्द्रप्रसाद दाहाल र आपूर्ति सचिव विष्णुप्रसाद लम्सालको तस्वीरसहितको विवरण देखिन्छ। यसमा सूचना अधिकारी भनेर ध्रुव घिमिरेको सम्पर्क नम्बर समेत राखिएको छ, तर उनी आपूर्ति मन्त्रालयका सूचना अधिकारी हुन् कि वाणिज्य मन्त्रालयका भन्ने पनि स्पष्ट छैन।
सरकारको प्रवक्ता समेत रहेका शेरधन राई सूचना तथा सञ्चार मन्त्री हुन्। यो मन्त्रालयमा दिनेशकुमार थपलिया सचिव छन्। मन्त्रालयको वेबसाइटमा पनि सचिव भनेर थपलियाकै नाम छ। प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राखिएको 'नेपाल सरकारका सचिवहरूको सूची' मा भने दिनेशकुमार थपलिया 'सूचना तथा सञ्चार प्रविधि' सचिव हुन्। प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइट हेर्ने जो–कोही नेपालमा 'सूचना तथा सञ्चार' कि 'सूचना तथा सञ्चार प्रविधि' मन्त्रालय छ भन्ने अन्योलमा पर्छन्।
सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट www.moic.gov.np मा गएर 'प्रवक्ताहरूको नामावली' मा क्लिक गर्दा मन्त्रालय र केन्द्रीय निकायहरूका प्रवक्ता तथा सहायक प्रवक्ताहरूको नामावली देखिन्छ, तर सम्पर्क नम्बरसहित राखिएका ती सहसचिव र उपसचिवमध्ये कोही सेवानिवृत्त भइसकेका छन् भने कोही अन्तै सरुवा भइसकेका र निलम्बनमा परेका छन्। सञ्चार मन्त्रालयको वेबसाइटमा 'विज्ञान, प्रविधि तथा वातावरण' मन्त्रालयको प्रवक्ता रामआधार साह भनिएको छ, तर नेपालमा यो नामको कुनै मन्त्रालय नै छैन।
अर्थ मन्त्रालयको प्रवक्ता मुकुन्दप्रसाद पौडेल भए पनि सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमा रामशरण पुडासैनी भनिएको छ। गृह मन्त्रालयको प्रवक्तामा यादवप्रसाद कोइराला हुनुपर्नेमा सूचना तथा सञ्चार मन्त्रालयले चक्रबहादुर बुढाको नाम राखेको छ। यस्तै, पशु विकास मन्त्रालय कि पशुपक्षी विकास मन्त्रालय भन्नेमा प्रधानमन्त्री कार्यालय नै स्पष्ट छैन (दायाँ)।
सञ्चार मन्त्रालयको वेबसाइटमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका प्रवक्ता भनिएका साह पेट्रोलियम पदार्थमा कालोबजारी गरेको अभियोगमा गत २८ मंसीरमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेका व्यक्ति हुन्। जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दामा प्रहरीले साहलाई पाँच वर्ष कैद र रु.१ करोड जरिवाना हुनुपर्ने माग गरेको छ। रमाइलो त झ्नै के छ भने पछिल्लो पटक ५ माघमा वेबसाइटमा 'प्रवक्ताहरूको नामावली' अद्यावधिक गरिएको भनिएको छ, तर प्रहरीले साह विरुद्ध पुस पहिलो साता नै अदालतमा मुद्दा दायर गरेको थियो।
सञ्चार मन्त्रालयको वेबसाइट अनुसार, अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनी र भूमिराज शर्मा सहायक प्रवक्ता हुन्। उता अर्थ मन्त्रालयको वेबसाइट हेर्दा पुडासैनी नभएर मुकुन्दप्रसाद पौडेल प्रवक्ता देखिन्छन्। सञ्चार मन्त्रालयको वेबसाइटले अर्थका सहायक प्रवक्ता भनेको उपसचिव शर्मा एक वर्षअघि नै त्यहाँबाट सरुवा भएर अहिले आन्तरिक राजस्व कार्यालय, क्षेत्र नम्बर ३, लाजिम्पाटमा कार्यरत छन्। अर्थ मन्त्रालयमा एक वर्षदेखि राजेन्द्र पौडेल सहायक प्रवक्ता छन्।
सञ्चार मन्त्रालयले आन्तरिक सुरक्षा, विपत् व्यवस्थापन, अध्यागमन, शान्ति सुव्यवस्था जस्ता मह140वपूर्ण जिम्मेवारी भएको गृह मन्त्रालयको प्रवक्ताको विषयमा समेत भ्रामक जानकारी राखेको छ। गत ३० पुसबाट यादवप्रसाद कोइराला गृह प्रवक्तामा बहाल छन्, तर सञ्चार मन्त्रालयले चक्रबहादुर बुढालाई गृह मन्त्रालयको प्रवक्ता भनेको छ। त्यस्तै, सञ्चार मन्त्रालयको वेबसाइटले ऊर्जा मन्त्रालयका प्रवक्ता भनेका केशवध्वज अधिकारी गत साउनबाट जल तथा ऊर्जा आयोगको सचिवालयमा छन् भने डा. संजय शर्मा ऊर्जा मन्त्रालयको प्रवक्ताको भूमिकामा छन्। त्यस्तै, सञ्चार मन्त्रालयले लेखनाथ भट्टराईलाई परराष्ट्र मन्त्रालयको सहायक प्रवक्ता भनेको छ, तर दीपक अधिकारी त्यो भूमिकामा छन्।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सह–सचिव शंकरप्रसाद खरेललाई दिएको छ। उनी मन्त्रालयको प्रशासन, योजना तथा वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख समेत हुन्। त्यस्तै, सूचना अधिकारी समेत रहेका उपसचिव प्रकाश आचार्य सहायक प्रवक्ता छन्, तर सञ्चार मन्त्रालयले लक्ष्मीशरण घिमिरेलाई शान्ति तथा पुनःनिर्माण मन्त्रालयको प्रवक्ता र दामोदर भण्डारीलाई सहायक प्रवक्ता भनेको छ। घिमिरे सेवानिवृत्त भइसकेका छन् भने भण्डारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा भइसकेका छन्। सञ्चार मन्त्रालयको वेबसाइटले नेपाल ट्रस्टको कार्यालयको प्रवक्ता भनेका प्रज्ज्वल शर्मा अर्याल पनि सेवा निवृत्त भएको १० महीना भइसकेको छ।
निजामती कर्मचारी प्रशासन, व्यवस्थापन तथा अभिलेख सम्बन्धी योजना तर्जुमा र कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी भएको सामान्य प्रशासन मन्त्रालयको विषयमा समेत सञ्चार मन्त्रालयले गलत सूचना प्रवाह गरेको छ। सामान्यमा अहिले कमलप्रसाद भट्टराई प्रवक्ता छन्, तर सञ्चार मन्त्रालयको वेबसाइटले राजेन्द्र पौडेललाई सामान्य प्रशासन मन्त्रालयको प्रवक्ता भनेको छ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis